सत्तामा युवा पुग्नु मात्रै ठूलो कुरो होइन, देशको आर्थिक–राजनीतिक रूपान्तरणका लागि तिनले बोक्ने वैचारिकी प्रगतिशील र रूपान्तरणकारी छैन भने त्यसले सरकार परिवर्तन र सीमित सुधार गर्नुबाहेक जनताको अपेक्षालाई सम्बोधन गर्न सक्दैन ।

What you should know
- विश्वभरि युवा आन्दोलनले भ्रष्टाचार, दमन, युद्ध, असमानता र निरंकुश सत्ताविरुद्ध बलियो प्रतिरोध खडा गरिरहेको छ। नेपाल, बंगलादेश र भारतका घटनाले युवाको नेतृत्वले सरकार परिवर्तन गर्न सक्ने देखाए पनि राज्यसत्ताको वास्तविक रूपान्तरणका लागि निरन्तर संघर्ष आवश्यक छ।
- युवा आन्दोलन केवल सत्ता परिवर्तनमा सीमित नभई स्पष्ट प्रगतिशील वैचारिकी, सामाजिक न्याय र जनजीविकाका सवालसँग जोडिनुपर्छ। नवउदारवादी पुँजीवादको विकल्पमा समानता, आशा र समृद्धिमा आधारित समाजवादी व्यवस्था निर्माण गर्नु युवाको प्रमुख कार्यभार हो।
संसारभरि युवा आन्दोलनको लहर चलिरहेको छ । गत जुन महिनादेखि भारतका विभिन्न सहरमा युवाहरूले मोदी सत्ताविरुद्ध सशक्त आन्दोलन गरिरहेका छन् । परीक्षाको प्रश्नपत्र चुहावटको विरोधमा सामाजिक सञ्जालको एउटा अभियानबाट सुरु भएको युवाहरूको आन्दोलनपछि केन्द्रीय शिक्षामन्त्री राजीनामा दिन बाध्य भएका थिए । प्रश्नपत्रको चुहावट रोक्न सरकारले कडा कानुनी प्रावधान पनि ल्याएको थियो । पछिल्लो समय भने निर्वाचनको मतदाता सूचीमा भएको हेरफेरविरुद्ध भारतीय युवाहरूले देशव्यापी आन्दोलन गरिरहेका छन् । दिल्लीसहित विभिन्न प्रान्तमा भइरहेका आन्दोलनले मोदी सरकारलाई रक्षात्मक बनाइदिएको छ ।
सन् २०२४ जुन–जुलाईमा बंगलादेशमा भएको युवा आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई राजीनामा गर्न मात्रै बाध्य बनाएन, देश नै छोड्नुपर्ने अवस्थामा पुर्याइदियो । २०८२ भदौमा नेपालमा भएको नवयुवाको आन्दोलनले दम्भी शासक केपी शर्मा ओलीलाई सत्ताबाट विस्थापित गरिदियो । दक्षिण एसियामा मात्रै होइन, फिलिपिन्स, इन्डोनेसिया, केन्या, मोरोक्कोलगायतका देशमा नवयुवाले धनाढ्य, भ्रष्टाचारी र दमनकारी राज्यसत्ताविरुद्ध सशक्त आन्दोलन गरिरहेका छन् ।
स्रोतमाथि कब्जा जमाउन भएका युद्ध, नाफाखोर नवउदारवादी अर्थतन्त्र र शक्तिको बलमा कमजोरमाथि हुँदै आएको दमनविरुद्ध पनि युवा आन्दोलिन हुँदै आएका छन् । प्यालेस्टाइनमा भइरहेको युद्ध अपराध होस् वा रुस–युक्रेन वा अमेरिका–इजराय र इरानबीच भइरहेको युद्ध होस्, यस्ता युद्धले पारेको असरविरुद्ध पनि युवाले प्रतिरोध गरिरहेका छन् । विश्वमा विज्ञान प्रविधिसँगै नयाँ आर्थिक–राजनीतिक