गोरखापत्रमा २००७ सालको परिवर्तन

२००७ सालको आन्दोलनपछि गठित राणा-कांग्रेस मन्त्रिपरिषद्का सदस्यहरू र अन्य कर्मचारी
सामाजिक रूपमा युगान्तकारी परिवर्तन ल्याउने २००७ सालको सशस्त्र आन्दोलन र घटनावली तथा त्यस आन्दोलनका मुख्य पात्रहरूबारे थुप्रै सामग्री प्रकाशनसमेत भएको छ। यद्यपि, कतिपय पहलु अझै छन्। यस्तै पहलुमध्ये एक हो, २००७ सालको आन्दोलनमा सरकारी मुखपत्र गोरखापत्रको भूमिका।
पछिल्लो ७-८ दशकको अवधिमा नेपालले ठूला-ठूला राजनीतिक परिवर्तन देखे-भोगेको छ। तीमध्ये २००७ साल, २०४६ साल र २०६३ सालको परिवर्तन प्रमुख हुन्। झट्ट र राजनीतिक रूपमा हेर्दा २००७ सालको परिवर्तन खासै ठूलो देखिन्न। अझ राणाहरूका ठाउँमा शाहहरूको शासन र रजगजलाई ध्यानमा राख्ने हो भने यो परिवर्तनलाई इतिहासको पादटिप्पणीमा सीमित गरिदिए पनि हुन्छ भन्न सकिएला। तथापि, २००७ सालको परिवर्तन आधुनिक नेपालको निर्माणपछिको सबैभन्दा ठूलो “टर्निङ पोइन्ट” हो।
२००७ सालको परिवर्तनलाई २०४६ साल वा २०६३ सालको परिवर्तनसँग तुलना गरेर हेर्न सकिन्छ। सैद्धान्तिक रूपमा २०६३ को परिवर्तन २००७ सालको वा २०४६ को भन्दा पनि निश्चय नै ठूलो हो। नेपालीपन वा नेपालीयताका चार मुख्य अवयव मानिँदै आएका हिन्दूराष्ट्र, राजतन्त्र र केन्द्रीकृत शासन व्यवस्था र नेपाली भाषाको वर्चस्वलाई २०६३ सालको आन्दोलनले तोडेको हो। तर, व्यावहारिक रूपमा केलाउँदा २००७ सालको परिवर्तनको जति गुरुत्व अरू आन्दोलनको देखिँदैन।
२००७ सालको परिवर्तनपछि नै यसअघि रैती मानिँदै आएका जनलाई नागरिकको रूपमा ग्रहण गरियो। जनता सार्वभौम हुन्, अधिकारसम्पन्न हुन् भन्ने स्वीकारियो। यसबाहेक, जीविकाको प्रमुख स्रोत रहेको जमिनउपर नागरिकको हक स्थापित भयो। बोल्न-पढ्न-लेख्न-छाप्न पाउने, सङ्गठित हुन पाउने, र आफूलाई उपयुक्त लागेका परियोजना-व्यवसाय सञ्चालन गर्न पाउने अधिकार जब संविधानले नागरिकलाई प्रत्याभूत गर्यो, त्यसले जमिनी तहमा परिवर्तन ल्याइदियो। सामाजिक सङ्घ-सङ्गठन, मिडिया, स्कुल-कलेज-पुस्तकालय (अर्थात् शिक्षा) आदि क्षेत्रमा त उथलपुथल नै भयो।
यस्तो युगान्तकारी परिवर्तनको आधारभूमि खोतल्दै जाँदा विभिन्न घटनाहरूलाई केन्द्रमा राख्न सकिन्छ, तर त्यसलाई सफलीभूत तुल्याउने अन्तिम प्रहार २००७ सालमा नेपाली कांग्रेसले राणासरकारविरुद्ध सुरु गरेको सशस्त्र आन्दोलन थियो। नेपाली सरहदभित्र मोहनशमशेरले प्रतिबन्ध लगाएको नेपाली कांग्रेसले त्रिभुवन र उनका परिवारजनको भारत पलायनसँगै सशस्त्र आन्दोलन प्रारम्भ गर्यो र यससँगै राणा शासन-व्यवस्थाको दिनगन्ति सुरु भयो।
