
नेपालमा जेनजी (सन् १९९७ देखि २०१२ सम्म जन्मिएकाहरू) पुस्ताले सामाजिक र आर्थिक रूपले अत्यधिक असमानता देखे। दलाल, बिचौलिया र भ्रष्ट माफियालाई संरक्षण दिनेहरू नै राजनीतिक दलका संरक्षक बनेको थाहा पाए। भ्रष्टाचार संस्थागत भएको र नीति निर्माणमा अनैतिक तत्वहरूको प्रभाव देखे। देशमा युवाहरूको सम्भावना कुन्ठित हुँदा खाडीमा जानेहरुको लर्को विमानस्थलमा देखे। प्रतिभा र परिश्रमभन्दा पहुँच र दलाल र दलतन्त्रले सिङ्गो मुलुक कब्जा गरेको देखे, आफैले भोगे।
देशको यो अवस्थाले जेनजी युवाहरुलाई लाई निराश बनायो। उनीहरुले बिरोधको स्वर सामाजिक सन्जाल मार्फत पोख्न थाले। सरकार र पार्टीहरुका अवान्छित गतिबिधि हरुको बिरोध गर्ने थाले। सरकारले उनीहरुका माग सुन्नुको सट्टा एक्कासी सामाजिक सन्जाल बन्द गरिदियो। सरकारले आफ्नो अनुहार हेर्नुको सट्टा ऐनानै फुटाउने काम गर्ने उपयुक्त हुने निचोड निकाल्यो। उनीहरु रिसले चुर भए र सडकमा उत्रे।
किन सुरु भयो जेनजी आन्दोलन?
नेपालमा जेनजीको आन्दोलन सुरु हुनुको मुख्य कारण युवापुस्ताले राज्यप्रति अनुभूत गरेको गहिरो असन्तोष हो। सरकारले सूचीकरण नगरेको भन्दै भदौ १९ गतेदेखि फेसबूक, एक्स, यूट्यूब लगायत सामाजिक सञ्जालका केही महत्त्वपूर्ण प्लेटफर्म ‘निष्क्रिय’ पारिदिएपछि त्यसको विरोधमा जेनजीले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका थिए।
सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा देखिएको अन्याय, असमानता र अपारदर्शिताले उनीहरूलाई सडकमा आउन बाध्य बनाएको हो। विशेषगरी, सामाजिक सञ्जाल प्रतिबन्धलाई उनीहरूले आफ्नो स्वतन्त्र आवाजमाथि लगाइएको प्रहारको रूपमा व्याख्या गरेका छन्। किनकि सामाजिक सञ्जाल आजको पुस्ताको विचार अभिव्यक्त गर्ने, प्रश्न उठाउने र परिवर्तन खोज्ने प्रमुख माध्यम हो।
जेनजीको आन्दोलनको प्रमुख मागहरू मध्ये पहिलो थियो सामाजिक सञ्जाल प्रतिबन्ध हटाउनुपर्ने। उनीहरूको भनाइमा यो प्रतिबन्ध लोकतान्त्रिक मूल्यहरूको अपमान मात्र होइन, युवा पुस्ताको स्वतन्त्रता खोस्ने प्रयास हो। दोस्रो माग भनेको सबैक्षेत्रमा व्यापक र चरम भ्रष्टाचारको छानबिन हो। उनीहरूका अनुसार भ्रष्टाचारले राज्यको प्रत्येक संरचना नष्ट पारिरहेको छ, जसको अन्त्य नगरेसम्म नागरिकलाई न्याय र समान अवसर प्राप्त हुन सक्दैन।
प्रविधिमा हुर्किएको यो पुस्ता केवल सामाजिक सञ्जालमा सक्रिय मात्र होइन, सामाजिक न्याय, पारदर्शिता, र समावेशी शासनको माग गर्दै सडकमा पनि उत्रियो। उनीहरूको एजेन्डा केवल व्यक्तिगत स्वतन्त्रता वा जीवनशैलीको विषयमा सीमित छैन। यो गहिरो राजनीतिक र संस्थागत सुधारको माग संग जोडिएको छ।
लोकतान्त्रिक र थितियुक्त शासनको माग
जेनजी आन्दोलनकारीहरूले लोकतान्त्रिक थितिको शासनू को परिकल्पना गरेका छन्। यसको अर्थ नागरिकले आफ्नो दैनन्दिन जीवनका आवश्यक कार्यहरु जस्तै शिक्षा, स्वास्थ्य, रोजगारी, प्रशासनिक सेवा—कसैको ज्यु, चाकरी वा सोर्सफोर्समा निर्भर नभई सहज रूपमा प्राप्त गर्न सक्ने अवस्था हो। सरकारी वा निजी सेवा सहज रूपमा, अतिरिक्त घुस नदिई, बिचौलिया नखोजी पाउनु लोकतान्त्रिक शासनको आधार हो भन्ने उनीहरूको स्पष्ट मान्यता छ। यसले राज्यप्रति जनताको विश्वास बढाउँछ र नागरिकलाई सशक्त बनाउँछ।
जेनजी ले योग्यता र क्षमतालाई प्रमुख आधार मान्ने प्रणालीको माग गरिरहेको छ। उनीहरू पुरानो संरचनामा जकडिएको नातावाद, कृपावाद वा राजनीतिक पहुँचको आधारमा हुने नियुक्ति, पदोन्नति वा अवसरको वितरणलाई अस्वीकार गर्छन्। बिधालय, बिश्वबिधालय, कर्मचारीतन्त्र, राज्यका सम्पूर्ण निकाएमा दलतन्त्र र दलालको रजगजको अन्त्य चाहन्छन। उनीहरूको दृष्टिकोणमा, शिक्षा, रोजगारी, नेतृत्व वा अवसरको पहुँच सबैलाई समान रूपमा हुनु पर्छ। यसले संस्थागत उत्कृष्टता र सामाजिक न्याय दुवैलाई सुनिश्चित गर्छ।
जेनजी प्रविधिमा पुरानो पुस्ता भन्दा क्षमतावान छ। उनीहरूले डिजिटल प्रणालीमार्फत सेवा प्रवाह पारदर्शी र प्रभावकारी बनाउन जोड दिइरहेका छन्। अनलाइन आवेदन, ट्र्याकिङ सिस्टम, खुला डाटा र नागरिक सहभागिता प्रवर्द्धन गर्ने प्रविधिको प्रयोग उनीहरूको प्राथमिकतामा पर्छ। यसले भ्रष्टाचार घटाउने मात्र होइन, जनताको सहभागिता र उत्तरदायित्व पनि बढाउँछ।
उनीहरु को एजेन्डा समावेशी छ, जात, वर्ग, लिंग, क्षेत्र वा पृष्ठभूमिको आधारमा विभेद नगर्ने समाज निर्माणको चाहना उनीहरूमा छ। उनीहरू शिक्षा, स्वास्थ्य, रोजगारी र नेतृत्वमा सबैको समान पहुँच सुनिश्चित गर्न चाहन्छन्। विशेषतः ग्रामीण, दलित, महिला र अल्पसंख्यक समुदायको सशक्तिकरण उनीहरूको प्राथमिकतामा पर्छ।
जेनजीः नयाँ पुस्ताको आवाज
जेनजीले केवल माग गरिरहेको छैनन्, उनीहरू समाधानको प्रस्ताव पनि गरिरहेका छन्। उनीहरू नीति निर्माणमा सहभागी हुन चाहन्छन्, नेतृत्वमा आउन चाहन्छन्, र संस्थागत सुधारको अगुवाइ गर्न तयार छन्। उनीहरूको आवाज अब केवल सामाजिक सञ्जालमा सीमित छैन। देशलाई लोकतान्त्रीकरण र सुशासन बहस सडक आन्दोलनमा पनि गुञ्जिरहेको छ। उनीहरुको एजेन्डा केवल उनीहरूको भविष्यको लागि होइन, समग्र राष्ट्रको पुनर्निर्माणको लागि हो। उनीहरू परिवर्तनको वाहक हुन्, सशक्त, सचेत र संकल्पित शक्ति पनि।
उनीहरुका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विचार अभिव्यक्त गर्ने स्वतन्त्रता हो। जेनजीका आन्दोलनकारीहरूका अनुसार, आफूलाई चित्त नबुझेका कुरा सरकार वा कुनै पनि शक्तिशाली पक्षविरुद्ध डर, धाकधम्की वा दमनबिना राख्न पाउने अधिकार नै वास्तविक लोकतन्त्रको आधार हो। उनीहरूले स्पष्ट सन्देश दिएका छन् कि यस्ता न्यूनतम अधिकार सुनिश्चित गर्न नसक्ने सरकारलाई समर्थन वा अपनत्व दिन सकिँदैन। यही दृढता नै जेनजीको आन्दोलनलाई आज व्यापक रूपमा युवापुस्ताको आवाज बनाएको छ।
पहिलो दिनमै सरकारले गोली हान्यो
उनीहरुले भदौ २३ गते आन्दोलनको घोषणा गरेका थिए। जेनजीको प्रदर्शनलाई राजनैतिक रङ दिने प्रयास हुदै थियो, घूसपैठ हुने सम्भावना उत्तिकै थियो। यसलाई बदनाम गराउने र दबाउने प्रयास थियो। तसर्थ सकेसम्म विद्यालय, कलेजको युनिफर्ममा परिचय पत्र सहित आउनुहोला भनेका थिए।
माइतीघर मण्डल भरिएपछि करीब बिहान ११ बजे प्रदर्शनकारी बानेश्वरतर्फ लागे। आन्दोलन शान्तिपूर्ण र सिर्जनात्मक शैलीमा अघि बढिरहेको थियो। उनीहरु आफ्ना माग सहित सरकार विरोधी नारा लगाउँदै अगाडि बढे। नाराबाजी भ्रष्टाचार लक्षित थियो। शान्तिपूर्ण आन्दोलनको समर्थन कलाकार, पेशागत व्यक्तिहरु, सामाजिक अभियन्ता, विभिन्न दल सम्बद्ध विद्यार्थी र युवा नेताले पनि गरेका थिए। बानेश्वर क्षेत्र भिडभाडमा परिणत भयो। सुरक्षाबारे सरकारले ध्यान दिनुको सट्टा प्रधानमन्त्रिले अघिल्लो दिनमै धम्कीको भाषा प्रयोग गरेका थिए।
करीब दिउसो १२ः३० बजे काठमाडौंका प्रमुख जिल्ला अधिकारीले राति १० बजेसम्मका लागि नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुलीबजार पुलसम्म कर्फ्यू आदेश जारी गरेको सूचना प्रकाशित गरे। यसअघि आन्दोलनकारी र सुरक्षाकर्मीबीच सल्लाह भई आन्दोलनमा घूसपैठ भएको ठहर गर्दै तिनले सबैलाई घर फर्कन फेसबूकबाटै अपील गरेका थिए।
त्यसपछि कर्फ्यू शुरू भयो, प्रदर्शनकारी भने सडकबाट हटेका थिएनन्। विद्यार्थीहरू फर्किन थाले, तर अरू मान्छे थपिंदै गएको देखिन्थ्यो। सरकारको सुरक्षा कमजोरीको कारण शान्तिपूर्ण आन्दोलन रणभूमि बन्यो। पहिलो दिनमै १९ जनाले ज्यान गुमाए। मुलुक अहिले सरकार बिहिन छ, सेनाको कब्जामा राष्ट्रपति तथा प्रधानमन्त्री छन्। तर उनीहरु कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने सार्वजनिक गरीएको छैन। अन्यदिनको घटना र राजनीति बारे आगामी लेखेमा प्रस्तुत गर्ने छु।
अन्तमा,
जेनजी आन्दोलन नेपालमा केवल सामाजिक परिवर्तनको आवाज होइन, एक गहिरो लोकतान्त्रिक पुनर्संरचनाको माग हो। यो पुस्ताले दलतन्त्रको सीमितता देखेर दलहरू सचिने हो सकिने हैन भन्ने यथार्थ स्वीकार गरेको छ। उनीहरूको दृष्टिकोणमा दलहरुमा लोकतान्त्रीकरण गर्ने हो, सेनामा राजनीति जान दिने हैन, शासनमा पारदर्शिता र जवाफदेहिता ल्याउने हो। उनीहरुले शुसासनलाई प्राथमिकता दिँदै सबै मिलेर समावेशी बहसमार्फत अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । उनीहरू योग्यता र क्षमता को पक्षमा उभिएर अवसरको समानता र संस्थागत उत्कृष्टताको माग गरिरहेका छन्।
यस आन्दोलनको मूल उद्देश्य भावी पुस्ताले बस्न लायक देश बनाउने हो। त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवलाई गहिरो रूपमा केलाउनुपर्छ, तथ्यहरूको विश्लेषण गर्नुपर्छ, अनुभवहरूको समीक्षा गर्नुपर्छ, र वृहत् बहसहरू सञ्चालन गर्नुपर्छ। उनीहरुले केवल विरोध होइन, समाधानको प्रस्ताव पनि ल्याइरहेका छन्। नीति निर्माणमा वैज्ञानिक सोच, समावेशी दृष्टिकोण, र समुन्नत राष्ट्र। उनीहरूको आन्दोलनले नेपालमा लोकतन्त्रलाई बलियो बनाउने, दलतन्त्रको सीमाबाट मुक्त गराउने, र नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने शासन प्रणालीको निर्माण गर्ने दिशामा सार्थक कदमको रुपमा हेर्नु पर्छ। (सामाजिक मानवशास्त्री सुबेदी पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका प्राध्यापक हुन् ।)
आइतबार, २९ भदौ २०८२
स्रोत : https://www.ajakoartha.com/story/132979
मधुसूदन सुवेदी







