चौथो अंग : मिडिया अनुसन्धान हामीलाई के चाहिएको छ, हैन दातृ निकायले के खोजेका छन् त्यसैमा बढि केन्द्रित भयो

- हर्षमान महर्जन | 2022-12-27

२०६२/०६३ को राजनीतिक परिवर्तनअघि र केही वर्षपछि नेपालको मिडियाबारे बढेको अनुसन्धानको बाढीले सङ्कट र अनिश्चितताको बेला धेरै नै अनुसन्धान हुने रहेछ भन्ने अनुभव गरायो। त्यो बेलामा नेपालको मिडियामाथि धेरै अनुसन्धान भए।

यसको कारण हाम्रो अवस्था र आवश्यकता मात्र थिएन। कारण सङ्कटको बेलामा दातृ निकायले धेरै खर्च गर्ने रहेछन्। दातृ निकायले बजेट बढाए। नेपालमा अनुसन्धानको संख्या बढ्यो। 

त्यही बेला नेपालमा प्रेस स्वतन्त्रताको काम गर्ने संस्था पनि बढे। तिनीहरूले नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाबारे वार्षिक प्रतिवेदनहरूसमेत निकाले। एफएम रेडियो सम्बन्धि पनि टन्नै अनुसन्धान भए। तर अहिले त्यो अवस्था छैन।

अहिले मिडियाबारे भएका र भइरहेका अधिकांश अनुसन्धान मिथ्या सूचना केन्द्रित छन्। यो विश्वव्यापी समस्या हो। नेपालमा पनि समस्या छ। तर, यो विषयको अनुसन्धान बढ्नुमा हाम्रो आवश्यकता भन्दा दातृ निकायको चासो मुख्य कारण हो। अलि तीतो लाग्न सक्छ। तर सत्य यही हो।

हाम्रो आवश्यकताका आधारमा अनुसन्धान नहुनुको कारण अनुसन्धानमा हामी आत्मनिर्भर हुन नसक्नु नै हो। अब आर्थिक स्रोतमा अरूमा निर्भर भएपछि अरूकै इच्छा अनुसारको विषयका अनुसन्धान बढ्नु स्वाभाविक पनि हो।

तर, नेपाली मिडियामाथि स्वतन्त्र अनुसन्धान नै नभएको पनि हैन है। भएका छन् अनि भइरहेका पनि छन्। तर पहिलेको तुलनामा कम छन् यस्ता अनुसन्धान। यहीबीचमा मिडियाबारे अनुसन्धान गर्ने पुराना केही संस्था बन्द पनि भए। कुनै सुषुप्त अवस्थामा चलिरहेका पनि छन्। केहीले आफ्नो अनुसन्धानको दायरा बढाएका छन्।

मेरो अनुसन्धान यात्रा
रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिताको विषय पढ्दै गर्दाताका सन् २००१ देखि म मार्टिन चौतारीमा आबद्ध भएँ। त्यति बेला चौतारीको अनुसन्धानको केन्द्रमा मिडिया थियो। मैले चौतारीमै काम गरेपछि मार्टिन चौतारी पुस्तक शृङ्खला १ अन्तर्गत नेपाली मिडियामा दलित तथा जनजाति भन्ने पुस्तक निस्केको थियो।

त्यसबेला यो संस्था अहिले फ्रिडम फोरमको कार्यालय भएको घर पछाडि थियो। त्यहाँ सानो पुस्तकालय पनि थियो। तर त्योभन्दा पनि धेरै ठूलो पुस्तकालय थियो चौतारीका तत्कालीन अध्यक्ष प्रत्यूष वन्तको घर ठमेलमा।

त्यहाँ समाज विज्ञान र नेपालबारे पुस्तक थिए नै। मलाई भने उनले सङ्ग्रह गरेका मिडियासम्बन्धी किताबले तान्थ्यो जुन सम्भवतः त्यस बेला नेपालमा कहीँ पनि पाइँदैन्थे। म ती किताब सापटी लिन्थेँ। मिडिया बुझ्न खोज्थेँ।

मार्टिन चौतारीको प्रकाशनमा छापिएको मेरो पहिलो लेख भने 'रेडियोसँगको सङ्गत' हो जुन २०६२ मा रेडियोसँग हुर्कंदामा छापियो।