नेपालको दक्षिणी सीमामा रहेका शहरका गौँडा या मुकामहरूमा आक्रमण गरेर यो आन्दोलन सुरु भएको थियो। आकस्मिक आक्रमणबाट आन्दोलनकारीहरूले सरकारी सुरक्षाकर्मीहरूलाई हतोत्साही पारे पनि तात्कालिक राज्यले आफूलाई सम्हाल्यो र थप सशस्त्र बलसहित प्रत्याक्रमण गर्न सुरु गर्यो। आन्दोलनकारीका प्रोपेगाण्डा (रेडियो, पर्चा-पम्प्लेट, पत्रिका आदिबाट भएका) निस्तेज पार्न ऊ काउन्टर-प्रोपेगाण्डामा लाग्यो।

राणा-कांग्रेस मन्त्रिपरिषद्को गठनसम्बन्धी “लालमोहरीया” पत्र
एकतर्फ विभिन्न नाका, गौँडा, सदर इलाकामा लडाइँ मच्चिरहेको थियो भने अर्कोतर्फ लडाइँलाई थप चर्कन नदिई साम्य पार्ने बाहिरी प्रयत्न पनि भइरहेको थियो। त्यस्तो यत्नको नेतृत्व भारतले गरिरहेको थियो, जहाँ त्रिभुवन र उनको परिवार शरण लिइरहेको थिए। नेपालको उत्तरी मुलुकमा माओत्से तुङका लाल सेनाको प्रभाव विस्तार हुँदै गरेको परिवेशमा त्यसलाई रोक्न नेपालमा क्रमिक सुधारका लागि दबाब दिँदै आएको जवाहरलाल नेहरू अन्तर्गतको भारतीय सरकारले खाका कोरेको गोरेटोमा नेपाली राजनीति हिँड्यो। लाल-शक्तिलाई रोक्ने नाउँमा बेलायत, अमेरिका जस्ता मुलुकले भारत सरकारको नीतिलाई चाहेर वा नचाहेर सघाए। खास गरी बेलायत त आफ्ना पुराना साझेदार राणाहरूको साथमा पछिसम्मै खडा थियो, यो कुरा तात्कालिक बेलायती सरकारले गरेका कूटनीतिक प्रयाससम्बन्धी लेखापढी केलाउँदासमेत थाहा लाग्छ। कथित “शान्ति सम्झौता” का कारण २००७ सालको “जनक्रान्ति” जति नाटकीय ढङ्गबाट प्रारम्भ भएको थियो, उत्तिकै नाटकीय ढङ्गबाट त्यसको पटाक्षेप भयो।
भारतीय राज्यसत्ताको रोहवरमा राणा-शाहबीच सम्पन्न भएको यो “सम्झौता”मा सशस्त्र आन्दोलनकारी शक्ति नेपाली कांग्रेस फगत फड्के किनाराको साक्षी मात्र रह्यो। माघमा “अलिखित” सम्झौता भएपछि पनि समयमै खबर नपुगेकाले, खबर पुगेपछि विद्रोही पक्ष थप बलियो भएकाले र सम्झौताको विरोधमा केही आन्दोलनकारी उभिएकाले केही ठाउँमा आन्दोलन मत्थर भयो, तर बन्द भएन। बरु अन्यत्र सल्कियो।
सम्झौता भएको केही समयपछि र सत्ता परिवर्तनप्रति आश्वस्त भएपछि फागुनको सुरुआतमा (४ गते) त्रिभुवन शाह नेपाल फर्के। उनीसँगै आन्दोलनकारी शक्ति नेपाली कांग्रेसका नेताहरू पनि काठमाडौं अवतरण गरे। फागुन ७ गते त्रिभुवनले “शाही घोषणा” गरे, जसले १०४ वर्षे जहानियाँ शासनलाई समाप्तप्रायः पार्यो। यद्यपि, त्यसपछि गठित राणा-कांग्रेस संयुक्त सरकारमा प्रधानमन्त्री मोहनशमशेर नै रहिरहे, तर पहिलेको जस्तो राणाहरूको रजगज बाँकी रहेन। यसको एक वर्षभित्र राणाहरूको जहानियाँ शासन पूर्ण रूपमा नासिएर गयो।