परिवेशमा युवाले आफूले चाहेको संसार निर्माणका लागि सचेततापूर्वक आन्दोलनको नेतृत्व गरिरहेका छन् । युद्धको बहानामा भएको नरसंहार, व्यापारका नाममा भएको चरम लुट, पर्यावरणको विनाश र कमजोर जनतालाई चौतर्फी दमनविरुद्ध युवाको सचेत संघर्ष अहिलेको विश्वको आवश्यकता हो । संसार युवाको हो, युवाले चाहेजस्तो संसार, देश र समाज निर्माणका लागि निरन्तर संघर्ष जरुरी हुन्छ ।
युवा जागेपछि
ठूलो आँधी सानो हावाको झोक्काबाट सुरु हुन्छ । डढेलो आगोको सानो झिल्कोबाट सुरु हुन्छ । तानाशाही, निरंकुश र फाँसीवादी शासक यस्तै आन्दोलनबाट बढारिएका इतिहास छन् । संसार बदल्ने विचारको विकास युवाले नै गरेका हुन् भने व्यवस्था परिवर्तनको लडाइँ युवाले नै लडेका हुन् । श्रमजीवी वर्गको शोषणको अन्त्य मात्रै होइन, नयाँ राज्य व्यवस्था निर्माण गर्न सम्भव रहेको सैद्धान्तिक व्याख्या गर्ने कार्ल मार्क्स सन् १९४८ मा कम्युनिस्ट घोषणापत्र तयार गर्दा २९ वर्षका थिए । मार्क्सवाद संसारलाई विश्लेषण गर्ने र बदल्ने अर्थ–राजनीतिक सिद्धान्त बन्न पुग्यो ।
क्युवाली समाजवादी क्रान्तिका नेतृत्व गर्दा चे ग्वेभारा २८ वर्षका थिए । संसारभरि चर्चित चे समाजवादी क्रान्तिका एक सशक्त योद्धा हुन् ।
रंगभेदविरोधी नेल्सन मण्डेला २६ वर्षकै उमेरमा अफ्रिकन नेसनल कंग्रेसमा आबद्ध भएर अफ्रिकन नेसनल कंग्रेस युथ लिग स्थापना गरी त्यसको नेतृत्व गरेका थिए । तानाशाही फाँसीवादी सत्ता ढाल्न होस् वा रंगभेदी वा दमनकारी सत्ताको अन्त्य गर्न संसारभरि युवाले विचारको विकासका साथै सफल क्रान्तिको नेतृत्व पनि गरेका छन् ।
सन् २०२४ मा भएको बंगलादेशको युवा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा गरेर निर्वासित हुनुपर्ने अवस्थामा पुर्यायो । बंगलादेशको सत्तापलट गर्ने आन्दोलनका एक नेतृत्वकर्ता २६ वर्षीय नाहिद स्लामी थिए । बंगलादेशको प्रदर्शनमा उनको नेतृत्वदायी भूमिका थियो । नेपालमा माओवादी सशस्त्र विद्रोहका कारण सामन्ती शाही सत्ता ढल्यो । माओवादी विद्रोहको राजनीतिक र फौजी नेतृत्वमा युवाले सशक्त भूमिका नखेलेको भए राजतन्त्रको अन्त्य सम्भव थिएन । जीवनलाई हत्केलामा राखेर युवाले क्रान्तिमा गरेको योगदान र बलिदानीकै उपलब्धि हो, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीकरण । २०६२/६३ को जनआन्दोलनमा सडकबाट युवाले निरंकुश राजतन्त्रविरुद्ध हस्तक्षेप गरेकै कारण यो राजनीतिक व्यवस्था स्थापित भएको हो । सामाजिक सञ्जालका एपहरू बन्द गर्ने सरकारको निर्णय, भ्रष्टाचार, नातावाद, कृपावादविरुद्ध २०८२ भदौमा भएको युवा आन्दोलनले अहंकारी शासक ओलीलाई सत्ताच्युत गरिदियो ।
भारतमा २०२६ जुनमा ३१ वर्षीय अभिजित दीपकेको नेतृत्वमा भारतीय कक्रोच पार्टीले दिल्लीको जन्तरमन्तरमा मोदी सरकार र शिक्षामन्त्रीविरुद्ध विशाल प्रदर्शन गर्यो । शिक्षामन्त्रीलाई राजीनामा गर्न बाध्य पार्ने देशव्यापी आन्दोलनले भारतीय सत्तालाई कडा चुनौती दियो । भारतमा मतदाताको नामावलीमा भइरहेको खेलबाडविरुद्ध सशक्त आन्दोलन भइरहेको छ । मोदी सत्ताको लोकतन्त्रविरोधी हर्कतविरुद्ध देशव्यापी चलिरहेको आन्दोलनको सशक्त नेता हुन्, २९ वर्षीया नेहा बोरा । नेहा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) लिबरेसनको विद्यार्थी संगठन अखिल भारत विद्यार्थी संघ (आइसा) की अध्यक्ष हुन् । युवा नेतृत्वको यो आन्दोलनले भारतीय सत्तालाई बलियो चुनौती दिएको छ ।
युवा र युवा नेतृत्वको आन्दोलन दक्षिण एसियामा मात्रै होइन, संसारभरि चलिरहेको छ । विगतमा राजनीतिक पार्टीले आह्वान गरेको क्रान्ति र आन्दोलनमा सक्रिय हुने युवाले आफ्नै नेतृत्वमा आन्दोलन गरिरहेको छ । युवाले चाहेको समाज, राज्य र विश्व व्यवस्थाका लागि युवाले नै लड्नुपर्छ । तर, बन्दुक, पुँजी र समग्र सत्ता कब्जा गरेर बसिरहेको जब्बर र अनुदार राज्यसत्ता क्षणिक आन्दोलन र संघर्षबाट ढल्दैन । संसारले भोगिरहेका संकटको स्रोत वैश्विक आर्थिक–राजनीतिक व्यवस्था र संरचनासँग जोडिएको छ । त्यसैले विचार, दृष्टिकोण र योजनासहितको सशक्त र निरन्तर आन्दोलन युवाले खोजेको व्यवस्थाका लागि आवश्यक छ ।
रूपान्तरणको वैचारिकी
राज्यसत्ताको रूपान्तरण एउटा सरकार ढाल्ने र अर्को सरकार बनाउने मात्रै होइन । राज्यसत्ताको रूपान्तरणबिना युवा, महिला, मजदुर, श्रमिक र सीमान्तीकृत समुदायको समस्या हल हुँदैन । बंगलादेश र नेपालमा युवा विद्रोहबाट नयाँ सरकार बनेका छन् । बंगलादेशको युवा आन्दोलनपछि नयाँ सरकार गठन भयो । आन्दोलनका केही युवा मन्त्री पनि भए । तर, राज्यसत्ताको रूपान्तरणको काम हुन सकेको छैन । नेपालमा प्रतिनिधिसभामा ३५ वर्षभन्दा कम उमेरका सांसद ५१ जना र ५० वर्षमुनिका सांसदको संख्या १९० जना छ । प्रधानमन्त्रीसहित अधिकांश मन्त्री युवा छन् । तर, सत्तामा युवा पुग्नु मात्रै ठूलो कुरो होइन, देशको आर्थिक–राजनीतिक रूपान्तरणका लागि तिनले बोक्ने वैचारिकी प्रगतिशील र रूपान्तरणकारी छैन भने त्यसले सरकार परिवर्तन र सीमित सुधार गर्नुबाहेक जनताको अपेक्षालाई सम्बोधन गर्न सक्दैन । जनता, समाज र राज्यको समस्या बुझ्ने, विश्लेषण गर्ने, कारणको पहिचान गर्ने र समाधानको विकल्प खोज्न वैचारिक दृष्टिकोणमा प्रस्टता आवश्यक हुन्छ । क्रान्ति, संघर्ष वा आन्दोलनपछि गलत वैचारिकी भएको नेतृत्व सत्तामा पुग्यो भने त्यसले सामाजिक–आर्थिक रूपान्तरण र आमजनताको हित गर्न सक्दैन ।
सन् २००७–२००८ को विश्व आर्थिक मन्दीपछि विश्व पुँजीवादविरुद्ध ‘वाल स्ट्रिट’ आन्दोलन सुरु भयो । संसारका विभिन्न सहरमा प्रदर्शन भयो । अहिले विश्वको एक प्रतिशत धनाढ्यले संसारको ४८ प्रतिशत सम्पत्ति कब्जा गरेको छ भने १० प्रतिशतले ८५ प्रतिशत सम्पत्ति कब्जा गरेको छ । यसले संसारभरि धनीलाई थप धनी बनाउने, गरिब र कमजोर वर्गलाई बाँच्नै नसक्ने परिस्थिति निर्माण गरेको छ । अर्थतन्त्रमाथिको यस्तो नियन्त्रणका लागि नवउदारवादी पुँजीवादी व्यवस्थाको सबैभन्दा ठूलो योगदान छ । यतिसम्म कि, धनी देशका कमजोर नागरिकले पनि बाँच्नकै लागि दैनिक कठिन श्रम गर्नुपर्ने विडम्बना छ । यस्तो नवदारवादी पुँजीवादको अभ्यास नेपालमा पनि भइरहेको छ । निश्चित धनी, बिचौलिया र दलाल पोस्ने तर गरिबले चुल्हो बाल्न नसक्ने यस्तो आर्थिक व्यवस्थाविरुद्ध लड्न युवा आन्दोलनमा स्पष्ट वैचारिक दृष्टिकोण आवश्यक हुन्छ । नेपालको सन्दर्भमा समाजवादी आर्थिक–राजनीतिक विचारले मात्रै न्यायमा आधारित अर्थतन्त्र निर्माण गर्न सम्भव छ ।
विचारविहीन राजनीति र आन्दोलन गन्तव्यबिनाको यात्रा हुन पुग्छ । नेपालको राजनीतिक प्रणालीले निश्चित व्यक्तिलाई निर्वाचित गरेर संसद् पठाउँछ । अझ यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘जान्नेलाई छान्ने’ नाराअनुसार सांसद निर्वाचित भएका छन्, मन्त्री भएका छन् । उनीहरूले नेपाली राजनीति, समाज व्यवस्था, पितृसत्ताको दमन, जातसत्ताको उत्पीडन कति बुझ्छन् भन्ने विचार र व्यवहारले देखाइरहेको छ । निर्वाचित जनप्रतिनिधि जनताको वास्तविकताभन्दा धेरै टाढा छन् । अर्को कुरा, नवउदारवादी पुँजीवादी राजनीतिक दृष्टिकोण र कार्ययोजना बोकेको यो सरकारले आधारभूत जनता, श्रमजीवी वर्ग र सीमान्तीकृत समुदायको हित गर्न सक्दैन । यस्तो परिस्थितिमा युवाले राजनीतिक रूपान्तरणको प्रस्ट विचार र गन्तव्यसहित आन्दोलनको नेतृत्व गर्नुपर्छ । नवउदारवादी पुँजीवादी व्यवस्थाविरुद्ध समाजवादी व्यवस्था स्थापना अबको युवा आन्दोलनको कार्यभार हो ।
युवाले आफू बाँच्ने समाज कस्तो बनाउन चाहन्छ ? जात, लिंग, धर्म र समुदायका आधारमा विभेद नै विभेदले भरिएको समाज कि विविधतालाई सम्मान गर्ने र सबै नागरिक समान हैसियतमा बाँच्ने समाज ? सामाजिक न्यायसहितको समाजमा बाँच्न चाहन्छन् भने अबको न्यायिक समाजको मार्गचित्र पनि युवा आन्दोलनको अभिन्न अंग बन्नुपर्छ । यसका लागि समाज व्यवस्थाको रूपान्तरण गर्ने वैचारिकी युवा आन्दोलनको अनिवार्य आवश्यकता हो ।
आत्महत्या मानसिक समस्यासँग जोडिएको विषय मानिए पनि यस्तो समस्याका कारक समाज र राज्य नै हुन् । समाजमा मानिसहरू बाँच्न नसकेर, जीवनमा सम्भावना नदेखेर आत्महत्या गरिरहेका छन् । रोजगारी छैन, देशभित्रको सहज जीवनको परिकल्पना वा आशा गर्ने अवस्था छैन । दिनदिनै संकट झेल्दै बाँच्नुपर्ने बाध्यता छ । भविष्यप्रति आशावादी हुनेभन्दा निराशाको तुवाँलो मडारिइरहेको छ । नेपालको राजनीतिक इतिहासमा सबैजसो क्रान्ति वा संघर्षपछि देशमा केही हुन्छ भन्ने आशाको दियो केही वर्षका लागि बलिरहन्थ्यो । विडम्बना, युवा विद्रोहबाट सरकार परिवर्तन भयो, तर नयाँ सरकार बनेको छोटो समयमै युवा र आम मानिसमा तीव्र निराशा छाइरहेको छ । यस्तो बेला युवाले मौनता साध्यो, सत्ताको कमजोरी ढाकछोप गर्ने औजार बन्यो वा खराब विचारलाई मौलाउने र फैलिने अवसर दियो भने त्यसले जनताको जीवनमा थप संकट ल्याउनेछ । त्यसैले युवाको आन्दोलन र संघर्षको वैचारिकीले दैनिक जनजीविकाको सवाल बलियोसँग पक्रिनुपर्छ ।
आशाको सञ्चारको खाँचो
युवाले चाहेको जीवन बाँच्न युवाले नै संघर्ष गर्नुपर्छ । राज्यसत्ताको रूपान्तरणको जिम्मेवारी युवाको मात्रै होइन । यो त समग्र प्रगतिशील, रूपान्तरणकारी र अग्रगामी सबैको सरोकारको विषय हो । तथापि अबको समय युवाको हो, युवाले तुलनात्मक रूपमा बढी भूमिका खेल्नुपर्छ । युवा सधैं अगाडि बढ्न चाहन्छ । प्रगति चाहन्छ र रूपान्तरणप्रति प्रतिबद्ध हुन्छ भने गलत वैचारिकीले सही ठाउँमा पुर्याउँदैन ।
सत्ता समर्थक युवाको अन्धतापूर्वक समर्थन गर्ने र आलोचनात्मक विचार नराख्ने प्रवृत्तिले सत्ताको मनमौजी र निरंकुशतालाई बल दिन्छ । त्यसैले औचित्य र तर्कका आधारमा समर्थन गर्नुपर्छ । सत्ताको आलोचना गर्नेलाई गालीगलौज र घृणास्पद अभिव्यक्तिले व्यक्तिगत वा सामाजिक रूपान्तरणमा नकारात्मक भूमिका खेल्छ । अर्कोतिर, अहिलेको नवउदारवादी पुँजीवादी वैचारिकीबाट देश र जनताको हित हुँदैन भन्ने तर्कमा सहमत हुने युवाले समाजवादी आर्थिक–राजनीतिक विचार र अजेन्डासहित संघर्ष गर्नुपर्छ । न्याय, समानता र समृद्ध समाजको निर्माणका लागि युवा आन्दोलनले आशाको सञ्चार गर्न जरुरी छ ।
आश्विन ३०, २०८३
स्रोत : https://ekantipur.com/opinion/2026/10/16/youth-power-for-transformation-50-22.html
जेबी विश्वकर्मा










