पत्रकारिताको बहस
2021-10-11लेखनाथ पाण्डे
पत्रकारिता क्षेत्रका समकालीन अगुवाहरुको अन्तर्वार्ता सँगालो 'मिडिया संवाद' हालै बजारमा आएको छ । शेखर पराजुलीद्वारा सम्पादित यस पुस्तकले पत्रकारिता क्षेत्रका वजर्तमान सम्भाव्यता, चुनौती र विसंगत पक्ष केलाउने प्रयत्न गरेको छ । पुस्तक मार्टिन चौतारीले प्रकाशित गरेको हो ।
पत्रकारिताका सक्रिय सम्पादक, व्यवस्थापक र प्रशिक्षकका अन्तर्वार्ताबाट नेपाली मिडियाका सम्भावना, चुनौती र विसंगत पक्ष स्पष्ट हुन्छ । समकालीन सम्पादकका बुझाइ/भोगाइबाट विशेषगरी पत्रकारिताका विद्यार्थी र रुचि राख्नेले यथेष्ट सिक्न सक्नेछन् ।
'मैले केही स्तम्भकारमा जमिनदारी मान्यता पाएको छु', समय साप्ताहिकका सम्पादक युवराज घिमिरे भन्छन्, 'जो यो सोच्छन् कि उनीहरुको स्तम्भ र विचार जस्तोसुकै स्तर र अवस्थामा पनि निश्चित स्थानमा छापिनैपर्छ र त्यसमा सम्पादकीय सावसमेतको स्थान हुँदैन ।' कान्तिपुरका सम्पादक नारायण वाग्ले थप्छन्, 'औसत स्तम्भकार र लेखक निश्चित आग्रह, सीमा र सूचनाबाट डोरिन्छन् । रुचिपूर्ण, तर्कशील, कल्पनाशी र अध्ययन-अनुसन्धानकारी लेखक-स्तम्भकारको निकै अभाव छ ।' यसरी एउटै विषयमा सम्पादकका भिन्न धारणा पस्किन पुस्तक सफल छ ।
मिडिया संवादले पत्रकारिता सम्बन्धमा राष्ट्र/अन्तर्राष्ट्रमा जारी लगानीकर्ताका हस्तक्षेप, आमजनताका मुद्दा ओझेलमा, प्रजातान्त्रिक समाजका लागि मिडियाले सामना गर्नुपरेका कठिनाइ लगायत मुद्दालाई बहसमा ल्याएको छ । अर्को शब्दमा, पुस्तक पत्रकारितासम्बन्धी विचार गोष्ठी/बहसमा रुपान्तरण भएको छ ।
धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्स सम्पादक किशोरकुमार कार्कीले आफ्नो पत्रिकामा प्रकाशित हुने गरेका बन्द/हड्ताल आह्वान जस्ता विज्ञापनको बचाउ गर्दै भनेका छन्, 'पत्रकार आचासंहितामा विज्ञापनलाई समाचार बनाउनु हुँदैन भनिएको छ, तर समाचारलाई विज्ञापन बनाउन हुँदैन भनिएको छैन ।' प्रेस काउन्सिल अध्यक्ष राजेन्द्र दाहालले 'समाजप्रति नकारात्मक प्रभाव पार्ने आग्रहसहितको विज्ञापन गर्न नमिल्ने' भनेका छन् ।
लिखित अन्तर्वार्ता भएकाले 'क्रस कोइसन' गर्न नसक्नु सम्पादकको कमजोरी होइन । अस्पष्ट भएका ठाउँमा पुनः प्रश्नोत्तरका प्रयास पनि भएका छन् । खड्किएको चाहिँ के भने अन्तर्वार्ता लिइएका सबैजसोलाई ठूलो निजी सञ्चारगृहमा लगानीकर्ताबाट कति हस्तक्षेप हुन्छ भन्ने प्रश्न छ । सम्पादकमध्ये केहीले हस्तक्षेप हुने गरेको अनुभव सुनाएका छन् भने कसैले अनुभव नभएको । तर पुँजी लगानी गर्ने पक्षाका अन्तर्वार्ता नसमेटिएकाले पुस्तक यो मुद्दामा भने अपूरो देखिन्छ ।
०४७ देखि पत्रकारिता क्षेत्र राजनीतिक रुपमा खुकुलो बने पनि माओवादी विद्रोह र ०६१ माघ १९ पछिका करिब डेढ वर्षका चुनौती र भोगाइ केलाइएको छ । घिमिरेले माघ १९ पछि देखिएका प्रेसको चरित्र चारथरी पाएका छन्, शाही कदम समर्थक, तटस्थ, सांकेतिक विरोध गर्ने र सम्पादकीय स्वतन्त्रताको अडान लिने प्रेस । समय साप्ताहिकले ऊबेला शाही कदमविरुद्ध खेलेको आलोचनात्मक अडानका कारण आधी दर्जन उच्चपदस्थ सैन्य अधिकृतले प्रशंसा गरेको उनले पहिलोपटक सार्वजनिक गरेका छन् । पुस्तकबाट पछिल्ला वर्षका यस्ता धेरै नयाँ कुरा बाहिर ल्याएको छ ।
छापा प्रसारण, क्षेत्रीय मिडिया, पत्रकारिता प्रशिक्षक र पत्रकारका स्वतन्त्र संस्थासम्बद्ध १५ जनाका अन्तर्वार्ता समेटिएका छन् । उनीहरुका धारणाबाट पत्रकारिता र तिनको भूमिकालाई फरक-फरक कोणबाट बुझ्न सकिन्छ । 'नेपाली जनताका तर्फबाट आवाज उठाउने र जनतालाई शसक्तीकरण गर्ने वास्तविक सञ्चारमाध्यम भनेका स्वतन्त्र रेडियोहरु नै हुन्', सामुदायिक रेडियो सहयोग केन्द्रका संयोजक रघु मैनाली भन्छन् । उनको यो धारणा 'प्रो-रेडियो बायस' देखिए पनि 'राज्यसञ्चालनमा छापा र टेलिभिजन माध्यमको पहुँच जनताको ठूलो हिस्सामा पुग्न नसकेको' टिप्पणी यथार्थ हो ।
कान्तिपुर, २१ पुस २०६४, पृ. ७