मूल्याङ्कनको कसीमा मीना आचार्य

- सेरा तामाङ | 2026-08-21

मीना आचार्यका मूलतः चार प्रकारका योगदान छन्। बहु-विधागत दृष्टिकोण, अर्थ र तथ्याङ्कमा स्पष्ट जोड, आफ्ना हरेक विश्लेषणमा महिलालाई कस्तो असर पर्छ भनेर खोज्ने तरिका अनि ज्ञानको खोज र बौद्धिक संलग्नता।

अजय सुवेदी

मीना आचार्यका योगदानको दायरा फराकिलो छ। उदारीकरण, विश्वव्यापीकरण, सामाजिक पुनर्उत्पादन, राजनीतिक दलहरूको गतिशीलता, वैदेशिक सहयोग, अन्तर्राष्ट्रिय/गैरसरकारी संस्थाहरू, लोकतन्त्र, श्रम आप्रवासनदेखि महिलासम्मका विषयमा उनले कलम चलाएकी छन्। 

उनका समीक्षात्मक विश्लेषणले राजनीतिक सुधारपछि पनि कसरी सामाजिक बहिष्करणले निरन्तरता पाएका छन् भन्ने उजागर गरेका छन्। साथै, समाजवादी आदर्श आत्मसात् गरेको दाबी गर्ने राजनीतिक दलहरूले प्रस्टैसँग प्रवर्धन गरेको नवउदारवादी सुधारले कसरी असमानता बढायो र ग्रामीण क्षेत्रका अधिकांश मानिसलाई अझ गरिब बनायो भन्नेबारे बडो मिहीन ढङ्गले लैङ्गिक असरको व्याख्या गर्दै उनले विश्लेषण गरेकी छन्। उनका अध्ययनले माओवादी आन्दोलनका आर्थिक आधारहरू, राज्यमा महिलाको प्रतिनिधित्वको कमी र देशको आर्थिक, सामाजिक एवं राजनीतिक यथार्थबाट विमुख नीति तथा विकास पहलको तर्जुमामा वैदशिक सहयोग र दाताहरूको भूमिका जस्ता विषय समेटेका छन्।

मेरो विचारमा उनको योगदानको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, उनका कामले राजनीति केवल सार्वजनिक क्षेत्रमा मात्र नभई घरपरिवारभित्र पनि हुन्छ भन्ने बुझाइ विस्तार गर्न गरेको महत्त्वपूर्ण योगदान। असमानतालाई परिभाषित गर्न र  आर्थिक, सामाजिक तथा राजनीतिक वृत्तमा तिनको प्रसारण बुझ्न घरपरिवार नै कसरी मुख्य बिन्दु हुन सक्छ भन्नेबारे उनका विश्लेषणले स्पष्टसँग उदाहरण प्रस्तुत गरेका छन्। लैङ्गिकता र घरपरिवारबारे उनका कामले “नितान्त व्यक्तिगत विषय पनि राजनीतिक हो” भन्ने अवधारणालाई सतहमा ल्याएका छन्। साथै, फराकिलो सामाजिक र राजनीतिक असमानतामा यसका प्रभावको पुनर्उत्पादनलाई पनि उजागर गरेका छन्।

असमानतालाई परिभाषित गर्न र  आर्थिक, सामाजिक तथा राजनीतिक वृत्तमा तिनको प्रसारण बुझ्न घरपरिवार नै कसरी मुख्य बिन्दु हुन सक्छ भन्नेबारे उनका विश्लेषणले स्पष्टसँग उदाहरण प्रस्तुत गरेका छन्।

घरभित्र र बाहिर महिलाका काम बुझ्नु र महत्त्व दिनुका साथै समयसँगै यसमा भएका परिवर्तनको मूल्याङ्कनमा मीनाजीले मुख्य जोड दिएकी छन्। महिलाको अवस्थामा भइरहेको सबै किसिमको परिवर्तनमा उनीहरू आफैले दिइरहेको योगदानको कदर गरियो भने मात्रै उनीहरूलाई सहयोग गर्ने उपयुक्त उपाय तय गर्न सकिन्छ। त्यसैले, मिनाजीले आम्दानी सिर्जना गर्ने वा तालिम दिने जस्ता परम्परागत तरिकाको आलोचना गरिन् र सिलाइ, कटाइ, बुनाइ वा गलैंचा बुन्ने जस्ता योजनाबाट अघि बढ्न आह्वान गरिन्।

