उच्च शिक्षामा उच्च दरको महिला सहभागिता

- लोकरञ्‍जन पराजुली | 2026-02-19

न्याय सेवातर्फ शाखा अधिकृतको परीक्षामा सामेल हुन आवेदन दिएका ३ हजार ३ सय ५६ जनामध्ये आधाभन्दा बढी (१ हजार ६ सय ८४ जना) महिला थिए । थप रोचक तथ्य— यसरी सिफारिस हुनेमध्ये खुलातर्फ ३८ जना महिला थिए भने, पुरुष चाहिँ जम्मा ६ जना मात्र ।

What you should know

  • नेपालमा उच्च शिक्षामा महिलाको सहभागिता तीव्र गतिमा बढ्दै गएको छ, जसले लैंगिक समानतामा ऐतिहासिक परिवर्तन ल्याएको छ।
  • स्नातक तहमा महिला विद्यार्थीको संख्या पुरुषभन्दा बढी छ भने, सामुदायिक र निजी कलेज दुवैमा महिलाको उपस्थिति उल्लेख्य छ।
  • यो परिवर्तनले सरकारी सेवामा समेत महिलाको सफलता दर बढाएको छ र नेपाली समाजको सामाजिक संरचनामा दूरगामी प्रभाव पार्ने संकेत देखिएको छ।

गत भदौमा लोक सेवा आयोगले न्याय सेवाअन्तर्गत शाखा अधिकृत तहको परीक्षाफल प्रकाशन गरेको थियो । परीक्षाफल धेरै हिसाबले रोचक थियो । जम्मा ८१ जनालाई आयोगले नियुक्तिका लागि सिफारिस गरिएकामा ६० जना अधिकृतहरू महिला थिए ।

अर्थात् ७४ प्रतिशत महिला र २६ प्रतिशत (२१ जना) पुरुष सिफारिसमा परे । शाखा अधिकृतको परीक्षामा सामेल हुन आवेदन दिएका ३ हजार ३ सय ५६ जनामध्ये आधाभन्दा बढी (१ हजार ६ सय ८४ जना) महिला थिए । थप रोचक तथ्य— यसरी सिफारिस हुनेमध्ये खुलातर्फ ३८ जना महिला थिए भने, पुरुष चाहिँ जम्मा ६ जना मात्र । बाँकी १५ जना पुरुष चाहिँ आरक्षित कोटा (मधेशी, दलित, आदिवासी–जनजाति आदि) बाट नियुक्तिका लागि सिफारिस भएका हुन् ।

योभन्दा अघिल्लो पटक न्याय सेवाअन्तर्गतकै ६८ जना अधिकृतको नियुक्तिका लागि लोक सेवाले सिफारिस गरेकामध्ये ३८ जना (अर्थात् ५६ प्रतिशत) महिला थिए । यसको अर्थ के हो भने सरकारी सेवा (हालका लागि न्याय सेवा) मा महिलाको सफलता फगत काकताली मात्र होइन । यसले हाम्रो सार्वजनिक सेवामा निकट भविष्यमा देख्न सकिने परिवर्तनको संकेत गर्दछ ।

परिवर्तित उच्च शिक्षा क्षेत्र

यो परिवर्तनका धेरै आयाम छन् । तीमध्ये एउटा महत्त्वपूर्ण परिवर्तनचाहिँ उच्च शिक्षा र अझ त्यसमा पनि स्नातक तहमा देखिएको महिला उपस्थिति हो । पछिल्लो सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको उच्च शिक्षामा ६ लाख ३३ हजार ५३ जना विद्यार्थी भर्ना भएर पढिरहेका थिए । तीमध्ये छात्रको संख्या २ लाख ७४ हजार ९ सय १३ र छात्राको संख्या ३ लाख ५८ हजार १ सय ४० जना छ ।

नेपालमा १८–२२ उमेर समूहमा पुरुषको संख्या (१५ लाख ४४ हजार ८ सय ५५) महिलाको (१४ लाख ५५ हजार ८ सय ४३) भन्दा धेरै छ । तर, सोही उमेर समूहका विद्यार्थी, जो प्रायः स्नातक तहमा अध्ययन गर्छन्, तिनको संख्या केलाउँदा छात्र (२ लाख ४० हजार ४ सय ७४) को भन्दा छात्रा (३ लाख २६ हजार ८ सय ६४) को संख्या बढी छ । अर्थात्, प्रत्येक १० जना छात्र उच्चशिक्षा पढ्दा १३ जना छात्रा सँगै पढिरहेका छन् ।

