‘घोकन्ते’ र ‘ओकन्ते’ विद्या जाँच्ने एसएलसी

- प्रमोद भट्ट, सुदिप सिंह नकर्मी | 2021-09-24

कक्षा १० को अन्त्यमा लिइने एसएलसी परीक्षामा पास वा फेल हुनु, डिस्टिङ्सन, फस्र्ट डिभिजन ल्याउनु वा नल्याउनुले विद्यार्थीको बाँकी शैक्षिक गोरेटो निर्धारण गर्छ, साथै स्कुलको सार्वजनिक साखसमेत एसएलसीको नतिजामा निर्भर हुन्छ ।

त्यसैले धेरै स्कुल तथा परीक्षार्थी स्वयंले पनि एसएलसीका लागि विशेष तयारी गर्छन् । यसर्थ एसएलसी नेपालको शिक्षा प्रणालीको ‘फलामे ढोका’ मात्र नभई नेपाली समाजको नै एउटा महत्त्वपूर्ण अवयव रहँदै आएको छ । आम बुझाइमा यो परीक्षा विद्यालय शिक्षाको गुणस्तरको उपलब्ध मापकमध्ये सबैभन्दा महत्त्वपूर्ण मापक मानिँदै आएको छ । तर के यसले साँच्चिकै हामीले परिकल्पना गरेको गुणस्तरको वास्तविक परीक्षण गरिरहेको छ त ? नेपालको माध्यमिक तहको पाठ्यक्रमले दैनिक जीवनमा आइपर्ने विविध चुनौती सामना गर्न चाहिने सिर्जनात्मक, आलोचनात्मक र विश्लेषणात्मक क्षमतासहितका प्रतिस्पर्धी नागरिकको विकास गर्ने जुन उद्देश्य राखेको छ, के एसएलसीले यस्ता क्षमताको यथेष्ट परीक्षण गरिरहेको छ त ?

शिक्षाको गुणस्तरको मापन विभिन्न किसिमले गर्न सकिए पनि यस लेखमा हामीले नेपालको सन्दर्भमा कमैमात्र प्रयोग भएको बेन्जामिन ब्लुमको संज्ञानात्मक क्षमता (कग्निटिभ स्किल्स) सम्बन्धी चर्चित अवधारणालाई प्रयोग गर्दै एसएलसी परीक्षाले विद्यार्थीका विभिन्न बौद्धिक क्षमताको कसरी मापन गर्दोरहेछ भन्ने विषयमा चर्चा गरेका छौं । यो लेख परीक्षा र सिकाइ बीचको अन्तरसम्बन्धबारे मार्टिन चौतारीमा हाल भइरहेको अनुसन्धानको संक्षिप्त स्वरूप हो, जस अन्तर्गत हामीले विगत सात वर्ष (२०६५ देखि २०७१) मा एसएलसी परीक्षा अन्तर्गतका अनिवार्य विषय (नेपाली, अङ्ग्रेजी, सामाजिक, विज्ञान, गणित र स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण) मा सोधिएका प्रश्नको संज्ञानात्मक विश्लेषण गरेका छौं । साधारणतया संज्ञानात्मक क्षमता भन्नाले कुनै पनि व्यक्तिले आफूसँग पहिल्यै भएको सूचना, जानकारी वा ज्ञानलाई विभिन्न सन्दर्भ अनुरूप प्रसोधन र प्रयोग गर्नसक्ने मस्तिष्कीय वा बौद्धिक ल्याकतलाई जनाउँछ, जसलाई सरलताबाट जटिलतातर्फ चरणबद्ध रूपमा ६ वटा तह— ज्ञान, बोध, प्रयोग, विश्लेषण, मूल्याङ्कन र संश्लेषणमा विभाजन गर्न सकिन्छ । यीमध्ये पिँधका तीनवटा (क्रमश: ज्ञान, बोध र प्रयोग) निम्न संज्ञानात्मक क्षमता, र त्यसभन्दा माथिका तीनवटा (क्रमश: विश्लेषण, मूल्याङ्कन र संश्लेषण) उच्च संज्ञानात्मक क्षमतासँग सम्बन्धित छन् । सजिलै बुझियोस् भन्न यस लेखमा हामीले संज्ञानात्मक क्षमताको सट्टामा ‘बौद्धिक क्षमता’ प्रयोग गरेका छौं ।

बौद्धिक क्षमता मापन

विगत सात वर्षका एसएलसी परीक्षामा अनिवार्य विषय अन्तर्गत सोधिएका प्रश्नहरूमा विद्यार्थीको ‘घोक्न’ र ‘ओकल्न’ सक्ने क्षमता मापन गर्ने निम्न बौद्धिक प्रकृतिको बाहुल्य देखिन्छ । यस्ता प्रश्नले विज्ञान, गणित, स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण (एचपीई) र अङ्ग्रेजी विषयमा कुल अङ्कभारको ६५ प्रतिशतभन्दा बढी अङ्कभार ओगटेका छन् भने सामाजिकमा ६० प्रतिशत र नेपालीमा ५२ प्रतिशत । निम्न बौद्धिक प्रकृतिका प्रश्नले विद्यार्थीले पाठयपुस्तकमा पहिल्यै पढिसकेका तथ्य, सूचना वा जानकारीको स्मरण गर्नसक्ने क्षमता, कुनै विषयवस्तुलाई बुझेर आफ्नो शब्दमा व्यक्त गर्नसक्ने क्षमता तथा सिकेका ज्ञान, तथ्य, तरिका, नियमलाई परिचित वा नवीन सन्दर्भमा प्रयोग गर्नसक्ने आधारभूत क्षमतालाई त मज्जाले मापन गर्छन् ।

तर विद्यार्थीको रचनात्मक र सिर्जनात्मक विकासका लागि यीभन्दा माथिल्ला क्षमता अझ महत्त्वपूर्ण हुन्छन्, जुन उपलब्ध सूचनालाई त्यसका विभिन्न भागमा छुटयाएर तथ्य, कारण वा प्रमाणका आधारमा निष्कर्ष निकाल्न सक्ने, कुनै सोच वा सामग्रीबारे आफ्नो तर्क, विचार वा निर्णय दिनसक्ने तथा विभिन्न अंश वा सम्बन्धित भागहरूलाई युक्तिसङ्गत तवरले नयाँ संरचना वा पूर्णता दिनसक्ने स्वतन्त्र लेखनजस्ता क्षमतासँग सम्बन्धित हुन्छन् । तर यस्ता उच्च तहका क्षमता मापन गर्ने प्रश्नहरूको हिस्सा नेपाली विषयबाहेक अन्य सबैमा निकै कम छ । यद्यपि नेपालीमै पनि यो हिस्सा अपर्याप्त छ । त्यसमाथि एकातर्फ कुनै निश्चित वर्षमा विभिन्न क्षमताको मापन गर्ने प्रश्नको अनुपात विषयैपिच्छे फरक छ भने अर्कोतर्फ कुनै निश्चित विषयमा पनि सो अनुपात सालैपिच्छे बेग्लै छ, जसले गर्दा प्रश्न निर्माणमा विषयगत तथा वर्षगत सामञ्जस्यता र स्तरीकरण अपेक्षित हुने नगरेको सजिलै बुझ्न सकिन्छ ।

बौद्धिक क्षमता मापनको अर्को महत्त्वपूर्ण पाटो एसएलसीका प्रश्नहरू कुन हदसम्म पाठ्यपुस्तकमा आधारित छन् भन्ने पक्षसँग सम्बन्धित छ । हाम्रो अध्ययनअनुसार अङ्ग्रेजी र नेपाली विषयमा पाठ्यपुस्तक बाहिरबाट आउने प्रश्नहरूले ओगट्ने अङ्कभार क्रमश: ४९ र ३७ प्रतिशत हुन आउँछ । त्यसैगरी पाठ्यपुस्तकमा दिइएका अभ्यासलाई हुबहु अथवा अङ्क वा भेरिएबल मात्र परिवर्तन गरेर दिइएका प्रश्नबाहेक अन्यलाई पाठ्यपुस्तक बाहिरबाट दिइएको मान्ने हो भने गणित विषयमा पनि पाठ्यपुस्तक बाहिरबाट आउने प्रश्नको अङ्कभार ४० प्रतिशतभन्दा बढी हुन्छ । तर समस्या समाधान विधिलाई पनि विचार गर्ने हो भनेचाहिँ यो प्रतिशत निकै कम हुन्छ । सामाजिकमा यस्ता प्रश्नको अङ्कभार २० प्रतिशतजति हुन आउँछ । एचपीई र विज्ञान विषयमा भने झन्डै सबै प्रश्न पाठ्यपुस्तकबाट मात्रै आउँछन् । यसबाट यो स्पष्ट हुन्छ कि एसएलसीमा सोधिने प्राय: प्रश्नहरू पाठ्यपुस्तकमा नै आधारित हुँदा रहेछन् । पाठ्यपुस्तकका पाठ र अभ्यासबाट हुबहु दिइएका कतिपय प्रश्नहरू सतहमा हेर्दा उच्च बौद्धिक प्रकृतिका भैंm लागे पनि यस्ता प्रश्नको उत्तर विद्यार्थीले पहिल्यै पढिसकेका हुने र जाँचमा सोही प्रश्न आउँदा सही उत्तर स्मरणमात्र गर्नसके पुग्छ । अर्को शब्दमा भन्नुपर्दा यस्ता प्रश्नले पनि वास्तवमा विद्यार्थीको घोक्ने र ओकल्ने क्षमताको मात्र परीक्षण गरेका हुनसक्छन् । त्यसैले एसएलसीमा सोधिएका प्रश्नहरूलाई पाठ्यपुस्तकका पाठ र अभ्याससँग दाँजेर पुन: वर्गीकरण गर्दा उच्च क्षमता मापन गर्ने भनिएका प्रश्नहरू पनि निम्न तहमा झरेको पाइयो । यसरी विश्लेषण गर्दा उच्च बौद्धिक प्रकृतिका प्रश्नहरूको हिस्सा नेपालीमा २१ प्रतिशतले घट्यो भने विज्ञान, एचपीई र अङ्ग्रेजीमा यो हिस्सा क्रमश: १८, १३ र ८ प्रतिशतले घटेको देखिन्छ । गणित र सामाजिकमा मात्र यो हिस्सा ज्यादै थोरै (क्रमश: २ र ३ प्रतिशत) ले घटेको देखिन्छ । यसो हुनु भनेको हामीले जुन प्रश्नहरूलाई उच्च क्षमता मापन गर्ने भन्ठानेका थियौं, वास्तवमा ती प्रश्नहरूले पनि निम्न क्षमतामात्रै मापन गर्दारहेछन् ।

प्रश्न दोहोरिने प्रवृत्ति र पूर्वानुमान

एसएलसीमा सोधिने प्राय: प्रश्नहरू एकातर्फ पाठ्यपुस्तकमै आधारित हुँदारहेछन् भने अर्कोतर्फ पुराना प्रश्न दोहोरिने प्रवृत्ति पनि उच्च छ । हाम्रो विश्लेषण अनुसार सबै विषयका प्रश्नहरू पटक—पटक दोहोरिएका छन् । अङ्ग्रेजी, नेपाली, विज्ञान, गणित र एचपीई विषयमा औसतमा प्रतिवर्ष ३० प्रतिशतभन्दा बढी अङ्कभारका प्रश्न दोहोरिएका छन् भने सामाजिकमा २१ प्रतिशतभन्दा बढी । अझ विचारणीय कुरा यो छ कि सबै विषयमा यसरी दोहोरिने प्रश्न पाठ्यपुस्तकमै आधारित छन् । पाठ्यपुस्तक बाहिरबाट आएका प्रश्नहरू भने दोहोरिएका छैनन् ।

एसएलसीमा निश्चित पाठबाट निश्चित खालका प्रश्नहरूमात्रै आउने परम्परा पनि स्पष्ट देख्न सकिन्छ । त्यसमाथि सोधिएका प्रश्नको प्रकृति र ढाँचामा विविधताको पनि कमी छ । यी सबै कारणले विद्यार्थीले कुन पाठबाट कस्ता प्रश्न आउन सक्छन् र कुन प्रश्न आउने सम्भावना बढी छ भन्ने सन्दर्भमा यथेष्ट पूर्वानुमान गर्न सक्छन् र त्यसै अनुसारको पूर्वतयारी पनि । हाम्रो विश्लेषण अनुसार कम्तीमा उत्तीर्ण हुनका लागि चाहिने अङ्क बराबरका पाठ/प्रश्न हरेक विषयमा सजिलै अनुमान गर्न सकिन्छ । अझ उल्लेख्य कुरो त के छ भने बहुसङ्ख्यक विद्यार्थी अनुत्तीर्ण हुने भनिएका विषयहरू (अङ्ग्रेजी, विज्ञान र गणित) नै सबैभन्दा बढी पूर्वानुमान गर्न सकिनेमा पर्छन् । यी विषयमा क्रमश: ५१, ५२ र ४० प्रतिशतसम्मका प्रश्न अनुमान गर्न सकिन्छ । यसैगरी सामाजिक र एचपीईमा क्रमश: ४६ र ४४ प्रतिशत अनुमान गर्न सकिन्छ भने नेपालीमा प्रश्नको दोहोरिने अनुपात बढी देखिए पनि ३६ प्रतिशत जतिमात्र अनुमान गर्न सकिन्छ ।

निष्कर्ष

माथि चर्चा गरिएभैंm एसएलसी परीक्षामा एकातर्फ ज्ञान र बोधजस्ता निम्न बौद्धिक क्षमताको मापन गर्ने प्रश्नको बाहुल्य छ भने अर्कोतर्फ कम्तीमा उत्तीर्ण आवश्यक पर्ने अङ्क बराबरका प्रश्न विद्यार्थीले सजिलै पूर्वानुमान गर्न सक्छन् । यसको मतलब हाम्रा विद्यार्थीले एसएलसीका लागि सबैभन्दा बढी विकास गर्ने भनेको घोक्न र ओकल्न सक्ने क्षमता हो । एसएलसीले घोकन्ते र ओकन्ते विद्याको जाँच गरिरहेको छ । यति हुँदाहुँदै पनि विगतका एसएलसी परीक्षामा ५० प्रतिशतभन्दा बढी परीक्षार्थी फेल भएका छन् र ती परीक्षार्थी यस्ता विषय (अङ्ग्रेजी, विज्ञान र गणित) मा फेल भएका छन्, जुनमा सबैभन्दा धेरै पूर्वानुमान गर्न सकिन्छ । यसको मतलब हामीले पाठ्यक्रमले सोचेअनुरूप सिर्जनात्मक, आलोचनात्मक र विश्लेषणात्मक क्षमतासहितका प्रतिस्पर्धी नागरिकको विकास गर्ने त धेरै परको कुरा, विद्यार्थीको कण्ठ र स्मरण गर्नसक्ने अनि विषयवस्तुलाई न्युनतम रूपमा बुझ्न सक्ने अति नै आधारभूत क्षमतालाई पनि यथेष्ट रूपमा विकास गर्नसकेका रहेनछौं । अर्थात हामीले हाम्रा कक्षाकोठामा ज्ञान र बोधलाई पनि प्रभावकारी रूपमा अध्यापन गराउनसकेका रहेनछौं ।

विभिन्न अध्ययन–अनुसन्धानले परीक्षा र शिक्षण–सिकाइको दैनिकीबीच गहिरो अन्तरसम्बन्ध रहेको देखाएका छन् । कक्षाकोठाको पठनपाठन जाँचकेन्द्रित हुन्छ । त्यसैले विद्यार्थीका (मुख्यत:) उच्च क्षमता विकास गर्न एसएलसी परीक्षामा यीसँग सम्बन्धित प्रश्न यथेष्ट मात्रामा सोधिनुपर्छ । यसका लागि विभिन्न बौद्धिक क्षमता मापन कुन अनुपातमा र कसरी गर्ने भन्ने सन्दर्भमा माध्यमिक पाठ्यक्रममै स्पष्ट उल्लेख गरिनुपर्छ । यसो गर्दा सबै विषयबीच तथा कुनै निश्चित विषयमा पनि वर्षगत सामञ्जस्य खाँचो छ । त्यसैगरी परीक्षणमा एकरूपता कायम गर्न प्रश्नहरूको स्तरीकरण आवश्यक छ । एउटै विषयवस्तुलाई पनि विभिन्न किसिम तथा कोणबाट परीक्षण गर्न प्रश्नको विविधीकरणमा पनि उत्तिकै ध्यान दिन जरुरी छ ।

भट्ट मार्टिन चौतारीमा आबद्ध अनुसन्धाता र नकर्मी त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।

स्रोतः https://www.kantipurdaily.com/opinion/2016/04/04/20160404075732.html


About the Author

प्रमोद भट्ट

Researcher, Martin Chautari

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai