साहेबको ‘टाढाको घर’

- अर्जुन पन्थी | 2021-09-24

असार १८, २०७३- बोरिस लिसानेभिचले सन १९५० को दशकमा राणा दरबारलाई प्रयोग गरेर कसरी होटल खोले ? उनको योगदान र दु:खसम्बन्धी बयान: सन् १९५० को दशकमा खोलिएका होटलको सुरुवाती कथा हो यो । त्यति बेलाका एक पात्र बोरिस लिसानेभिचले राणा दरबारलाई प्रयोग गरेर कसरी होटल खोले, उनको योगदान र दु:खबारेको बयान छ यस लेखमा । सन् १९६६ मा फ्रान्सेली नृवंशशास्त्री माइकल पिसेलले तयार पारेको ‘टाइगर फर ब्रेकफास्ट’ पुस्तकमा ‘अलग तर प्राकृतिक काठमाडौं’मा युरोपेली र अमेरिकी मध्यमवर्गीय नागरिकलाई प्रवेश गराउने युक्रेनी (रुसी) बोरिस केन्द्रीय पात्र छन् । बोरिसको होटलमा ६ महिना बसेर उनको १२ वर्षको अनुभवलाई पिसेलले मानवशास्त्रीय खजाना बनाएका छन् । पिसेलबाहेक पुरुषोत्तमशमशेर जबरा, प्रभाकरशमशेर राणा, सुवोध राणा, नरेन्द्र कायस्थ, किसन उपाध्याय तथा न्युयोर्क टाइम्सका रिपोर्ट तथा लेखनी पनि यसका थप घुड्का हुन् ।

भुटान, तिब्बततिर हान्निन नपाएका पिसेल भारतको कालिम्पोङमा अल्मलिँदा काठमाडौंतिर उक्लिने योजना बनाए । उपत्यका छिरेपछि सीधै रोयल होटल पुगे । उनी लेख्छन्, त्यहाँ स्वागत गर्न सेवकबाहेक बोरिस पनि आइपुगे । आयातकार तर अनौठो होटल देखेर मिसेलले बोरिसलाई सोधे, ‘यहाँ बस्न कति महँगो छ ?’ बोरिसले भने, ‘बस, तर पैसासँग नडराऊ’ । यो उनको टाढाको आतिथ्य थियो ।

‘इसिएस’ म्यागेजिनसँगको कुराकानीमा हानसनले रोयल होटलअघि खोलिएको स्नो भ्यू होटलको नारा ‘तपाईंको टाढाको घर’ भएको बताएका छन् । उनी स्नो भ्यूका सञ्चालक टोम मेन्डिसका झट्केलो छोरा हुन् । बर्मामा जन्मिएका भारतीय मूलका मेन्डिसले लाजिम्पाट (हालको महागुठी) सँगै सन् १९५४ मै स्नो भ्यू होटल सुरु गरेका थिए । किसन उपाध्यायले आफ्नो पुस्तक ‘दी लास्ट अरेन्ज : अ लस्ट एन्ड फाउन्ड मेम्वायर’ (सन् २०१२) मा नरशमशेर राणाले उनलाई होटल खोल्न नेपाल बोलाएका थिए भनेका छन् । यो होटलको पक्ष अनुसन्धेय छ ।

सन् १९०५ मा जन्मेका बोरिस १९ वर्षको उमेरमा बोल्सेभिकले सत्ता लिएपछि युक्रेन छाडेका थिए । भागेर रुमानिया हुँदै फ्रान्स पुगेका उनले नर्तकको काम पनि पाए । त्यही नर्तकी जीवन बोरिसका लागि पूर्वीय समाज बुझ्ने एउटा बाटो बन्यो । उनी सन् १९३३ मा दक्षिण–पूर्वी एसियामा उपनिवेश जमाएका शासकको मनोरञ्जनको निम्ति मुम्बई आएका थिए । त्यति बेला भारतका ठूलठूला होटलमा फजुल खर्च गर्न युरोपेली र अमेरिकी आउँथे । बोरिस र उनको पहिलो पत्नी किराले धनी ग्राहकका लागि नाचेर मनोरञ्जन दिए । मुम्बई टेके पनि उनले धेरैजसो समय कोलकातामै बिताए । सुवोध राणाले आफ्नो ब्लगमा लेखेअनुसार यही क्रममा त्यति बेला उनले कोलकाताका ३ सय इलिटलाई सदस्य बनाई ‘क्लब ३००’ खोलेका थिए । लन्डनको ‘क्लब ४००’ जस्तै । तत्कालीन राजा त्रिभुवन कोलकातामा रहेको ‘क्लब ३००’ मा सन् १९४४ मा पहिलोपटक जाँदा बोरिसले केही पुस्तक र वस्तुहरू उपहार दिएका पनि थिए । यसरी कोलकातामै उनले नेपालका भविष्य (राणाशासनपछि) का नेतासँग सम्बन्ध बढाएको देखिन्छ ।

सन् १९५४ मा बोरिसलाई होटल खोल्न अनुमति दिइएको दरबारको बारेमा पुरुषोत्तमशमशेरले लेखेका छन्, ‘दरबार शिलान्यास हालको वीर अस्पताल रहेको स्थानमा गरिएको थियो । तर त्यो स्थान सहरबजारको नजिक रहेकाले निर्माण स्थगित गरियो ।’ र जमलको पश्चिमपट्टि वीरशमशेरले चारबुर्जा दरबार स्थापना गराएका थिए । मुगलको परम्पराजस्तै । दरबारको छानोमा ४ ओटा मिनार (बुर्जा)हरू राखिएकाले यसलाई चारबुर्जा दरबार भनिएको हो । यसमा साढे २ महिना बसेर चन्द्रशमशेरले राजकाज पनि गरेका थिए ।

वीरशमशेरकी कान्छी महारानी तोपकुमारी देवीका छोरा रुद्रशमशेरलाई जुद्धशमशेरले पदमुक्त गरी पाल्पा पठाएपछि आफ्ना माहिला छोरा बहादुरशमशेरलाई उक्त दरबार दिए । त्यसैले यसलाई बहादुरभवन पनि भनिन्छ । २००७ सालपछि तिनै बहादुरशमशेरले १८ लाख रुपैयाँमा त्रिभुवनका कान्छा छोरा बसुन्धरालाई बेचे । होटल सञ्चालन हुँदासमेत बहादुरशमशेर त्यो होटलका ४/५ वटा कोठा प्रयोग गरी बस्थे । पुरुषोत्तमका अनुसार पछि १८ लाख फर्काई ४० लाखमा बेच्न खोजेकाले बसुन्धराले उनलाई त्यहाँबाट हटाए ।

यो चारबुर्जा दरबारमा रहेको रोयल होटलले सन् १९५० र १९६० को दशकमा विश्वका ठूलठूला कम्पनीका पर्वतारोहीलाई आश्रय दिएको थियो । यहाँ ब्रिटिस सेनाका अधिकारी, प्रख्यात आरोहीहरू बसे । रुसी अन्तरिक्षयात्री भेलेन्टिना तेरेस्कोभा हनिमुन मनाउन यहीँ बसेकी थिइन् । यस्तै कथा स्नो भ्यू होटलबारेमा पनि पढ्न पाइन्छ । बोरिसले अंग्रेजी बोल्न नजान्ने फ्रान्सेली र स्विसलाई पनि पर्वतारोहणमा धेरै सघाए । ‘रोयल होटलमा आरोहीहरूले बोरिसलाई चुचुराका ढुंगा उपहारको रूपमा बोकेर ल्याइदिन्थे । हिउँका कथा, आरोहण गर्दाका सजिलो र अप्ठ्यारा सुनाउँथे,’ पिसेलको बयानमा छ । पर्वतारोहणका लागि काठमाडौं ‘गेटवे’ हुँदा बोरिस साइत बनेका थिए पश्चिमाहरूका लागि । त्यसैले उति बेला ‘सगरमाथापछि दोस्रो नम्बरमा लोकप्रिय’ भनिने बोरिसलाई ‘नेपाली आतिथ्य संस्कार (हस्पिटालिटी)’ उद्योगका पिता पनि भनिन्छ ।

