स्टानफोर्ड युनिभर्सिटीमा भेटिएको दीर्घराज कोइरालाको आत्मकथा

- लोकरञ्‍जन पराजुली | 2025-10-24

दीर्घराज कोइरालाको युवावयसम्मको यो आत्मकथाले नेपालको सामाजिक (सतीप्रथा/बहुविवाहप्रथा), राजनीतिक (राणा-रैती सम्बन्ध/बसाइँ-सराइ) र शैक्षिक इतिहासबारे केही कहन्छ। 

[नेपालको शैक्षिक र सामाजिक इतिहासमा रुचि र चासो राख्नेहरूमाझ दीर्घराज कोइराला अपरिचित नाउँ होइन। विष्णुराज कोइराला र मानकुमारीका छोरा दीर्घराज २२ फेब्रुअरी १९२० मा विराटनगरमा जन्मिएका थिए। जन्मेको दुई वर्ष पुग्दानपुग्दै नेपाली राजनीतिक इतिहासको एक प्रमुख पात्र कृष्णप्रसाद कोइरालाको तात्कालिक प्रधानमन्त्री चन्द्रशमशेर राणाको सम्बन्ध बिग्रेका कारण कृष्णप्रसाद सँगसँगै उनका नजिकका सम्बन्धी विष्णुराजले पनि भारत निर्वासित हुनुपर्‍यो। बाहरूसँगै जन्मभूमि छाड्न बाध्य दीर्घराजले आफ्नो स्कुले जीवन भारतमै बिताए। चन्द्रशमशेरको मृत्युपछि कोइरालाहरू नेपाल फर्कन पाए। नेपाल फर्किएर दीर्घराजले त्रिचन्द्र कलेजमा बीएसम्म पढे।

धरानको पब्लिक मिडल स्कुलको संस्थापक प्रधानाध्यापकबाट दीर्घराजको शिक्षा क्षेत्रसँगको अर्कोखाले सम्बन्ध सुरु भयो। तत्पश्चात् राणाकालमै पूर्वी क्षेत्रको शिक्षा हेर्ने डेपुटी डाइरेक्टरमा उनी नियुक्त भए। लामो समय सरकारी तवरबाट शिक्षा क्षेत्रमा संलग्न रहेका उनी आठ वर्ष कृषि विकास बैंकको कार्यकारी अध्यक्षसमेत भए र सचिव पदबाट सेवानिवृत्त भए। बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि सन् १९९१ मा गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री हुँदा दीर्घराजलाई सल्लाहकारमा मनोनीत गरेका थिए। अविवाहित दीर्घराजको ९० वर्षको उमेरमा सन् २०१० मा मृत्यु भयो।

सन् १९५१ मा नेपालबाट राणाशासन समाप्त भई बहुदलीय प्रजातान्त्रिक व्यवस्था सुरु भयो। त्यससँगै नेपाल पनि ‘आधुनिक युग’ मा पदार्पण गर्‍यो। नेपालको बाहिरी विश्वसँग सम्बन्ध विस्तार भयो। बाहिरी विश्वले नेपालको ‘विकास’ मा सघाउन थाल्यो। यसै क्रममा नेपाल सरकारको अनुरोधमा अमेरिकी सरकारले नेपालमा शिक्षालगायत क्षेत्रमा सघाउने भयो। विभिन्न परियोजना सुरु भए। नेपालीहरूलाई शिक्षा क्षेत्रमा तालिम प्रदान गर्न र उच्च शिक्षा हासिल गर्न अमेरिका पठाउन थालियो।

शिक्षा विभागमै ‘चिफ इन्स्पेक्टर अफ स्कुल्स’ का रूपमा कार्यरत दीर्घराज पनि अमेरिका पढ्न जाने भए। पहिले युनिभर्सिटी अफ ओरेगनमा टिचर एजुकेसन पढ्ने भनिए पनि पछि युनिभर्सिटी अफ ओहायोबाट एमएडको डिग्री हासिल गरी उनी नेपाल फर्किए। उनले अमेरिका पढ्न जाने क्रममा भरेको फाराम र ‘आत्मकथा’ (अटोबायोग्राफी)को एक प्रति अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीमा रहेको हुभर इन्स्टिट्युसन आर्काइभमा सुरक्षित छ।

नेपालको पहिलो विदेशी ‘एडुकेसन एड्‌भाइजर’ ह्यू बी. ऊड (जो युनिभर्सिटी अफ ओरेगनका प्रोफेसर थिए)को संग्रहमा रहेको यो सामग्री पछि हुभर इन्स्टिट्युसनमा पुगेको हो। नेपालको शिक्षा-इतिहासबारे अनुसन्धान गर्ने क्रममा मैले सन् २०१७ का केही महिना सो संस्थामा बिताएको थिएँ। र, दीर्घराजको निजात्मक निबन्धको प्रतिलिपि बनाएको थिएँ। अंग्रेजीमा लेखिएको सोही सामग्रीको मैले गरेको नेपाली अनुवाद यहाँ प्रस्तुत छ।

यो आलेखले दीर्घराज कोइरालाको युवावयसम्मको कथा र उनका विचारबारे थप जानकारी त दिन्छ नै, नेपालको सामाजिक (सतीप्रथा/बहुविवाहप्रथा), राजनीतिक (राणा-रैती सम्बन्ध/बसाइँसराइ) र शैक्षिक इतिहासबारे पनि केही कहन्छ।]

***

पारिवारिक पृष्ठभूमि

आफ्नैबारे केही लेख्नु अलि असजिलो काम हो। अझ गाह्रो त त्यसबेला हुन्छ जतिखेर भन्ने कुरा नै निकै थोरै हुन्छन्। यी कठिनाइका बाबजुद पनि विगतलाई फर्केर हेर्नु र आफ्नो चरित्र तथा व्यक्तित्वमा प्रभाव पारेका महत्त्वपूर्ण क्षणहरूबारे गम्नु रोचक र रोमाञ्चक हुन्छ।

मेरा जिजुबा बितेपछि आफ्ना लालाबाला छाडेर जिजुआमा सती जानुभएको थिए भनेर मेरी आमाले म सानो हुँदा भनिरहनुहुन्थ्यो। त्यतिखेर मेरा हजुरबा केवल ५ वर्षको हुनुहुन्थ्यो। जेठा दाजुले उहाँको लालनपालन गर्नुभयो। मेरा ती अनाथ हजुरबा हुर्के-बढेर आफ्ना आठ छोरी र तीन छोराको पालनपोषण गर्नुभयो।  सन् १९१९ मा ८४ वर्षको उमेरमा बनारसमा उहाँको मृत्यु भयो। 

मेरा बा (विष्णुराज कोइराला) आफ्नो बाको कान्छो सन्तान हुनुहुन्थ्यो। जसै परिवारका सदस्यहरू थपिँदै गए, जमिनबाट आउने आयस्ताले मात्र परिवार पालिन गाह्रो हुन थाल्यो। फलतः नेपालको पूर्वी पहाडमा रहेको आफ्नो पुर्ख्यौली थातथलो छाडेर उहाँहरू पूर्वी तराईतिर लाग्नुभयो र त्यहीँ बसोबास गर्नुभयो। अहिलेको विराटनगर सहरमा पहिलो छिमलमा बसोबास गर्नेहरूमध्ये हाम्रो परिवार एक थियो। उहाँहरूले करिब ५० वर्षअघि (अर्थात् २०औँ शताब्दीको पहिलो दशकमा) घना जंगल फाँडेर त्यहाँ बस्ती बसाउनुभयो। चारैतिर जंगलले ढाकिएको पूर्वी नेपालको पहिले कहिल्यै खेतीपाती नगरिएको जमिनमा २२ फेब्रुअरी १९२२ मा मैले पहिलोपटक संसारको उज्यालो देखेको हुँ।

मेरा बाको जीवन-कथा केलाउँदा मेरो जन्मसँगै उहाँलाई विभिन्न किसिमका समस्या र दुःखहरू आइलागेको जस्तो देखिन्छ। त्यतिबेला भारतमा राजनीतिक आन्दोलन मच्चिइरहेको थियो। महात्मा गान्धीले आफ्नो असहयोग आन्दोलन सुरु गरिसकेका थिए। हाम्रो परिवार थोरै प्रगतिशील र राजनीतिक रूपमा सचेतसमेत थियो। निरंकुश राणाशासनविरुद्ध हाम्रो परिवारले केही आवाज उठायो; दुःखी किसानहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधारको माग गर्‍यो। यसले तात्कालिक राणा प्रधानमन्त्री चन्द्रशमशेरको कन्पारा ततायो।

म करिब दुई वर्षको हुँदा मेरा बा र नेपालका वर्तमान प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका बा कृष्णप्रसाद कोइराला (जोसँग मेरो बाको जीवनभर घनिष्ट सम्बन्ध रह्यो)लाई पक्राउ पुर्जी जारी गरियो। आफ्नो सम्पूर्ण जायजेथा, सरसम्पत्ति (जसको मूल्य अहिले -सन् १९५४- को भाउमा भारु पाँच लाखभन्दा बढी हुन्छ) छाडेर उहाँहरू भारततर्फ भाग्नुभयो। घर, जमिन, सरसम्पत्ति सरकारको भयो र हामी सधैँका लागि शरणार्थी बन्यौँ। हाम्रा बाहरूलाई पक्राउ गर्ने वा पक्राउ गर्न सघाउनेलाई सरकारले इनाम दिने घोषणा गरेको थियो।

कठ्यांग्रिने जाडोको एक रात अचानक हामीहरूको घरलाई प्रहरीले घेरा हाल्यो। सबै जना बाहिर निकालिए; आमासँग म र मेरा दाइलाई ढाक्ने एउटा पछ्यौरीसिवाय अरू केही थिएन। मलाई दूध खुवाउने गरेको धातुको गिलाससमेत प्रहरीले लिन दिएन; आफ्ना सप्पै सरसामान छाडेर उहाँहरू बाहिरिनुपरेको थियो भनेर मेरी आमाले मलाई पछि बताउनुभयो।

तात्कालिक राणा प्रधानमन्त्रीको हाम्रो परिवारप्रतिको यो प्रतिशोधपूर्ण व्यवहारले हामीलाई आफ्नो जन्मभूमि छोडेर भारतमा शरण लिन बाध्य बनायो। यो दुःखद घटनापछि मेरो परिवार घुमन्ते बन्जाराजस्तै उत्तर भारतका विभिन्न ठाउँमा भौँतारिँदै हिँड्यो। साथीहरूले बेलाबेला थोर-बहुत सहयोग गर्थे। हातमुख जोहो गर्न बा कहिले एक ठाउँ त अर्को ठाउँ। यो गरिबी र कष्टका बाबजुद पनि बा-आमा आफ्ना सन्तानलाई पढाउनुपर्छ भन्ने ठान्नुहुन्थ्यो, र उहाँहरूले जुनसुकै मूल्यमा पनि हामीलाई शिक्षादीक्षा दिने प्रयास गर्नुभयो।

हाम्रो परिवारमा व्याप्त चरम गरिबीबाट उत्पन्न यी सबै कठिनाइहरूबारे त्यतिखेर म अनभिज्ञजस्तै थिएँ, तर अहिले तात्कालिक परिस्थितिको गाम्भीर्य र हाम्रा लागि बाले गरेका परिश्रम महसुस गर्न सक्छु। यी सबले मेरो मनमा अमिट छाप छोडेका छन्, र मलाई बच्चाहरू र आश्रितहरूप्रति जिम्मेवारीको भावना जगाएका छन्, यद्यपि म अहिलेसम्म बाउ बनिसकेको छैन।

बाल्यकाल र शिक्षादीक्षा

अब म हुर्किसकेको थिएँ र स्कुल जान तयार थिएँ। महँगो स्कुलमा मेरा बा-आमाले मलाई पढाउन सक्ने कुरै थिएन। उहाँहरूले यस्तो स्कुल खोज्नुपर्थ्यो जहाँ मैले सस्तो र राम्रो शिक्षा पाउन सकूँ, र जसले मेरो चरित्र र व्यक्तित्व निर्माणमा सहयोग पनि पुर्‍याओस्।

