रिसाइटिङ द गडेश : न्यारेटिभ्स अफ प्लेस एण्ड द मेकिङ अफ हिन्दुइजम् इन नेपाल - समाज अध्ययन १४

2021-09-28

जेसिका भेन्टिन बिर्केन्होल्ज । सन् २०१८ । रिसाइटिङ द गडेश : न्यारेटिभ्स अफ प्लेस एण्ड द मेकिङ अफ हिन्दुइजम् इन नेपाल । न्यू दिल्ली : अक्सफोर्ड युनिभर्सिटी प्रेस ।

 

रिसाइटिङ द गडेश सोह्रौँ शताब्दीमा उदाएका स्थानीय देवी—स्वस्थानी—र स्थानीय परम्परा—स्वस्थानी व्रतकथाको—विकास र रूपान्तरणको सांस्कृतिक इतिहास हो । स्वस्थानी देवी र व्रतकथाको अभिलेखात्मक र “एथ्नोग्राफिक” अध्ययन मार्फत बिर्केन्होल्जले नेपालमा आधुनिक हिन्दु धर्मको निर्माणको कथा पस्केकी छन् । लेखकका अनुसार नेपालको पहाडी भेगमा हिन्दु धर्मको निर्माण र रूपान्तरणको इतिहासले भारतीय उपमहाद्वीपको उत्तरी खण्डमा मुगलहरूको आगमनपूर्व हिन्दु धर्म कस्तो थियो भन्ने आकलन गर्न समेत यस पुस्तकले मद्दत गर्छ । यस किताबमा प्रस्तुत कथा र विश्लेषण नेपालको विशिष्ट भूराजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक सन्दर्भमा गरिए पनि लेखकले यी कथा र विश्लेषणहरू मार्फत कसरी स्थान र साहित्यले पहिचान अनि विचारधाराको अभ्यास एवं रूपान्तरणको फराकिलो चित्र खिच्न सक्छ भनेर पनि देखाएकी छिन् ।

पहिलो अध्यायमा लेखकले आफ्नो अध्ययनको सैद्धान्तिक ढाँचा खिच्नु बाहेक स्वस्थानीदेवी र परम्पराबारे अनभिज्ञ पाठकहरूका लागि आवश्यक पृष्ठभूमि पनि प्रस्तुत गर्छिन् । स्वस्थानीको मूल कथा सारमा बताएपछि लेखक कसरी स्वस्थानीको पाठ नै यो परम्पराको ऐतिहासिक अध्ययनको प्रस्थानबिन्दु हो भनेर तर्क गर्छिन् । लेखकका अनुसार विभिन्न कालका स्वस्थानी कथाको पाठ पढ्नाले गत ४५० वर्षमा यसको पाठ र परम्परामा भएका ठूला रूपान्तरणहरू पहिल्याउन मद्दत गर्छ । अझ महत्त्वपूर्ण पक्ष त के हो भने स्वस्थानी कथाका पंक्तिले स्थानीय र क्षेत्रीय सन्दर्भ र तिनको सामिप्यको अर्को छुट्टै कथा समेत भन्छ । यी स्थानीय र क्षेत्रीय सन्दर्भहरूले स्वस्थानीका पाठको रूपान्तरणलाई डोहो¥याउनुका साथै मूल पाठमै पनि फरक-फरक कालका साँस्कृतिक चाल र आन्दोलनका छाप छोड्न सफल भए ।

लेखकका अनुसार स्वस्थानी कथा अर्थ र सहअनुभवको खानी पनि हो किनभने स्वस्थानीका थपिँदै गएका कथाहरूले भारतीय उपमहाद्वीपको बृहत् धार्मिक-राजनीतिक सन्दर्भमा नेपाल कसरी शनैःशनैः हिन्दु राष्ट्र बन्यो भन्ने प्रच्छन्न कथा पनि भन्छ । सोह्रौँ शताब्दीदेखि वर्तमानसम्म आइपुग्दा स्वस्थानी व्रतकथाको पाठले भोजपत्रमा लिखित आठ पत्रको स्थानीय मिथकबाट करिब चार सय पानाको, एकतीस अध्याय सम्मिलित र आधुनिक छापाखानामा मुद्रित मूलधारको पुराणको रूप लियो । स्वस्थानीको यही रूपान्तरणको कथालाई बिर्केन्होल्जले यस अध्ययनको केन्द्रमा राखेकी छिन् । यसका लागि लेखकले करिब १२५ स्वस्थानी व्रतकथाका पाण्डुलिपिहरूको मिहीन जाँच गरेकी छन् । एथ्नोग्राफिक पाटोको लागि भने लेखकले साँखुका स्थानीय, ज्येष्ठ नागरिक र साली नदी मेलामा आउने व्रतालुसँग कुराकानी र अन्तर्वार्ता गरेकी छिन् ।

दोस्रो अध्यायमा लेखक स्वस्थानी देवी अर्थात् आफ्नै स्थानकी देवीबारे नै अनुसन्धान गर्छिन् । यहाँ लेखक स्वस्थानी देवीको अदृश्य, तरल र निजी रूपबाट सदृश्य, स्थिर र सार्वजनिक रूप सम्मको रूपान्तरणको इतिहास वर्णन गर्छिन् । यस बदलीको क्रममा देवी स्थानको रक्षकका साथै रक्षा गरिनुपर्ने स्थानको बिम्ब समेत बन्छिन् । बिर्केन्होल्जका अनुसार देवीको रूपमा आएको परिवर्तन परम्परामा आएको परिवर्तन समेत हो । स्वस्थानी देवीमै आएका परिवर्तनलाई लेखक हिन्दु-बौद्ध-तान्त्रिक-नेवार पराम्परानिष्ठ ब्राह्मणवादी प्रभावहरूको सम्मिश्रणको रूपमा पनि अर्थ्याउँछिन् । लेखकका अनुसार स्वस्थानी देवीको इतिहास यस्तो “केस स्टडी” हो जसले नेपाल र दक्षिण एशियाका धार्मिक पहिचान र अभ्यासको राजनीति, लिंग र स्थानको सूक्ष्म बुझाइमा उल्लेखनीय योगदान गर्छ । उनी के पनि तर्क गर्छिन् भने स्वस्थानी व्रतकथा यस्तो विशिष्ट परम्परा हो जसले निजी/सार्वजनिक, स्थानीय/क्षेत्रीय र ब्राह्मणवादी/लोक जस्ता भ्रामक सिमाना र विरोधाभाषहरूको विनिर्माण गर्छ । कथामा स्वस्थानी देवी दयालु पत्नी देवी र क्रुद्ध रक्षक देवीका रूपमा प्रस्तुत हुन्छिन् । लेखकको विचारमा यी दुई रूप बीचको गातिशील द्वन्द्वले गर्दा पनि स्वस्थानी देवी आफ्ना भक्तहरूका लागि अहम् र सुगम छिन् ।

अध्याय तीनमा बिर्केन्होल्ज साहित्यिक र भाषाशास्त्रीय दृष्टिकोणबाट स्वस्थानी कथाको ऐतिहासिक चर्चा गर्छिन् । यहाँ उनको प्रस्थानबिन्दु स्वस्थानीको अहिलेसम्म पाइएको मध्ये सबैभन्दा पुरानो सन् १५७३ को संस्कृत भाषाको पाण्डुलिपि हो । उनका अनुसार मध्यकालीन दक्षिण एशिया थुप्रै क्षेत्रीय भाषाहरूको विकासको युग पनि थियो । यी भाषाहरूको उद्भवले लेखन र विचार सम्प्रेषणमा संस्कृतको एकाधिकारलाई अन्त्य गर्दै थियो । नेपालमा पनि नेपाल भाषा र नेपालीको सिर्जनात्मक विकासलाई यही सन्दर्भमा बुझ्नु पर्ने तर्क छ लेखकको । यसका साथै स्वस्थानी कथाको मूल पाठमा भएका भाषिक र शाब्दिक परिवर्तनलाई उत्तर-मध्यकाल र पूर्व-आधुनिक/आधुनिक कालमा नेपालमा भएका सामाजिक, राजनीतिक र धार्मिक उथलपुथलले ल्याएको साहित्यिक प्रतिक्रियाका रूपमा पनि बुझ्न सकिन्छ । स्मरण रहोस्, यो काल गोर्खा राज्यको विस्तार, उपत्यकाका तीन राज्यको पतन र आधुनिक नेपाली राष्ट्र-राज्यको निर्माणको समय थियो । लेखकका अनुसार, यस परिप्रेक्षमा, स्वस्थानी कथाको बदलिँदो रूप र मोटाइमा नेपालका नयाँ शासकहरूको नेवार र पहाडी उपल्ला जातका “प्रजा” लक्षित भाषिक, साहित्यिक र धार्मिक पाहिचान लगायतका नीतिहरू र ती नीतिहरूले ल्याएका प्रतिक्रियाको जन अभिव्यक्ति समेत पाउन सकिन्छ । यस अभिव्यक्तिको एक दृष्टान्त भनेको नेपाल भाषा मात्र नभएर नेपाली भाषामा पनि स्वस्थानी कथाको बढ्दो अनुवाद, लेखन र प्रकाशन हो । अर्को उदाहरण भनेको गोमा, नवराज र चन्द्रावतीको कथामा सीमित स्वस्थानी व्रतकथाको बढ्दो पुराणीकरण हो । अठारौँ शताब्दीको उत्तरार्धदेखि स्वस्थानी कथामा स्कन्द, लिंग लगायतका पुराणका कथाहरूको प्रवेश शुरू हुन्छ । आधुनिक नेपाली राष्ट्र-राज्यको उद्भवसँगै प्रथमतः नेवार परम्परा बृहत् नेपाली परम्परामा रूपान्तरित हुन्छ । तर यहाँ लेखकले नेवार परम्पराको नेपालीकरणको अतिमूल्यांकन गरेको हो कि जस्तो प्रतीत हुन्छ किनभने स्वस्थानी कथा अहिले पनि मूलतः काठमाडौँ उपत्यका केन्द्रित परम्परा नै हो । नेपालको हिन्दुकरण र नेपाली भाषाकै विकास र विस्तारमै पनि बिर्केन्होल्जले भने जस्तै स्वस्थानी कथाले खेलेको भनिएको महत्त्वपूर्ण भूमिकामाथि प्रश्न गर्न सकिन्छ ।

यस पछिका दुई अध्यायमा लेखक स्वस्थानी व्रतकथाको बढ्दो पुराणीकरणका क्रममा देखा परेका तीन मुख्य चरणको वर्णन र विश्लेषण गर्छिन् । शुरूका दुई चरण अठारौँ शताब्दीको मध्यदेखि उन्नाइसौँ शताब्दीको आरम्भसम्म पर्दछन् । यी चरणहरूमा स्वस्थानी व्रतकथामा पुराणका प्रचलित कथाहरू थपिन्छन् । पुराणका कथाहरू थपिँदा स्वस्थानी व्रतकथाको पाठको मात्र विस्तार नभएर यसको भौगोलिक, कालिक र विचारधारात्मक क्षेत्रफलको समेत विस्तार हुन्छ । बिर्केन्होल्जका अनुसार यो विस्तारले नेपालको हिन्दु अधिराज्यको रूपमा उदाउँदो छविलाई पनि स्थापित र बलियो बनायो किनभने नेपालमा हिन्दुकरणको अर्थ सबै प्रजालाई पर्वतीया हिन्दु उच्च जातको साँचोमा ढाल्ने नभएर राज्यले राजनीतिक प्रयोजनार्थ बाहिरी विश्व अगाडि आफ्नो हिन्दु पहिचान प्रक्षेप गर्नु थियो । स्वस्थानीको पुराणीकरण वा विस्तारको पहिलो चरणमा सन् १७५० को नेपाल भाषाको कथामा गोमाको कथामा इष्टदेवको रूपमा गणेशको आगमन हुन्छ । त्यसै गरी यही पाठमा नाग-नागिनीको विछोड र मिलनको कथा, दक्ष प्रजापति, सतिदेवी, विष्णु, महादेव, र कुमार सहितको पौराणिक कथा समेत जोडिन्छ । पाठको यो विस्तार र विकासको उल्लेखनीय पक्ष भनेको मूलतः एक स्थानीय देवीको व्रतकथामा भारतीय उपमहाद्वीपका ठूला र अखिल देवहरू जोडिन आइपुग्नु हो । रोचक त के छ भने देवहरूको प्रवेशसँगै स्वस्थानी देवी आफ्नै कथामा धेरै हदसम्म सीमान्तकृत हुन्छिन् । तर लेखकले तर्क गरे जस्तै के पनि सत्य हो भने ठूला देवहरू कथामा प्रवेश गरेपछि नै स्वस्थानी व्रतकथाको विकास र विस्तार तीव्र हुन्छ । पुराणीकरणको पहिलो चरणसँगै दुई दिन र दुई रात मात्रको व्रतविधि एक महिनासम्म लम्बिन्छ अनि कालान्तरमा साँखुको साली नदीमा लाग्ने माधवनारायण मेलासँग पनि जोडिन्छ ।

दोस्रो चरणमा ब्रह्ममाण्डको सृष्टि तथा उत्पत्तिसँग सरोकार राख्ने मधु-कैटभको कथा स्वस्थानीको पाठमा थपिन्छन् । यससँगै स्वस्थानी कथामा सम्मिलित काल र भूगोलको झन् व्यापक विस्तार हुन्छ । लेखकका अनुसार मधु-कैटभको कथा किन पनि चाखलाग्दो छ भने यस कथाले हिन्दु विचार र अभ्यासका विभिन्न शाखाहरूको—शैव, वैष्णव र शाक्त—सम्मिश्रणलाई मुखरित गर्छ र बाहिरियाको अगाडि हिन्दु शब्दलाई फरक-फरक पन्थ समेट्ने छाता पदावलीको रूपमा प्रक्षेपण गर्छ । ध्यान दिनुपर्ने कुरा के हो भने यो काल दक्षिण एशियामै फरक आस्थाहरू हिन्दु धर्मका रूपमा एकत्रीकरण हुदै गइरहेको काल थियो । स्थानीयता र धार्मिक-राजनीतिक सीमाहरूको पुनर्गठनको युग थियो । तसर्थ, समय, ब्रह्ममाण्ड र आस्था सम्बन्धी हिन्दु/ब्राह्मण विचारधाराको फैलँदो प्रभावले कालक्रममा देवलोकका अरू कथाहरू थप्न बाटो खोल्यो र देवलोकका कथालाई मर्त्यलोकका कथाको पूर्व-पीठिका बनायो ।

पुराणीकरणको तेस्रो चरणले उन्नाइसौँ शताब्दी र बिसौँको शुरूआती वर्षहरू समेट्छ जुन समय नेपाली भाषा स्वस्थानी कथाको विस्तारको अग्रमोर्चामा थियो । यस अन्तिम चरणमा थपिएका कथाहरूको मूल सरोकार महिला र पतिव्रता धर्मसँग छ । यहाँ बिर्केन्होल्जको विश्लेषणको रोचक र सबल पक्ष के हो भने उनले नेपालमा भइरहेको “पुरानो” पितृसत्ताको सशक्तीकरणलाई ब्रिटिश भारतमा चलिरहेका “महिलाको प्रश्न” सम्बन्धी बहस, सुधार आन्दोलन र महिलाको आधुनिकता तथा शिक्षाप्रति सहानभूति राख्ने “नयाँ” पितृसत्ताको निर्माणसँग मिलाएर व्याख्या गर्छिन् । नेपालमा पुरातन पितृसत्ताको सबलीकरण ब्रिटिश भारतमा महिलाको शिक्षा, सार्वजनिक जीवनमा प्रवेश र बढ्दो आधुनिकता विरुद्धको प्रतिक्रिया थियो । त्यसैले यो कालमा स्वस्थानीमा थपिएका कथाहरू जस्तै शिव र ॠषि पत्नीहरूको कथा, महादेवले कामदेवलाई भष्म गरेपछि रतिको विलौना र वृन्दा-जालन्धर लगायतका कथाको मूल ध्येय पतिव्रता धर्मलाई नै महिलाको सर्वश्रेष्ठ धर्मको रूपमा स्थापित गर्नु थियो ।

उन्नाइसौँ शताब्दीकै मध्य र अन्त्यतिर नेपाल भाषाका स्वस्थानी व्रतकथामा भने धर्मलक्ष्मीसंवाद, धर्मकेतुराज, पतिव्रताधर्म र शिवरात्रीकथा जस्ता उपदेश केन्द्रित कथाहरू थपिएका थिए तर सबै हस्तलिखित पाठमा यी सबै कथाहरू भने थिएनन् । थपिएका यी कथाहरूले लेखकलाई स्वस्थानी व्रतकथा अन्ततः महिलाको परम्परा हो कि होइन र यो परम्पराले महिलालाई सशक्तीकरण गर्छ कि अझ दुर्बल बनाउँछ भन्ने पेचिलो प्रश्नतर्फ लैजान्छ । पुस्तकमा विश्लेषण गरिएको नेपाली छापामा वर्षैपिच्छे जसो महिलाहरूले गर्ने बहसबाट पनि के प्रस्ट हुन्छ, यी प्रश्नहरूको सोझो उत्तर छैन । कसैका लागि यो व्रतकथा पितृसत्तात्मक विचारधाराको प्रसार गर्ने संकथन हो भने अरू कसैका लागि स्वस्थानी कथाले यस्ता आदर्श र वास्तविक महिला पात्रहरू उपलब्ध गराउँछ जस मार्फत हिन्दु धर्मका दर्शनमाथि मात्र नभएर समकालीन राजनीतिमाथि पनि विचार राख्न एवं आलोचना गर्न सकिन्छ । यसबाट लेखक के सार खिच्छिन् भने स्वस्थानी व्रतकथा अहिले पनि एक जीवन्त परम्परा र नेपाली हिन्दुहरूका लागि महत्त्वपूर्ण सांस्कृतिक सन्दर्भबिन्दु हो ।

अन्त्यमा, प्रस्तुत पुस्तकको निचोड के हो भने मध्य र आधुनिककालीन नेपालमा भएका धार्मिक, राजनीतिक, सामाजिक, साहित्यिक र भाषाशास्त्रीय रूपान्तरणको इतिहास अध्ययन गर्न स्वस्थानी कथा अत्यन्त उपयुक्त माध्यम हो । लेखकका विचारमा झन् महत्त्वपूर्ण पक्ष त के हो भने स्वस्थानी कथाले नेपाली इतिहासको धारा एकांगी रूपमा नभएर भारतीय उपमहाद्वीपकै इतिहास प्रवाहसँग गाँसेर व्याख्या गर्न सहयोग गर्छ । स्वस्थानी कथाका तीन फरक भाषाका पाठहरूमै कथाहरूको फेर-बदल र थप-घटको इतिहासका रूपमा पुस्तक बलियो भए पनि लेखकले पाठमा आएका यी परिवर्तनलाई विगत ४५० वर्षको सामाजिक-राजननीतिक परिवर्तनसँग जोडेर गरेको विश्लेषणलाई समर्थन गर्ने प्रत्यक्ष प्रमाण भने खासै प्रस्तुत गरेकी छैनन् । आधुनिक नेपाली राज्यको स्थापना पछिको अवधिमा पनि नेपाललाई असल हिन्दुस्थान बनाउने राजकीय अभियानमा अन्य धार्मिक पुस्तकको तुलनामा स्वस्थानी व्रतकथा नै सबै भन्दा उपयुक्त ग्रन्थ थियो भन्ने प्रश्न पनि पुस्तकको अन्त्यसम्म धेरै हदसम्म अनुत्तरित नै छ भन्नुपर्छ । यति हुँदाहुँदै पनि अंग्रेजी भाषामा लेखिएका नेपालको धार्मिक-सामाजिक-सांस्कृतिक इतिहासमा यो पुस्तक अब्बल र सह्रानीय छ । यो पुस्तक नेपाल र दक्षिण एशियाको धार्मिक र सांस्कृतिक रूपान्तरणमा चाख राख्ने ऐतिहासिक र इण्डोलोजिस्टका लागि मात्र नभएर हिन्दु धर्म-संस्कृतिको अध्ययनमा रस परेका आम पाठकका लागि पनि रुचिकर हुन सक्छ ।

                                                                                                                                आभास भण्डारी

युनिभर्सिटी अफ इलनोइ एट शिकागो


About the Author

More Blogs