सामाजिक रूपमा युगान्तकारी परिवर्तन ल्याउने २००७ सालको सशस्त्र आन्दोलन र घटनावली तथा त्यस आन्दोलनका मुख्य पात्रहरूबारे थुप्रै सामग्री प्रकाशनसमेत भएको छ। यद्यपि, कतिपय पहलु अझै छन्, जसबारे खोतलिन, लेखिन बाँकी छ। कतिपय स्रोत-सामग्री अझै (अप्रकाशितसमेत) छन्, जसको अध्ययन हुनै बाँकी छ। यस्तै नलेखिएका पहलुमध्ये एक हो, २००७ सालको आन्दोलनमा सरकारी मुखपत्र गोरखापत्रको भूमिका। यो आलेखमा सो आन्दोलनको समाप्तिपछि त्रिभुवन शाह र उनका परिवार तथा आन्दोलनकारीहरू राज्यसत्ताको केन्द्र काठमाडौं पदार्पणसम्बन्धी र फागुन ७ को शाही घोषणासम्बन्धी गोरखापत्रमा प्रकाशित जम्मा पाँच सामग्री पस्किएको छु।
यहाँ प्रस्तुत पाँच सामग्रीमध्ये एउटा सरकारी सूचना छ, दुइटा गोरखापत्रको रिपोर्टिङ छन् र दुइटा सोही पत्रकै सम्पादकीय। पहिलो सामग्री मोहनशमशेरले प्रकाशन गरेको “सन्देशा” हो। पहिले आफैले “पदच्युत” गरेका राजा त्रिभुवनलाई राजाकै रूपमा स्वागत गर्नुपर्दाको “अमिलो” यो सामग्रीबाट अनुभूत गर्न सकिन्छ। त्रिभुवनको फिर्तीका क्रममा आफ्ना पक्षका कसैले कुनै अवाञ्छित गतिविधि पो गरिदेलान् र आफूलाई थप विपत् आइलाग्ला कि भनेर सोलाई रोक्न उनले यो सूचना प्रकाशन गरेको बुझ्न सकिन्छ। दोस्रो सामग्री त्रिभुवन र अन्य नेतागणको काठमाडौं फिर्ती हुँदाको गोरखापत्रको ग्राउण्ड रिपोर्टिङ हो, जसले भारतीय राजदूतको हैसियतसमेत देखाउँछ।
तेस्रो सामग्री गोरखापत्रको सम्पादकीय हो, यसमा उसले मुक्तकण्ठले त्रिभुवनको स्वागत गरेको छ। यो सम्पादकीयले अब सत्ता पल्टिई राजकाजको केन्द्रमा राणा नभई शाह आइपुगेको सङ्केतसमेत गर्दछ। चौथो सामग्री शाही घोषणा समारोहको रिपोर्टिङ हो, जसमा उक्त समारोहको “ब्लो-बाइ-ब्लो अकाउन्ट” दिइएको छ। गोरखापत्रले शाही घोषणासमेत छापेको छ, जुन धेरै ठाउँमा यसअघि नै प्रकाशन भइसकेकाले यहाँ उतारिएको छैन। अन्तिम सामग्री गोरखापत्रको फागुन ८ गतेको सम्पादकीय हो, जसले परिवर्तन र प्रजातन्त्रबारे उसको बुझाइ प्रस्तुत गर्दछ।
***
शान्ति-सुरक्षाका लागि मोहनशमशेरको आग्रह
श्री ३ महाराजको सन्देशा
