शाही शासनमा एफएमको कथा
2021-10-11जुनसुकै तानाशाहको पहिलो तारो सञ्चार क्षेत्र हुने गर्छ । सञ्चारजगत्को घाँटि ननिमोठि आफ्नो निरंकुश शासन लाद्न सकिन्न भन्ने उनीहरुलाई राम्ररी थाहा हुन्छ ।
‘५० को दशकको मध्येदेखि यहाँ खासगरी स्वतन्त्र विद्युतीय सञ्चारमाध्यमको बाढी नै आयो । फ्रिक्वेन्सी मोडुलेसनको रुपमा प्रसारण आरम्भ गर्ने रेडियोहरुको संख्या’ ६०को दशकसम्म आइपुग्दा दर्जनौं पुग्यो ।
यही कालखण्डमा निरंकुश शासकको रुपमा उदाए–राजा ज्ञानेन्द्र । एक्काइसौं शताब्दीका सचेत जनताले राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध हुँकार गरें । त्यसैले जनताको आवाज बोल्ने स्वतन्त्र रेडियोहरु शाही शासनको प्रमुख दुश्मन बने । फलतः स्वतन्त्र रेडियोको घाँटी निमोठ्ने दुस्साहस गरिछाडे उनले ।
०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले जनताको स्वतन्त्रताको अधिकारविरुद्ध लादेको निरंकुशतामा स्वतन्त्र रेडियोमाथि भएका हस्तक्षेपकै सेरोफेरोमा केन्द्रित पुस्तक हो– ‘शाही शासनमा स्वतन्त्र रेडियो, दमन र प्रतिरोधको कथा ।’
०४५ सालदेखि पत्रकारिता क्षेत्रमै क्रियाशील पत्रकार विनोद ढुंगेलले तयार पार्नुभएको यस पुस्तकमा शाहीकालमा स्वतन्त्र रेडियोमाथि भएका तमाम हस्तक्षेप र ती हस्तक्षेप विरुद्ध भएका संघर्षहरुलाई सूक्ष्म ढंगले केलाइएको छ । पत्रकार भएका नाताले ढुंगेलले पुस्तकमा कुनै पनि कुरा अनुमानका आधारमा लेखेका छैनन् । सानो भन्दा सानो अंश पनि तथ्य र प्रमाण उल्लेख गरिएकाले पुस्तकप्रति आमपाठकको विश्वसनीयता झल्किने कुरामा शंका गर्ने सकिने ठाउँ छैन ।
पुस्तकमा सामग्रीहरुलाई पाँच खण्डमा विभाजन गरिएको छ । सुरुका चार खण्डमा शाही शासकले स्वतन्त्र रेडिढो विरुद्ध गरेको दमनको शृंखला, त्यसको प्रभाव , प्रतिरोध र रेडियो आन्दोलनकर्मीमाथि आमक्षेत्रबाट व्यक्त सद्भाव र समर्थनको नालीबेली प्रस्तुत गरिएको छ भने अन्तिम पाँच खण्डमा दमनबाट सिक्नुपर्ने पाठबारे विश्लेषण गराइएको छ ।
शाही दमनविरुद्ध गठित स्वतन्त्र रेडियो बचाऊ आन्दोलन संघर्ष समितिका सदस्यसमेत रहेका यस पुस्तकका लेखक ढुंगेलले प्रस्तुत पुस्तक तयार गर्न गरेको मिहिनेत पनि प्रशंसनीय छ । राजधानीमा मात्र नभएर समग्र मोफसलमा स्वतन्त्र रेडियोमाथि बन्देज लगाउन गरिएका शाही दुस्कर्मका सम्पूर्ण नालीबेली तिथिमितिसहित उल्लेख गरिएको छ । त्यस्तै निरंकुश राज स्थापित गर्न ल्याइएका काला कानुनबारे उल्लेख मात्र छैन, तिनमाथि सटीक टिप्पणी पनि गरेका छन् उनले । दमन मात्र हैन दमनबाट सिर्जित समस्याको पनि तथ्य उजागर गरिएको छ । दमनकै का।ण विस्थापित पत्रकारहरुको विवरण साथै त्यससँग सम्बन्धित त्यस समयका सम्पूर्ण समाचार जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
समग्रमा पुस्तक पत्रकारिता विद्यार्थी, अध्येतालगायत रेडियोबारे जानकारी राख्ने सबैका निम्ति पठनीय त छदैंछ, त्यसभन्दा बढी ऐतिहासिक दस्तावेज बनेर आएको छ । शाही शासनमा सञ्चारमन्त्री बनेका पत्रकार श्रीषशमशेर राणाले मन्त्री बन्नुअघि राजाको कदमको समर्थनमा पत्रपत्रिकामा दिएको अन्तवार्तादेखि लिएर कानुनमा गरिएको संशोधन, सेन्सरसीपबाट बढेको रेडियोका बिक्री, रेडियोकर्मीका भेला, तिनका निर्णयहरु, विभिन्न पेसा–व्यवसायीले रेडियोकर्मीप्रति गरेको समर्थनका अभिव्यक्तिलगायत सम्पूर्ण पक्ष खोतलखातल पारिएको यो पुस्तक शाही शासनको दुष्कर्मपछि जानकारी लिन चाहनेका लागि खुराक बनेको छ ।
स्रोतः बुधबार साप्ताहिक, १ फागुन २०६४, वर्ष १३, अंक १३