सन् १९९० को दशक र त्यसपछि पनि उनले सम्पतिमा छोरी र आम रूपमा महिलाको समान अधिकारको माग गरिरहिन्। घरेलु अर्थतन्त्रमा महिलाको उत्पादनशील भूमिकादेखि महिलामाथि थोपरिएको सामाजिक-आर्थिक र राजनीतिक सीमाको पहिचानसम्म तथा असमानताको सम्बोधन गर्न कानुनी एवं नीतिगत व्यवस्थाको आवश्यकतासम्म उनले दिएको बौद्धिक योगदान महत्त्वपूर्ण छ। जसरी उनका काम सम्मानको हकदार छन्, त्यसरी नै उनले आफ्ना योगदानमार्फत महिलाप्रति सम्मानको माग गरिन्।

मीनाजीका मूलतः चार प्रकारका योगदानहरू छन्। पहिलो हो, बहु-विधागत दृष्टिकोण। दोस्रो, अर्थ र तथ्याङ्कमा स्पष्ट जोड। तेस्रो चाहिँ आफ्ना हरेक विश्लेषणमा महिलालाई कस्तो असर पर्छ भनेर खोज्ने उनको तरिका, जसले उनको नारीवादी राजनीतिक र बौद्धिक प्रतिबद्धता प्रस्ट पार्छ। चौथो हो, ज्ञानको खोज र बौद्धिक संलग्नता।

बदलिँदा झुकाव

पछिल्लो विषयको हकमा, मीनाजीको लेखनमा विचार र चिन्तनको विकासक्रम प्रस्ट देखिन्छ। उदाहरणका लागि, सन् १९७७ मा प्रकाशित लेख आर्थिक विकासमा महिलाको भूमिकामा पञ्चायती व्यवस्थाका मान्यताहरू भेटिन्छन्। त्यति बेला उनले यस्तो लेखेकी थिइन्, “आर्थिक विकास तीव्र गराउने प्रक्रियामा महिलालाई सहभागी गराउनका लागि हजारौं वर्षको आर्थिक दासताका कारण क्षय भएको उनीहरूको शारीरिक, मानसिक, बौद्धिक, सांस्कृतिक र राजनीतिक स्थितिमा आमूल परिवर्तन ल्याउन जरुरी छ।” यो अभिव्यक्तिमा अपरिवर्तनीय पितृसत्ता, विकास र राष्ट्रको हितका लागि महिलालाई ‘उकास्ने’ जस्ता अवधारणा छन्। माथि उल्लिखितमध्ये पछिल्लो खालका विश्लेषणमा उनी यसबाट निकै अघि बढेको पाइन्छ जसमा राष्ट्रिय र वैश्विक पुँजीवादी अर्थतन्त्रमा महिलाको प्रवेशको आलोचना पनि समावेश छन्।

यीबाहेक उनले नेपालका महिलाको विविधीकरणमा पनि निरन्तर ध्यान दिएको पाइन्छ। नेपालमा महिलाको मर्यादा स्तर (द स्टेटस अफ् वुमेन इन नेपाल) प्रतिवेदनका पाँचवटा भागमा उनले नेपाली महिलाको आर्थिक गतिविधिमा जातीयता र जातले खेलेको महत्त्वपूर्ण भूमिका उजागर गरेकी छन्। ध्यान दिनुपर्ने पक्ष हो, उनले आफ्ना प्रारम्भिक अनुसन्धानहरूलाई निरन्तरता दिइन् र पछिल्ला अनुसन्धानमा भारोपेली समूहका महिलाभन्दा “भोट-बर्मेली” समूहका महिला बढी उद्यमी हुन्छन् भन्ने निष्कर्षलाई नयाँ अनुसन्धानले आंशिक रूपमा मात्र पुष्टि गरेको उल्लेख गरेकी छन्।

आफ्ना महत्त्वपूर्ण प्राज्ञिक योगदानका बाबजुद उनका कर्मले प्राज्ञिक जगत्‌मा कमै मात्र स्थान पाएका छन्। उनीभन्दा कम लेखन गरेका वा प्राज्ञिक दृष्टिले कम सशक्त रहेका धेरै व्यक्तिहरूले उनीभन्दा बढी प्रशंसा र प्रतिष्ठा प्राप्त गरेका छन्।

