नेपाली मिडियामा खोज र बहस
2021-10-11विष्णुकान्त घिमिरे
नेपालमा मिडियाको संख्यात्मक र गुणात्मक वृद्धि पछिल्लो समयमा ह्वात्तै बढेको छ । यस क्रममा मिडियासम्बन्धी अनुसन्धान तथा विश्लेषणमूलक प्रकाशनमा मार्टिन चौतारी अग्रणी रहेको छ । पछिल्लो पटक मार्टिन चौतारीले शेखर पराजुलीको 'मिडिया संवादः नेपाली पत्रकारिताबारेको अन्तर्वार्ता' बजारमा ल्याएको छ । यस पुस्तकमा छापा माध्यम, प्रसारण माध्यम, क्षेत्रीय मिडिया, पत्रकारिता प्रशिक्षण र पत्रकारका संस्था गरी ५ विधाका १५ जनासँग लिइएको अन्तर्वार्ता समावेश गरिएको छ ।
छापा माध्यमअन्तर्गत युवराज घिमिरेसँग दरबार हत्याकाण्डमा खोजमूलक तथ्य सार्वजनिक नहुनु मिडियामा कर्पोरेट जगतको पकडलगायत विषयमा अन्तर्वार्ता लिइएको छ । नारायण वाग्लेसँग सम्पादकका चुनौती, मिडिया हाउसमा मजदुर हड्ताल विषयमा अन्तर्वार्ता केन्द्रित छ । कनकमणि दीक्षितसँग हिमालको दैनिक र साप्ताहिक प्रकाशनको भविष्य र प्रेस स्वतन्त्रताका विषयमा अन्तर्वार्ता घुमेको छ । बबिता बस्नेतसँग साप्ताहिक पत्रिकामा दलीय राजनीति र संचारिका समूहलगायतका विषयमा अन्तर्वार्ता केन्द्रित छ । ओम शर्माले अन्तर्वार्तामा युद्ध पत्रकारिता, भूमिगत पत्रकारितालगायतका विषयमा अनुभव साटेका छन् ।
प्रसारण माध्यमअन्तर्गत रघु मैनालीसँग एफएम रेडियो स्वामित्व मोडेल, सगरमाथा एफएमको इजाजत प्रक्रियालगायत विषयमा कुराकानी गरिएको छ । गोपाल गुरागाईंसँग रेडियोका दूरगामी प्रभावलगायत विषयमा अन्तर्वार्ता केन्द्रित छ । आरती चटौतसँग नेपाल टेलिभिजनमा संघर्ष, जागृति कार्यक्रमका साथै महिलाको छापाभन्दा प्रसारण माध्यममा नै उपस्थिति आदिको विषयमा अन्तर्वार्ता केन्द्रित छ ।
क्षेत्रीय मिडियाका सेरोफेरोमा रहेर किशोरकुमार कार्की र चन्द्रकिशोरका अन्तर्वार्ता पराजुलीले समेटेका छन् । पत्रकारिता शिक्षण/प्रशिक्षण विषयमा रामकृष्ण रेग्मी र पी खरेलसँग अन्तर्वार्ता लिइएको छ भने पत्रकार संस्था, विधाभित्र रही विभिन्न विषयमा नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी र राजेन्द्र दाहालसँग अन्तर्वार्ता लिइएको छ ।
अन्तर्वार्ताकार शेखर पराजुलीका मिडियासम्बन्धी विभिन्न विश्लेषणात्मक लेख प्रकाशित छन् । उनी मार्टिन चौतारीका अनुसन्धानकर्ता छन् । नेपाली मिडियासम्बन्धी बहस अपेक्षाकृत नभएको अवस्थामा गुणात्मक सुधारका लागि बहसको अनिवार्यता छ भन्ने मान्यता युवा पुस्ताको रहेको लेखकको दाबी छ ।
पुस्तकमा समेटिएका सबै अन्तर्वार्ता लिखित हुन् । बहस खँदिलो र गहन बनोस्, जवाफ राम्रोसँग सोचविचार गरी समेत दिन सकियोस् भनेर लिखित अन्तर्वार्ता शैली अपनाइएको लेखकको दाबी छ । लिखित अन्तर्वार्ता भए पनि बोध प्रश्न र अस्पष्ट विषयमा पुनः प्रश्न गरेर अन्तर्वार्ता लिइएको पराजुलीले पुस्तकमा जनाएका छन् । महत्त्वपूर्ण हुँदाहुँदै पनि कार्टुन, स्तम्भ लेखन, अनलाइन पत्रकारितामा लगानी जस्ता विषयमा पहिलो प्रयास भएकाले समेट्न नसकेको पराजुलीको स्वीकारोक्ति छ । यति हुँदाहुँदै पनि मिडियाको महत्त्वपूर्ण माध्यम फिल्मका बारेमा लेखक मौन छन् । पुस्तकको पाण्डुलिपि सम्पादन शरच्चन्द्र वस्तीले गरेका छन् ।
मिडियाले अरुका बारेमा धेरै खोतल्छ तर मिडिया आफ्नै विषयमा खोतल्ने र बहस गर्ने काम कम गर्छ । यस परिप्रेक्ष्यमा लेखकले दाबी गरेझैँ मिडियाका विद्यार्थी, पत्रकार, अनुसन्धानकर्मी, जिज्ञासु सबैलाई यो पुस्तक उपयोगी देखिन्छ । ८+२१८+२ पृष्ठमा समेटिएको पुस्तकको मूल्य रु. १५० धेरै भने होइन ।
हिमालय टाइम्स, ७ पुस २०६४, पृ. ४