फजुल खर्च हुने राज्याभिषेक (राजा महेन्द्रको) को तयारीका बेला सन् १९५६ मा रोयल होटल विदेशीलाई चाँजोपाँजो मिलाउने हेडक्वार्टर र बोरिस त्यसका व्यस्त नायक थिए । खासगरी नेपाली भाषा नबुझ्ने विदेशी र अंग्रेजी नजान्ने नेपालीका बीचमा उनी आकर्षण थिए । उनले रातबिरात खटेर काम गरे । ‘पहाडहरूमा बोरिसले राज्याभिषेकका लागि ५० हजार कुखुरा, १०० टन चामल, लाखौं कुखुराका अन्डा किन्दै छ भन्ने हल्ला थियो रे,’ पिसेलले लेखेका छन् । न्युयोर्क टाइम्सको अप्रिल २९, १९५६ को रिपोर्टिङअनुसार बोरिसले भारतबाट ४ हजार कुखुरा, २ हजार हाँस, १३० जना सेवक र २५ हजार अन्डा मगाएका थिए । उनले राज्याभिषेकको बेला ३० ओटा बाथरुम हवाईयात्राबाट नेपाल ल्याए । टनका टन माछा आए । त्यसका लागि ३ ओटा भाडाका जहाज पटना काठमाडौं चलिरहन्थे । ल्याइएका मध्ये आधा कुखुरा मरेकाले पहाडी गाउँहरूमा हतारमा कुखुरा खोज्न पठाइएको थियो ।

न्युयोर्क टाइम्सले नेपाली अधिकारीको अनुमान उद्धृत गर्दै ४ सय जति विदेशी पाहुना आएको हुन सक्ने बताएको थियो । पिसेलका अनुसार राज्याभिषेकको बेला काठमाडौंमा १ सय ६० प्रेस प्रतिनिधि थिए । रोयल होटलको बगैंचामा पत्रकारका लागि टेन्टका घर बनाइएका थिए । नेपाली बोल्न नजान्ने फोटो पत्रकारले काठमाडौंको सम्भवत: सबैभन्दा धेरै फोटो खिचे । त्यही बेला पहिलोपटक आएकी फोटो पत्रकार हान स्वयेनले काठमाडौं पटक–पटक आई ‘द माउन्टेन इज योङ’ भन्ने प्रख्यात पुस्तक लेखिन् । राज्याभिषेकमा आएका विदेशी अध्ययनकर्ता, अन्वेषक, पत्रकार, कलाकार, धर्म प्रचारक आदिले काठमाडौंको समाजलाई व्यापक बनायो ।

भाषाको समस्या, बाथरुम अभाव, अमेरिकीहरू चिनियाँसँग बस्न नरुचाउने, कतिपय विशिष्टलाई खाजा पनि नपुग्ने समस्याले बोरिसलाई सताएको थियो । त्रिभुवनको पालामा राज्याभिषेक हेर्ने ब्रिटिस रेजिडेन्ट र ५ जना अरू विदेशीहरू थिए । त्यति ठूलो संख्यामा विदेशीले राज्याभिषेक हेरेको महेन्द्रको पालोमा पहिलोपटक थियो ।

