मिडिया मन्थन

2021-10-11

सधैं अरुका अन्तर्वार्ता लिई हिँड्ने पत्रकारहरुकै अन्तर्वार्ता लिएर मार्टिन चौतारीले एउटा किताब निकालेको छ, मिडिया सम्वाद । समसामयिक नेपाली पत्रकारिताको स्थिति बुझ्ने प्रयासले शेखर पराजुलीले उम्दा १५ जना पत्रकारहरुसँग गरेका अन्तर्वार्ता किताबमा समावेश गरिएका छन् । छापा र प्रसारण माध्यमका प्रतिनिधि अगुवा पत्रकारहरु युवराज घिमिरे, नारायण वाग्ले, कनकमणि दीक्षितदेखि रघु मैनाली, गोपाल गुरागाईंसँगका अन्तर्वार्तासँगै राजनीतिक लक्ष्यलाई साथ दिने पत्रकारिता गर्दै आएकी बबिता बस्नेतदेखि टेलिभिजन पत्रकारितामा जमेकी आरती चटौत हुँदै फोटो पत्रकार विकास रौनियार र युद्ध पत्रकारिताको अनुभव सँगालेका ओम शर्मासँगका संवादले पत्रकारिताको विभिन्न र विधासँगसँगै विभिन्न सिद्धान्तका पत्रकारिताबारे जान्ने बुझ्ने अवसर दिएको छ ।

केन्द्रीय पत्रकारिताका विभिन्न आयाम खोतल्दै पुस्तकले राजधानीबाहिर मौलाएको पत्रकारिताका क्रियाशील पत्रकारहरु धरानका किशोरकुमार कार्की र चन्द्रकिशोरसँगका संवादहरुमार्फत त्यहाँको अवस्थिति पनि सार्वजनिक गरेको छ । ५ थरि शीर्षकभित्र अटाएका १५ वटा अन्तर्वार्तामार्फत पत्रकारिता शिक्षणबारे रामकृष्ण रेग्मी र पी खरेल अनि ‌पत्रकारका संस्थाबारे नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी र प्रेस काउन्सिलका अध्यक्ष राजेन्द्र दाहालका विचार समेटिएका छन् ।

राजधानी र सामाजिक मुद्दाहरुमा बहस चलाउने मिडियाहरुकै बारेमा खड्किएको बहसको खाँचो पुस्तकले पूरा गरेको छ । अरुका मुद्दा उठाउने श्रमजीवी पत्रकारहरुका मुद्दादेखि विभिन्न राजनीतिक घटनाक्रममा प्रेसले खेलेको भूमिकामाथि सम्पादकहरुसँग सवाल गरेर जवाफ मागेको छ, पुस्तले । राजदरबार घटनाको वास्तविकता पत्ता लगाउने प्रेसले यथेष्ठ प्रयास नगेरेको कुरा देखि मिडियामा गुण दोषलाई केलाउने यथेष्ट प्रयास अन्तर्वार्ताकार शेखर पराजुलीले गरेका छन् ।  शाही शासनकालमा मिडियाले गरेको सामनाका थुप्रै प्रसंगहरु सम्पादकहरुले सुनाएका छन् । छोटो व्यावसायिक अनुभव बटुलेको नेपाली मिडियाले जान-अन्जानमा गरेका प्रयोगमाथि उठाइएका प्रश्नमा सम्पादकहरुले चित्तबझ्दो जवाफ दिन नसक्दा पुस्तकले मिडिया मन्थनको अझै गहिरो खाँचो रहेको देखाइदिएको छ ।

नेपाली मिडियामाथि आम पाठक र बुद्धिजीवीले अनौपचारिक तवरमा मात्रै उठाउँदै आएका प्रश्नलाई औपचारिक ढंगले नै बहसमा ल्याउन प्रेसमाथि मार्टिन चौतारीको गुन ने मान्नुपर्छ । अन्तर्वार्ताका लागि छनोट गरिएका व्यक्तिहरुले सामान्यता नेपाली मिडियाको सबैजसो विधा र क्षेत्रको प्रतिनिधित्व गरेका छन् अन्तर्वार्ताकारले छनोटमा गरेको सन्तुलनले जिज्ञासु पाठकहरुलाई पाइदा पुग्नेछ । खोजीनीति गरेर तयार पारिएका ओजिला प्रश्नहरुले किताबको ओजन बढाएका छन् । मिडियामा सम्पादकीय अधिकारको कुरादेखि यसको स्वामित्व अनि एकै साहुका थरिथरि माध्यमका सञ्चारसाधनमाथि पनि केलाउने अमर्को गरेको पुस्तकले व्यावसायिक फड्को मारेको प्रेसकै सीमारेखाहरुमाथि पनि प्रश्न तेस्याउँदै पत्रकारितामाथि आमरुपमा रहेका जनजिज्ञासा मेटाउनुका साथै बहसका लागि एउटा तरंग पैदा गरिदिएको छ ।

समय, २६ पुस २०६४, पृ. ५१


About the Author

More Blogs