श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेवको भोलि यहाँ सवारी फिर्ने प्रबन्ध भएको छ। हामी सबै मिली दिलैदेखि मौसूफको स्वागत गरी वहाँ उपर हाम्रो भक्ति प्रकट गर्नु उचित हो। नयाँ मंत्री मण्डलको सिर्जना श्री ५ महाराजाधिराजबाट चाँडै गरिबक्सने छ। दुनियाँतर्फबाट पनि यो कार्यमा नयाँ सरकारले पूरा सहयोग र सद्भाव पाउने छ भन्ने मेरो विश्वास छ। देशको वर्तमान सङ्कटमय परिस्थितिको अन्त हुने यस शुभ अवसरमा हामीहरू सबै मिली हाम्रो देश र राजाको जय मनाऔं। हामी सबैको प्रथम कर्तव्य शान्ति र श्रृङ्खला कायम राख्नु नै हुनाले तिनमा कसैले पनि कुनै प्रकारको धब्बा लाग्न नदिऊन् भन्ने मेरो सबैलाई अनुरोध छ।

त्रिभुवन र अन्य नेताको नेपाल फिर्तीबारे गोरखापत्रको रिपोर्टिङ
श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेवको नेपाल सवारीः तमाम नेपालीको चेहरामा शान्तिको लहर
काठमाडौं, फागुन ४ गते। आज सपरिवार श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेवको सवारी नेपाल हुने भएकाले नेपाल शहर विशेष चहकिलो थियो। उर्दीबमोजिमका जङ्गी, निजामती जागीरदारहरू तोकिएका ठाउँमा सामेल
थिए। हवाई अड्डादेखि नारायणहिटी दरवारसम्मको बाटोमा बनेका किसिम किसिमका रङ्गीचङ्गी ढोकाहरूको रौनक र सुन्दरता मनमोहक थियो। प्रति घरका अगाडि शगुनसमेतका पूर्ण घडाहरू राखिएका थिए। सडक, झ्याल, कौसी छाना, बार्दलीसमेतमा दर्शनार्थी जनताको भीड थियो। सबैभन्दा ज्यादा भीड थियो हवाई अड्डामा।
करीब २ बजे दिउसो श्री ५ महाराजाधिराज राजभएको हवाई जहाज गौचर हवाई अड्डामा बस्नासाथ स्वागतका निमित श्री ३ महाराज अगाडि बढिबक्सी दर्शन गरिबक्स्यो। सो सम्मानका निमित्त ५ जनरल, ५ कर्नेल अफिसरहरूका बाहेक भारतीय राजदूत र भारतीय तथा बृटिश दूतावासका कर्मचारीहरू पनि उपस्थित थिए। नेपाल स्थित विदेशी दूतावासहरूको कर्मचारीहरूको परिचय श्री ३ महाराजबाट श्री ५ महाराजाधिराजका हजूरमा गराइ बक्सियो। छाउनीबाट ३१ तोपको सलामी लाग्यो। त्यस पछि श्री ५ महाराजाधिराजको सवारी नारायणहिटी दरवारतर्फ निम्नलिखित रूपबाट बढ्यो। सवारीको मोटरको अगाडि मोटरसाइकल थियो। श्री ३ महाराज र भारतीय राजदूत सहित श्री ५ महाराजाधिराज पहेंलो मोटरमा राज भएको थियो। रासमा एक रक्षा अफिसर थिए। मोटरको अगल बगल मोटरसाइकलवाला थिए।
श्री ५ को सवारी टुँडिखेलमा पुगेपछि नेपाल खाल्डाभित्रका सबै पल्टनहरूले टुँडिखेलको उत्तरी किनाराबाट शाही सलामी दिए। त्यस अवसरमा श्री लाठसाहेव र दुइ जनरलहरू पनि होइबक्सिन्थ्यो। केसरमहलनजीक जसै सवारी पुगेथ्यो त्यहाँ नियुक्त भएका श्री ५ महाराजाधिराजका रिसल्लाले पनि साथ दिए नारायणहिटी दरवारमा बृटिश राजदूत स्वागतका निमित उपस्थित थिए। नारायणहिटी दरवारमा श्री ५ को सम्मानका निमित्त श्री मिनिष्टर एण्ड कम्याण्ड-र-इन-चीफ साहेव, अरू जनरलहरू होइबक्सिन्थ्यो र जंगीमा मेजर र निजामतीमा मीरसुब्बासम्म उर्दीबमोजिमको पोशाकमा थिए। नारायणहिटी दरवारभित्र सवारी पुग्नासाथ श्री ५ महाराजाधिराजलाई व्याण्ड बाजा सहितको गार्ड आभ आनर बज्यो। बाँकी जंगी तथा निजामती अफिसरहरु टुँडिखेलमा जम्मा थिए। गौचरदेखि नारायणहिटी दरवारसम्मको बाटाभर सशस्त्र सैनिक पुलीसको लाम थियो।

श्री ५ सरकारको सवारी भित्रिएपछी श्रीमती प्रतिभाका साथै दुवै श्री ५ बडा महारानी, श्री ५ शाहज्यादी, श्री ५ माहिला र कान्छा महारानी श्री ५ युवराजा धिराज, श्री ५ माहिला र कान्छा शाहजादाहरूको सवारी पनि ४ बजेका समयमा नारायणहिटी दरवार भित्रियो। सवारी भएको प्रत्येक मोटरको रासमा रक्षक अफिसरहरू बसेका थिए।
बाटोमा पर्ने घरहरूबाट श्री ५ सरकार उपर गरिएको फूल, लावा, अबीरको वर्षाले बाटै राताम्य देखिन्थ्यो। सबै नरनारीको चेहरामा देखिन्थ्यो शान्तिको लहर। जागीरदारहरू नजीक सवारी पुग्नाको साथ सबैले दर्शन गरी जय जय मनाए। जयजयकारको ध्वनिले सम्पूर्ण वातावरण गुञ्जिएको थियो। तमाम नरनारीहरू मौसूफको सद्भावनाबाट पाइने शान्ति र सुखको भरोसा गर्दै घर घर फर्के। बेलुका साँझपरेपछि विशेष किसिमका दीपावलीले शहरै झकमक्क बलेको थियो। भरनेपालका राजनैतिक संस्थाहरूले पनि यो अपूर्व स्वागतमा पूर्ण भाग लिएका थिए।
***
निर्वासनबाट फर्केकालाई गोरखापत्रको सम्पादकीय स्वागत
स्वागतम् !
करीब तीन महीना अगि भाइटीकाका दिन श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेवको सपरिवार दिल्लीतर्फ सवारी भएको थियो। त्यस दिनदेखि भयो नेपालको दुनियां रानो हराएको माहुरी सरह। न कोही हाँसी खुशी देखिन्छन् न कसैमा छ शन्तिको झुल्को। सबै छन्, पीर र अशान्तिले थिचिएका। मौसूफको वियोग नै नेपालको आखिरी अवस्था जस्तो थियो। सबैको प्राण पनि मौसूफकै दर्शनका अभिलाषामा झुण्डिएको छ।

हिजो नेपालका सौभाग्य सूर्य श्री ५ सरकारको राजधानीमा सवारी भयो। सुक्न लागेको नेपाली जीवन पलाउन थाल्यो। सबैले मौसूफका पाउमा आफ्नो आफ्नो मनको पीर समर्पण गरे। अबलाई देखियो सबैको चेहरामा नवीन उत्साह र शान्ति। शहर उज्यालो भयो, गाउ घर हाँस्न थाल्यो, बूढोदेखि बालकसम्म खुशीराजी छन्, सबैको मुखबाट निस्केको छ श्री ५ सरकारकी जय। अबलाई टुहुरो नेपालको पनि दिन फर्क्यो। परस्परमा मिलजुल गरी देशोत्थानको काममा मौसूफको आदेश अनुसार चल्ने तमाम नेपालीको स्वागत ग्रहण गरिबक्सी प्यारो मातृभूमिको शिर ठाडो गराउने श्री ५ सरकारको सुमनोहर गाथमा पशुपतिनाथको सुदृष्टि अटल रहोस् !
***
शाही घोषणा तथा मन्त्रिमण्डल गठनसम्बन्धी गोरखापत्रको रिपोर्टिङ
श्री ५ महाराजाधिराजको शाही घोषणाः मन्त्रिवर्गवाट सपथ ग्रहण र हस्ताक्षर
काठमाडौं, फागुन ७ गते। आज नारायणहिटी दरवारमा श्री ५ महाराजाधिराजबाट गरिबक्सिने शाही घोषणाको समारोह थियो। फ्रण्टको दुइतिर टांगिएका सामियानामा देब्रेपट्टि जंगी, निजामती अफिसर र दाहिनेपट्टि नेपाली कंग्रेसका मानिसहरू बसेका थिए। पौने ३ बजेतिर श्री मिनिष्टर साहेबको सवारी भयो अनि सपत्निक ब्रिटिश राजदूत, मि. किल्बर्न र अरु विदेशी पाहुनाहरु आए। २।५५ मा श्री ५ युवराजाधिराजको र केहीपछि श्री ३ महाराज, अरु जनरल साहेवको सवारी भयो। ठीक ३ बजे भारतीय राजदूत र क. कटौच पनि उपस्थित भए। त्यसपछि श्री ५ माहिला, कान्छा शाहाजादाको सवारी भयो। सवा ३ बजेतिर श्री मात्रिका प्रसाद कोइराला, श्री भरतमणि शर्मा र श्री गणेशमान सिंह पुगेपछि स्वदेशी विदेशी फोटोग्राफरहरूका क्यामरा धमाधम चल्न थाले अलीखेरमा कंग्रेसतिरका गण्य मान्य मानिसहरू पनि उपस्थित भए।
साढे तीन बजेतिर श्री ३ महाराज र चुनिने मंत्रीहरूसमेतको मूल बैठकमा प्रवेश भयो। श्री ५ महाराजाधिराज राज हुने कौचअगाडि दुइ लहर गरी राखिएका मेचमध्ये अगाडिको लहर श्री ३ महाराज, श्री मिनिष्टर साहेब, श्री विश्वेश्वर प्रसाद कोइराला, श्री सुवर्ण शमशेर, श्री चूडाराज शमशेर र पछिल्लो पंक्ति श्री गणेशमानसिङ, श्री नृपजङ राणा, श्री भद्रकाली मिश्र, श्री यज्ञ बहादुर बस्न्यात, श्री भरतमणि शर्माबाट सुशोभित भयो। तीन बजेर ३५ मिनेट जांदा दुइ जना स्टाफ अफिसरको पछि श्री ५ महाराजाधिराज, श्री ५ युवराजाधिराज, श्री ५ माहिला कान्छा युवराजको बैठकमा सवारी भयो। त्यसै बेला बजेको शाही सलामीका बाजाको सुमनोहर ध्वनिले दरवार गुञ्जायमान भयो। उपस्थित सबै जनाबाट मौसूफको स्वागत भयो।
त्यहाँपछि श्री मे. ज. विजयवाट शाही घोषणाको १ प्रति श्री ५ का बाहुलीमा टक्र्याइबक्सियो। चार बज्न बीस मिनेट बाँकीमा मौसूफबाट शाही घोषणा गरिबक्सियो। सो भाषण सुन्नाका निमित लाउडस्पीकर टाँगिएको टुँडिखेलमा पनि बृहज्जनसमूह उपस्थित थियो। नारायणहिंटी क्यांपभित्र जम्मा भएका सबैका कान भाषण सुन्नामा सतृष्ण थिए। भाषण सकिएपछि बैठकमा भाषणका प्रतिहरू धमाधम बाँडिए।

पौने चार बजे श्री ५ महाराजाधिराजका अगाडि सवारी भई मौसूफबाट हुकुम भएको पद पद दोहोर्याई श्री ३ महाराजबाट सपथ लिइबक्सियो। सपथको सारांश यस्तो थियो– “ईश्वरका अगाडि द्वेष पक्षपातविना सबै प्रकारका मानिससँग न्याय्य व्यवहार गर्छु, मंत्रीको हैसियतमा थाहा पाएको कुरा काम नपरी कसैमा सूचना र प्रकट गर्नेछैन, इत्यादि।” अनि प्रधान मंत्रीको सामुमा प्रत्येक मंत्रीले क्रमैसँग श्री ५ बाट हुकुम भएको सपथ त्यसै गरी दोहोर्याएर ४ बजेर ५ मिनेटमा सो काम सकियो।
तदुपरान्तको बगलको सानू टेबिलमा राखिएको सो कागतमा श्री प्रधान मंत्री प्रभृति सबै मंत्रीहरुबाट हस्ताक्षर (सहि) भयो। ४ बजेर १० मिनेट गएपछि श्री ५ को सवारी पोटिकामा भई शाही सलामी लिइबक्स्यो र सामियानामा रहेका सबैलाई बिदा बक्सियो। त्यसै वेला पोटिकामा ग्रुप फोटो खिचियो।
त्यहाँबाट ब्रिटिश राजदूत, लेडी फक्नर तथा तथा यूरोपीय पाउनाहरू विदा भई हिंडे। निजको सलामी भयो। अनि भारतीय राजदूतको प्रस्थान भयो र सलामी बज्यो। जम्मा भएका सबै सज्जनवृन्द साढे चार बजेदेखि हिंड्न थाले। निजामती, जंगी अफिसर कर्मचारीहरूमा भाषणका प्रतिहरूको हारालुछ थियो। पौने ५ बजे श्री ५ महाराजाधिराजबाट सबै मंत्रीहरूलाई विदा बक्सियो। पाँच बजेतिर श्री ३ महाराज र अरु जनरल साहेबहरूको सवारी फिर्यो र सो महोत्सव सुसम्पन्न भयो।
***
परिवर्तन र प्रजातन्त्रबारेगोरखापत्रको बुझाइ
आदर्श नेपाल
परिवर्तनशील संसारको परिस्थितिबमोजिम नेपालमा पनि अब महान परिवर्तन देखियो। योग्यता देखिएकोले काममा हात हाल्न, लेख्न, बोल्न सबैले पाउने भए। नेपाली जीवनको सर्वत्रः विकास गर्ने बेला अब भयो, त्यसको मुख्य कारणचाहिँ कामनै देखिएकाले कामको ज्यादा धन्दा लिनु अहिलेको अवस्थालाई सुधार्ने तरीका हो भन्ने कुरो जान्नेहरूले पक्का पनि निधो गरिसकेको हुनुपर्छ।
श्री ५ महाराजाधिराजको राजधानीमा सवारी भयो। मन्त्रि-मण्डलको काम पनि अविलम्व चालू हुने भयो। सयौं वर्षदेखि चलिआएको शासन-पद्धतिले काँचुली फेर्ने भयो। देश-व्यवस्थाका काममा एकजनाले जवाफदेही गर्नुनपरी मन्त्रिमण्डलको रायद्वारा पास भएको प्रस्तावले काम गर्ने भयो। अबलाई नेपाल सपार्नु र बिगार्नु हाम्रै कर्तव्य र चरित्रको प्रभावमा छ भने हुन्छ।
भौगोलिक स्थिति, जनसंख्या, आर्थिक अवस्था सबै कुरामा नेपाल सारो जस्तो देखिन्छ तापनि नेपालको उच्च विचार, पारस्परिक सहयोग, सौहार्दपूर्ण व्यवहारद्वारा वर्तमान न्यूनताको पूर्ति हुन केही गार्हो छैन। तसर्थ सबभन्दा पहिले हामीलाई चाहियो मानव कर्तव्यको शिक्षा र ज्ञान। अनि त्यसैबाट सबै कुरा क्रमशः पूर्ण भएर आउन थाल्दछ।
प्रजातन्त्रका माने नबुझ्नेहरूलाई यस कुरामा उस्तो रुचि नहुने पनि हुन्छ तर त्यसको मोटामोटी अर्थ भनौं आफूखुशी। तर आफुखुशी पनि कानूनसँग सीमित मात्र हुन्छ नि ! मनपरी गर्नेलाई त मस्काउँछे कानूनले टनटनी। अर्को कुरा, अब नेपाललाई स्वतन्त्र भयो भन्नु नितान्त भूल हो। किनभने पहिले पनि नेपाल स्वतन्त्र अर्थात् फुक्का थियो। कुनै मुलुकको अधीनमा थिएन, अहिले पनि छैन। त्यसैले प्रजातन्त्र माने स्वतन्त्र होइन। प्रजातन्त्रको ठीक अर्थ – प्रजाद्वारा (सीधै वा प्रतिनिधिद्वारा) प्रजामाथि शासन।

जुक्ति, बुद्धिले रोपेको मात्र छ प्रजातंत्र पोथी। त्यसलाई चाहिंदो मल, जल र गोडमेलद्वारा बढाई ढकमक्क फुलेको र लटरम्म फलेको नतुल्याई धक मार्नु पनि हुँदैन। काममा बरु हात नहाल्नु बेस, हात हालिसकेपछि त त्यस कामको सकल संसारका दृष्टिमा छर्लङ्ग पार्ने कोशिशबाट पनि चुक्नु हुदैन। यसलाई भन्दछन्, बुद्धिमानको व्यवहार।
नेपालको पुर्पुरो औजसेन छैन, नेपाली जनतामा आँट र वर्कत प्रशस्त छ, नपूग खनखांचोमा मद्दत र सल्लाह दिने सरकार छ। बाटो पहिलिएपछि टुंगोमा पुग्न पनि उस्तो गार्हो हुन्न। तर कहाँ ढुङ्गा छ, कहाँ काँढा छ, त्यसको परवाह नगरी आकाशतिर हेरेर जथाभावी दौडनु त हुँदैन नि ! त्यसो गर्दा कुनै ऐनाको टुक्रोमा पैतालो पर्यो भने अनेक चिकित्साबाट पनि तार नलागी आखिरमा गएर सेन भई जखम हुन पनि वेर लाग्दैन। यसैले नयाँ बाटोमा भेउ नपाउञ्जेल नियालेर हेर्दै हिंड्ने आदत जसको निम्ति पनि लाग्नुपर्छ।
चारजना बसेर कुरा गर्दा राम्रो कुरा निक्लन्छ, मनासीब कुरामा हजारौं जन जम्मा भई सरसल्लाह र छलफल गरी सार निकाल्नुपर्छ। तर त्यही पनि ज्यादा भयो भने त बुझ्नेले त्यस कामलाई समयको दुरुपयोग नभनी छोड्दैनन्। यो र देशको वातावरणको खयाल गरी काम गर्नचाहिं जसरी पनि जान्नु परेको छ। परिस्थितिबाट नेपालले जति दुःख भोग्यो भोग्यो, अबलाई छैन सो आपदको शङ्का। नीतिपरायण सबै भई आफ्नो आफ्नो चरित्रलाई उज्यालो गराउन सकेमा हाम्रो देश र हामीसमेत सधैं हँसिला र आनन्दी हुन केही गार्हो पनि छैन। त्यसका निम्ति लिनुपर्यो सबैले दूरदर्शितासहितको उच्चविचार। यसैबाट पाइन्छ अमूल्य निधि र नेपाल बन्छ, एउटा आदर्श राज्य।
प्रकाशित : 19 February 2026
स्रोत : https://commons-nepal.com/changes-in-gorkhapatra-in-2007/
लोकरञ्जन पराजुली










