बनुवा छाताको कथा

- अर्जुन पन्थी | 2021-09-24

आश्विन २३, २०७२- चोखाछें खोज्न कष्ट थिएन । इन्द्रचोकबाट पश्चिम फर्केर आँखा चिम्म पारे पनि पुगिँदोरहेछ । गल्ली साँगुरो थियो । अँध्यारो पनि । शनिबार र नाकाबन्दी भएकाले होला अरू दिनझैं भीडभाड थिएन । मलाई खोज्न निकै समय लाग्यो । धेरैजनालाई सोधेपछि पुगें । घरको ढोका खुल्लै थियो । निहुरिंदै पुरानो घर कटेपछि भित्र नयाँ बान्कीको घर देखियो । कम्पाउन्डमा बेतका घुम्री परेका प्रशस्त लौराहरू थिए । त्यस्ता लौरा टेकेर साहु तथा पण्डित बूढाहरू हाम्रो गाउँघरमा हिँडेको मलाई थाहा छ ।

मैले बोलाएको धेरै बेरपछि एकजना मानिस तल झरे र मलाई अँधेरो गल्लीतिर डोर्‍याए । कोठा पनि एकदमै अँधेरो थियो । कोठामा त्रिभुवन विश्वविद्यालयले सम्मान गरेका प्रमाणपत्र घरबाहिरबाटै सिँढीपिच्छे देखिन्थे । उनी हुन्– विद्यामान शाक्य ।

काठमाडौँमा खोलिएको पहिलो छाता उद्योग विद्यामानका बाजे आशामानले १९९३ सालमा सुरु गरेका थिए, कोलकाताबाट छाताका सरसामान ल्याएर चोखाछेँ गल्लीमा त्यसको जडान गर्ने गरी । उनका बाजे आशामान राणाकालमा ३२ कोठे साहु महाजन रहेछन् । उनले भने, ‘मेरा बाजेले नयाँ कामको सुरुवात गर्ने भनेर सुनको पेसा छोडेर छाता व्यवसायमा लाग्नुभएको हो ।’ फेरि सोधेँ, ‘किन छाता नै अरू व्यवसाय पनि त गर्न सकिन्थ्यो ?’ मेरो खुल्दुलीको विद्यामानले बुझ्दो जवाफ दिएनन् ।

विद्यामानले आफूसँग भएका अन्य सूचनाहरू भने मलाई दिँदै गए । सुरुमा अर्थात् १९९३ सालमा एउटा छाताको ७५ पैसा पर्दथ्यो । त्यति बेला सुनको भाउ २८ रुपैयाँ तोला थियो । एउटा छाता किनेबापत एउटा पेन्सिल ‘फ्री’ मा दिने ‘स्किम’ पनि उनका बाजेले चलाएका रहेछन् । ‘१९९० र २००० को दशकमा २० जना कालीगढलाई काम भ्याइनभ्याई हुन्थ्यो,’ उनले भने, ‘त्यति बेला १ हजार दर्जन छाता नेपालभरका डिपोहरूमा सप्लाई हुन्थ्यो ।’ त्यो भनेको १२ हजारवटा छाता हो । उनले भने, ‘ती छाता नेपालभरका करिब ५० डिपोमा जान्थ्यो होला । जस्तो त्रिशूली डिपो, पाल्पा डिपो आदि ।’ ती डिपोका महाजनले काठमाडौँको असन इन्द्रचोकमा सामान खरिद गर्न आउँदा छाता पनि लिएर जान्थे । पहाडी जिल्लामा यसको खपत निकै थियो । उनले भने, ‘लौराको पनि काम गर्ने भएकाले यसको महत्त्व पहाडी इलाकामा एकदमै थियो ।’

१९९० तिर छाताको विकल्पमा मान्छेहरूले के ओढ्दा हुन् । मेरो मनमा कुरो खेलिरहेको थियो । उनले भने, ‘त्यति बेला पातहरूलाई बाँसको चोयाले बाँधेर टाउकोमा झुन्डाउने ‘घुम’ ओढिन्थ्यो ।’ त्यस्तोलाई अर्घाखाँचीतिर ‘सेँव’ पनि भनिन्छ । घुमको कुरा सकिएपछि शाक्यले पानी पर्दा ओढ्ने पानीकागजको पनि कुरा गरे । उनले भने, ‘पानीकागजको चलन छाता पछि नै आएको हो ।’

विद्यामानका अनुसार उति बेला छातामा हुने कटनको कपडामाथि प्लास्टिक बेरेर पनि मान्छेहरूले ओढ्ने गर्थे । कटनको कपडाबाट पानी सिमसिम चुहिने भएकाले छातालाई पनि प्लास्टिक ओढाएर हिँडिन्थ्यो ।

विवाह, गाईजात्रा, देउता डुलाउँदा र राजा–राणाहरूका लागि ‘झल्लरी छाता’ पनि चाहिने हुनाले त्यसको उत्पादन पनि विद्यामानको छाता भण्डारले गरेको हुन्थ्यो । २००० को दशकतिर बनाइने झल्लरी छातामा प्रयोग गरिने करङ (रिब) काठको हुन्थ्यो । नेपाली कालीगढले नै नरम काठबाट यस्ता रिबहरू बनाउन सक्थे । अहिले यी झल्लरी छाताको माग भए पनि कालीगढको अभावले उत्पादन हुन छोडेको छ । पहिला राजा–राणा र बाहुन–क्षत्रीहरूबाट यस्ता झल्लरी छाताको माग हुने गरेको उनी बताउँछन् । भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ मा लेख्छन्, ‘राणा सरकारबाट नवनियुक्त बडाहाकिमहरू काठमाडौँमा जतिसुकै लुते, गएगुज्रेका भए पनि जिल्लामा उत्रिनासाथ उनीहरूले बडाहाकिमको रौस, रवाफ र शान देखाउन सुरु गर्थे... अड्डा भित्रबाहिर गर्दा बडाहाकिमलाई झल्लरी छाता ओढाइन्थे । काठमाडौंमा प्रधानमन्त्रीले ओढेसरह ।’

यसरी राजा–राणाहरूबाट सिकेर रजौटा वा बडाहाकिमहरूले पनि यस्ता छाताको प्रयोग गरेको देखिन्छ । यी छाताहरू सम्मानको प्रतीक भएकाले सर्वसाधारणमा पनि आफ्ना देउता डुलाउनलाई, बिहेमा बेहुलालाई ओढाउनलाई पनि प्रयोग गरिन्थ्यो । बेहुलीलाई भने डोली वा कार्पेटमा राखेर भित्र्याइन्थ्यो । छाता भण्डारले उत्पादन गर्ने झल्लरी छाताको पछिल्लोपटकको मूल्य ४ हजारदेखि ६ हजारसम्म थियो । १४ हजार दिन्छु बनाइदिनुस् भन्दा पनि कालीगढ अभावले बनाउन नसकेको उनी बताउँछन् ।

यसरी नेपालमै जोडजाड गरी बनाइएका छाता बजारलाई २०३९ सालदेखि व्यापक रूपमा खासा कोदारी हँ‘दै भित्रिएका चाइनिज छाताले ध्वस्त पारिदियो । विद्यामानका अनुसार चाइनाबाट फोल्डिङ छाता आएपछि घर–बनुवा छाताको बजार सकियो । ‘चाइनिज छाता बजारमा आएपछि ४ सय प्रति मात्र माग हुन थाल्यो,’ उनी भन्छन् ‘विसं २०७० को दशकमा आउँदा अर्डरबाहेक २० वटा छाता वार्षिक रूपमा बिक्री हुन्छन् ।’ त्यो पनि मनसुन यामतिर बजेट सिद्धाउनलाई सरकारी कार्यालयमा यसको खपत हुन्छ । जापानतिर लैजानलाई कसैकसैले ‘बेम्बु अम्ब्रेला’ भन्दै माग गर्छन् । विद्यामान भन्छन्, ‘मेरा कालीगढ अहिले मरिसके उनीहरूका श्रीमतीहरूले मात्र घरमा लगेर अर्डरबमोजिम बनाइरहेका छन् । बौद्धका एकजना कालीगढ मरेपछि त सकिएझैं भएको छ ।’ ७५ वर्षीय विद्यामान शंकरदेव क्याम्पसका पूर्वक्याम्पस प्रमुख हुन् । उनको घरको सिँडीमा विश्वविद्यालयले सेवामा योगदान गरेबापत दिएका सम्मान र तस्बिरहरू टाँगिएका छन् । तर उनमा ती सम्मानभन्दा सिँडीमुनि घुसारिएका घुम्री परेका बेतका लौराको माया देखिन्थ्यो । उनी भन्छन्, ‘बाजेले सुरु गरेको व्यवसायमा बुवा जीवनभर आश्रित हुनुभयो । मचाहिं अर्धआश्रित भएँ ।’

कुराको बिट मार्दै उनले भने, ‘मेरा छोराले बैंकमा काम गर्छन् । कालीगढ पनि मरे । भूकम्पले पुरानो घर पनि थिलथिलो पार्‍यो । म पनि ७५ वर्षको भएँ । घरबनुवा छाता पनि मसँगै जाने भयो ।’

स्रोतः कान्तिपुर (कोसेली), २३ असोज २०७२, पृ. ङ ।

http://kantipur.ekantipur.com/printedition/news/2015-10-10/20151010094602.html


About the Author

More Blogs