नेपालका विभिन्न महिलाबारेको उनको अध्ययन अर्थशास्त्रको परिधिमा मात्र सीमित रहेन। उदाहरणका लागि, सन् २००० मा प्रकाशित वञ्चितहरूको सशक्तीकरणमा गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (गैसस)हरूको पहलबारे लेखमा पनि उनले महिलालाई नै बढी जोड दिएकी छन्। उनी लेख्छिन्, “सबै जातीय र जात उपसमूह एवं वर्गहरूमा सबैभन्दा बढी वञ्चित महिला हुन्।” त्यसैमा थप्छिन्, “दलित सुमदाय जस्तो विभिन्न खालका विभेदहरू भोग्ने समुदायमा त महिलाको अवस्था झनै दयनीय हुन्छ।”

त्यसको १० वर्षपछि अर्को एक लेख महिला आन्दोलनमा बदलिँदा संकथनहरूः एक आलोचनात्मक सिंहावलोकनमा संयुक्त राज्य अमेरिकाको नारीवादी आन्दोलनका नश्लीय पाटोसँग सादृश्यता सिर्जना गर्दै लेख्छिन्ः 

"सामाजिक असमानताले महिलालाई गरिब र सुविधाबाट वञ्चित समुदायको सदस्यको रूपमा बहुआयामिक उत्पीडन थोपर्ने भएकाले नारीवादले सामाजिक विविधता पहिचान गर्नुपर्छ र यसलाई नारीवादी आन्दोलनको सन्दर्भमा सम्बोधन गर्नुपर्छ। जात, वर्ग, जातीयता र भाषागत असमानतालाई पनि सम्बोधन गर्नैपर्छ।

राजनीतिक दृष्टिकोणमा आएका उनको यस्ता विशिष्ट परिवर्तनलाई स्वीकार गर्नैपर्छ। यस्तो खालको नियमित सहभागिता र विचार तथा विश्लेषणको व्यापकता नेपालमा आफूलाई नारीवादी नेतृ भन्नेहरूमै पनि निकै कम पाइन्छ। ज्ञानप्रतिको उनको निरन्तर प्यास र गहन अध्ययन गर्ने समर्पित बानीकै प्रतिफलका रूपमा आएका यी परिवर्तन प्रशंसनीय छन्। 

भान्सा सम्हाल्दै जुम्ला, चन्दननाथ नगरपालिका-७ की गृहिणी (अनिता भेटवाल) ।


प्राज्ञिक सम्मान

बहुविधागत दृष्टिकोण, अनुभवजन्य विश्लेषणमा जोड, स्थापित ज्ञान, मूल्य र मान्यताहरूलाई निरन्तर चुनौती जस्ता विशेषताले मीना आचार्यका कृतिहरू भविष्यका अनुसन्धाता र प्राज्ञिकहरूका लागि महत्त्वपूर्ण आधारशिला बन्न पुगेका छन्। उनको योगदानलाई ऐतिहासिक परिप्रेक्ष्यमा हेर्दा उनका समकालीन नेपाली विद्वानहरूमध्ये इतिहासकार धनवज्र वज्राचार्य (सन् १९३२-१९९४), साहित्य र इतिहासका ज्ञाता कमलप्रकाश मल्ल (सन् १९३६-२०१८) र भूगोलविद् तथा विभिन्न विधाका विज्ञ हर्क गुरुङ (सन् १९३९-२००६) पर्दछन्, यी सबै सन् १९३० को दशकमा जन्मिएका थिए। मीना आचार्य यिनै प्रतिष्ठित विद्वान्‌हरूको समकालीन पुस्ताकी एक “पथप्रदर्शक अग्रणी अनुसन्धानकर्ता” थिइन्। 

आफ्ना महत्त्वपूर्ण प्राज्ञिक योगदानका बाबजुद उनका कर्मले प्राज्ञिक जगत्‌मा कमै मात्र स्थान पाएका छन्। उनीभन्दा कम लेखन गरेका वा प्राज्ञिक दृष्टिले कम सशक्त रहेका धेरै व्यक्तिहरूले उनीभन्दा बढी प्रशंसा र प्रतिष्ठा प्राप्त गरेका छन्। अंग्रेजी भाषामा लेख्नेहरू पनि यसमा पर्छन्। अर्थात्, तुलनात्मक रूपमा उनको लेखन ओझेलमा पर्नुको मुख्य कारण भाषा होइन। हामीकहाँ प्रशस्त “सुपरस्टार” प्राज्ञहरू र राष्ट्रिय स्तरमा परिचित “बौद्धिकहरू” छन् जसको लेखरचना निकै कम छन्। अझ पद्दतिगत, विश्लेषणात्मक र तथ्यपरक कर्महरू त सन्तोषजनक पनि छैनन्।

मीनाजीका कामले कम महत्त्व पाउनुको एउटा मुख्य कारण हो, उनी पुरुष होइनन्। त्यसमाथि उनले राजनीतिक अर्थशास्त्रीका रूपमा नभई “लैङ्गिक विज्ञ” (जेन्डर एक्सपर्ट)का रूपमा परिचय बनाइएकी थिइन्। अर्को कारण हो, उनी विश्वविद्यालयबाहिर कार्यरत थिइन् जसले गर्दा “प्राध्यापक” भन्ने पदवीले दिने निश्चित खालको वैधतादेखि विद्यार्थी चेलाहरू उनीसँग थिएनन्। अर्को कारण चाहिँ पुरुषको वर्चस्व भएको मिडिया हो जुन पुस्तक र लेखहरूको अध्ययनमा भन्दा बढी “सार्वजनिक बौद्धिकहरू” (यसलाई पुरुष बनेर बुझ्नुहोस्)को अन्तर्वार्ता र उद्धरणहरूमा बढी भर पर्छ।

उनको कामको अवमूल्यन त उद्धरणको राजनीतिमा सबैभन्दा बढी देखिन्छ। मेरो विचारमा यो पाटो राष्ट्रिय वृत्तमा जति सान्दर्भिक छ, त्योभन्दा पनि बढी अन्तर्राष्ट्रिय वृत्तमा छ। हालै नेपालबारे लेखिएको एक लेख पढ्दा यो पछिल्लो पाटो पुन: पुष्टि भयो। उक्त लेखमा दुई जना पश्चिमा प्राज्ञहरूले नेपालको परिवर्तनशील राजनीतिक गतिशीलता र सामाजिक पुनर्उत्पादनको प्रक्रियाको विश्लेषण गर्दा घरपरिवारको तहसम्म जानुपर्ने र नारीवादी सिद्धान्तको प्रयोगमा जोड दिएका छन्। उनीहरूले “विकास र कृषि परिवर्तनमा प्रारम्भिक नारीवादी सिद्धान्तको महत्त्व” आफूहरूले महसुस गरेको बताएका छन् र “घरपरिवार र समुदायमा भइरहेको प्रक्रियालाई क्षेत्रीय र राष्ट्रिय तहमा भइरहेका प्रक्रियासँग जोड्नुपर्ने” पैरवी गरेका छन्। निर्वाहमुखी अर्थतन्त्र र महिलाको सशक्तीकरणको वैश्विक एकीकरण लगायतका असङ्ख्य लेखहरूमा मीनाले ती दुई पश्चिमा प्राज्ञले भनेकै विधि उहिले नै अवलम्बन गरेकी थिइन्। यद्यपि, पश्चिमा प्राज्ञिक जगत्‌मा कार्यरत असङ्ख्य लेखकहरूले मीनाजीका लेखहरू उल्लेख नै गर्दैनन्। 

राजनीतिक आन्दोलनहरू र विकासका असरबारे परम्परागत पुरुषवादी दृष्टिकोणलाई चुनौती दिन यी शोधपत्रहरूले बलियो आधार उपलब्ध गराउँछन्। यो यस्तो जग हो जसमा टेकेर म र म जस्तै अरूहरू खडा भएका छौँ। यो निश्चित इतिहास अचेल सामान्य जानकारी बनेको हुन सक्छ तर यो त्यत्तिकै भएको होइन। यसको एउटा महत्त्वपूर्ण कारक त मीनाजीले विभिन्न ठाउँमा गरेको हस्तक्षेप नै हुन्।

