चौतारी पुस्तक शृङ्खला ३२
चाहे त्यो सरकारी होस् वा गैरसरकारी , सधैँ नागरिकको जीवनमा हस्तक्षेप गर्ने, प्रभावितहरूप्रति विल्कुलै कुनै औपचारिक उत्तरदायित्व वहन नगरी तिनीहरूको भौतिक र सांस्कृतिक जीवन रूपान्तरण गरेर त्यसलाई आकार दिने प्रयत्न वैदेशिक सहायताको रही आएको छ । कुनै निश्चित समयमा निश्चित विकासे कार्यक्रमको लक्षित समूह बनाइएका अधिकाङ्श गाउँले, बालबालिका, महिला अथवा सहरी गरीबहरूलाई कुन प्रक्रियाद्वारा अथवा किन उनीहरू सो कार्यक्रमबाट ' लाभान्वित' हुने वर्गको रूपमा छनोट भएका हुन् भन्ने जानकारी हुँदैन । यसरी रहस्यमय ढङ्गले चुनिएका ' लाभान्वित' वर्गलाई ' स्वावलम्बनका लागि सहायता' कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरिन्छ । यदि तिनीहरू स्वेच्छिक रूपले सहभागी भएनन् अथवा कार्यक्रमबारे कुनै गुनासो गरे भने तिनीहरूलाई अल्छी, लोभी, स्वार्थी, जिद्धी वा पटमूर्ख भएको आरोप लगाइन्छ । कार्यक्रमको अवधि पनि लाभान्वित हुने भनिएका वर्गले होइन दाताहरूले निर्णय गर्छन् । दुइ अथवा पाँच वर्षछि आयोजनामा सदस्यहरू जसरी देखा परेका थिए उस्तै अकस्मात र रहस्यमय ढङ्गले हराउँछन् । साथै सामान्यतः लक्षित समूहलाई कुनै महत्त्वपूर्ण समस्या अथवा कानुनी अवरोध भएमा समेत निवेदन गर्न तिनीहरू कहाँ छन्, के गर्दैछन् पत्तो लाग्दैन ।
यो पुस्तक यस्तो पद्धतिको सानो तर महत्त्वपूर्ण अपवाद हो । यो पुस्तकमा एक जना विदेशी सहायताकर्मी सादामाचुले नेपालमा बस्दा गरेका र सोचेका कुरा र पछि आफ्ना तिनै अनुभवहरूमाथि गरिएको दृष्टिपातको प्रतिबिम्ब समेट्नु भएको छ । ... यो पुस्तक संसारका कुनाकुनाका मानिसहरूसँग बढी समदर्शी र न्यायपरायण आपसी सिकाइ, सहकार्य र सहसम्बन्धका सम्भावनाहरू सँगै विस्तार गर्न नेपाली पाठकलाई सादामाचुको आग्रह र आमन्त्रण हो ।
तात्सुरो फुजिकुरा
एइइची सादामाचु जापानी रेडक्रस सोसाइटिमा केही वर्षकाम गरेपछि बेलायतमा प्रौढ शिक्षा र ग्रामीण विकास पढ्न जानुभयो । उहाँ नेपालमा पहिलो पटक सन् १९९४ मा शाप्ला नीर - जापानी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था) को आवासीय प्रतिनिधि भएर आउनुभयो । त्यसपछि हालसम्म उहाँ गैरसरकारी क्षेत्रमै सक्रिय हुनुहुन्छ । हाल सादामाचु सेभ द चिल्ड्रेन जापानको आवासीय प्रतिनिधि र अन्तर्राष्ट्रिय गैसस संघका सचिव पनि हुनुहुन्छ ।
विषयसूची