लोकतन्त्र जीवन्त बन्न आम मान्छे बढीभन्दा बढी सचेत र आलोचनात्मक बन्दै जानुपर्छ । नेता आफ्नो वैचारिक अडान स्पष्ट बताउन सक्ने गरी आत्मविश्वासी हुनुपर्छ । पार्टी अध्यक्षको आदेश शिरोपर मात्रै गरिरहने सांसदले व्यवस्था सुदृढ बनाउन सक्दैन ।
नेपालमा चुनाव लागेपछि केवल चुनाव लाग्छ, अन्य सबै विषय मुलतबी पर्छन् । कवि श्यामलको ‘लुतो’ कविताको सान्दर्भिकता पुष्टि गर्दै यस पटक फेरि चुनावको दसैं सुरु भएको छ । कवि भन्छन्— लुतो लागेपछि, केवल लुतो लाग्छ । नेता र कार्यकर्ता, अगुवा र बुद्धिजीवीको ठूलो हिस्सा मत र सिट गनेर बसेको छ । नेताहरू पैसा जोहो गर्न, आफ्नो प्रभाव विस्तार गर्न र अन्य दाउपेच परिकल्पना गर्नमा व्यस्त छन् । निर्वाचन प्रक्रियासँगै जोडिनुपर्ने कैयौं विषय आम विमर्शमा छैनन् ।
संसदीय अभ्यास कसरी सबल बनाउने ? संघीयतामा प्रदेशको भूमिका बढी जीवन्त बनाउन उम्मेदवार चयनमा कसरी गम्भीर हुने ? समग्र लोकतन्त्रलाई आम मान्छेका जीवन रूपान्तरणको ऊर्जामा कसरी परिणत गर्ने ? समावेशिताको अर्थ र मर्म के हो ? समानुपातिक प्रतिनिधित्वको मूल्य र आवश्यकता किन ? यी प्रश्न अखबारका अल्पसंख्यक केही लेखमा आए होलान्, चौतारी र डबलीमा छैनन् । लोकतन्त्रको ‘ल’ समेत मासेर चयन गरिएका उम्मेदवार र तय गरिएको चुनावी रणनीतिमा जरुरी प्रश्न अटाउँदैनन् । पार्टी र गठबन्धनका बैठकमा यी प्रश्न उठेनन् । पेचिला विषयसँग गाँसिने विमर्शका मसिना तन्तु विलुप्त हुनु कसैका लागि पनि आश्चर्य भएन । चुनाव लागेको कुनै कार्यकर्ताले कदाचित् यी विषय उठाए, उसैका सहयात्रीले उसलाई उल्याएर जोकर तुल्याइदिने चलन स्थापित जो छ ।
अरू त अरू, स्वतन्त्र हौं भनेर छाती पिट्दै हिँड्ने अनेक थरीका प्राथमिकतामा पनि छैनन् यस्ता आवश्यक प्रश्न । राजनीतिक पार्टीहरू बेकामे भए भनेर जति पनि फलाक्न सक्ने स्वतन्त्र उम्मेदवारको नजरमा प्रदेश छैन, संघीयता छैन, लोकतान्त्रिक चरित्र सबल तुल्याउने कुनै कार्यक्रम छैन । त्यसो त अधिकांशसँग सांसदका अधिकार र जिम्मेवारी, सामर्थ्य र सीमाबारे गम्भीर सुझबुझसमेत छैनÙ संसदीय अभ्यास चुस्त तुल्याउने कुनै चिन्तन छैन । बरु कतिपय स्वतन्त्र भनिएकासँग पञ्चायतप्रति चर्को मोह छ र मसिहा बनेर ‘छु मन्तर’ मा विकास गरिदिने बेतुक सपना छ । स्वतन्त्र नाममा देखिएको लर्कोमा केही अपवाद पक्कै छन् । ती अपवादको प्रभाव भने करिब शून्य छ ।
पूर्वी नेपालको एउटा सानो सहरमा सुरु यस्तै चुनावी दसैंमा सुनिएका केही सत्यकथाले नेपाली लोकतन्त्रको चरित्र बुझाउँछन् । अखबारका पृष्ठमा गम्भीर लेखकहरू कृष्ण खनाल र भास्कर गौतम, विष्णु सापकोटा र चन्द्र कशोरहरू ‘लुटपन्थ’ र ‘दोहन’ जस्ता तीता शब्द प्रयोग गरेर चुनावबारे किन लेखिरहेका छन्, बुझ्न सहज हुन्छ । हिजोका पञ्चहरू थप्पडी बजाउँदै लोकतन्त्रको खिसी किन गर्दै छन् ? आजै पनि पञ्चायती व्यवस्थाको वकालत गर्नेमध्येका केहीलाई कम्युनिस्ट भनिएका पार्टीहरू किन काँधमा बोकेर हिँड्दै छन् ? बरु पार्टी निर्माणमा काम गरेका सहयात्रीलाई किनारामा हुत्त्याएर रमिता किन रच्दै छन् ? यी प्रश्नबारे सोच्न पनि सत्यकथाले सघाउलान् ।
सत्यकथा एक
पात्र एकको पहुँच राम्रो थियो, विभिन्न राजनीतिक अवसरले उनी सधैं सुशोभित थिए । त्यसो त प्रचलित सौन्दर्य मापनमा उनको शारीरिक ढबढाँचा पनि सुन्दर ठहरिन्छ, तर उनी यस भेगमा बस्दैनथे, यतातिर खासै देखिँदैनथे । उहिल्यै काठमाडौं गए, उतै पढे र बढे, घरबार र थातबास उतै स्थापित गरे । राजनीतिक पहुँच सबल बनाए, पार्टीबाट लाभ लिए र छवि उजिल्याउने अवसरहरू प्राप्त गरे । केही समययता भने उनी यस भेगमा बेलाबेला झुल्किन र देखिन थाले ।
यस पटक उनी निर्वाचन लड्ने योजना बुन्न थालेका रहेछन् । सोही योजना मुताबिक आफूलाई उपयुक्त हुने एउटा सहरलाई केन्द्र बनाएर अनेक गतिविधि गरे । काठमाडौंको घर सल्टाए, यतैको सहरमा घर बनाए । यहाँका विकास–निर्माणका काममा आफ्नो सबलतम पहुँचको उपयोग गरे । कानुनका गल्छेडा र कर्मचारीतन्त्रका छिँडी छिचोलेका उनी यताका विभिन्न व्यक्ति र समूहका कानुनी र सरकारी उल्झन मिलाउन सक्रिय भए । पछिल्ला केही वर्षदेखि उनी तन्मयतापूर्वक आफूले निधो गरेको क्षेत्रको सुपरिचित ‘नेता’ बन्ने उपक्रममा लहसिए ।
पात्र एकले रहर गरेको क्षेत्रका केही अगुवा उनैको उम्मेदवारीको चाहना राख्दै पार्टीमालिककहाँ धाए । मालिकलाई मनाएर, उनलाई सांसद बनाउन मिहिनेत गरे । तर, मालिकका समीप उसै गरी वा सम्भवतः त्यसभन्दा अझै बढी मिहिनेत गर्नेहरू, भनसुन र चाकडी गर्नेहरू अरू पनि थिए । उनको रहर पूर्णतया पूरा नहुने भयो, अर्को पक्षले गरेको मिहिनेतका कारण उनको बाटामा ती तगारा बने । हुन सक्छ, मालिक उनीबाट पनि प्रभावित नै थिए । त्यसैले मालिकले भने, ‘तपाईंले रहर गरेको क्षेत्रमा फलानोलाई कबुलिसकें, अर्को क्षेत्रमा जानुस् ।’
त्यत्रो परिश्रम गरेर, करिअर जोखिममा राखेर, थातबास नै परिवर्तन गरेर जोहो गरेको क्षेत्रमा हठात् अर्कै मान्छे आउँदा उनी खुसी भएनन् । मालिकछेउ बिन्ती नबिसाएका होइनन्, अर्को क्षेत्र जाँदाका अप्ठ्यारा र चुनौती पनि नभनेका होइनन्, केही लागेन । एक पटक हाप्दा पाँच वर्ष हापिन्छ, फेरि उस्तै मिहिनेत दोहोर्याउनुपर्छ भन्ने सम्झेर उनलाई भाउन्न भो । मालिकको आदेश शिरोपर गर्दै उनी अर्कै क्षेत्रको चुनावी मैदानमा होमिए ।
यता जो स्वाभाविक दाबेदार थियो, ऊ रुष्ट भयो । उसका समर्थक झोंक्किए । उस्तै परे यी सबै मिलेर उनलाई हराउन लाग्ने भए । ती दाबेदारलाई नमिलाई, कसिलो नियन्त्रणमा नलिई, उनलाई जोखिम उठाउन हम्मे पर्यो । पहिले नै निर्वाचित सभासद् र सांसद भइसकेका दाबेदारलाई अब प्रदेश सांसदमा लैजानुपर्ने भयो । त्यसमाथि, मालिकसँग पहिले हलुका निहुँ खोजेर चिढ्याएका यी दाबेदारलाई समेट्न त्यति सहज थिएन । केके मन्त्रणा गरेर, दाबेदारलाई अन्ततः मनाए, ती प्रदेश सांसदका उम्मेदवार बने ।
पात्र एक यस बेला पहिले थाहा नपाएको भूगोल नाप्दै छन् । नचिनेका कार्यकर्ता चिन्ने उपक्रम गर्दै छन् । मालिकले पारिदिएको अप्ठ्यारो झेल्दैमा उनलाई फुर्सद छैन । बिस्तारै चिनजान सकेर, उनले विकासका सपना उराल्नेछन्, राष्ट्रवादको बिकाउ पुडिया वितरण गर्न थाल्नेछन् । नागरिकता विधेयकको हौवा पिटेर थप भ्रम फैलाउनेछन् । सके एमसीसीको पुरानो बोतल उघारेर राष्ट्रवादकै पारो तताउनेछन् । अनि उही पुरानै सुखसुविधाका, वस्तु र जिन्सी वितरणका, पैसा फुलाउने उपायका र पाँच वर्षमा हराभरा बनाउने सपनाका हवाई महलहरू बनाउनेछन् । यसै मेसोमा सबै जरुरी सवाल हराउनेछन् ।
सत्यकथा दुई
पात्र दुईको छवि असल छ । अहिलेसम्म लाभको पदमा नबसेकाले, कुनै अड्डाको हाकिम वा मन्त्रालयको कुर्सीमा नपुगेकाले उनले कुस्त पैसा कमाइसकेको अनुमान पनि कसैले गरिहाल्दैन । उनी लोकतन्त्रका लागि लडेका, राजनीतिमा लामो अवधि बिताएर खारिएका र अब केही राम्रो गर्ला भनेर आशा गर्न सकिने पात्रका रूपमा परिचित छन् । त्यसो त विपक्षीलाई गालीगलौज नगर्ने, बरु चुनाव हारेका बेला उदारताको सार्वजनिक प्रदर्शनमा रमाउने उनको बानीको पनि तारिफ नै हुने गरेको छ ।
पात्र एकलाई जस्तो, आफ्नो क्षेत्रमा अतिरिक्त सक्रियता देखाइरहनुपर्ने आवश्यकता उनलाई थिएन । चिनजान र परिचयको दुःख बेहोर्नुपर्ने थिति पनि उनको होइन । मालिक रिझाएरै मात्रै आफ्नो क्षेत्र दाबी गर्ने अवस्था पनि थिएन । थातबास सराइका उपक्रममा लाग्नुपर्ने बाध्यता उनका थिएनन् । तर, दुःखका अन्य रूप यिनका भागमा पनि छन् । सबैभन्दा ठूलो दुःख, आफ्नै वैचारिक सुल्झाइका आधारमा उनी पेचिला विषय खुलस्त बोल्न सक्दैनन् ।
जस्तो, पात्र दुईलाई थाहा छ, नागरिकता विधेयक जरुरी छ र नागरिकताबाट वञ्चित हजारौं मान्छेलाई तत्काल नागरिकता चाहिएको छ । नागरिकताको प्रमाणपत्र नहुँदा सास फेर्न पनि मुस्किल हुने देशमा नागरिकताबाट वञ्चित गरेर हजारौंलाई बेहाल बनाइएको तथ्यबाट उनी बेखबर छैनन् । तर नागरिकताबारे उनी खुलस्त बोल्न सक्दैनन् । ती वञ्चित नागरिक त्यसो त यसै क्षेत्रमा पनि होलान् । तिनको संख्या सानो भएकाले, आफूले बोल्दा राष्ट्रवादको भुलभुलैयामा फसेका बहुसंख्यक चिढिएर चुनाव हराइदिन्छन् भनेर डराउँछन् । विपक्षीले त्यही विषय उछालेर बरबाद बनाउँछन् भनेर भयभीत हुन्छन् । कसैले एमसीसी उछालेर बित्याँस पार्ला भन्ने पात्र दुईको अर्को डर छ ।
प्रचलित राष्ट्रवादको छली रनाहा चिर्ने, पञ्चायतले संवर्द्धन गरेका मूल्यको आधारहीनता देखाउने, आम मतदातालाई नागरिकता विधेयकको महत्ता बुझाउने एवं लोकतन्त्रका मूल्य सम्झाउने उपक्रममा उनी र उनको पार्टी सदैव गयल छन् । ‘जे बिक्छ, त्यही सही’ भन्ने नाफाखोरी विचारधारा राजनीतिमा हावी भइरहँदा गर्नैपर्ने बौद्धिक, सांगठनिक र राजनीतिक हस्तक्षेप नगर्दा आफ्नै बुद्धि र विवेकविरुद्ध मौन बस्नुपर्ने दुःखका भोक्ता बनेका हुन् पात्र दुई ।
त्यति मात्र कहाँ हो र, अहिले कमल थापा, रवीन्द्र मिश्र, र राजेन्द्र लिङ्देनका अनुयायीले लोकतान्त्रिक व्यवस्थाकै खिल्ली उडाउँदा पनि जवाफ दिन नसक्ने अवस्थामा छन् उनी ! राजावादीको भोट अर्कैले हुत्याएर आफ्नो पोल्टामा पार्ला भनेर उनी लोकतन्त्रविरोधी तालमेलको आलोचना पनि गर्न नसक्ने अवस्थामा छन् ।
सत्यकथा तीन
तेस्रो सत्यकथामा दुई पात्र छन्— पात्र तीन चुनावमा खटिएका एक कार्यकर्ता हुन्; पात्र चार भने चुनावमा रमाएर भोट हाल्ने अनि सधैं मुख मिठ्याएर राजनीतिक गफ गर्न मन पराउने मतदाता हुन् ।
पात्र तीन सबैभन्दा धेरै टिकटक हेर्छन्, समाचार सबै फेसबुकमा पढ्छन् अनि राजनीति बुझ्न युट्युबमा ‘फेमस विश्लेषक’ लाई सुन्छन् । उनले युट्युब सुनेर थाहा पाएको सबैभन्दा महत्त्वपूर्ण विषयबारे मलाई भने— नागरिकता विधेयक पास गर्यो भने केही वर्षमा यो देशको अस्तित्व नामेट हुनेछ, विदेशीले आएर यहाँ पूरै कब्जा जमाउनेछन् र हामी सबै बरबाद हुनेछौं । तथ्याङ्क तेर्स्याएर फरक तस्बिर देखाउन खोज्दा पनि उनी युट्युबबाट प्राप्त विश्लेषणमा ढुक्क र विश्वस्त देखिन्छन् । यो चुनावमा विपक्षीको विरोध गर्ने विषय नै नागरिकता विधेयकलाई बनाउन खटिने उनको दृढता छ । यसै सिलसिलामा सोधिएको एक प्रश्नमा उनको जवाफ थियो, ‘पत्रिकाको बीचमा छापिने सम्पादकीय र विचार पेज कहिल्यै पढेको छैन ।’
पात्र चार मतदाता हुन्, हरेक चुनावले उनको रौसमा वृद्धि गर्छ । उनी जाँगर चलाएर चिनारुसँग गफ गर्छन् । गफकै सिलसिलामा सोधिएको एउटा प्रश्नको जवाफ दिँदै उनले भने, ‘भोट हाल्ने भनेकै विकास गर्न त हो नि ! जसले मेरो जग्गा छोएर जाने दुईतिरको बाटो पिच गर्छु भन्छ, उसैलाई भोट दिने हो ।’ स्थानीय सरकारले गर्ने काम संघीय सांसदबाट खोज्दा नपाउन सकिन्छ भन्दा, उनले त्यस्तो होइन भनेर करिब दस मिनेट कुन सांसदले कुनकुन बाटा, कुन मन्दिर र बिजुलीको कुन ट्रान्समिटर जोडे भनेर कथा हाले ।
अन्त्यमा, लोकतन्त्र जीवन्त बन्न सूचनाको चुस्त प्रसार हुनुपर्छ, आम मान्छे दिन–प्रतिदिन बढीभन्दा बढी सचेत र आलोचनात्मक बन्दै जानुपर्छ । व्यवस्था सञ्चालनार्थ निर्माण गरिएका सरकारी, सार्वजनिक, गैरसरकारी संस्थाले स्वायत्त ढंगले आफ्ना जिम्मेवारी पूरा गर्नुपर्छ । मेयर र सांसदबीच फरक छुट्याउन सक्ने कार्यकर्ता र मतदाताको संख्यामा वृद्धि हुनुपर्छ । नेता आफ्नो वैचारिक अडान स्पष्ट बताउन सक्ने गरी आत्मविश्वासी हुनुपर्छ । पार्टी अध्यक्षलाई मालिक बनाएर, आदेश शिरोपर मात्रै गरिरहने सांसदले व्यवस्था सुदृढ बनाउन सक्दैन । आफ्नो वैचारिक ‘कन्भिक्सन’ कै बलमा चुनाव जित्ने आत्मविश्वास नभएको उम्मेदवारले लोकतन्त्र सबल तुल्याउन सक्दैन । सतहमा हेर्दा चिल्ला र राम्रा देखिए पनि, यस्ता उम्मेदवारको बाहुल्य भएको चुनाव रद्दी खेल मात्र हुन्छ ।
प्रकाशित : आश्विन २८, २०७९
स्रोत : https://ekantipur.com/opinion/2022/10/14/166571137396142830.html