बोरिसले सन् १९६१ मा भएको बेलायती महारानी एलिजावेथको भ्रमणको बेला पनि हङकङमा १० दिन बिताई ४८ टन समान नेपाल भित्र्याएका थिए । त्यसमा खाना मात्र थिएन । फ्रिजर, क्याम्पमा प्रयोग गर्ने स्टोभ, कुर्ची थिए । त्यो बेला कम्तीमा ३ सय ७६ ओटा हात्ती चितवनको सौरहामा तैनाथ भए । सबै विदेशीका लागि हात्ती थिए । १० ओटा हात्ती पत्रकारका लागि पनि छुट्टाइएको थियो । महेन्द्रको राज्याभिषेक र एलिजावेथ भ्रमणले पनि धेरै विदेशी भित्र्याएको र नेपालबारे विदेशमा प्रचार हुन सघाएको देखिन्छ ।

मिसेलले लेखेका छन्, ‘५५ वर्षका बोरिस ४५ वर्षका जस्ता देखिन्थे । उनी निकै जोसिला मानिस थिए । कामले नथाक्ने ।’ उनले त्यति बेला होटलको गार्डेनमा तरकारी खेती पनि गरेका थिए । उनले नेपालमा गाजर, चुकन्दर, पालुङ्गो, सलादमा राखिने साग, स्ट्रबेरी आदिलाई परिचित गराए । बोरिसले सप्ताहन्त बिताउन इचङ्गु नारायणमा पनि घर बनाए र बुंगुर पनि पालेका थिए ।

त्यति बेला सेता कपडा र कालो टोपी लगाएका सेवकलाई बोरिसले विदेशीसँग बोल्ने र व्यवहार गर्ने तथा हात धुने विषयमा पनि सिकाउँथे । होटलमा सेवा दिनेमा काठमाडौं र यसवरिपरिका तामाङ युवती पनि हुन्थे । उनीहरूले होटलका लागि बिहानै दाउरा लिएर आउँथे । पैसा कुरेर बसिरहेका युवतीलाई मिसेलले आफू बस्ने कोठाबाट हेर्थे । कागजका नोटमा विश्वास नभएकाले सिक्का नै लिएर जान्थे । केही युवा दाउरा चिर्न बस्थे । कसैले दाउरा ल्याउँथे । एउटा गइसकेपछि होटलमा अर्को समूह आउँथ्यो । कोही शिल्पी समुदायका हुन्थे । कोही अरूहरू हुन्थे । उनीहरूले आफ्नो सानो सोकेसमा सामान राखेर बिक्रीका लागि बस्थे ।

पानी पिउने गिलास, चक्कु, चम्चा काँटाजस्ता चीज काठमाडौंको बजारले होटललाई ढुवानी गर्न सिक्यो । किचन र बेडमा चाहिने ससाना चीजबारे काठमाडौंका व्यापारीहरूलाई ज्ञान भयो । बोरिसले नै नेपालमा पहिलोपटक रसियन शैलीले केक बनाएका थिए । त्यसमा १० जनालाई काम पनि लगाएका थिए । एक अज्ञात टिप्पणीकारले सुवोध राणाद्वारा रोयल होटलबारे लेखिएको लेखमा प्रतिक्रिया दिएका छन्, ‘त्यति बेला एक स्लाइस फ्रुट केक र कप चियाको ३ रुपैयाँ ५० पैसा पथ्र्यो ।’

बोरिसलाई बोरिङ लाग्ने पक्ष भनेको त्यति बेला होटल र पाहुनाका लागि काठमाडौंमा भैंसीको बाहेक मासु नपाइनु, चिठीपत्र पठाउन भारतीय दूतावासमा भर पर्नु इत्यादि थिए । त्यसबाहेक जातीय समस्या होटल व्यवसायमा पनि देखिन्थ्यो । कुचो लगाउने, किचनमा काम गर्ने मानिसका छुट्टाछुट्टै जात हुने र एकले अर्काको काम नगर्ने समस्या थियो । जस्तो कुचो लगाउने किचनमा नजाने, किचनकोले कुचो नलाउने आदि ।

