बजारमा नपाइने पुस्तक !

- अर्जुन पन्थी | 2021-09-24

कार्तिक ६, २०७३- लेखक, कलाकार, प्राध्यापक र पत्रकारले आफूलाई मन परेको किताबमध्ये ‘त्यस बखतको नेपाल’को नाम लिएर पत्रपत्रिकामा वार्ता दिएको देखिन्छ । अनौपचारिक भेटघाटमा पनि यसबारे कुरो सुनिन्छ । ट्वीटर फेसबुकमा पनि यसबारे सोधीखोजी हुन्छ । ‘सेकेन हेन्ड’ पुस्तक पसलमा त यो किताब सोध्न आउने र रिजर्भ गर्नेको ताँतीमा म पनि छु । तर यो किताब बजारमा पाइँदैन । पारिवारिक कारणले यो किताबको नयाँ संस्करण बजारमा नपाइएको भन्ने पनि छ । यदि त्यसो हो भने यो लेखकको मर्म विपरीत छ । मैले प्रयास गर्दा परिवारसँग सम्पर्क गर्न सकिनँ ।

पुस्तकमा लेखकले आफ्नो मन्तव्यमा लेखेका छन्, ‘आफ्नो मुलुकका पुराना कुरा, विदेशीहरूले सुनेका भरमा बंग्याएर लेखेका पुस्तक पढी कुहिराका काग बन्न नपरोस् ।’ उनको तात्पर्य पुराना कुरा सबैले पढ्न पाउन भन्ने हो । ‘आफूभन्दा अघिकाले गरेका र भोगेका कुरा उनीहरूकै मुख वा लेखनीबाट सुन्न पाउँ’ भन्ने नयाँ पुस्ताका मानिसको अभिप्रायलाई ध्यानमा राखेर ६८ वर्षको उमेरमा उनले किताब लेखेका थिए । तर यस्तो विचार राख्ने लेखकको किताब सर्वसाधारणले पाउने गरी किन प्रकाशन तथा बिक्री वितरण भएको छैन ? यो लेख यस पुस्तकको विषयवस्तु र प्रकाशन हुन नसक्नुका कारणबारेमा केन्द्रित छ । पहिलो चरणमा यो किताब किन महत्त्वपूर्ण छ भन्ने जानकारी छ । लेखको अन्ततिर यो किन प्रकाशन हुन सकेन भन्नेबारे चर्चा गरिएको छ ।

के हो त्यस बखतको नेपाल ? विसं. १९७० मा स्याङ्जामा जन्मेर राणाकालको निजामती सेवामा १९८९ सालमा प्रवेश गरी विभिन्न विभागको हाकिम हुँदै पश्चिम जर्मनी र भारतको आवासीय राजदूत भएकाका सरदार भीमबहादुर पाँडे ६८ वर्षको हुँदा विसं. २०३८ मा ‘त्यस बखतको नेपाल’ छापिएको हो । पुस्तकको भूमिकामा भीमबहादुर पाँडे लेख्छन्, ‘पुस्तकमा १९७७–२००७ साल फागुनतक ५ जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, खुद आफ्नै आँखाले देखेको र खास आफैले भोगेका घटना, भेटेका व्यक्ति र भएगरेका कामकाज र कुरा समेटिएको छ ।’

मेरो विचारमा पुस्तक सत्तामा मात्र सीमित छैन । सामाजिक जीवनका विभिन्न पाटोमा पनि घोत्लिएको छ । यो किताबलाई सुरुमा दुई भाग (विसं. १९७७–१९९९ सालतक पहिलो भाग र वि.सं. २०००–२००७ सालतक दोस्रो भाग) छाप्ने मनसाय राखे पनि यसका ५ वटा भाग बनाइएको छ । २०४२ सालमा यसको पाँचौं भाग पनि छापिएको छ ।

संरचना र तर्क पुस्तकको पहिलो भागमा स्याङ्जाका भीरकोट, अर्मादी, खहरे गाउँका अनुभवलाई आत्मपरक तथा वस्तुपरक दुवै ढंगले समेटिएको छ । उदाहरणका लागि उति बेला ‘मतवालीहरूले जुत्ता लगाउँदैनथे, लगाइहाले पनि उनीहरूले तागाधारीहरूलाई देख्नासाथ सो फुकालेर परैबाट ‘जदौ बराजु’ भन्दथे’ (पहिलो भाग पृ. २४) । यो किताब मौखिक इतिहास जस्तै छ । सबैले बुझुन् भनेर यो पुस्तकलाई लेखकले ‘ठेट नेपाली भाषा र भिन्नै शैली’मा लेखिएको भनेका छन् ।

यो संस्मरण हो । यसमा धेरै विवरणहरू दिइएका छन् । ५ भागमा प्रकाशित यो किताबमा ‘पहिलो विश्वयुद्ध, विश्वव्यापी महामन्दी र श्री ३ चन्द्रशमशेरको आर्थिक नीतिले नेपालको घरेलु उद्योग ह्रास भइ स्वावलम्बी नेपाल परोमुखी भएको’ तर्क गरिएको छ । त्यस्तै ‘दुवै विश्वयुद्धमा अंग्रेजको गुहार गएबापत आएको पैसाले विकास ‘चटाचट’ भएका र नाजायज डरले शिक्षा प्रचारमा राणाकालभरि भारी नियन्त्रण लागेको’ भनी तर्क गरिएको छ । राणाहरूबीच घच्ची परेका पक्षलाई पनि विभिन्न ठाउँमा कोट्याइएको छ । ‘राणा सरकारले नेपालको आन्तरिक विकास नगरेको, आफ्ना जनतासँग भन्दा विदेशी राष्ट्रसँग बढी मेलमिलाप गर्न खोजेको’ जस्ता तर्क पुस्तकमा दिइएको छ ।

पहिलो भागमा ‘राणा व्यवस्था चरम कोटीमा’ भनी लेखिए पनि यसमा त त्यति बेला गाउँघरमा भएका जीवनशैलीको रुचिपूर्ण विवरण किताबैभरि दिइएको छ । उदाहरणका लागि ‘भैंसीको दूध अगेनाको कुँडेमा तताएर ठेकीमा हाल्दथे र एकाध दिन बिराएर घिउ पार्दथे । त्यसरी सँगालेको घिउको ठूलो टिन पाँच/छ दिनको बाटो बोकेर लगी बाह्र/पन्ध्र रुपैयाँमा बुटवलजस्ता तराईका बजारमा बेच्दथे । खाली कुराउनी, बिलाउनी र मोही मात्र गाउँलेहरूको पेटमा पर्दथ्यो ।’ (पहिलो भाग पृ. २७)

विश्व राजनीतिका घटनाक्रम र त्यसले पारेका प्रभावबारे पनि किताबमा चर्चा गरिएको पक्षलाई पनि विर्सनु हुँदैन । पहिलो विश्वयुद्धबाट पहाडमा लाहुरेले ल्याएको ठूलो धनराशिले सामाजिक स्थितिमा ‘अवाञ्छित परिवर्तन’ ल्याएको पाँडेले तर्क गर्छन् । उनका अनुसार लाहुरेहरूले विदेशबाट तास मात्र ल्याएनन्, खेल्ने बानी पनि बोकेर आए । पाँडेको तर्क छ, जुवाले जाँड ख्वाउन सिकायो । उनी थप्छन्, ‘गाउँतिर जुवा र जाँडको त्यो प्रकोप विस्तारै पर्न थाल्यो जारीमा’ (पहिलो भाग पृ. १३१) । यसरी विश्वसँग नेपाली सामाजिक जीवन कसरी जोडिँदै त्यसमा राम्रा नराम्रा परिवर्तनका धर्साहरू देखिएका छन् भन्ने कुरा देखिन्छ ।

‘करिया मोचन’, दरबार स्कुलको बयान गर्दै ‘शिक्षामा असाधारण नियन्त्रण’को पक्षलाई उनले उकासेका छन् । जस्तो ‘१९८० सालसम्म पनि काठमाडौँमा अंग्रेजीको पढाइ राणाजी, गुरु पुरोहित, भाइ/भारदार, हुने खानेका परिवार र केही साहु/महाजनमा मात्र सीमित थियो ।’ (दोस्रो भाग पृ. १७०) उनका अनुसार १८१० सालदेखि १९९० सम्म नेपालमा जे जति मानिसले अंग्रेजी र संस्कृत पढे ती कुनै न कुनै दिन दरबार स्कुलका विद्यार्थी थिए । ‘नेपालमा वैधानिक सरकारको खोजी’, ‘नेपालमा आर्थिक विकासको कल्पना’, ‘नेपालमा प्रजातन्त्रको प्रवेश’ र ‘निजामती र जङ्गी प्रशासन’ भन्ने विषय विभिन्न भागहरूमा परेका छन् ।

पाँचौँ भाग दुर्लभ छ । साझा प्रकाशनले छापेको यो भाग साझा/प्रज्ञाको प्रदर्शनीमा पनि देखिँदैन । कतिपय पुस्तकालयमा पनि जम्मा गर्न सकिएको छैन । मैले प्रत्यूष वन्तसँग मागेर पढेको थिएँ । अरू भागहरूमा छुटेका राणाकालीन जंगी र निजामती प्रशासन पद्धतिबारेका कुरा यसमा परेको भनी पाँडेले भूमिकामा लेखेका छन् । यो भागमा ‘नेपालको प्रशासनिक जग’, ‘राणाकालीन केही प्रमुख अड्डा, नामी हाकिम र विशेषज्ञहरू’ आदि विषयहरूमा जानकारी दिएको छ । ‘त्यस बखत पनि सदरका कर्मचारीले मोफसलका अड्डालाई धर्तीको पल्लो छेउ जस्तो सम्झने हुँदा सकभर मोफसलमा जान मरे जस्तो मान्दथे ।’ (पाँचौं भाग पृ. १३१) यी र यस्तै विवरण पाँचौं खण्डमा छ ।