यस्तो अभ्यासलाई सामान्य त्रुटि वा बेवास्ताका रूपमा पनि हेर्न सकिन्छ। तर, नेपाली शोधकर्ताहरूको योगदानको उपयोग कसरी गरिन्छ वा गरिँदैन भन्ने विषय लामो समयदेखि बहसमा छ। यसबारे शोधकर्ताद्वय मधुसुदन सुवेदी र देवेन्द्र उप्रेतीले नेपालमा समाजशास्त्र र मानवशास्त्रको अवस्था  पुस्तकमा यसरी टिप्पणी गरेका छन्ः “आश्चर्यजनक कुरा, (विषयगत इतिहासका) पश्चिमा समीक्षकहरूले नेपाली विज्ञहरूले समाजशास्त्र र मानवशास्त्रको क्षेत्रमा गरेको योगदानबारे निकै कम छलफल गरेका छन्।” यो निष्कर्ष अरु विधाहरू र समग्रमा नेपाल अध्ययनकै क्षेत्रमा उत्तिकै सत्य साबित हुन्छ। इतिहासकार प्रत्यूष वन्तको सटिक टिप्पणीअनुसार “शोध गर्ने शेर्पाहरू” र अनुसन्धानमा सहभागी पश्चिमा समकक्षी (जो सैद्धान्तिक र वैचारिक रूपमा निपुण, “साहित्यको ज्ञान” भएको र विश्लेषण गर्न सिपालु मानिन्छ) बीचको भिन्नतामा उद्धरणको राजनीतिलाई सांस्कृतिक सिद्धान्तकार सारा अहमदले “विशिष्ट व्यक्तित्व वा ज्ञान समुदायलाई केन्द्रमा राखेर विद्यमान ज्ञानको पुनर्उत्पादन गर्ने अत्यन्त प्रभावकारी पुनरुत्पादक संयन्त्र हो” भनेर व्याख्या गरेकी छन्। 

यस्ता अभ्यासहरू ‘प्राज्ञिक ज्ञान’का वैध स्रोतलाई सीमित गराउने र त्यस्ता ज्ञान उत्पादन गर्ने अन्य तरिकालाई बेवास्ता गर्ने प्रवृत्तिसँग पनि सम्बन्धित छन्। विगतमा मैले केही वरिष्ठ पश्चिमा प्राज्ञहरूसँग कुराकानी गरेकी थिएँ जसले विकास परामर्श अनुसन्धानबाट निस्केको “प्राज्ञिक लेख”को वैधतालाई अवमूल्यन गर्दै “दाताले अनुदान दिएको” अनुसन्धान “वास्तविक अनुसन्धान” हो र ? भन्ने प्रश्न उठाएका थिए। यस्तो दृष्टिकोणले पश्चिमा विश्वविद्यालय र प्राज्ञिक अभ्यासहरू मात्रै प्राज्ञिक अनुसन्धान हुन सक्ने वैध स्थानहरू हुन् भन्ने मान्यता लाद्छ। यस्तो दृष्टिकोणले नेपालमा अनुसन्धानको राजनीतिक अर्थशास्त्रलाई पनि बेवास्ता गर्छ। जबकि पश्चिमा जगत्‌मा उपलब्ध हुने ठूलो राशिका शोधवृत्तिहरू नेपालमा या त छँदै छैनन् वा निकै नै कम छन्। 

साथै सर्वविदित तथ्य के पनि हो भने, पश्चिमा जगत्‌को प्राज्ञिक श्रम बजार शोषणकारी छ जहाँ प्रकाशन गर वा खत्तम होऊ भन्ने खालको परिस्थिति छ। अन्तर्राष्ट्रिय विज्ञ-समीक्षित जर्नलहरूमा कति प्रकाशन भएको छ भन्ने आधारमा अनुसन्धान वृत्ति प्रदान गरिन्छ र ती जर्नलहरू निकै महँगा छन्। प्रस्टै छ, पश्चिमा प्राज्ञिक जगत्‌का अनुसन्धाताहरूको बजार नेपाल होइन चाहे त्यो नेपालबारेकै अनुसन्धान किन नहोस्।