धेरै सोचविचारपछि, मलाई मेरा दाइ (ढुण्डिराज कोइराला)सँगै सदाकत आश्रम भनेर चिनिने पटनाको बिहार विद्यापीठमा पठाइयो। यो संस्था भारतीय राष्ट्रिय कांग्रेसका राष्ट्रवादी कार्यकर्ताहरूद्वारा सञ्चालित थियो र यसका प्रमुख थिए डा. राजेन्द्र प्रसाद, जो अहिले भारतका राष्ट्रपति छन्।

सन् १९२७ तिर, म आठ वर्षको हुँदादेखि, म आमा-बाबाट अलग भएँ। तर, मैले उस्तो एक्लो महसुस गरिनँ, किनभने मेरा सहोदार दाजु, र काका-बाका छोरा मातृकाप्रसाद कोइराला पनि सँगै पढ्नुहुन्थ्यो।

यसरी ब्रिटिस शासनकालमा भारतको एउटा राष्ट्रिय संस्थामा मेरो प्रारम्भिक शिक्षाको सुरुआत भएको थियो। म सो स्कुलमा दुई वर्ष रहेँ। त्यहाँ दुईवटा ब्लक थिए। एउटा साना बच्चाहरूका लागि थियो र अर्को ठूला केटाहरूका लागि। स्कुलका अधिकारीहरूले तोकेको तालिकाअनुसार हामीले काम गर्नका साथै पढ्नुपर्थ्यो। सामुदायिक जीवनको पहिलो पाठ मैले यही संस्थामा पाएँ। हामी विद्यार्थीहरू सँगै गंगामा नुहाउन जान्थ्यौँ, सँगै व्यायाम गर्थ्यौं, नास्ता गर्थ्यौं, खाना खान्थ्यौँ र विशेष अवसरहरूमा सँगै सभा पनि गर्थ्यौं। 

बितेका ती दिनलाई अहिले फर्केर हेर्दा म पुलकित हुन्छु। त्यही बालवयमा फर्किन पाए हुन्थ्यो भन्ने लाग्छ घरीघरी।

यहाँ म हामीले बालसुलभ इच्छा पूरा गर्न गरेको एउटा बदमासी उल्लेख गर्न चाहन्छु। जाडो याम थियो। खेतहरूमा चनाका झाडी लहलह थिए। बिहारमा हरियो चनालाई बुटैसहित अलिअलि पोलेर खाने चलन छ। यसलाई होरहा भनिन्छ। हामी आठ-नौ जना केटाहरू मिलेर एउटा योजना बनायौँ र नजिकैको खेतमा गयौँ। चारैतिर आली भएको एउटा सानो खेतको टुक्रो छानेर त्यसमा आगो लगायौँ। खेतको आधाआधी चनाका बुट्यान/झाडी आगोले लपेट्दै गर्दा सो खेतका मालिक ठूला लाठीहरू बोकेर आइपुगे।

परिणाम के भयो, त्यो तपाईं अनुमान गर्न सक्नुहुन्छ। हाम्रो बदमासीको कुरा आश्रमका अधिकारीसम्म पुग्यो। सजायस्वरूप हामीलाई बेलुकी खान दिइएन र खेतमा जे-जति नोक्सानी भयो त्यसको क्षतिपूर्ति पनि हामीले दामासाहीले तिर्नुपर्ने भयो।

सदाकत आश्रममा नै हो मैले पहिलोपटक महात्मा गान्धीसँग भेट गर्ने मौका पाएको। गान्धीजी आश्रममा केही दिन बस्नुभएको थियो। हरियो दुबोमा टुक्रुक्क बस्दै आफू वरिपरि बसेका केटाहरूलाई शिक्षा दिनुहुन्थ्यो। वास्तवमै ती स्वर्णिम दिनहरू थिए– चिन्तामुक्त र रमाइला। 

 

 

 

 

 

 

 


दीर्घराज कोइराला 

निर्वासनपश्चात् उत्तर बिहारको जुन ठाउँमा हाम्रो परिवार बसोबास गरिरहेको थियो त्यो ठाउँ कोसी नदीमा आएको ठूलो बाढीको चपेटामा पर्‍यो। बाढीले हाम्रा घरहरू बगायो; जग्गा बगरमा परिणत भयो। बचेखुचेको मालताल बोकेर हाम्रा परिवारहरू बनारसतिर हानिए। र, दुई वर्षमै मैले पनि सदाकत आश्रम छाड्न पर्‍यो। आश्रम छाड्दा म तीन ‘आर’ (पढाइ, लेखाइ र अंकगणित) मा पोख्त भइसकेको थिएँ। भारतको इतिहास र भूगोलको पनि थोरबहुत ज्ञान मलाई थियो।

मैले स्कुले शिक्षा बनारसमा पूरा गरेँ। आठ वर्षजति बनारस रहँदा मैले त्यहाँका विभिन्न विद्यालयहरूमा पढेँ। म कक्षा ८ मा पढ्दै गर्दा हाम्रो परिवारलाई देशनिकाला गर्ने नेपालका महाराजा चन्द्रशमशेर राणाको मृत्यु भयो। उनीपछिका प्रधानमन्त्री भीमशमशेरले हामीलाई नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध हटाइदिए।

यो कुरा थाहा पाउँदा म औधी खुसी भएँ। मेरो लागि रहस्यमयी भएर रहेको मेरो मातृभूमि नेपालमा म अब जान पाउने भएँ। आफ्नो जन्मस्थल भ्रमण गर्न म हतारिएँ। करिब १५ वर्षपछि मैले मेरो मातृभूमिमा पाइला राख्न पाएको थिएँ। जन्मस्थलमा दुई साता बिताएपछि आफ्नो पढाइलाई निरन्तरता दिन म बनारस फर्किएँ। तर, दुर्भाग्यवश मेरी आमाको सन् १९३६ मा मृत्यु भयो। आमाको देहावसानपछि म पनि बिरामी भएँ। करिब ६ महिना ओछ्यान परेँ।

अलि ठिकठाक भएपछि हावापानी फेर्न भनी दार्जिलिङतिर गएँ। त्यहाँ स्थानीय सरकारी हाइस्कुलमा मास्टरी गरिरहेका दाजु (धरणिधर कोइराला; सहोदर होइनन्)कहाँ बसेँ। त्यहीँ बसेर मैले म्याट्रिकुलेसन परीक्षाको तयारी गरेँ र सन् १९३८ मा त्यही स्कुलबाट परीक्षा दिएँ। यसरी नेपाल वा नेपालीबारे खासै धेरै कुरा नजानी मैले मेरो स्कुले जीवन भारतबाट पूरा गरेँ।

नेपाल-फिर्ती

नेपाल फर्कन अनुमति दिइनु हाम्रा लागि ठूलो सन्तोषको कुरा थियो। बा विराटनगरमै बस्न उत्सुक हुनुहुन्थ्यो। सन् १९३८ मा म र दाइ (ढुण्डिराज) काठमाडौँतर्फ लाग्यौँ। म अगाडि पढ्न चाहन्थेँ; दाइ कुनै जागिरको खोजीमा हुनुहुन्थ्यो।

मेरो परिवार नेपाल फर्केसँगै अर्को घरायसी समस्या आइलाग्यो; बा र हाम्रोबीचको सम्बन्धमा तलबितल पर्‍यो। आमाको मृत्युपछि बाले पुनर्विवाह गर्नुभएको थियो। नयाँ बिहेपछि बाले हामीलाई आर्थिक भरथेग गर्न छाड्नुभयो। बाका लागि बिहे ठिकठाकै थियो होला, तर आर्थिक मामिलाका कारण मलाई सो अनुचित जँच्यो। 

बाको कमाइ राम्रो थिएन; उहाँ हाम्रो र यो नयाँ सम्बन्धको भार थेग्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो। त्यसैले, मैले र दाइले आफ्नै खुट्टामा उभिने प्रयास गर्‍यौँ र बाको भार कम गर्ने कोसिस गर्‍यौँ। काठमाडौँमा म त्रिचन्द्र कलेजमा भर्ना भएँ। कलेजमा पढाइ खर्च लाग्दैनथ्यो। मैले स्कुले केटाकेटीलाई ट्युसन पढाउन थालेँ, सो आम्दानीबाट काठमाडौँ बसाइको खर्च धानियो।

भारतमा हुर्के-बढे-पढेको म यहाँका सहपाठी साथीभाइको उदासी/निरपेक्ष मनोवृत्ति देखेर दिक्कै भएँ; उनीहरू कम घुलमिल गर्थे, कम बोल्थे र अलगथलग बस्थे। पहिलो तीन-चार महिना त काठमाडौँको वातावरण र परिवेशसँग तालमेल मिलाउनै मलाई सकस भयो। मेरा चिनजानका मानिस यहाँ निक्कै कम थिए। तर बिस्तारै केही साथी बनाएँ; उनीहरूसित हिँडडुल-घुलमिल गर्न थालेँ।

काठमाडौँको चार वर्षको पढाइको क्रममा मैले कोरा किताबी ज्ञान मात्र हासिल गरेँ। जीवनको काल्पनिक पक्षमा गहिराइमा जान सक्ने ठाउँ थिएन। जे होस्, मैले सन् १९४२ मा पटना विश्वविद्यालयबाट मानविकीमा स्नातक तह (बीए)को डिग्री प्राप्त गरेँ। (त्यतिखेर त्रिचन्द्र कलेजले पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो।)

तथापि, मेरो उच्च अध्ययनको आकांक्षा रह्यो। घरको आर्थिक अवस्थाले गर्दा नेपालबाहिर गएर उच्च अध्ययनलाई निरन्तरता दिन सक्दैनथेँ। त्यसैले पहिले केही समय जागिर खाने, केही पैसा जोरजाम गर्ने र त्यसपछि मात्र थप अध्ययनलाई निरन्तरता दिने मैले विचार गरेँ। सोही अनुरूप, बीए परीक्षाको नतिजा आउनेबित्तिकै (मे १९४२ मा) मैले कलकत्ता प्रहरीमा जागिरका लागि आवेदन दिएँ। ती दोस्रो विश्वयुद्धका दिनहरू थिए, जसमा भारत पनि संलग्न थियो। त्यसबखत गान्धीले प्रस्ताव गरेको ‘भारत छोडो’ आन्दोलनलाई कांग्रेसले पारित गर्दै आन्दोलनमा होमिएको थियो। सबैतिर अन्योल र अशान्ति थियो।

सौभाग्यवश मैले कलकत्ता प्रहरीमा अस्थायी जागिर पाएँ। भाषा-प्रशिक्षकका रूपमा मेरो नियुक्ति भएको थियो र मेरो काम युरोपेली अधिकारीहरू कलकत्ता सशस्त्र प्रहरीका सिपाही (सार्जेन्ट)हरूलाई भाषा-प्रशिक्षण दिनु थियो। त्यस समय अमेरिकी सेनाका जवानहरूले कलकत्ता भरिएको थियो र जापानीहरूले कलकत्तामा बमबारी गरिरहेका थिए। यही समयमा मैले मेरो जीवनमा पहिलोपटक जहाजमा उड्ने अवसर पाएँ। बंगालको खाडी र कलकत्ता सहरमाथि करिब एक घण्टाको रमाइलो र आनन्ददायक उडान थियो त्यो।

एक वर्षजति काम गरेपछि मैले जागिरबाट राजीनामा दिएँ। काम गरेर बचाएको पैसा लिएर म कलकत्ताबाट बनारसतर्फ हानिएँ। बनारस हिन्दु विश्वविद्यालयमा अर्थशास्त्र विषय लिएर एमएमा भर्ना भएँ। दुई वर्षसम्म नियमित विद्यार्थीका रूपमा पढेँ र एमएको अन्तिम परीक्षामा सामेल भएँ। तर आधाआधी जाँच सकिँदै गर्दा एक दिन अचानक भारत सरकारको सीआईडी प्रहरीले मलाई पक्राउ गर्‍यो। त्यतिखेर भर्खरै लागु गरेको ‘डिफेन्स इन्डिया रुल’ अन्तर्गत सोधपुछका लागि भन्दै मलाई हिरासतमा राखियो। मैले पूरै परीक्षा दिन पाइनँ। एमएको डिग्री लिने मेरो धोको अधुरै रह्यो। साँच्चै भन्ने हो भने त्यो नै मेरो विद्यार्थी जीवनको अन्त्य थियो। 

विश्वविद्यालयको पढाइ सक्किइसकेको थियो। हिरासतमुक्त भएपछि म विराटनगर गएँ। विराटनगरबाट करिब २५ माइल उत्तरमा रहेको धरानमा मैले एउटा स्कुल (धरान पब्लिक मिडिल स्कुल) सुरु गरेँ। आज नेपालका उत्कृष्ट विद्यालयहरूमध्ये यो एक हो। त्यहाँ एक वर्षभन्दा बढी समयसम्म सञ्चालक र प्रधानाध्यापकका रूपमा काम गरेँ। हामीले चन्दा संकलन गरेर स्कुल भवन ठड्यायौँ। यो सार्वजनिक काममा स्थानीय व्यापारीहरू र अन्य साधारणजनले राम्रो सहयोग गरे। भवन तयार भएपछि स्कुल सञ्चालनका लागि सरकारी आर्थिक सहायता पाइन्छ कि भनेर केन्द्रमा सोधीखोजी गर्न मलाई पठाइयो।

सोही क्रममा सन् १९४७ मा म काठमाडौँ आएँ। स्कुलको जग बलियो रहेको र सरकारी सहायता पाउन योग्य भएको कुरामा सरकारी अधिकारीहरूलाई आश्वस्त तुल्याएँ। र, सरकारी सहायता पनि जुटाएँ। त्यतिखेरै डेपुटी स्कुल इन्स्पेक्टरको जागिर खुलेको मैले थाहा पाएर सो पदमा आवेदन दिएँ। अन्तर्वार्तापश्चात् मलाई पूर्वी क्षेत्रको डेपुटी स्कुल इन्स्पेक्टरका रूपमा छनोट गरियो। यससँगै मलाई भारतको बिहार राज्यमा रहेको आधार-शिक्षा तालिम केन्द्रमा पोस्ट-ग्राजुएट तालिमका लागि पठाइयो। तालिमका क्रममा मलाई सेवाग्राम (महाराष्ट्रमा रहेको गान्धी आश्रम/निवास) र अन्य शैक्षिक केन्द्रहरूमा भ्रमणको अवसर मिल्यो। सेवाग्राममा काम गर्दै मैले दुई महिना बिताएँ।

सन् १९४९ मा मैसुरमा आयोजित ग्रामीण प्रौढ शिक्षासम्बन्धी युनेस्को सेमिनारमा भाग लिने सुअवसर मलाई मिल्यो। विभिन्न मुलुकका प्रतिनिधिसँग मैले जीवनमा पहिलोपटक भेटघाट गर्ने मौका पाएँ। करिब एक महिना चलेको यो सेमिनारले मलाई मेरो कल्पनालाई समृद्ध बनाउन र विभिन्न देशहरूका सोचका प्रवृत्तिहरू बुझ्ने राम्रो अवसर दियो।

आकांक्षाहरू

जुलाई १९५० मा मस्तिष्कमा रक्तस्राव भएर बाको अचानक मृत्यु भयो। उहाँको मृत्यु मेरा लागि गम्भीर चोट थियो। विधवा सौतेनी आमा र पाँच सौतेनी बहिनीको पालनपोषण गर्ने जिम्मेवारी मलाई आइलाग्यो। वास्तवमा त्यतिखेर म सरकारी जागिर छोडेर काठमाडौँ उपत्यका बाहिर कुनै उपयुक्त ठाउँमा एउटा सार्वजनिक संस्था (स्कुल?) सुरु गर्ने विचार गरिरहेको थिएँ। तर, बाको मृत्युपछि आफूलाई थपिएको साना बहिनीहरूको हेरचाह र पालनपोषणको दायित्वका कारण मैले त्यो विचार त्यागेँ। 

अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीमा भेटिएको दीर्घराज कोइरालाको आत्मकथा। तस्बिर : लोकरञ्जन पराजुली 

बाको मृत्युको केही महिनापछि नै नेपालमा जनक्रान्ति प्रारम्भ भयो। राणाहरूको निरंकुश शासन बढारियो र प्रजातान्त्रिक सरकार स्थापना भयो। तर, सरकारमा रहेका हामीहरू प्रशासनको वर्तमान प्रणालीसँग पूर्ण रूपमा सन्तुष्ट छैनौँ। हामीमा सहयोग, समन्वय, सेवामा तत्परता र उद्देश्यमा एकताको अभाव छ, जुन प्रजातान्त्रिक सरकारले थाल्न आवश्यक छ।

कुनै पनि मुलुकलाई अगाडि बढाउनका लागि देशको हितमा आफूलाई समर्पित गर्ने केही प्रतिबद्ध कार्यकर्ताहरू नभएसम्म सम्भव छैन भन्ने मलाई लाग्छ। हाम्रो वर्तमान पुस्ताको प्रवृत्ति यस्तो छ कि कुनै योग्य युवा देशको भित्री भाग/गाउँमा जान मन पराउँदैन। ऊ आफ्ना सहरी साथीहरूसँग बस्न र आफ्नै चौघेरा बनाएर रम्न चाहन्छ। त्यो चौघेराका सदस्यले जनसाधारणसँग घुलमिल गर्न चाहँदैनन्। फलतः दबिएका, उत्पीडित, अज्ञानी जनसमुदाय सधैँ अज्ञानी नै रहन्छन् र शिक्षित व्यक्तिहरू जनसमुदायबाट अलगथलग रहेर आफ्नो ज्ञान र ऊर्जालाई बेकामे कोठे-बहस वा राजनीतिक आन्दोलनमा खेर फाल्छन्।

त्यसैले, अहिलेको आवश्यकता पहिले तालिम प्राप्त गर्नु र त्यसपछि योग्य अरूलाई तालिम दिनु हो। यदि हामीले आफूलाई योग्य बनाइसकेपछि साधारणजनको आवश्यकतालाई बेवास्ता गर्‍यौँ र केवल आफ्नो व्यक्तिगत लाभ र उन्नतिको आकांक्षा राख्यौँ भने त्यो कुनै कामको हुँदैन; राष्ट्रका लागि त्यसले केही फाइदा गर्दैन। हाम्रा प्राचीन ऋषिमुनिहरूले भनेझैँ हामी सदैव प्रतिफलको आशा नगरी अरूको सेवामा प्रतिबद्ध रहनु आवश्यक छ।

हाम्रो बिहानी प्रार्थनामा एउटा श्लोक छ, जसमा भनिएको छ, ‘हे भगवान्, म शासन गर्नका लागि कुनै राज्य चाहन्नँ; न म स्वर्गमै जान चाहन्छु वा पुनर्जन्मको इच्छा गर्छु। म केवल सम्पूर्ण दुःखी मानव जातिको दुःख र पीडालाई नष्ट गर्न र हटाउन चाहन्छु।’ यही भावनाका साथ राष्ट्रको सेवा गर्न सकूँ र साधारण दाजुभाइ तथा दिदीबहिनीहरूलाई इमानदार, निष्कपट, अनुशासित र नि:स्वार्थी मानव संसारका नागरिक बन्न मद्दत गर्न सकूँ भन्ने नै मेरो कामना, चाहना छ। 

७ कार्तिक २०८२ 
स्रोत : https://nepalnews.com/2025/10/24/dirgharaj-koiralas-autobiography-found-at-stanford-university/


About the Author

More Blogs