सन् १९५६ मा महेन्द्रको राज्याभिषेक अघि बोरिस साँढे २ महिना जेल परेका थिए, कर नतिरेको कारणले। पिसेलको बयानअनुसार बोरिसले भारतको कुचविहारमा आफूले खोलेको डिस्टिलरीबाट सर्जाम ल्याई विराटनगरमा रक्सी उद्योग पनि खोलेका थिए । यो कारखाना खुलेपछि ४५० पसल यसका बिक्रेता थिए। विभिन्न फलफूलको स्वाद आउने गैंडा, बाघ, चितुवा नामका रक्सी यिनले उत्पादन गरेका थिए । यो डिस्टिलरी उद्योगले त्यहाँका १२ सय रक्सी पसललाई धरापमा पारेको थियो । पछि स्थानीयको विरोधबाट सरकारले यसको लाइसेन्स खारेज गर्‍यो । एक लाख ७५ हजार रुपैयाँ पनि सरकारले माग्यो । त्यो झोंकमा बोरिसले पैसा दिएनन् । बरु डिल्लीबजार सदरखोरमा बसे । बोरिसको सम्झनाको बयान गर्दै पिसेल लेख्छन्, ‘डिल्लीबजारको सदरखोरमा उनलाई हेर्न सर्वसाधरण आउँथे । त्यति बेला बोरिसले आफूलाई चिडियाघरको बाँदरझैं सम्झन्थे । अभिभावकले बच्चालाई काँधमा राखेर बोरिसलाई देखाउँथे ।’ साढे २ महिना जेल बसेका उनलाई महेन्द्रको राज्याभिषेक समारोहमा आवश्यकता देखेर मुक्त गरिएको थियो ।

सन् १९७६ मा न्युयोर्क टाइम्सका पत्रकारको उत्तरमा बोरिसले, ‘रोयल होटलमा १४० कोठा भए पनि त्यहाँ २/३ ओटा मात्र बाथरुम भएकाले होटल बन्द गरेर याक एन्ड यती (सन् १९६५) खोलेको’ बताएका छन् । तर पनि यसका अरू पाटा अनुसन्धेय छन् । विदेशीको प्रवाह बढ्दै जाँदा पुराना भवनले नथेग्ने अवस्था आयो । उच्चवर्गीय विदेशीका लागि आधुनिक भवन आवश्यक थियो । नरेन्द्र कायस्थले सन् १९८५ मा तयार पारेको ‘इम्प्लोयमेन्ट इन होटल इन्ड्स्ट्री’ नामको रिपोर्टमा तेस्रो योजना अवधि (सन् १९६५–१९७०) मा नेपालमा थुप्रै होटल खुलेको बताएका छन् । त्यति बेला ऋण, करमा सरकारले छुट दिएको थियो । २०१३ सालमा स्थापना भएको ‘औद्योगिक विकास केन्द्र’ यूएसएआईडीको सहयोग भित्रिएपछि २०१६ सालमा ‘औद्योगिक विकास कर्पोरेसन’ भयो । यसले ऋण दिएकाले पनि सन् १९६५ मा सोल्टी होटल खोल्न सहायक भयो । त्यसैगरी १९६६ मा डेल अन्नपूर्ण खुल्यो । यी होटलहरू उच्च वर्गका पर्यटकका लागि खोलिएको थिए । हाल यो उद्योग ठूलो लगानी र रोजगारको माध्यम पनि हो ।

नेपाली समाजका लागि होटल भनेको के हो ? यसले के माने दिन्छ ? भन्ने विश्लेषण पक्ष बाँकी नै छ । खास सन्दर्भ र प्रयासले सन् १९५० को दशकमा खोलिएका होटल ब्रिटिस राजका ‘साहेब’ तथा तिब्बत र भुटानतिर जान नपाएका मध्यमवर्गीय पश्चिमीलाई ‘टाढाको घर’ भएका छन् । पर्यटनसँगसँगै वस्तु प्रवेश र प्रयोगको हिसाबमा पनि उनको काम महत्त्वपूर्ण देखिन्छ ।

प्रकाशित: असार १८, २०७३

http://kantipur.ekantipur.com/printedition/news/2016-07-02/20160702155003.html


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai