उद्यमी मिजार गाउँ

- अर्जुन पन्थी | 2021-09-24

पुस ४, २०७२- ‘चुइँचुइँ चुइँकने जुत्ता, कति हो मोल ? जोडीको पान सुका’ भन्दै वरिपरिका विष्ट बराजुकहाँ हिंड्ने सिन्धुकोट–सिन्धुपाल्चोकका मिजारहरूले २०४७ सालपछि काने जुत्ता, भोटे नाम्ला, खुकुरीको दाप बनाउने पेसा परिवर्तन गरेर झोलातिर लागे । सिन्धुकोटबाट ३ घन्टा लामो बसदूरीमा पर्ने काठमाडौंको पर्यटकीय बजारमा उनीहरूले बुनेका गोल्फुले, सुनारपाने, पीपलपाते, लामीडाँडा, कोटे, जेठो रोका, कान्छो रोका, विसुंखे, ठाडो जेठो, ठाडो माइलो, ठाडो कान्छो, खुँडे, अन्नपूर्ण थैली, बयलकोटी थैलीलगायत ६० भन्दा बढी प्रकारका छालाका झोलाहरू किन्न पाइन्छन् । अहिले सिन्धुकोटे मिजारले खेती किसानीभन्दा पनि मुख्य आम्दानीको स्रोत छाला झोलाको व्यवसायलाई बनाएका छन् ।

भारत पसेका बाबु नफर्केपछि चौबीस वर्षका सरोज बस्याल छालाको झोला बुन्ने काममा लागे, २०६८ सालमा । ४ वर्षबीचमा त्यसैबाट कमाएको पैसाले आफ्नो बिहे गरे १ लाख ८० हजार रुपैयाँ खर्चेर । शौचालय र गोबरग्यास बनाए ६० हजारमा । नयाँ घर पनि बनाएका थिए, डेढ लाखमा । ‘धुरी मेटेपछि कुखुरो काट्न भनी रातो भाले खोजेर ल्याएको थिएँ, वैशाख १२ को भुइँचालोले सबै गल्र्यामगुर्लुम भयो,’ सरोज भने । तैपनि भूकम्पपछि २५ हजारमा टहरा बनाउन र भत्केको घरमा जस्ता राख्न आफ्नै कमाइले सकेका छन् । उनीसँगै श्रीमती र भाइ पनि छालाको झोला बनाउने पेसामै छन् । १ सय ६ धुरी मिजार बस्तीमा परिवारका महिला, पुरुष र छोराछोरी गरेर ३ सयजना जति यसमा व्यवसायमा संलग्न छन्, तीमध्ये ७० जना सक्रिय नै छन् । झोलाबाहेक पैसा राख्ने ब्याग, कम्मरपेटी, साँचो झुन्डाउने की–रिङ उनीहरूले बनाउँछन् ।

यसका लागि उनीहरूले काठमाडौंको विष्णुमतीबाट भैंसी (२ पाखाको २५ सय) र बाख्रा (२ पाखाको ३ सय) को आलो छाला किनेर गाउँमा लैजान्छन् । आलो छालालाई सिमेन्टले बनाएको चारकुने खाडी (सानो पोखरीजस्तै) मा २० दिनसम्म चुनासँग पकाइ गिलासले त्यसको रौं खिपिन्छ, मासु हटाइन्छ । अनि, पहिलो खाडलपछि छालालाई दोस्रो खाडलमा राखेर रङ भरिन्छ । धाइरो धुल्याएर तयार पारिएको १ बोरा धूलो, सफा पानीमा मिसाएर ७ दिनसम्म राखिन्छ । २१ दिनसम्म अर्थात् तीन पटकसम्म यो क्रम चल्दछ । यसरी तेहेराउँदा छालाको भित्री तहसम्म रंग भरिन्छ । यसरी खाडीमा रंग भरिएको छालालाई ताछ्न सबै खर्च गरेर १८ लाख परेको ड्रिल मेसिन गाउँमा ल्याइएको छ । भारतबाट मगाइएको यो मेसिन चलाउन १० जनाले तालिम लिएका छन् । तिमध्ये एकजना पूर्वलडाकु मानबहादुर रोकाले यसमा रोजगारी पाएका छन् । यसबाट उठ्ने रकम गाउँकै सामूहिक छाला हस्तकला उद्योग र चालक मानबहादुरले आधा–आधा लिन्छन् । भैंसीको छाला ताछेबापत १२० रुपैयाँ लिइन्छ । कोषमा जम्मा गरिएको पैसा छाला ताछ्ने प्लेट किन्न, औजार खरिद तथा मेसिन मर्मतमा प्रयोग गरिन्छ । यदि कुनै समयमा मेसिनले काम गरेन भने पनि गाउँलेहरूमा आफ्नै तरिकाले छाला खुर्कने परम्परागत सीप छँदैछ ।