यसले हामीकहाँ उच्च शिक्षा (स्नातक तह) मा जेन्डर प्यारिटी (लैंगिक समानता) बढ्दै गएको देखिन्छ । तर, यो तथ्यांकलाई थप केलाएर हेर्दा के देखिन्छ भने स्नातकोत्तर तहमा महिलाको (३० हजार ७ सय १४) भन्दा पुरुषको (३२ हजार ३ सय ३५) थोरै बढी संख्या छ र सम्भवतः त्यो खाडल पनि चाँडै पूरा हुनेछ । त्योभन्दा माथिल्लो तह (एमफिल/पीएचडी) मा भने महिलाको संख्या (४ सय ७८) पुरुषको (१ हजार ९ सय ५७) तुलनामा निकै थोरै छ ।

सरकारी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०४६/४७ मा नेपालमा स्नातक र सोभन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब ३३ हजार थियो । २०८०/८१ मा सो संख्या बढेर करिब ६ लाख ३३ हजार पुगेको छ । अर्थात् २०४६/४७ कोभन्दा १९ गुणा बढी विद्यार्थी अहिले नेपालभित्रै उच्च शिक्षा अध्ययनरत छन् । त्यसबाहेक, उच्च शिक्षा अध्ययनका लागि बर्सेनि करिब सवा लाख नेपाली विद्यार्थी विदेशिन्छन् । र, त्यसमा पनि पछिल्लो समय करिब ४० प्रतिशतजति महिला भएको अनुमान गरिन्छ ।

महिलाको उच्च शिक्षामा बढ्दो सहभागितालाई अलि गहिरो गरी पर्गेल्न जरुरी छ । कुन ठाउँका महिला, कुन जात/जातिका महिला कुन–कुन विषय र के–कस्ता कलेजमा पढिरहेका छन् भनेर केलाउनका लागि खास गरी हामीसँग जात/जातिसम्बन्धी तथ्यांक उपलब्ध छैन । तर, प्रादेशिक र मोटो हिसाबले विषयगत तथ्यांक उपलब्ध भएकाले एकफेर त्यतातिर दृष्टि दिउँ ।

सुदूरपश्चिमको छलाङ

उच्च शिक्षामा महिला सहभागितालाई प्रादेशिक हिसाबमा केलाउँदा अहिले सबै नै प्रदेशमा महिला विद्यार्थीको संख्या पुरुषको भन्दा धेरै छ । संख्यात्मक हिसाबले बागमती प्रदेशमा सबैभन्दा धेरै विद्यार्थी पढ्छन् । मुलुकको उच्च शिक्षामा अध्ययनरत विद्यार्थीमध्ये ४४ प्रतिशत विद्यार्थी यो प्रदेशमा छन् ।

सबैभन्दा थोरै विद्यार्थीचाहिँ कर्णाली प्रदेशमा पढ्छन् । प्रतिशतका हिसाबले लैंगिक समानतालाई केलाउँदा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि देखिन्छ— यो प्रदेशमा उच्च शिक्षा पढ्ने विद्यार्थीमध्ये दुई तिहाइ (६५.३ प्रतिशत) विद्यार्थी महिला छन् । लुम्बिनी प्रदेश पनि सुदूरपश्चिमकै हाराहारीमा छ (६४.६ प्रतिशत) । अर्थात्, यी दुई वटा प्रदेशमा प्रति १ छात्र बराबर करिब २ जना छात्रा उच्च शिक्षा अध्ययनरत छन् ।

त्यसपछिको लहरमा क्रमशः कोशी (६०.६ प्रतिशत), गण्डकी (६०.१ प्रतिशत), कर्णाली (५७.५ प्रतिशत) र मधेश प्रदेश (५३.७) छन् । बागमती प्रदेशमा छात्र र छात्राको संख्या बराबरी जस्तै छ (छात्रा ५१.३ र छात्र ४८.७ प्रतिशत) । अन्य प्रदेशबाट खास गरी काठमाडौंमा पढ्न आएका छात्रहरूकै कारण बागमती प्रदेश लैंगिक समानताका दृष्टिले अन्य प्रदेशका तुलनामा पछाडि देखिएको हो । 

उच्च शिक्षामा देखिएको महिलाको बढ्दो सहभागितालाई आजभन्दा एक दशकअघिको र पञ्चायती कालखण्ड लगत्तैको तथ्यांकसँग तुलना गरी हेर्दा नेपालमा भुईं तहमा भइरहेको परिवर्तनलाई अझ राम्ररी बुझ्न सकिन्छ । २०७०/७१ सालको तथ्यांक केलाउँदा समग्र नेपालको उच्च शिक्षामा लैंगिक समानता १.१ पुगेको थियो— अर्थात् पुरुषलाई जितेर महिला अगाडि बढिसकेका थिए ।