के छ सम्पादकीय तथा प्रकाशकीयमा ? साझा प्रकाशनले २०४२ सालमा ११०० प्रति छापेको पुस्तकको पाँचै भागमा सर्वाधिकारबारे केही चर्चा गरिएको छैन । पुस्तकको १ देखि ४ भागमा ‘यसको सर्वाधिकार त्रिभुवन विश्वविद्यालय, नेपाल र एसियाली अनुसन्धान केन्द्रमा सुरक्षित’ भनी लेखिएको छ । यी भागमा सरदार भीमबहादुर पाँडेलाई यो पुस्तक लेखिदिन प्रकाशकले भनेको भन्ने आशय छ । यो पुस्तक प्रकाशन गर्ने बेलामा सिनासका प्रमुख डोरबहादुर विष्ट थिए । सो बेलाको प्रकाशकीयमा लेखिएको छ, ‘पाण्डेज्यूलाई हामीले विसं. १९७७–२००७ सम्म उहाँले देखे, भोगे र सुनेका कुरा लेखिदिन अनुरोध गर्‍यौं । यो पुस्तक त्यही अनुरोधको स्वीकृति हो ।’ प्रकाशकले भनेभन्दा अलि फरक ढंगले लेखक पाँडेले यो पुस्तक आफ्नो अभिरुचिले लेखेको बताएका छन् । उनले भनेका छन्, ‘नेपालको बारेमा लेख्न भनी घच्घच्याउने सत्यमोहन जोशी’ हुन् । जोशीले पुस्तकको लागि सल्लाह सुझाव पनि दिएको भनी लेखकले लेखेका छन् । यो किताब छपाउने प्रबन्ध डोरबहादुर विष्टले र सुझाव दिनेमा उत्तम कुँवर र फादर स्टेलर पनि हुन् । यो कुरा पाँडेले लेखेको भूमिकामा पढ्न सकिन्छ ।

यसबाट पुस्तकको प्रकाशक को हो र प्रतिलिपि अधिकार कसमा छ भन्ने विषयमा अलमल देखिन्छ । २०४४ सालमा प्रकाशन गरेको दोस्रो संस्करणमा ‘एसियन तथा नेपाल अनुसन्धान केन्द्रबाट प्रथम संस्करण प्रकाशित भएकाले त्यसको अधिकार सुरक्षित राखी’ भने पनि त्यसको मुनिपट्टि ‘प्रकाशक : लेखक’ भनी लेखिएको छ । यसले प्रतिलिपि अधिकार कोसँग छ भन्ने अलमल देखिएको हो । यस विषयमा सिनासका नानीराम खत्रीसँग कुरा गर्दा ‘यसको प्रतिलिपि अधिकारबारे जे लेखिए पनि यसलाई छाप्नका लागि उहाँका छोराहरूको अनुमति चाहिने’ बताउनुभयो । यसबाट सिनासलाई ‘वन टाइम कपिराइट’ मात्र दिइएको हो कि ? भन्ने आशंका गर्न सकिन्छ ।

बजारमा चलिरहेका प्रकाशकले यसलाई प्रकाशन गर्न खोजेको तर परिवारबाट अनुमति नपाएकाले रोकिएको बताउँछन् । यसमा रोयल्टी समस्या बनेको छ । सबै सन्तानहरूको अनुमति चाहिने हुनाले यसको प्रकाशन निजी क्षेत्रका प्रकाशकहरूले गर्न सकेका छैनन् । यो किताबको माग भएपछि छोराहरू स्वयंले यो किताबको २०७१ (?) सालमा पुनर्प्रकाशन गरेको र उहाँहरूले व्यक्तिगत रूपमा नभई संस्थागत रूपमा यो किताब दरबार मार्गको नेपाल इन्भेस्टमेन्ट बैंकबाट बिक्री वितरण गरेको सुने पनि, त्यहाँ सोधखोज गर्दा स्टक सकिएको जानकारी मैले पाएँ । यसैले यो नयाँ संस्करणबारे जान्न बाँकी नै छ ।

०००

भीमबहादुर पाँडेले नै भनेका छन्, ‘ठेट नेपाली भाषा र भिन्नै शैलीमा लेख्न खोजेको छु, सबैले बुझुन् भनी ।’ अर्को वाक्यमा उनी लेख्छन्, ‘यो पुस्तक लेख्नाको मेरो एक मात्र तात्पर्य हो : हिजो भएका हाम्रा खास काम कुराहरू, आजका बुढापाकाले, भोलिका पिँढीलाई लेखेर छाडिदिए भने, इतिहासको तान्द्रो चुँडिँदैन र नेपालका भावि सन्ततिहरू पुरानो कुराबारे कुइराको काग जस्ता बन्न पर्दैन, भन्ने हो ।’ यस्तो मनसाय भएर तत्कालीन अवस्थाको चिरफार गरी लेखेको किताब सर्वसाधरणले पढ्न पाउनेगरी पुनर्प्रकाशन हुनु आवश्यक छ ।

प्रकाशित: कार्तिक ६, २०७३

http://kantipur.ekantipur.com/printedition/news/2016-10-22/20161022094541.html


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai