सञ्चारकर्मीका लागि उपयोगी
2021-10-08सन्त गाहा मगर
पत्रकारिता र आमसञ्चारसम्बन्धी पाठ्यसामग्रीलाई विशेष महत्त्व दिँदै आएको मार्टिन चौतारीको ५८ औँ प्रकाशन श्रृंखला हो, मिडिया अध्ययन ५ । २०६३ देखि बर्सेनि प्रकाशन हुँदै आएको मिडिया अध्ययनको पाँचौँ अंकमा लेख, टिप्पणी, संस्मरण, पुस्तक समीक्षा, सन्दर्भ सामग्री र मिडिया अनुसन्धान सम्मेलन २०१० मा प्रस्तुत अनुसन्धानपत्र गरी १८ रचना समावेश छन् । 'उद्धरण स्रोतको परिचय र प्रयोग', 'मिथिलाको पत्रकारितामा द्वन्द्वका कारणहरु', 'प्रकाशन गृहभित्रको कलह र मजदुर हक', 'ब्रोडशिट दैनिकमा व्यापारिक समाचारको अर्थ-राजनीति', 'नेपाली टेलिभिजनमा नागरिक पत्रकारिता' आदीमा लेखक/अनुसन्धानकर्ताहरुले मनग्ये मिहिनेत गरेको देखिन्छ ।
पत्रकारिता र आमसञ्चारका प्रध्यापक पी खरेलको उद्धरण स्रोत र यसकव प्रयोगसम्बन्धी लेख छापामाध्यममा कार्यरत सञ्चारकर्मीका लागि निकै उपयोगी हुनेछ । ११ वटा साप्ताहिक र ६ राष्ट्रिय दैनिकमा प्रयोग भएका उद्धरणसहितको उक्त विश्लेषणात्मक लेख गैर-पत्रकारिता क्षेत्रका पाठकलाई पनि रुचिकर हुने देखिन्छ । यो लेख पढ्दा हरेक विषयलाई अतिशय नकारात्मक रुपले हेर्ने प्रवत्तिबाट प्रा. खरेल पनि मुक्त हुन नसकेको अनुभव हुन्छ ।
सञ्चारगृहभित्रको कलह र त्यहाँ कार्यरत मजदुरको हक सम्बन्धी लेखमा कृष्ण अधिकारी खासगरी एनेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि विभिन्न सञ्चार गृहमा भएका वितण्डा र मजदुर हकमा केन्द्रित छन् । दुई ठूला सञ्चारगृहका घटनालाई केस स्टडी बनाइएको भनिएको यस लेखमा तथ्यलाई भने निकै तोडमोड गरिएको छ । जस्तो, ६ पुस २०६५ मा माओवादीबाट हिमाल खबरपत्रिकामाथि भएकव आक्रमणलाई 'एकाएक हातपात भएको' भनिएको छ । त्यस दिन आक्रमण गर्ने उद्देश्यले नै आफूहरु हिमालको कार्यालय गएको माओवादीसम्बद्ध मजदुर नेताहरुले स्वीकारिसकेको अवस्थामा अधिकारीले उनीहरुलाई वार्तामा बोलाएर हातपात भएको भनेका छन्, जसलाई लेखकीय धर्म भन्दा बाहिरको कुरा भन्न सकिन्छ ।
मिडिया अध्ययन ५ को २७६ पृष्ठमा तुलानारायण साहले जनकपुरकी पत्रकार उमा सिंहको हत्या हुनुमा पत्रकारिता कारक नरहेको ठोकुवा गरेका छन् । यति ठूलो विषयमा कुनै बेनामे प्रहरीको भनाइको आधारमा यस्तो निर्णय दिनु कति उचित हो ? बहसको विषय हुनसक्छ । पुस्तकमा रवीन्द्र मिश्रको 'सार्वजनिक हित, प्रयोग र पत्रकारिता' शीर्षक टिप्पणी खगेन्द्र सङ्ग्रौलाको 'स्तम्भ लेखनः एक वक्र यात्रा' संस्मरणमा विषयवस्तुको एक रुपता छ । ती दुवै (टिप्पणी र संस्मरण) मा लेखकहरुले जीवनमा अनुभूत गर्नुपरेको व्यावसायिक असन्तुष्टि र असहमतिलाई मन खोलेर पोखेका छन् ।
हिमाल, १६-२९ मंसिर २०६७, पूर्णाङ्क २७५, पृ. ५५