यो अनुभवमा आधारित लेख छापिएपछि म चौतारीको मिडिया अनुसन्धान टिमको सदस्य भएँ। २०६३ ताका पहिला प्रत्यूष दाइले मलाई श्रमजीवी पत्रकार, सरकारी मिडिया, मिडियामा विदेशी लगानी र मिडिया एकाधिकारका बारेमा भएको बहसलाई ध्यान दिई लेख लेख्न सुझाव दिनुभयो।

त्यस बेलासम्म नेपालमा प्रचलित मिडिया नीति र मार्टिन चौतारीमा भएको मिडिया क्लिपिङको अध्ययन गरेर नै मैले 'नेपाली मिडियाका चार विवादास्पद विषयहरू' विषयको को ११ हजार ५ सय ४४ शब्दको मस्यौदा बुझाएँ। यो पढेपछि उहाँले मलाई चार विषयभन्दा पनि एउटै विषयमा ध्यान दिन सुझाव दिनुभयो।

त्यसपछि २०६३ जेठमा गठन गरिएको उच्चस्तरीय मिडिया सुझाव आयोगलाई केन्द्रमा राखेर लेख बनाउने सहमति भयो। त्यसै अनुसार 'सरकारी सञ्चारमाध्यमबारे उच्चस्तरीय मिडिया आयोग २०६३ : एक टिप्पणी' लेखे र छापियो पनि। 

२०२८ मा बनेको सञ्चार नीतिबारे स्नातकोत्तर तहको शोध तयार गरेँ। २०६८ मा प्रकाशित मिडिया अध्ययन ६ देखि म यसको एक जना सम्पादक पनि भएँ। त्यसपछि चौतारीकै सहकर्मीसँग मिलेर जर्नल सम्पादन गरेँ। रेडियो, म्यागेजिन, मिडिया तालिम र मिडिया समावेशिता किताब सम्पादन र लेखन गरेँ।

सन् २०१४ बाट भने इन्टरनेट सम्बन्धी अनुसन्धानमा रुचि भयो। त्यतै केन्द्रित भएँ। सन् २०१५ सेप्टेम्बरमा क्योटो विश्व विद्यालयमा विद्यावारिधि अवसर जुटेपछि अनुसन्धानको दायरा झन् फराकिलो भयो। त्यहाँको प्राज्ञिक माहौलले मलाई मिडिया र प्रविधिबारे सोच्न बढी उत्प्रेरित गर्‍यो। मैले नेपाली छापा उद्योगको डिजिटल सङ्क्रमणलाई अनुसन्धानको विषय बनाएँ।

मार्टिन चौतारीमै फर्केर अहिले म डिजिटल मिडिया सम्बन्धी अनुसन्धान गर्दैछु। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत रहेको पोलिगन कलेजको एकेडेमी-रिसर्च हेडका रूपमा विद्यार्थीलाई अनुसन्धान गर्न सहयोग गरिरहेको छु। मदन भण्डारी मेमोरियल कलेज, त्रिभुवन विश्वविद्यालयमा मिडिया थ्यौरी र मिडिया अनुसन्धानबारे अध्यापन गर्दैछु।

नेपालमा मिडिया अनुसन्धानको प्रवृत्ति
अहिले पनि नेपाली मिडिया अनुसन्धानको केन्द्रमा गैरसरकारी संस्थाहरू छन्। यसले हाम्रो आवश्यकता भन्दा पनि उनीहरूको रुचि अनुसारकै अनुसन्धान भइरहेका छन्। यो हाम्रो बाध्यता हो। यसको प्रभाव हिजो प्रेस स्वतन्त्रता केन्द्रित अनुसन्धानको बाढी थियो अहिले धेरै गैरसरकारी संस्थाले मिडिया सम्बन्धी नीतिमा केन्द्रित भएर अनुसन्धान गरिरहेका छन्।

एकै वर्ष, एकै नीतिमाथि विभिन्न संस्थाले अनुसन्धान गर्नु नराम्रो हैन। यसले एकै विषयमा फरक विचार र दृष्टिकोण आउन पनि सक्छ। तर के त्यस्तो भइरहेको छ त? मुख्य पक्ष यही हो। अधिकांशले एकै विषयमा अनुसन्धान गर्दा पनि सबैले एउटै कुरो त गरिरहेका छैनन्? गम्भीर हुनुपर्ने विषय यही हो।

योसँग जोडिने अर्को कुरा अहिले संसारभरि नै अनलाइन हिंसा र मिस इन्फर्मेशनबारे अनुसन्धान भइरहेको छ। यी दुवै महत्त्वपूर्ण विषय हुन् पनि। अनुसन्धान हुनु पनि पर्छ। तर सबै यी नै विषयमा केन्द्रित हुँदा ध्यान दिनुपर्ने अन्य पक्षको अनुसन्धान छुटेका त छैनन्? ओझेलमा परेका त  छैनन्?

यो प्रश्न दक्षिण एसियाली देशमा मात्रै हैन  अफ्रिका जस्ता देशका मिडिया अनुसन्धानमा चासो राख्ने विद्वानहरूले पनि उठाइरहेका छन्। प्रश्न उठ्नु भनेको कुनै समस्या भएरै त हो।

विश्वविद्यालयको चासो कम
अनुसन्धानको वातावरण बनाउने जिम्मा विश्व विद्यालयको हो। तर त्यहाँ अध्यापन गर्ने धेरैजसो फ्याकल्टी र संस्था हाँक्ने व्यक्तिले यतातिर चासो दिएका छन् र ? म त एकदम कम देख्छु। आफूले अनुसन्धान गर्ने र आफ्ना विद्यार्थीको अनुसन्धानलाई सहज बनाइदिने काममा चासो छ र? मेरो अनुभवले चासो कम देखाउँछ।

धेरैजसो विश्व विद्यालयबाट गरिने शोधमा नयाँ विषयमा अनुसन्धान गर्न प्रेरित नै गरिँदैन। जसले नयाँ मुद्दामा अनुसन्धान हुन सकेको छैन। पुरानै सोच र विधिको प्रयोगले नयाँ ज्ञान निर्माण गर्न ग्राहै हुन्छ। भएको यही हो।

विश्व विद्यालयभित्र अनुसन्धानको वातावरण बनाउने एउटा उपाय मिडिया सम्बन्धी कन्फरेन्स पनि हो। यस्तो मञ्चले विश्व विद्यालयभित्र भइरहेको अनुसन्धान अरू सामु प्रस्तुत गर्ने अवसर दिन्छ। ती अनुसन्धानमाथि अरूबाट प्राप्त हुने सुझाव र गरिने टिप्पणीले अझ अनुसन्धानलाई परिष्कार गर्न मद्दत गर्छ। अनि परिष्कृत सामग्री जर्नलमा छाप्न सकिन्छ।

एकाध विश्वविद्यालयले यस्तो कन्फरेन्स गरेका पनि छन्। तर नेपालमा केही विश्व विद्यालय र यस अन्तर्गतका क्याम्पसले मात्र मिडिया सम्बन्धी जर्नल निकाल्छन्। ती पनि नियमित छैनन्। विश्व विद्यालयले पनि दातृ निकायसँग सहयोग नलिएको भने हैन। लिएका छन् केहीले। 

अनुसन्धानको सम्भावना
मौसमी अनुसन्धान भन्दा आवश्यकता अनुसारको अनुसन्धानको वातावरण बढाउने हो भने विश्व विद्यालयमा सुषुप्त रहेको अनुसन्धानलाई बढाउनु प्रभावकारी उपाय हो। त्यसका लागि त्यहाँ अनुसन्धानको वातावरण बनाउन आवश्यक छ।

अब आफूले मात्र अनुसन्धान गर्ने हैन। विद्यार्थीलाई पनि अनुसन्धान गर्न प्रेरित गर्नुपर्‍यो। यो सकिन्छ पनि।  यसका लागि विद्यार्थीसँग मिलेर सह-लेखनमा लेख प्रकाशित गर्न सकिन्छ। यो विद्यार्थीका लागि व्यवहारिक ज्ञान पाउने अवसर पनि बन्छ। तर नेपालमा सह-लेखनको काम एकदम कम व्यक्तिले मात्र गरेको देख्छु।

अर्को विदेशी अनुसन्धातासँग सहकार्यमा अनुसन्धान गर्न सकिन्छ। अन्तर्देशीय अनुसन्धान गर्न सकिन्छ। एउटै विषयमा अनुसन्धान गरिरहेका विदेशी अनुसन्धातासँग मिलेर काम गर्दा नेपालको मिडिया अनुसन्धान अझ गुणस्तरीय हुन पनि सक्छ। हुँदै नभएको त हैन तर यसमा त्यति प्रभावकारी पहल भएको देख्दिन म।

नेपाली मिडियालाई अझ राम्रो बनाउने दायित्व विदेशमा रही नेपाली मिडियाबारे अनुसन्धान गर्न अनुसन्धानकर्ताको पनि हो नि। उनीहरूले काम गर्ने अनुसन्धान परियोजनामा नेपालभित्रका अनुसन्धातालाई संलग्न गराउन सक्छन्। यसबाट एकले अर्कासँग सिक्ने अवसर मिल्छ। एक जनासँग रहेको ज्ञान र अनुभव अर्कोलाई काम लाग्न सक्छ।  यसले अनुसन्धानको अरू सम्भावनाका ढोका खुल्न सक्छ। तर यस्तो एकाध मात्र काम भएका छन्।

अन्तर्राष्ट्रिय जर्नलमा नेपाली मिडिया केन्द्रित विशेषाङ्कको लागि पहल हुनै सकेको छैन। यसबाट नेपालभित्रका मिडिया अनुसन्धाताले आफ्नो अनुसन्धान अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन सकेका छैनन्। यो समस्याले अन्तर्राष्ट्रिय सहकार्यको ढोका खुल्न सकेको छैन।

विदेशमा भएका अनुसन्धाताले आफ्नो विश्व विद्यालयमा दक्षिण एसिया वा नेपालमा मिडिया अनुसन्धान गर्ने केन्द्र खोल्ने पहल गर्न सक्छन्। यसबाट नेपाली मिडिया सम्बन्धी चासो राख्ने समूहको दायरा बढ्छ। नेपालमा रहेका अनुसन्धाताको ज्ञान फराकिलो बन्दै जान्छ। अनुसन्धानको वातावरण बढ्दा अनुसन्धान गर्नेहरूको सङ्ख्या पनि बढ्छ।

विभिन्न संस्था एकै विषयको अनुसन्धानमा केन्द्रित हुनुभन्दा विविध विषयको अनुसन्धानमा केन्द्रित भए झन् राम्रो हुन्थ्यो। त्यसका लागि सधैँ अन्तर्राष्ट्रिय दाताकै मुख ताक्नु पर्छ भन्ने पनि छैन। नेपाली दाता वा स्रोतको खोजी  पनि गर्न सकिन्छ। यसले दाताकै रुचिमा केन्द्रित भएर अनुसन्धान गर्ने बाध्यता पनि हट्न सक्छ।

यसको राम्रो उदाहरण २०२७ मा प्रकाशित रामराज पौड्यालको 'पत्रकारिता' पुस्तक हो जसको प्रकाशक लुनकरणदास चौधरी र विनयकुमार अग्रवाल थिए। प्रकाशकको आधारमा यो पुस्तक छाप्न आर्थिक सहयोग भएको देखिन्छ। यसले चाहने हो भने अनुसन्धानमा स्थानीय स्रोत छ है भन्ने देखाउँछ।

विवरणले भरिने अनुसन्धान
नेपालमा अधिकांश अनुसन्धान इम्पेरिकल छ। सिद्धान्त कुरा कम हुन्छ अनि आफ्नो अनुसन्धानको विवरणले भरिएका हुन्छन्। यस्तो खालको अनुसन्धानको महत्त्व नभएको पनि हैन। तर यस्ता इम्पेरिकल अनुसन्धानमा सिद्धान्त अनि अमुक विषयमा अरूले गरेको अनुसन्धान र तर्क समेत जोड्न सक्यो भने राम्रो हुन सक्छ।

पत्रकारिता वा मिडिया अनुसन्धान प्रयोगात्मक विषय हो। यस विषयमा एमफिल र पिएचडीमा पढाइ भइरहेको अवस्थामा मिडिया अनुसन्धानको दायरा बढ्ने सम्भावना पनि छ। मिडियामा समाजशास्त्र, मानव शास्त्र, अर्थशास्त्र, राजनीति शास्त्र, मनोविज्ञान, इतिहास जस्ता विषयमा पारङ्गत व्यक्तिले चासो दिइरहेका छन्। यो राम्रो पक्ष हो।

अझ समाज र संसार डिजिटलभित्र बाँचिरहेको अवस्थामा धेरैभन्दा धेरै व्यक्तिको चासोको विषय मिडिया अनुसन्धान बन्दै जाने हो भने फरक दृष्टिकोण र विधिको मिश्रण हुनसक्छ। नयाँ ज्ञान निर्माणको बाटो खुल्न सक्छ।

(मार्टिन चौतारीका अध्येता महर्जनसँग उकेराको नियमित स्तम्भ चौथौ अंगका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

स्रोत : https://www.ukeraa.com/news/2022/12/27/27539


About the Author

हर्षमान महर्जन

Global Postdoctoral Scholar, Institute for Advanced Study in the Global South, Northwestern University in Qatar

More Blogs