एक दशकअघि पश्चिमाञ्चल विकास क्षेत्र उच्च शिक्षामा लैंगिक समानताको दृष्टिले सबैभन्दा अघि थियो— ६० प्रतिशत छात्रा र ४० प्रतिशत छात्र । त्यसपछिको लहरमा पूर्वाञ्चल थियो, जहाँ उच्च शिक्षा पढ्नेमा ५३ प्रतिशत छात्रा थिए । मध्यपश्चिममा छात्रछात्राको संख्या उच्च शिक्षामा बराबरी थियो भने मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा छात्र ५१ प्रतिशत र छात्रा ४९ प्रतिशत थिए । 

२०४७/४८ सालमा नेपालमा करिब १५ प्रतिशत छात्रा मात्र उच्च शिक्षा अध्ययन गर्दै थिए । सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा त उच्च शिक्षामा छात्राको भर्ना प्रतिशत क्रमशः ७ र १४ प्रतिशत मात्र थियो । आज सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षा पढ्नेहरूमा ६५.३ प्रतिशत छात्रा छन् र उसले सबैभन्दा पछाडिबाट छलाङ मारेर सबै प्रदेशलाई उछिनेर पहिलो स्थानमा पुगेको छ ।

महिलाहरू कहाँ र के पढिरहेका छन् ?

उच्च शिक्षामा महिलाहरू पढेका कलेजहरू केलाउँदा सबैभन्दा ठूलो हिस्सा सामुदायिक भनिने कलेजमा पढिरहेको देखिन्छ । सामुदायिक कलेजमा पढ्ने विद्यार्थीमध्ये दुई तिहाइभन्दा बढी (६७ प्रतिशत) छात्रा छन् । सामुदायिक कलेजहरू तुलनात्मक रूपले सस्ता र स्थानीय तवरमा उपलब्धसमेत भएकाले तिनमा महिला विद्यार्थी बढी भएको देखिन्छ ।

अझै पनि विभिन्न स्थानमा छोरालाई बोर्डिङ र छोरीलाई सामुदायिक स्कुलमा पढाएझैं छोरीलाई घर नजिकका सामुदायिक कलेजमा पढ्न पठाएर छोरालाई सहर–बजारका कलेजमा पढ्न पठाएको अनुमान गर्न कठिन हुँदैन । तर, पछिल्लो समय देखिएको एउटा परिवर्तन हो— निजी कलेजमा पनि अब पुरुष विद्यार्थीभन्दा महिला विद्यार्थी धेरै (५२ प्रतिशत) पढिरहेका छन् । आंगिक क्याम्पसमा पनि छात्राको संख्या छात्रको भन्दा थोरैले बढी छ । 

विश्वविद्यालयको हिसाबले हेर्दा पोखरा, काठमाडौं र नयाँ धेरै विश्वविद्यालयमा छात्राको भन्दा छात्रको संख्या बढी छ । संस्कृत, बुद्धिजम् जस्ता विषय पढाइने विश्वविद्यालयमा छात्राको संख्या निकै न्यून छ । प्रतिशतको हिसाबले तुलना गर्दा सुदूरपश्चिम विश्वविद्यालयमा सबैभन्दा बढी छात्राहरू पढिरहेका छन् । त्यहाँ एक छात्र बराबर दुई छात्रा पढिरहेका छन् । त्यस्तै मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमा पनि पुरुष विद्यार्थीको तुलनामा उच्च शिक्षामा महिला विद्यार्थी धेरै छन् ।

उच्च शिक्षामा महिलाहरूले पढिरहेको विषय केलाउँदा उनीहरूको सघनता ‘साधारण’ भनिने शिक्षा, मानविकी र सामाजिक विज्ञान तथा व्यवस्थापन विषयमा देखिन्छ । शिक्षा विषय पढ्ने विद्यार्थीमा ७२ प्रतिशत छात्रा छन् । यसले महिलाहरूको प्रमुख रोजाइको विषय शिक्षा भएको र आउँदा दिनमा सम्भवतः हाम्रा स्कुलहरूमा धेरै शिक्षिकाहरूले पढाउने स्थिति निर्माण हुँदै छ । तर, दुःखको कुरा के छ भने नेपालमा शिक्षा विषयको पढाइ सम्भवतः सबैभन्दा कमजोर छ ।