त्यो नै हाम्रो बजार हुनुपर्छ भन्ने छैन न त सार्वजनिक वृत्त नै हाम्रो प्राथमिकता हो तथापि यसको एउटा हिस्सा हाम्रो प्राज्ञिक वा शोध कर्मको राजनीतिक अर्थशास्त्रसँग जोडिएको छ। हामी मूलतः दाताहरूमा निर्भर छौँ र व्यक्तिगत तथा संस्थागत अनुसन्धान परियोजनाहरूले संस्था र व्यक्तिको प्रतिष्ठा स्तर बढाउँछन्। साथै नेपाली अनुसन्धानकर्ताहरूले नेपालमै प्रकाशन गर्ने छनौटले उनीहरूको निपुणता र क्षमताको स्तर उजागर गर्छ तर अनुसन्धान र प्रकाशन प्राथमिकताका अरू पक्षहरू पनि छन्। यो छनौटसँग नेपालका लागि सान्दर्भिक हुने, नेपालबारे सूचित गराउने र नेपालीका लागि समयमै उपलब्ध हुने पाटाहरू पनि जोडिएका छन्। मीनाजीका कर्ममा यिनै प्राथमिकता प्रस्ट देखिन्छन्।  

उनका बौद्धिक योगदान नेपालको अनुसन्धानको राजनीतिक अर्थशास्त्रका कारण भिन्दाभिन्दै अनुसन्धान विधिबाट सिर्जना भएका छन् र ती फरकफरक ज्ञान उत्पादन उद्देश्यका आधारमा स्थापित छन्। उदाहरणका लागि, सन् १९९३ मा काठमाडौंमा एउटा गैससको कार्यशालाका लागि तयार पारिएको नेपालमा नारीवादी आन्दोलन र दातृसंस्थाका लागि सन् १९९७ मा तयार पारिएको लैङ्गिक समानता र महिला सशक्तीकरणः एक वस्तुस्थिति प्रतिवेदनलाई लिऔं। यी शोधपत्रहरूले महिलाहरूको इतिहास र महिला अधिकारका निम्ति भएका पहलबारे ऐतिहासिक र विश्लेषणात्मक रूपरेखा उपलब्ध गराउँछन् जुन अन्यत्र पाइँदैन। राजनीतिक आन्दोलनहरू र विकासका असरबारे परम्परागत पुरुषवादी दृष्टिकोणलाई चुनौती दिन यी शोधपत्रहरूले बलियो आधार उपलब्ध गराउँछन्। यो यस्तो जग हो जसमा टेकेर म र म जस्तै अरूहरू खडा भएका छौँ। यो निश्चित इतिहास अचेल सामान्य जानकारी बनेको हुन सक्छ तर यो त्यत्तिकै भएको होइन। यसको एउटा महत्त्वपूर्ण कारक त मीनाजीले विभिन्न ठाउँमा गरेको हस्तक्षेप नै हुन्।

मीनाजीका यी महत्त्वपूर्ण बौद्धिक योगदानहरू विश्वविद्यालयबाहिर आधिकारिक रूपमा गैससका रूपमा दर्ता भएको अनुसन्धान संस्थामा भएका कामहरूको परिणाम हुन्। यो तथ्यले हामीलाई ज्ञान उत्पादनका विविध क्षेत्र र तौरतरिकाबारे पुनःविचार गर्ने आवश्यकतातर्फ डोर्‍याउँदै नेपालमा हरेक प्रकारका बौद्धिक गतिविधिलाई बढावा दिन जरुरी रहेको तथ्य बोध गराउँछ।

(यो लेख सोसल साइन्स बहाःद्वारा दुई भागमा प्रकाशित अर्थशास्त्री मीना आचार्य (सन् १९३८-२०२६)का लेखहरूको सँगालो ‘सेन्टरिङ वुमेन इन नेपाल्स इकोनोमी एन्ड सोसाइटी’मा समावेश उपोद्घातको सम्पादित रूप हो। यसको नेपाली अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्। लेखको मूलपाठ सन् २०२० जुनमा प्रकाशित 'स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (वर्ष २५, अंक १)'मा छापिएको थियो।)

21 August 2026
स्रोत : https://commons-nepal.com/meena-acharya-on-the-nature-of-evaluation/ 

 
 

About the Author

Seira Tamang सेरा तामाङ

Seira Tamang is a political scientist whose research interests have focused on gender, state and democracy.

More Blogs