शाही शासनकालमा नेपाली रेडियोको सङ्घर्ष

2021-10-11

- सुरेश


नेपालका स्वतन्त्र रेडियो स्टेसनहरु १९ माघ २०६१मा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि शुरु भएको शृङ्खलावद्ध आक्रमणको शिकार बनेका थिए ।

शाही शासनमा स्वतन्त्र रेडियोः दमन र प्रतिरोधको कथा भन्ने किताबमा पत्रकार विनोद ढुंगेलले त्यस कालमा नेपालका रेडियो स्टेसनहरुले भोग्नु परेका दमन, धम्की र त्यसको प्रतिरोधमा भएका सङ्घर्षका अभियान र आन्दोलनहरुलाई सिलसिलाबद्ध ढङ्घले प्रस्तुत गरेका छन् ।

स्थानीय एफएमहरुले कमाएके लोकप्रियता र देशव्यनपी हुँदै गएको तिनको सञ्जाललाई आफ्नो शासनको मुख्य अवरोध ठानेर हुनसक्छ, शाही घोषणा सकिन नपाउँदै राजधानीका एफएम स्टेशनहरुमा सैनिक टुकडी पुगिसकेका थिए ।

त्यसपछि समाचार प्रसारण नगर्न रेडियो स्टेशनहरुमाथि लगाइएका प्रतिबन्धका कारण सिर्जना भएको तनाव र परिस्थितिको किताबमा सजीव चित्रण गरिएको छ । लेखकको आफ्नै भोगाइले पनि किताबलाई जीवन्त बनाएको छ ।

पाँच खण्डमा विभाजित किताबको पहिलो खण्डमा शाही घोषणलगत्तै रेडियो स्टेशनहरुमाथि गरिएको भौतिक, कानूनी, आर्थिक दमनका साथै सत्ताको दुरुपयोग गरेर सरकारी सञ्चारमाध्यमहरुबाट स्वतन्त्र रेडियो स्टेशनविरुद्ध भएको गलत प्रचारबाजीलाई समेटिएको छ ।

दोस्रो खण्डमा दमनका असरहरुको चर्चा गरिएको छ । समाचारमूलक कार्यक्रममाथि लागेको प्रतिबन्धका कारण आम मानिसहरुको सूचनाको अधिकार त कुण्ठित भयो नै, साथै रेडियो स्टेशनमा कार्यरत सयौं पत्रकार पनि बेरोजगार हुन पुगे । केही पत्रकारहरु पेशाबाटै विस्थापित भए । स्थानीय पत्रिकामा प्रकाशित एक एफएमका सम्वाददाता पत्रकारिता छोडेर भैंसी पालनमा लागेको समाचारले शाही शासनका दौरान रेडियो स्टेशनहरुले भोग्नुपरेको कहालीलाग्दो अवस्थालाई चित्रण गरेको छ ।

किताबको तेस्रो र चौथो खण्डमा रेडियो स्टेशनहरुमाथि भएको दमनको विरोधमा भएको रेडियो बचाउ आन्दोलन अभियान र त्यसप्रति विभिन्न क्षेत्रबाट देखाइएको ऐक्यवद्धतालाई समेटिएको छ । रेडियो पत्रकारहरुले थालेको सङ्घर्षका कार्यक्रम, नागरिक समाज र विश्व समुदायले दिएको समर्थनका साथै लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन एफएम स्टेशनहरुले निर्वाह गरेको भूमिकाको चित्रण गरिएको छ ।

किताबको अन्तिम तथा पाँचौ खण्डमा शाही शासनमा भोग्नु परेको कठिनाई र पीडालाई रेडियोकर्मी तथा सञ्चालकहरुले एउटा पाठका रुपमा लिएर अगाडि बढ्नुपर्ने सुझाव दिइएको छ ।

हिमाल खबरपत्रिका, १–१५ पुस २०६४, वर्ष १७, अङ्क १७, पृ ४९


About the Author

More Blogs