शिक्षापछि छात्राहरूको सघनता देखिएको विषय (प्रतिशतका हिसाबले) मेडिसिन हो । त्यस विषय पढ्नेमा छात्राको प्रतिशत करिब ६० प्रतिशत पुग्छ— यसमा नर्सिङ पढ्नेको संख्या पनि परेको छ । एमबीबीएस वा त्यसमाथिको डिग्री पढ्नेहरूमा पनि अब छात्राहरूको संख्या छात्रको भन्दा बढी भइसक्यो, जुन एक दशकअघिसम्म थिएन । महिला विद्यार्थीहरूको बाहुल्य भएको अर्को विषय व्यवस्थापन हो, जसमा उनीहरू ५७ प्रतिशत छन् । त्यस्तै, मानविकी र सामाजिक विज्ञानका विषय पढ्नेमा ५४ प्रतिशत छात्रा छन् ।

विज्ञान–प्रविधि, फरेस्ट्री र अझ इन्जिनियरिङ जस्ता विषयमा पुरुष विद्यार्थीको बाहुल्य छ । खासगरी इन्जिनियरिङ विषयमा छात्राहरूको उपस्थिति जम्मा २५ प्रतिशत छ । पञ्चायतकालमा इन्जिनियरिङ पढ्ने छात्राको संख्या शून्यसरह हुन्थ्यो भने एक दशकअघिसम्म पनि जम्मा १० प्रतिशत मात्रै महिलाको उपस्थिति इन्जिनियरिङको उच्च शिक्षामा थियो । पछिल्लो एक दशकमा इन्जिनियरिङ पढ्ने विद्यार्थी संख्यामा थप १५ प्रतिशत बढेको देखियो, जुन उल्लेख्य हो । विज्ञान–प्रविधिका विषयमा पनि उच्च अध्ययन गर्ने महिलाको संख्या बढ्दै गइरहेको छ र पछिल्लो समय यो हिस्सा ४० प्रतिशतमा पुगेको छ ।

परिवर्तनका कारण 

एसईई तह र कक्षा १२ को परीक्षामा सामेल विद्यार्थीलाई लैंगिक हिसाबले केलाउँदा पछिल्ला वर्षमा ती दुवैमा छात्र र छात्राको संख्या बराबरी जस्तै छ (पुरुषको थोरै बढी छ) । तर, स्नातक तहमा पुग्दा–नपुग्दा छात्राको संख्या ह्वात्तै बढ्न थाल्छ । उच्च शिक्षाको क्षेत्रमा अहिले देखिएको महिलाको यो उत्साहजनक प्रगति पछाडिका केही कारण अनुमान गर्न सकिन्छ ।

पहिलो र प्रमुख कारण ‘लेबर माइग्रेसन’ हो । उच्च शिक्षा अध्ययन गर्ने उमेर (१८–२५) का युवाहरू पछिल्ला दुई दशकमा ठूलो संख्यामा कामको खोजीमा विदेशिने गरेका छन् । तीमध्ये बहुसंख्यामा पुरुष नै छन् (करिब ८० प्रतिशत), महिलाको संख्या सानो छ । पछिल्लो जनगणना (२०७८ साल) मा तुलनात्मक सबैभन्दा बढी अनुपस्थित जनसंख्या (प्रतिशतका हिसाबले) भएको प्रदेश सुदूरपश्चिम थियो । यहाँका १० प्रतिशतभन्दा बढी व्यक्ति अनुपस्थित थिए । यही क्षेत्रमा सबैभन्दा बढी महिला विद्यार्थी देखिएको छ । एक दशकअघि पश्चिमाञ्चलमा अनुपस्थित जनसंख्या सबैभन्दा धेरै थियो र त्यहाँ नै महिला विद्यार्थीको संख्याको प्रतिशत पनि अन्य विकास क्षेत्रको भन्दा बढी थियो ।

नेपालमा उच्च शिक्षामा महिला विद्यार्थी संख्या बढ्नुको अर्को कारण हो, विदेशमा अध्ययन गर्न जानेमा पनि पुरुषकै बाहुल्य हुनु । त्यसबाहेक, विश्वभर नै खास गरी किशोरवयका केटाहरूले विभिन्न कारणले पढाइ बीचैमा छाडेको पाइन्छ । नेपालमा पनि त्यस्तै प्रवृत्ति देख्न थालिएको छ ।

सुदूरपश्चिम, कर्णाली तथा अन्य प्रदेशमा समेत उच्च शिक्षामा लैंगिक हिसाबले समानता बढ्दै जानुको एउटा कारण ती क्षेत्रका अभिभावकले आफ्ना छोराहरूलाई काठमाडौं लगायतका क्षेत्रमा प्राविधिक र अन्य ‘बजारमा बिक्ने’ विषय पढ्न पठाउने र छोरीलाई स्थानीय तहमै पढाउने गरेकाले पनि हो भन्ने अनुमान गर्न सकिन्छ । अर्थात् ग्रामीण र पश्चिमी नेपालका छात्राहरूले केही हदसम्म स्नातक तहमा अध्ययन गर्ने अवसर त पाउन थालेका छन् तर ती विषयमा जुन बजारमा सहजै ‘बिकाउ’ छैनन्, जसको पढाइ स्तर (उत्तीर्ण दर, आदि) राम्रो छैन । 

काठमाडौंबाहेक अन्यत्र थोरै स्थानमा स्नातकोत्तर तहको पढाइको व्यवस्था रहेको तथा एमफिल र पीएचडी तहको पढाइ त झन् मूल रूपमा काठमाडौंमै केन्द्रित रहेकाले पनि ती तहमा महिला विद्यार्थीको संख्या कम भएको हो । त्यसबाहेक, स्नातक तहको पढाइपछि महिलाले घरजम गर्ने र तत्पश्चात् पारिवारिक जञ्जालमा फँसेर उच्च तहको पढाइलाई निरन्तरता दिन नसक्नु पनि महिलाको माथिल्लो तहमा उपस्थिति कम गर्ने एउटा कारण हो । यद्यपि यी अवरोधक पनि अब बिस्तारै भत्किँदै गएको देख्न सकिन्छ ।

अन्त्यमा

नेपालको उच्च शिक्षा क्षेत्रमा देखिएको महिला सहभागिता चानचुने परिवर्तन होइन । हुन त अन्यत्र विश्व (विकसित भनिएका मुलुक) मा यस्तो परिवर्तन भइसकेको छ, तर उताको र हाम्रो परिवर्तनको भिन्नता के हो भने उता परिवर्तन ढिलो र क्रमिक भयो, हामीकहाँ यो तीव्र गतिमा भइरहेको छ । 

शिक्षासम्बन्धी उपलब्ध तथ्यांकलाई मिहिन पाराले केलाउँदा महिलाको बढ्दो शैक्षिक उपस्थितिका केही पक्ष समस्यामूलक (उदाहरणका लागि, महिला उपस्थिति निश्चित विषयमा मात्र बढी, उत्तीर्ण महिलामा खास जात–समूहको बाहुल्य आदि) देखिए पनि उच्च शिक्षा अध्ययन गर्ने पुरुषको तुलनामा महिलाको संख्या निरन्तर बढिरहेको छ । खासगरी मधेशी दलित, मुस्लिम र केही अन्य समुदायबाहेक निम्नमध्यम या मध्यम वर्गमा महिला शिक्षाले स्वीकृति पाएको मात्रै यसले देखाउँदैन कि आउँदा दिनमा नेपालमा पुरुषभन्दा महिलाले बढी शैक्षिक योग्यता हासिल गर्ने स्थिति तयार हुँदै गरेको प्रस्ट्याउँछ ।

अहिले नै केही सरकारी र अन्य क्षेत्रमा आवेदन ‘भ्याकेन्सी’ खुल्दा आवेदन दिनेमा महिलाको संख्या बढी हुन थालिसक्यो । आरक्षण त छँदै छ, उनीहरू खुला प्रतिस्पर्धामा उत्तिकै संख्यामा (माथिको न्याय सेवाको उदाहरणलाई हेर्ने हो भने त निकै बढी पनि) उत्तीर्ण हुँदा कार्यालयहरूको ‘डाइनामिक्स’ मा यसले परिवर्तन ल्याउँदै छ ।

नेपाली समाजमा वैवाहिक सम्बन्धमा महिलाको भन्दा बढी शैक्षिक योग्यता भएको पुरुषको खोजी गर्ने जुन प्रचलन छ, त्यसमा पनि अब चाँडै परिवर्तन आउनेछ । परिवारको पुरुष सदस्यभन्दा महिला सदस्य बढी शैक्षिक योग्यता हासिल गरेको हुने अवस्था निर्माण हुँदै छ । यसले परिवारमा पुरुषको प्रभुत्व कम गरी नेपाली समाजलाई लैंगिक समानतातर्फ डोर्‍याउने अनुमान गर्न सकिन्छ । यो ऐतिहासिक सामाजिक परिवर्तन हो र यसले आउँदा दिनमा नेपाली समाजको सामाजिक संरचनामा नै व्यापक र दूरगामी प्रभाव पार्ने देखिन्छ ।

प्रकाशित : फाल्गुन ७, २०८२
स्रोत : https://ekantipur.com/news/2026/02/19/high-rate-of-female-participation-in-higher-education-58-09.html


About the Author

More Blogs