द पार्सियल रेभोलुशन : लेबर, सोसल मुभमेन्ट्स एण्ड द इन्भिजिबल ह्याण्ड अफ माओ इन वेस्टर्न नेपाल - समाज अध्ययन १५

2021-09-28

माइकल हफमान । सन् २०१८ । द पार्सियल रेभोलुशन : लेबर, सोसल मुभमेन्ट्स एण्ड द इन्भिजिबल ह्याण्ड अफ माओ इन वेस्टर्न नेपाल । लण्डन : बर्घान बुक्स ।

 

नेपालका कम्युनिस्ट पार्टीहरू हरेक वर्ष श्रमिक दिवस बडो तामझामका साथ मनाउँछन् । मजदुर संगठनका कार्यकर्ताहरूले जुलुस निकाल्छन्, मञ्चहरू मार्क्स र माओका मुखाकृतियुक्त तुलहरूले सजाइन्छन् र राजनीतिकर्मीहरू हावामा मुट्ठी उज्याउँदै श्रमिकका नाममा लामा-लामा भाषण गर्छन् । यो वार्षिक प्रदर्शनी बाहेक नेपाल भित्रका श्रमिकबारे नेपाली सञ्चार माध्यम र प्राज्ञिक क्षेत्रमा हुने छलफल र अनुसन्धान भने प्रवासी नेपाली कामदारबारे हुने चर्चा र शोधको तुलनामा न्यून छ । यो परिप्रेक्ष्यमा माइकल हफमानको पुस्तक पार्सियल रेभोलुशनलाई नेपाल लगायत दक्षिण एशियाली श्रम/श्रमिक बारेको अध्ययनमा एउटा महत्त्वपूर्ण योगदानका रूपमा लिन सकिन्छ ।

श्रमिक आन्दोलनलाई सशस्त्र क्रान्तिले कसरी प्रभाव पार्छ भन्ने प्रश्नको जवाफ खोज्ने प्रयत्न यो पुस्तकले गरेको छ । यद्यपि, माओवादी सशस्त्र आन्दोलनले नेपालका सीमान्तीकृत समुदायमा पारेको असरबारे गरिएको यो अनुसन्धान सामाजिक शास्त्रमा नौलो भने होइन । हफमान स्वयंले अध्ययन गरेका थारू समुदायकै बारे पनि जनयुद्धअघि र पछि तराईका अन्य जातजातिको भन्दा बढी शोध भएका छन् । तैपनि हफमानको पुस्तक यी विषयमा भएका अन्य अध्ययनभन्दा तीन कारणले फरक छ । पहिलो, माओवादी आन्दोलनलाई राज्य विरुद्धको विद्रोहका रूपमा प्रस्तुत गर्ने अधिकांश अध्ययन विपरीत हफमान यसलाई राज्य कब्जाको प्रयासका रूपमा अर्थ्याउँछन् । दोस्रो, उनको अनुसन्धान मुक्त कमैया (थारू समुदायका) को आन्दोलनमा माओवादी क्रान्तिको प्रभावमा केन्द्रित छ । तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, श्रमिकका दृष्टिबाट हफमानले गरेको माओवादी आन्दोलनको विश्लेषण नवीन छ, जसले दश वर्षे द्वन्द्वको नयाँ पाटो उजागर गर्छ ।

कैलालीको टीकापुरमा सन् २००८–२००९ मा गरिएको १८ महिने स्थलगत (एथ्नोग्राफिक) अध्ययनमा आधारित यो पुस्तक दुई भागमा विभाजित छ । चार अध्याय समेटिएको पुस्तकको पहिलो भागमा टीकापुरका मुक्त कमैया सहित राजनीतिक कार्यकर्ता र व्यवसायीमा माओवादी अन्दोलनको असरको चर्चा गरिएको छ । पुस्तकको पहिलो अध्यायमा टीकापुरमा योग शिविर र व्यापारिक मेलाको आयोजना मार्फत त्यहाँका कुलीन व्यापारीहरूले आफूलाई परोपकारीका रूपमा प्रस्तुत गरेको प्रसंग छ । सरकार सँगको सम्बन्ध सुदृढ पार्ने र माओवादीको सम्भावित आक्रमणबाट पनि जोगिने उपायका रूपमा ती समारोहलाई व्यापारीले प्रयोग गरेको हफमानको विश्लेषण छ ।