ड्रिल मेसिनले छालाको बाहिरी भाग ताछेर पातलो बनाउँछ । यस्तो छालालाई सावरको छाला भनिन्छ । यसलाई घरमा ल्याई पलाटीमा राखेर खली (तेलको पिना) सँग खुट्टाले माड्दै नरम पारिन्छ र तन्काउँदै ठूलो बनाइन्छ । यस्तो छाला देखाउँदै सरोजले भने, ‘आधा घन्टा बस्नुस् झोला तयार गरिदिन्छु ।’ आधाघन्टा केही बढी समयमा सरोज र उनकी श्रीमतीले ११ सय पर्ने ‘ब्याग प्याक’ तयार गरिदिए ।

२०४७ सालमा युनाइटेड मिसन टु नेपालले छाला व्यवसाय गरेका नेपालीलाई तालिम दिएपछि सिन्धुकोटका मिजारहरूको काने जुत्ता बनाउने पेसाले उनीहरूको जीवन नै बदलिएको छ । स्थानीय ७५ वर्षीय जितबहादुर बस्यालले भने, ‘छालाको झोला बनाउन थालेपछि कम्तीमा विष्टबराजुकहाँ बालीघरे हुनुपरेको छैन ।’ काठमाडौंमा जुत्ता बनाउन बसेका युवाहरू उताभन्दा गाउँमै आम्दानी हुने भन्दै फर्केका उदाहरण छन् । स्थानीय सन्तबहादुर बोगटीका अनुसार सिन्धुपाल्चोकको भोटेनाम्लाङ, मेलम्ची, फटकशिला, सिपापोखरी र सिन्धुकोट गाउँका मिजारहरूलाई यस्तो तालिम दिइएको थियो । ललितपुरको ग्रामीण छाला विकास परियोजनाले पनि छालाको झोला बनाउने काममा सहायता पुर्‍याएको थियो ।

सिन्धुकोटमा बनेका झोलाहरू भक्तपुरको भांग्रा उद्योग, हस्तकला उत्पादक संघ कालिमाटी, ठमेलका ७ जना व्यापारी र पोखरामा लगिन्छ । यसको मतलब, यी झोलाको प्रचार पर्यटकीय बजारबाहेकका स्थानमा छैनन् । स्थानीय स्तरमै पनि यसको उचित प्रचार छैन । छिमेकी माझीगाउँकी अञ्जुले भनिन् ‘मेरै चाइनिज झोलालाई काठमाडौंमा १५ सयमा किनेकी थिएँ । सिन्धुकोटेले यति राम्रो झोला बुन्छन् भन्ने मलाई थाहा थिएन ।’

काठमाडौं र यसको वरिपरि छालाको काम गर्ने मिजारहरू परम्परागत पेसालाई बदल्दै आधुनिक बजार व्यवस्थासँग समायोजन हुन सकेका छन् । प्रतिव्यक्ति वार्षिक एक, डेढ लाख आम्दानी गरिरहेका छन् । परम्परागत पेसाबाट बजार तथा आम्दानीको स्रोत देखाइदिने हो भने यी पेसाहरू बाँच्ने रहेछन् भन्ने उदाहरण हो सिन्धुकोटको मिजार गाउँ ।

स्रोतः कान्तिपुर (कोसेली), ४ पुस २०७२

http://kantipur.ekantipur.com/printedition/news/2015-12-19/20151219110446.html


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai