जसरी पश्चिमा लेखकहरूले नेपाली समाज र इतिहासमाथि गरेका कामको अत्यधिक चर्चा गरिन्छ, त्यही तवरमा भारतीयहरूको योगदान कम सुन्न पाइन्छ ।
गौरव केसी, प्रणव खरेल
नेपाली इतिहास लेखनको अभ्यास वा परम्पराको प्रस्थानविन्दु केलाई मान्ने भन्ने प्रश्नको आफ्नै अन्योल र ऐतिहासिक जटिलता छ । इतिहासको व्यवस्थित लेखन एउटा पाटो हो, जसका प्रमुख स्रोत हुन्— शिलापत्र, ताम्रपत्र, पुष्पिका, पुरावैदिक भाष्य स्रोत र सामग्रीहरू, तिथि–पत्र, यात्रावृत्त, अभिलेख इत्यादि ।
यिनै स्रोतसामग्रीसम्म पहुँचका आधारमा इतिहास लेखनले मूर्त रूप पाउँछ । सामान्यतया, यिनै स्रोतमार्फत रेखीय कालक्रम वा घटनाक्रमका आधारमा इतिहास प्रस्ट्याउने गरिन्छ । तर समय यस्तो आयो, यी पुराविद्या र पुरासामग्रीको अध्ययन गर्ने सीप र अभिरुचि बहुसंख्यक शोधकर्तामा रहेन । यो क्रमभंगताका अनेक कारण हुन सक्लान्, तथापि अतीतलाई छिचोल्ने र ऐतिहासिक घटना र प्रसंग जान्ने अभिरुचि भने वर्तमान नेपाली मानसिकतामा निकै पाइन्छ । यसलाई जीवन्त बनाइदिन्छन् बेलाबेला प्रकाशित ऐतिहासिक लेखरचनाहरूले । तसर्थ, ऐतिहासिक प्रसंगहरू समेटिएका पुस्तक (चाहे त्यो शास्त्रीय वा लोकप्रिय नै किन नहोस्) प्रति धेरै पाठकको अभिरुचि पाइने गरेको छ ।
यसै सन्दर्भमा, इतिहासका अध्येता र अभिलाषीहरूलाई नेपाली इतिहासको एउटा कालक्रम, त्यससम्बन्धी विद्याभ्यास, मसीजीवीको प्रसंग र इतिहास लेखनका अनेक प्रयासका बहुग्राही सन्दर्भ बुझ्न सहज बनाइदिएको छ, मार्टिन चौतारीद्वारा हालै प्रकाशित महेशराज पन्तको ‘नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी’ ले । नेपाली इतिहासमा अभ्यस्त बहुभाषी र परिपक्व इतिहासकार महेशराज पन्तका ‘राजधानी’ दैनिकमा छापिएका केही गहन लेखहरूलाई परिमार्जनसहित समेटेर पुस्तक जस्तो व्यवस्थित स्वरूपमा आयो, यसले यसको प्राज्ञिक वजनलाई झनै बढाइदियो ।
पन्तको ‘ह्याबिटस’भारतीय मानवशास्त्री/समाजशास्त्रीहरूका संक्षिप्त जीवनी र तिनका कामहरूको योगदानलाई लिएर प्याट्रेसिया युब्रोय, नन्दिनी सुन्दर र सतीशदेश पाण्डेद्वारा सम्पादित एउटा महत्त्वपूर्ण पुस्तक छ— ‘एन्थ्रोपोलोजी इन द इस्ट : फाउन्डर्स अफ इन्डियन सोसिओलोजी एन्ड एन्थ्रोपोलोजी’, जसको एउटा अध्यायमा भारतमा ब्रिटिस शासनताका क्रियाशील एक प्रभावशाली मानवशास्त्री अनन्त कृष्ण अय्यरमाथि कल्पना रामको घतलाग्दो लेख छ । अय्यरमाथि सो लेख लेखिरहँदा मानवशास्त्री कल्पना रामले दुई असमञ्जसपूर्ण पद्धतीय कठिनाइ परेको उल्लेख गरेकी छन् । पहिलो, ब्रिटिस साम्राज्यमा संस्थागत भएको पुरातन मानवशास्त्रीय अभ्यासकी उनी तीखो आलोचक हुन् । दोस्रो, उनी अनन्त कृष्ण अय्यरकै पनातिनी हुन् जसको बौद्धिक जीवनवृत्तमाथि उनी कलम चलाउँदै छिन् । अन्ततः फ्रान्सेली समाजशास्त्री पियरे बोर्द्युको ‘ह्याबिटस’ अवधारणामा टेक्दै कल्पना रामले आफ्ना जिजुबाजेको योगदानमाथि सैद्धान्तिक विश्लेषण गरेकी छन् ।
बोर्द्युका भनाइमा, ह्याबिटस व्यक्तिको झुकाव र मान्यताहरूको त्यो सँगालो हो, जुन व्यक्तिगत रूपमा पाइन्छ र सामाजिक–सांस्कृतिक पुँजीका रूपमा तिनको पुस्तान्तरण हुँदै जान्छ । अर्थात्, सामाजिक, सांस्कृतिक र वर्गीय हुर्काइ र सामाजिकीकरणको परिवेशले व्यक्तिविशेषको चाहना, स्वभाव, स्वाद, झुकाव, विश्वदृष्टि र स्वपहिचान निर्धारण गर्छ ।
महेशराज पन्तको व्यक्तित्व, चिन्तन र लेखनीको प्रक्षेपपथ नियाल्दा पनि उक्त अवधारणा प्रासंगिक हुन्छ । पछिल्लो पुस्तकका धेरै लेखमा उनले आफ्ना पिता नयराज पन्तलाई प्रासंगिक बनाउंदै, नेपाली इतिहासमाथि उनको व्यक्तिगत र संस्थागत योगदानको तार्किक र बौद्धिक दृष्टान्त दिँदै आफ्ना पितालाई पुराविद्याको वैध आधिकारिक स्रोत मानेका छन् । धेरैलाई पुत्रले आफ्ना पिताको अत्यधिक बढाइचढाइ गरे भन्ने लाग्न सक्छ । यहाँनिर के बुझ्नुपर्छ भने, महेशराज नयराजका पुत्र मात्र होइनन्, शिष्य पनि हुन् । नयराज पन्तको एकल प्रयासमा नेपाली इतिहासको अध्ययन र खोजीका लागि संस्थागत भएको संशोधन मण्डलबाट धेरै वरिष्ठ इतिहासकारहरू उत्पादित भएका छन् । त्यही संस्थाका उपज हुन् महेशराज पन्त पनि जसले पिताको कर्मलाई निरन्तरता दिए । महाभारतमा गुरु द्रोणाचार्यले राजपरिवारसँग निकट रहेका विशिष्ट व्यक्तिहरूलाई मात्र शिक्षा दिन्थे जसभित्र उनका छोरा अश्वत्थामा पनि थिए, तर अश्वत्थामा उनका प्रिय शिष्य कहिल्यै बनेनन् । त्यसै गरी, महेशराज पनि नयराजका प्राथमिकतामा परेका शिष्य थिएनन् ।
महेशराज पन्तको ह्याबिटसमा पिताको ठूलो प्रभाव भने देखिन्छ, जुन उनको चिन्तन र लेखन शैलीमा स्पष्ट दर्सिन्छ । उनले एकातिर आफ्ना इमानदार पिताले झेलेका अनेक कठिनाइ र सकस नजिकबाट नियालेका थिएÙ अर्कातिर, चाकरी गर्न नजानेर वा नगरेर आफ्ना पिता अन्य लब्धप्रतिष्ठ व्यक्तित्वहरूका तुलनामा पछि परेको उनको बुझाइ थियो । यसबाट उनी निकै रुष्ट रहेको बुझिन्छ । त्यो कसरी भने, पिताको अन्तरसम्बन्धीय भोगाइ र तीप्रतिका आफ्ना स्मृति र अनुस्मरण लेख्ने क्रममा महेशराजले नेपाली समाजमा चर्चामा रहेका व्यक्तित्वहरू यदुनाथ खनाल, बालकृष्ण सम, योगी नरहरिनाथ, डिल्लीरमण रेग्मी, सूर्यविक्रम ज्ञवालीमाथि तीखो कटाक्ष गरेका छन् । साक्षात् अनुभूतिको आधार र तार्किक प्रमाणसहित उनले को कति दक्ष र निपुण थिए, मौकापरस्त थिए, शक्तिकेन्द्रका नजिक थिए, अत्यधिक चाप्लुसी र चाकरी गरी अघि बढे अनि तिनीहरू कसरी चर्चित बने र बनाइए भनी आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
उदाहरणार्थ, यदुनाथ खनालले शासकका कृपाले विभिन्न दर्जा पाएका थिए र विद्या उनका लागि साध्य थिएन, केवल साधन मात्र थियो । बालकृष्ण सम मौकापरस्त थिए । स्नातक तहको उत्तरपुस्तिकामा राणाहरूलाई अपमानित गरी लेखेको पोल जुद्ध शमशेरलाई लाउँदै समले लक्ष्मीनन्दन चालिसेलाई झ्यालखाना पुर्याएका थिए तर राणा शासन कमजोर भई ढल्ने–ढल्ने बेला उनी आफैं राणाविरोधी बन्न पुगे । योगी नरहरिनाथ खोजकर्ताभन्दा बढी राजनीतिक आकांक्षी थिए । संस्कृत पढेकाहरू शिक्षामन्त्री हुनुपर्छ भन्ने भावना उनमा थियो । समयक्रममा नरहरिनाथ र नयराजबीचको सम्बन्ध चिसिए पनि तर नयराज सिकिस्त भएर थला पर्दा पनि नरहरिनाथले कुनै एउटा पुरस्कार उनीबाहेक अरू कसैबाट ग्रहण नगर्ने अभिलाषा व्यक्त गरेर सम्मान प्रकट गरेका थिए ।
२००८ सालमा निस्किएको डिल्लीरमण रेग्मीको ‘एन्सिएन्ट एन्ड मेडिइभल नेपाल’ कुनै नौलो काम नभई ड्यानियल राइटको सन् १९३४ मा प्रकाशित ‘हिस्ट्री अफ नेपाल’ र बीसौं शताब्दीमा प्रकाशित अन्य कृतिहरूको अनुकरण थियो । अर्कातिर, राजा महेन्द्रको प्रतापले सूर्यविक्रम ज्ञवालीले अनेक अवसर र प्रतिष्ठा पाए, जुन उनको बौद्धिक क्षमताभन्दा पनि चाकरीको परिणाम थियो । ज्ञवालीमा रहेको ऐतिहासिक ज्ञानको कमी र त्रुटिलाई महेशराजले उक्त पुस्तकमा सचित्र उल्लेख गरेका छन् । यी लब्धप्रतिष्ठहरूलाई अहिलेका पुस्ताले जसरी सम्मानका साथ अध्ययन र ग्रहण गरेका छन्, त्यो हेर्दा महेशराज पन्तको ठाडो कटाक्ष धेरैलाई अपाच्य लाग्न सक्छ ।
नेपाली इतिहासको परिवेश‘नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी’ ले समेटेका पच्चीस वटा लेख, पुस्तकको शीर्षक, महेशराज पन्तको ह्याबिटस र संशोधन मण्डलसँगको उनको हुर्काइले एकअर्काबीच तादात्म्य राख्छन् । लेखहरूको प्रवाह र तिनले समेटेको विस्तृत सूचना हेर्दा उनी लामो समयदेखि यी विषयवस्तुहरूसँग सुपरिचित रहेको बुझिन्छ । भारतीय र विदेशी अन्वेषकहरूले नेपालप्रति देखाएको अभिरुचि, तिनका प्रयास, शोधको समीक्षाका साथै नेपाली इतिहासकार एवं मसीजीवीहरूमाथि गरिएका टीकाटिप्पणीले उनको मात्र नभई समस्त संशोधन मण्डलले लिएको धारलाई पनि प्रतिनिधित्व गर्छन् । उनका अधिकांश लेखमा अक्सर भेटिने ‘मसीजीवी’ शब्द पुस्तकको वाङ्मुखमा पनि प्रयोग भएको छ, जसको शाब्दिक अर्थ हो— मसी खर्चेर जीविका चलाउने व्यक्ति । यो नेपाली ‘बुद्धिजीवी’ हरूमाथि गरिएको व्यङ्ग्य हो । २०१९ सालमा प्रकाशित ‘इतिहास संशोधनको प्रमाण प्रमेय’ पुस्तकमा नयराज पन्तले ‘संशोधनको परम्परा चलाउने उद्योग गर्दा म एक्लिन गएको छु’ भन्ने भाव प्रकट गर्दै आफ्ना विद्वान् मित्रहरूलाई पेचिलो व्यङ्ग्य गर्न प्रयोग गरेको शब्द थियो— मसीजीवी ।
‘नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी’ मा संगृहीत लेखहरू उन्नाइसौं र बीसौं शताब्दीवरिपरि घुमेका छन् । जसरी पश्चिमा लेखकहरूले नेपाली समाज र इतिहासमाथि गरेका कामको अत्यधिक चर्चा गरिन्छ, त्यही तवरमा भारतीयहरूको योगदान कम सुन्न पाइन्छ, जसलाई उक्त पुस्तकमा चाहिँ दिइएको छ । यसमा नेपालमाथि लेखनीको आरम्भ भारतीय कवि, कूचीकार र इतिहासकार मौलारामबाट थालिएको छ, जसको गोर्खाली शासकहरूसँग निकट सम्बन्ध थियो । १९३० सालमा नेपाल आएका गुजराती पुरालेखवेत्ता भगवानलाल इन्द्रजीले नेपालका शिलालेखहरूको अध्ययन गर्दै लिच्छवि, मल्ल र शाह कालका तेइस शिलालेखको अन्वेषण गरी पुस्तक तयार पारेका थिए । त्यसै गरी, बंगाली इतिहासकार हरप्रसाद शास्त्रीले नेपालमा रहेका दुर्लभ पुस्तकहरूको सूचीपत्र बनाई यस भेगमा रहेका प्राचीन शास्त्रहरूको इतिहासमाथि महत्त्वपूर्ण योगदान गरेका थिए ।
नेपालीको सन्दर्भको सुरुआत चाहिँ पाटनको शाक्य कुलमा जन्मेका अमृतानन्द बाँडाबाट गरिएको छ, जसले त्यस समयमा एक्काइस पुस्तक (विशेष गरी बौद्ध धर्मग्रन्थमाथि) लेखिसकेका थिए । ब्रिटिस रेजिडेन्सीताका अमृतानन्दले ब्रायन हड्सनलाई सहायकका रूपमा सघाएका थिए । पाश्चात्य इतिहासकारहरूमा सेसिल बेन्डल, सिल्वी लेवी र पर्सिवल ल्यान्डनले नेपाली इतिहासमाथि गरेका खोज–अध्ययनको तौरतरिका र तिनका प्रकाशनहरूमाथि आलोचनात्मक समीक्षा छ । चाखलाग्दो कुरा, पन्तले सिल्वी लेवीलाई अन्य इतिहासकारका तुलनामा अब्बल देखाएका छन्, जबकि उनले अन्य पश्चिमालाई प्रशंसा गरेको विरलै पढ्न पाइन्छ ।
उक्त पुस्तकमार्फत महेशराज पन्तले नेपाली इतिहासमा अभिरुचि राख्ने जोकोहीलाई पनि सन्दर्भ बुझ्न सजिलो बनाइदिएका छन् । पुस्तकमा प्रयुक्त स्रोत र सन्दर्भसामग्रीहरूको मात्रै अध्ययन गरे पनि नेपाली इतिहासका धेरै विषयवस्तुमा एक किसिमको पकड बनाउन सकिन्छ । बौद्धिक जीवनी (इन्टेलेक्चुअल बायोग्राफी) वा व्यक्तिकेन्द्रित लेखनमा मनग्गे विशेषण नथुपारी समीक्षात्मक र आलोचनात्मक दृष्टि दिइनुपर्ने बाटो पनि देखाएको छ, पुस्तकले । तर, त्यस्तो आलोचना तथ्यपरक र तर्कसंगत हुनुपर्छ । अर्कातिर, ह्याबिटस चट्टान जस्तो साह्रो हुँदैन; यो रूपान्तरित हुन सक्छ । महेशराज पन्तले लामो युरोप बसाइमा पाएको प्राज्ञिक अनुभूति, अंग्रेजीमा पनि प्रकाशित उनका आलेख र पछिल्लो पुस्तक उनको जीवनको ह्याबिटसमा आएको रूपान्तरणका ज्वलन्त उदाहरण हुन् ।
विगतका प्रसंगहरू महेशराज पन्तको लेखनशैलीमा यसरी आइरहँदा, के सुस्ताउँदै गएको इतिहासको अध्ययन र अनुसन्धानप्रति युवा पुस्ताको अभिरुचि पुनर्जागृत हुन सक्ला ? हाम्रो जस्तो सामाजिक परिवेशमा नयराज पन्त, संशोधन मण्डल र महेशराज पन्तका जीवनको उतारचढाव हेर्दा लेखकद्वय आशावादी छैनन् । तर पनि केही यस्ता व्यक्ति छन्, जो अन्य कुरासँग सरोकार नराखी खुरुखुरु काम गरिरहेका छन् । तिनैमध्येका एक हुन् महेशराज पन्त पनि ।
प्रकाशित मिति : वैशाख २७, २०७८स्रोत : https://ekantipur.com/opinion/2021/05/10/162061248843398545.html?fbclid=IwAR0xtS-zUB4g8bfHKvQCHw_PbENZnMjk0Nec_TfRNxc32Tz3nHhMtXOUpiA