दोस्रो अध्याय मुक्त कमैया बस्तीका उदीयमान नेताहरूमा केन्द्रित छ । माओवादी युद्धले मुक्त कमैयालाई कुनै बेला विमानस्थल रहेको टीकापुरको सार्वजनिक जग्गा कब्जा गर्ने आत्मविश्वास कसरी दियो भन्ने चर्चा यो पाठमा छ । यसै अध्यायमा मुक्त कमैया बस्तीका महिलाहरू चाहिँ निर्णायक भूमिकाबाट वञ्चित भएको उल्लेख गर्दै उनीहरू विरुद्ध शारीरिक र यौन हिंसा हुने गरेको तथा कमलरीका रूपमा श्रम गर्न पठाउने चलन व्याप्त रहेको हफमानले औँल्याएका छन् । चौथो अध्यायमा लेखकले मजदुर संगठनमा महिलाको भूमिका न्यून रहेको विषयलाई चर्चा गरेका छन् ।

तेस्रो अध्यायमा मुक्त कमैयालाई संगठित गर्न सन् २००२ मा खोलिएको संस्था “मुक्त कमैया समाज” बारे विस्तृत विवरण छ । हफमानका अनुसार जनयुद्ध सकिए लगत्तैका वर्षहरूमा मुक्त कमैयाका लागि खोलिएका अन्य संस्थाहरूको तुलनामा “मुक्त कमैया समाज” माओवादी निकट भएको छाप समाजमा परेका कारण यो संस्थालाई संगठन फैलाउन र सक्रिय हुन सहज भयो । चौथो अध्यायमा उनी टीकापुरको मजदुर आन्दोलनलाई नेपालको मजदुर र माओवादी आन्दोलनको सन्दर्भमा विश्लेषण गर्छन् । श्रमिक संगठनहरूको नेतृत्व चयनमा जातीयता र वर्गीयताको भूमिकाबारे पनि लेखकले चर्चा गरेका छन् । मजदुर संगठनहरूको सहभागिताले मुक्त कमैयाहरूको सामूहिक मोलमोलाइ गर्ने क्षमता बढाएको हफमानको दाबी छ ।

पुस्तकको दोस्रो भागमा मुक्त कमैयाका दैनिकी र चासोबारे प्रकाश पारिएको छ । टीकापुरका इँटा भट्टामा काम गर्ने र काम खोज्न भारत पुगेका मुक्त कमैया मजदुरहरूलाई पछ्याएर लेखिएको यो भाग पुस्तकको सबैभन्दा रोचक भाग पनि हो । यस भागमा जिल्लामा माओवादी दबदबाका कारण इँटा भट्टामा कार्यरत मुक्त कमैयाका दैनन्दिनीमा के-कस्तो परिवर्तन आयो भन्नेबारे मिहिन विश्लेषण छ । हफमानका अनुसार मजदुर र इँटा भट्टा मालिकको सम्बन्ध तहगत भए पनि र ज्याला तथा कारखानाको अवस्थामा खासै सुधार नआए पनि माओवादीहरूको उपस्थिति वा “माओको अदृश्य हात” ले मजदुरका लागि कमैयाका रूपमा काम गर्दा ताकाको भन्दा सहज वातावरण सिर्जना गरिदियो । जस्तो कि, उनीहरूलाई धेरै पेश्की वा ॠण दिएर बँधुवा बनाउन नमिल्नेबारे इँटा भट्टा मालिक सजग भए । यसले मुक्त कमैयाका लागि इँटा भट्टाको मजदुरी कमैया हुँदा गर्नुपर्ने श्रमको तुलनामा कम शोषणयुक्त हुन गयो । साथै, उनीहरूलाई फुर्सदको समय पनि मिल्नाले मुक्त कमैया मजदुरहरूको जीवन जिउने तरिका समेत बदलियो । यद्यपि, हफमान प्रस्ट्याउँछन्, माओवादीहरूको उद्देश्य समाजमा व्यापक सबै खाले अन्याय विरुद्ध लड्नु थिएन । भोटका निम्ति कमलरी प्रथा निर्मूल पार्न ध्यान दिनुको सट्टा मुक्त कमैया आन्दोलनमा मात्र केन्द्रित हुनु यसको प्रमाण थियो ।

समग्रमा पार्सियल रेभोलुशन एउटा पठनीय पुस्तक हो जसले सीमान्तीकृत मानिसका चाहना र दैनिक जीवनको सजीव चित्रण गरेको छ । यदाकदा मिहिन र विस्तृत वर्णनमा हराउन सकिने सम्भावना भए पनि हफमानले पाठकलाई आफ्नो मुख्य तर्कमा ल्याइहाल्छन् । प्रत्येक अध्यायको शुरू र अन्त्यमा हफमान आफ्ना शोध प्रश्न र तर्कहरू उल्लेख गर्दछन्, जसले गर्दा पुस्तकका हरेक पाठहरू छुट्टाछुट्टै पढ्दा पनि बुझिन्छ । छमध्ये चार ओटा अध्याय राम्ररी सम्पादित भएर विभिन्न जर्नलमा छापिइसकेकाले पनि पुस्तक छरितो भएको हो (हेर्नुहोस्, हफमान सन् २०१४क, सन् २०१४ख, सन् २०१५ र सन् २०१७) ।

पठनीय हुँदाहुँदै पनि पुस्तक कमजोरी मुक्त भने छैन । हफमानले नेपालका ठाउँ, नेपाली अध्येता लगायत आफ्नै शोधसँग सम्बन्धित पात्रहरूकै नामको हिज्जेको दोहोलो काढेका छन् । परिचयात्मक अध्यायमै सबैभन्दा धेरै हिज्जे गल्ती भएकाले पहिलो गाँसमै ढुंगा लाग्छ । श्रमिकहरूमा माओवादी आन्दोलनको असरको मूल्यांकन गर्ने पुस्तकमा पुष्पकमल दाहाललाई “पुष्ब” (पृ. ५ र १००) लेखिएको देख्दा म पढ्न निरुत्साहित भएकी थिएँ । हफमानले धेरै समय सँगै बिताएका र पाठकसामु पूर्ण परिचय गराएका दुई राजनीतिक पात्रकै नाम पनि गलत छन् । पहिलो संविधान सभा (सन् २००८–२०१२) मा एकीकृत माओवादीको तर्फबाट संविधान सभामा पुगेका कैलालीका दुई सभासदको नाम पुस्तकमा “साइक्धेजा” चौधरी र “रुल्पा” चौधरी लेखिएको छ । उनीहरूको सही नाम सुकदैया र रूपा हो । यस्ता गल्तीले अनुसन्धानमा सहभागी भएर शोधकर्तालाई सघाउने स्थानीय मानिस र परिवेशप्रति असम्मान गरे जस्तो लाग्न सक्छ । एक पटक घुम्न आएको पर्यटक वा प्याराशुट पत्रकारले यस्ता गल्ती गरेको भए क्षम्य हुन्थ्यो होला, तर त्यस ठाउँमा १८ महिना बिताएका विद्यावारिधि शोधकर्ताबाटै त्यस्तो हेलचक्र्याइँ भएको देख्दा मलाई नेपाल अध्ययनमा उत्तर-औपनिवेशिकताबारे चर्चाको आवश्यकता बोध भयो ।

अनुसन्धान भएको समय र पुस्तकको प्रकाशनबीच झण्डै एक दशकको अन्तर भएकाले हफमानका कतिपय तर्कहरू पुनरावलोकन गर्नुपर्ने देखिन्छ । माओवादीहरूले नेपालका सीमान्तीकृत वर्गलाई संगठित भएर अन्यायका विरुद्ध लड्न प्रेरित गरेर नेपाली समाजलाई निश्चितै बदले (अधिकारी सन् २०१४) । तथापि, माओवादी आन्दोलन लगत्तै देखिएको भनी हफमानले चित्रण गरेको थारू-मैत्री वातावरणलाई नेपाली राजनीतिमा सन् २००९ यता भएका घटनाहरूले बिथोलिसकेका छन् । त्यसयता माओवादी पार्टीले धेरै टुटफुट र जुट बेहो¥यो, परम्परागत राजनीतिक पार्टीहरू सत्तामा फर्किए र सन् २०१५ मा टीकापुरमा भएको हिंसात्मक विरोध माझ माओवादीकै सहभागितामा नयाँ संविधान जारी भयो जसले छुट्टै थारू राज्य अस्वीकार ग¥यो । र, सन् २०१८ मा पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी आफ्नो पूर्व विरोधी पार्टी एमालेसँग मिलेर नेकपा भयो । उसो त हफमानले पुस्तकको निष्कर्षमा यी परिवर्तनलाई संक्षेपमा उल्लेख गर्दै आफ्नो शोधलाई माओवादी जनयुद्ध सकिए लगत्तैको सन्दर्भमा पढिनुपर्ने भनेका छन् । यद्यपि, उदाहरणका लागि, “उक्त क्षेत्र टीकापुरमा स्थानीय सम्भ्रान्त र राज्य बीचको गठबन्धनलाई माओवादी आन्दोलनले तोडेको” (पृ. १७०) भन्ने दाबी टीकापुरमा सन् २०१५ को थारूहरू माथिको राज्यको दमन (हेर्नुहोस्, लाल सन् २०१९) पछि पुनर्अध्ययन गर्नुपर्ने देखिन्छ ।

इच्छुक शोधार्थीहरूलाई पार्सियल रेभोलुशनले नयाँ अनुसन्धानका लागि विषयहरू दिन्छ, जसलाई पुस्तकको सबल पक्ष मान्न सकिन्छ । जस्तै, पुस्तकको परिचयात्मक अध्यायमा हफमान थारू समुदायमा रहेको वर्गीय असमानता नजरअन्दाज गरिए थरूहटका लागि हुने आन्दोलन असफल हुने तर्क गर्छन् । यो तर्कले अध्येताहरूलाई नेपालका जातीय विद्रोह वा आन्दोलनहरूलाई वर्गीय दृष्टिले हेर्न प्रेरित गर्न सक्छ, जसबारे खासै अध्ययन भएको छैन । त्यसै गरी, नेपालको श्रम आन्दोलनमा महिलाहरूको सहभागिता वा बहिष्करण पनि थप अध्ययनको विषय हुन सक्छ । साथै, माओवादी युद्धलाई राज्य कब्जा गरेर त्यसलाई आफू अनुकूल बनाउने प्रयासका रूपमा हफमानले अर्थ्याएका हुनाले त्यो दृष्टिकोणबाट माओवादी पार्टीको उदय, पतन, र एमाले सँगको “विलय” को विश्लेषण पठनीय हुने थियो ।

अन्त्यमा, केही कमजोरी देख्दादेख्दै पनि यो पुस्तक नेपाली माओवादी र क्रान्तिकारी आन्दोलनहरूले श्रममा पार्ने असरमा रुचि भएका सबैलाई पढ्न सिफारिस गर्छु । दक्षिण एशियाली श्रम/श्रमिक बारेको अध्ययनमा यो महत्त्वपूर्ण प्राज्ञिक योगदान हो । दलहरूले आफ्नो अभिष्टका लागि मजदुरहरूलाई बारम्बार राजनीतिक हतियार बनाइरहने तर सत्तामा पुगेपछि उनीहरूको हितार्थ खासै काम नगर्ने परिप्रेक्ष्यमा यो पुस्तक झन् सान्दर्भिक छ ।

 

सन्दर्भ सामग्री

Aditya, Adhikari. 2014. The Bullet and the Ballot Box: The Story of Nepal’s Maoist Revolution. London: Verso.

Hoffmann, Michael. 2014a. Red Salute at Work Brick Factory Work in Post-conflict Kailali, Western Nepal. Focaal—Journal of Global and Historical Anthropology 70: 67–80.

Hoffmann, Michael Peter. 2014b. A Symbiotic Coexistence: Nepal’s Maoist Movement and Labour Unions in an Urban Municipality in Post-conflict Far-western Tarai. Journal of South Asian Development 9(3): 213–234.

Hoffmann, Michael Peter. 2015. In the Shadows of the Maoist Revolution: On the Role of the “People’s War” in Facilitating the Occupation of Symbolic Space in Western Nepal. Critique of Anthropology 35(4): 389–406.

Hoffmann, Michael. 2017. Unfree Labour after the Maoist Revolution in Western Nepal. Contributions to Indian Sociology 51(2): 139–162.

Lal, Abha. 2019. After Years of Media Trial, a Stunning Verdict in the Tikapur Case. Available at www.recordnepal.com/wire/after-years-of-media-trial-a-stunning-verdict-in-the-tikapur-case/; accessed October 7, 2019.

 

दर्शन कार्की

युनिभर्सिटी अफ जुरिक


About the Author

More Blogs