जेस्तापुरको 'नालुँ लकाँ'

- अर्जुन पन्थी | 2021-09-24

त्यसबखतको नेपाल पुस्तकमा भीमबहादुर पाँडेले त्यसबखत काठमाडौँका प्रशासकहरु नालाको जुत्ता (नालुँ लकाँ) लगाउँथे भनेर लेखेका छन् । यी जुत्ता जेस्तापुर (हरिसिद्धिको पुरानो नाउँ), सानो गाउँ तथा लुभुतिरबाट आउने तथ्य पाँडेले पुस्तकमा लेखेका छन् । के हो यो नालाको जुत्ता ?

नालाको जुत्ताबारे जान्न काठमाडौँको दक्षिणी भेगमा जाने उत्सुकता थियो ।कहाँ जाने निश्चित नभएपनि एक सनिवार विहानै माथिका तीन ठाउँमध्ये कुनै एकमा जाने भनेरै हिँडे । लुभु धेरैपटक गएको, सानो गाउँको बाटो थाहा नभएकोले सातदोबाटोबाट हरिसिद्धितिर गएँ ।

त्यहाँ पुग्दा भूकम्पले तहसनहस पारेको घरहरुलाई आआफ्नै ढंगले मर्मत गरिरहेको देखिन्थ्यो । मन्दिर नजिकैको सत्तलमा बसिरहेका ३ जना पाका मानिसहरु नजिकै पुगेर सोधेँ । "तपाईलाई नालाको जुत्ताबारे केही थाहा छ ?"दुईजनाले मेरो कुरामा चासो दिए ।उनीहरुले नालाको सट्टा 'नालुँ' शब्द उच्चारण गरिरहेका थिए ।

नालुँ एककिसिमको रेशादार वनस्पति रहेछ । वीउको जोहो गरेर मानिसहरुले बारीमा लगाउने रहेछन् । हुर्कीसकेपछि यसलाई गृष्मयामतिर काटिँदोरहेछ । काँडादार नालुँलाई पानीमा वा हिलेपानीमा गाडेर पकाइँदोरहेछ । अर्घाखाँचीतिर फोस्रो, फलेतो जस्ता बोटका हाँगालाई चोयाले एकमुस्ठ बाँधी पानीमा गाडिन्छ । त्यस माथि बाँसको सिठाले च्यापी, सिठालाई ढुंगाले थिचिन्छ । १०/१२ दिनपछि यसलाई पकाएर वा कुहाएर त्यसबाट रेशा निकालिन्छ । केतुकीको पातलाई त ठटाएर रेसा निकालिन्छ । त्यसैबाट दाम्लो नाम्लो आदि बनाइन्थ्यो । मेरो विचारमा यस्तै प्रकारले नालुँलाई १०/१२ दिन हिलोमा गाडेर पकाएपछि त्यसको भित्री भागबाट बोक्रो लोक्त्याइन्छ । त्यसपछि लुगा धोएजस्तो पिटानीले पिट्दै, ढुँगामा लछार्दै पछार्दैसफा गरेर सुकाइन्छ । सुकेको नालुँको रेशालाई बटारेर मसिनो डोरी बनाइन्छ । यही डोरीबाट नालुँको जुत्ता बन्छ ।

हरिसिद्धिको उत्तर दक्षिणतिर ४ ओटा गेटहरु छन् । ती गेटहरुभित्र छालाको जुत्ता परम्परादेखि बर्जित थियो । मसँग कुरा गरिरहेका राजेन्द्र र यज्ञराम महर्जनका अनुसार यो चौगेटभित्र भगवतीको मन्दिर छ । र यहाँ लाग्ने जात्रामा हात्ती हिँडाइन्छ । हात्तीले छालाको जुत्ता लगाएको विश्वास स्थानीय मानिसमा भएकाले'भगवानले लगाउने जुत्ता हामीले लगाउनु हुँदैन' भन्ने विश्वासले यहाँ छालाको जुत्ता परम्परागत रुपमा लगाइँदैन । तर हिजोआज छालाको जुत्ता नभइ नहुने हुँदा स्थानीयले यो मान्यता पालना गर्न सकेका छैनन् ।

राजेन्द्र र यज्ञरामका अनुसार नालुँ र सुँ(पराल)को लकाँ (जुत्ता)ले सामाजिक स्तरीकरणको देखाउँथ्यो । नालुँको रसी मसिनो गरी बाट्न सकिने, बलियो हुनाले यसबाट बनेका जुत्ता राम्रा पनि हुन्थे । गाउँमा नालुँको जुत्ता अलि ठूलाबडाले मात्र लगाउँथे । त्यति बेला सर्वसाधरण खाली खुट्टा हिँड्थे वा परालको जुत्ता बनाएर लगाउँथे । अहिले त्यहाँ नालुँको जुत्ता बनाइँदैन । नालुँको खेति नै गरिँदैन । बरु गाउँभर परालको जुत्ता बनाइन्छ ।

हरिसिद्धिको गाउँमा घुम्दै गर्दा घर अगाडी पराल सुकाएको यत्रतत्र भेटिन्थ्यो । एकजना बजैलाई "तपाइले कहिल्यै नालुँको जुत्ता लगाउनुभयो ?" भनि मैले सोधेँ । नेपाली भाषा बुझे पनि फर्काउन अप्ठ्यारो मान्दै उनले नालुँको जुत्ता नबनाएको र नलाएको बताइन् । उनले परालको जुत्ता बनाउने र बेच्ने घरतिर लगिन् । "उहाँलाई परालको जुत्ता चाहिएको छ रे" भन्दै अर्की बजै सामु मलाई हस्तान्तरण गरेर फर्किन् । दोस्री बजैले आफ्नो घरको उपल्लो तलामा डोराउँदै लगिन् । त्यहाँ कम्तिमा १५ जोर जुत्ता सिँढिको रेलिङ्गमा झुण्डाएको देखाइन् ।"कतिजोर लैजाने ?" भन्दै एकजोर जुत्ताको ६५ रुपैँया पर्ने बताइन् ।

त्यसपछि दक्षिणी भेगकोपिपलको रुखमुनी सुकुल ओछ्याएर गफ गरिरहेका २ जना पाका मानिस भएनिर गएँ । ३ ओटा जङ्कु(नेवारी समुदायमा ७७ वर्षको हुँदा पहिलो जङ्कु गरिन्छ, दोस्रो ८३ र तेस्रो ८८ वर्षमा गरिन्छ)गरेकी आमासँग बसेर मैले नालुँको जुत्ताबारे गफ गरेँ । ८८ वर्ष पार गरेकी हिलठकुँ महर्जनले नालुँको बोट 'नर्कट' जस्तै हुने बताइन् । मैले 'नर्कट' कस्तो हुन्छ बुझिन । "के यो मकैको डाँठ जस्तै हुन्छ ?" अगाडि बारीमा रहेका मकै देखाउँदै सोधेँ । उनले चित्त नबुझे पनि "अँ अँ" भनिन् ।

नालुँ भन्दा पनि बनकेराको रेशाबाट बनाएको जुत्ता(बाकुँ लकाँ ?) पनि बलियो हुन्थ्यो । बनकेराबाट बनाउने जुत्ताको प्रक्रिया पनि नालुँ जुत्ता जस्तै हो ।नालुँ र बनकेराको रेसाबाट जुत्ता बाहेक डोरी बनाउने र यस्तो खालको डोरी बलियो हुनाले दाउरा बान्न, खेतबारीमा परालबान्नको निम्ति प्रयोग गरिन्थ्यो ।

राणाकालमा उनीहरुको निम्ति नुनतेल, जिरा, मरिच लिन जाँदा वा राणा साहेवज्यूलाई काठले बनेको डोलीमा बोकेर भीमफेँदीतिर लैजान हरिसिद्धिका जवानहरु पनि जानुपर्थ्यो । त्यति बेला उनीहरुले ३ जोरसम्म परालको जुत्ता बोकेर जानुपर्थ्यो । यी तीनजोर जुत्ता भीमफेँदी गएर आउँदासम्म फाट्थे ।

जुत्ताबाहेक हरिसिद्धिमा चट्टी (चप्पल) पनि बनाइन्थ्यो । तीनतीर खोपिएका परालका चट्टी बनाइन्थ्यो । सकन्द महर्जनले हास्दै भने,"अहिले चप्पल बनाउने बजारु कम्पनीले हरिसिद्धिका चट्टीको नक्कल गरेका हुन् भन्ने गाउँघरमा कहावत छ ।"

नालुँको उत्पादन गाउँमा अहिले नभएपनि केही परिवारलाई ठमेल, पाटनतिर पर्यटन व्यावसाय गरी बसेका मानिसले नालुँको रेसा ल्याइदिएर जुत्ता बनाउन लगाउँछन् । यसबापत प्रतिजोरको ३०० रुपैँया ज्याला दिन्छन् । सकन्द महर्जनको श्रीमतीले ठमेलका एक व्यावसायीको लागि गतसाल (२०७०) यस्तो काम गरेकी थिइन् । यसरी जेस्तापुरका महिलाले बुनेका नालुँ लकाँठमेलतिर बाहेक पाटनको माफाल चोकमा पनि किन्न पाइन्छ ।

सँगैबसेर कुरा गरिरहेका ६० वर्षिय चन्द्र महर्जनले अनुमान गर्दै भने "अहिले हरिसिद्धिमा दिनको २०० जोर परालको जुत्ता(सुँ लकाँ) बुनिन्छ होला ।" यसरी तयार पारेका जुत्ता हरिसिद्धिको छिमेकी 'सानो गाउँ'का व्यापारीले खरिद गरेर काठमाडौँमा विक्री गर्छन् । "यी जुत्ताको भाउ नै छैन" सकन्दले भने । कहिले कति रुपैँयाविक्री हुन्छ कहिले कतिमा ! भूकम्प जानु अघि ५० रुपैँया जोर विक्री हुने जुत्ता पछि ६० देखि ७० रुपैँयासम्म पर्ने उनले बताए । भुकम्पले तहस नहस पारेको हरिसिद्धिमा मानिसहरु जुत्ता बनाउने फुर्सदमा नभएकाले पनि महँगो पर्न गएको हो । हरिसिद्धिको छिमेकी सानो गाउँका मानिसहरुले एकपटकमा ३ देखि ४ सय जोर जुत्ता धोक्रामा राखेर विक्रीको लागि लैजान्छन् । उनीहरुले १२० रुपैँया देखि १५० रुपैँयासम्म बजारमा बेच्ने गरेका छन् ।

पशुपति लगायतका घाटहरुमा वा सुत्केरी महिलाले वा ढलान घरमा यसको प्रयोग गर्ने भएकाले गाउँमा जत्ति जुत्ता बुनेपनि खपत हुन्छन् । खास गरी जाडो याममा । सकन्दले भने "वातको रोग भएका विरामीहरुलाई पनि राम्रो हुनेहुँदा यसको बजार राम्रो छ ।" यस्तो खालको जुत्ता बनाउने काममाप्राय: पाका मानिस लागेका छन् । एक जनाले दिनमा २ जोरसम्म परालको जुत्ता बुन्न सक्छन् ।नालुँ, बनकेरा,परालको जुत्ता बनाउने हरिसिद्धिका मानिसहरुले हिजोआज बजारमा आउने प्लास्टिकको रसीबाट पनि जुत्ता बनाउँछन् ।

जुत्ता बुन्ने काम फुर्सदको समयमा मात्र हुन्छ । हिँडेर ३० मिनेट लाग्ने छिमेकी सानो गाउँका महिलाले आफ्नो फुर्सदमा जुत्ता बुन्दैनन् सुकुल बुन्छन् । अर्को छिमेकी गाउँ लुभुमा तान बुन्ने काम धेरै हुन्छ । यसरी यी गाउँहरुमा फुर्सदको समयमा हुने कामको विशिष्टिकरण छ । एकअर्काको सहमतिमा गाउँहरुको काम विभाजन गरेका छन् ।

नालुँ लकाँ गाउँका हुनेखानेले मात्र लाउने चलनले यो तत्कालिन राज्यका ठूलाबडासँग जोडिएको बुझ्न सकिन्छ । राणाशासनको अन्ततिर काठमाडौँ तथा पाटनका सरकारी कर्मचारीले नालुँको जुत्ताको माग गरेकाले त्यो समयमा यसको बढ्दो प्रयोग भएको बुझ्न सकिन्छ । सर्वसाधरण त परालको जुत्ता नै प्रयोग गर्थे । अहिले परालको जुत्ताको प्रयोग पनि पशुपति लगायतका ठाउँमा र नालुको जुत्ता पर्यटकको लागि प्रयोग भइरहेको छ ।

लेखक मार्टिन चौतारीका अध्येता हुन् ।

स्रोतः कान्तिपुर (कोसेली), १९ मंसीर २०७२, पृ‌. ख ।


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai