मिडिया समीक्षाको सत्प्रयास
2021-10-08जनकराज सापकोटा
सधैँ अरुको विषयमा समाचार र समीक्षामा व्यस्त नेपाली मिडियाको स्वभाव र प्रवृत्तिबारे भने कमै मात्र टिप्पणी हुने गरेको छ । यही कमीलाई पूर्ति गर्ने प्रयास गरेको छ, मार्टिन चौतारीले प्रकाशन गरेको पुस्तक मिडिया अध्ययन–५ ले ।
पुस्तकमा मिडियासम्बन्धी टिप्पणी, अनुसन्धानमुलक सामग्री, विद्यमान समस्या एवं तिनका प्रवृत्तिको विवेचना गरिएको छ । त्यति मात्र होइन, मिडियासँग जोडिएका केही अनुभव र अनुभूतिको पाटोलाई पनि पुस्तकमा समेटिएको छ ।
प्राध्यापक पी खरेल, सीके लाल र रवीन्द्र मिश्रको लेख÷ टिप्पणीले पुस्तकलाई खँदिलो बनाएको छ । खरेलले आफ्नो अनुसन्धानमुलक लेखमा नेपाली मिडियामा स्रोतको प्रयोगका विषयमा गहन अध्ययन गरेर गल्ती मात्रै औँल्याएका छन् । राजनीतिक विश्लेषक सीके लालले मिडिया र प्रेसबीचको फरक मात्रै छुट्याएका छैनन्, मिडियामा विद्यमान अति राष्ट्रवाद र त्यसले निम्त्याउने खताराको समेत ब्याख्या गरेका छन् । सञ्चारकर्मीलाई संवादकर्मी र नेपाली मिडियालई न्पालीय प्रेस बनाउनका निम्ति के के आवश्यक छ भन्ने कुरा पनि उनले उल्लेख गरेका छन् ।
लेखक रवीन्द्र मिश्रले भने नेपाली मिडिया व्यापारिक स्वार्थकेन्द्रको अड्डा बन्न थालेकामा चिन्ता व्यक्त गर्दै सामाजिक स्वार्थमा मिडियाको उपयोग हुनुपर्ने धारणा व्यक्त गरेका छन् । पुस्तकभित्र दीपकजंग हमालले नेपालका टेलिभिजनमा नागरिक पत्रकारिताको अभ्यासको अवस्थालाई केलाउने प्रयास गरेका छन् । तुलानारयण साहले भने मध्यमधेसमा विद्यमान सामाजिक द्वन्द्वका बहुआयाम र त्यसका कारण मिडियाकर्मीले खेप्नुपरेको सास्तीको वर्णन गरेका छन् । केही प्रतिनिधि घट्नाको सहारा लिएर साहले जटिल सामाजिक संरचनाबीचको अन्तर्य पनि केलाउने प्रयास गरेका छन् । त्यसैगरी, उपभोक्तामुखी संस्कारको प्रवद्र्धनमा नेपाली मिडियाहरु कसरी उपयोग भइरहेका छन् भन्ने सन्दर्भको व्याख्या गरेका छन् इन्दध्वज क्षेत्रीले आफ्नो अनुसन्धानमुलक लेखमा । क्षेत्रीले नेपालमा भित्रिएका बहुराष्ट्रिय कम्पनीहरू र विज्ञापन स्वार्थका निम्ति राष्ट्रिय दैनिकहरुले तिनीहरुको समाचारलाई कसरी अनावश्यक प्राथमिकतामा राखिरहेका छन् भन्ने अध्ययन गरेका छन् । स्तम्भ लेखनका विविध अनुभूतिहरु समेटिएको खगेन्द्र संग्रौलाको संस्मरणले स्तम्भकारहरुले झेल्नुपर्ने समस्याहरुको उजागर गरेको छ ।
मिडियासँग सम्बन्धित विविध सामाग्रीले पुस्तकलाई गहन बनाएको छ । पुस्तकले नेपाली मिडियाका विविध प्रवृत्ति, सिद्धान्त र व्यवहारबीच बढ्दै गएको दूरी र यसका विविध आयामको व्याख्या गर्ने प्रयास गरेको छ ।
नेपाल १०(५०)ः ५५ २ साउन २०६७