क्षेत्रीय पत्रकारिताको चित्रण
2021-10-18समाचारलाई निर्धारण गर्ने तत्वमध्येको निकटताले स्थानीय पत्रकारिता (छापा, रेडियो र टेलिभिजन समेत) को क्षेत्रमा अपेक्षित विकास भएको छ । नेपालमा । झापा, सुनसरी, मोरङ, पर्सा, चितवन, रुपन्देही, दाङ्ग, बाँके, कैलाली, कञ्चनपुर र कास्की जस्ता सुगम जिल्ला मात्रै हैन, अहिले केही अति दुर्गम हिमाली जिल्लालाई छोडेर पाँचथरदेखि अछाम, दार्चुलासम्म स्थानीय पत्रिका निस्कन थालेका छन् । व्यक्तिगत, सामूहिक र सामुदायिक लगानीमा एफ.एम. रेडियो स्टेशनहरु खुल्न थालेका छन् । स्थानीय सरोकारका विषयमा केन्द्रित कार्यक्रम उत्पादन गरेर स्थानीय पत्रकारहरुले स्थानीय केबुल टि.भि. बाट कार्यक्रम प्रसारण गर्न थालेका छन् । साँच्चै एक हिसाबले भन्ने हो भने पत्रकारितामा लाग्ने अग्रजहरु अहिले सन्तुष्ट हुनुपर्ने अवस्था छ । प्रजातन्त्रको खुला वातावरणपछि यस क्षेत्रमा केही प्रशिक्षित जनशक्ति जुन आएको छ । त्यसले पत्रकारिताको व्यवसायिक मर्यादाको स्तर खस्काउन हैन, उठाउन नै सघाएको छ ।
तर ठीक यही बेला, जहाँ पत्रकारिताको फाँटमा हजारौँ फूलहरू कोपिला लाग्दै गरेका छन्, त्यही समयमा पत्रकारिता क्षेत्रमा टाइकूनहरूको प्रवेश भएको छ । र, तिनले फुल्न लागेका कोपिला सुकाउने स्थिति जन्मेको छ । ठूलो लगानी, उच्चस्तरको प्रविधि (मल्टीकलर), सक्षम र दक्ष व्यवस्थापन, उचित र यथेष्ट पारिश्रमिक सहित अन्य प्रोत्साहन जस्ता सुविधा दिएकोेले स्थानीय पत्रकारितालाई प्रतिकूल असर पारिदिएको छ । दक्ष जनशक्ति उतै तानिएको छ, पाठक उतै आकर्षित भएका छन्, सानातिना फुटकर विज्ञापन दाताहरूको समेत रुचि फेरिएको छ । साँच्चै पचास वर्षको संघर्षको इतिहास बोकेको स्थानीय पत्रकारिता अहिले कठिन परिस्थितिबाट गुज्रदैछ । प्रत्यूष वन्तद्वारा सम्पादित 'क्षेत्रीय मिडिया विगत र वर्तमान' नामक पुस्तक पढेपछि त्यही निष्कर्षमा पुग्न करै लाग्छ ।
झापा, मोरङ्ग, सुनसरी (खासगरी धरान), पर्सा (वीरगञ्ज), मकवानपुर, चितवन, रुपन्देही (विशेषत: बुटवल), दाङ्ग, पोखरा नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा स्थलगत भ्रमण गरी, सम्बन्धित क्षेत्रका पत्रकारितासँग सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष साक्षात्कर गरी तयार पारिएको यो कृतिले क्षेत्रीय पत्रकारिताको इतिहास मात्र अभिलिखित गरेको छैन वर्तमानको समस्या र सम्भावना औँल्याएको छ । जुन सिंगो पत्रकारिता क्षेत्रले भोग्दै आएको पनि छ । शिक्षित र प्रशिक्षित मानिसहरू मात्रै यो पेशामा समर्पित हुने हो भने नेपालमा पत्रकारिताको स्तर सम्भवत: धेरै गुना माथि पुग्ने थियो । तर, सही सूचना, शिक्षा र स्वस्थ्य मनोरञ्जन दिने यो पवित्र व्यवसायलाई सत्ता स्वार्थ, व्यक्तिगत ईष्या साध्ने माध्यम बनाइदा यस क्षेत्रमा अपत्रकारहरूको हालीमुहाली बढेको छ । त्यसले गर्दा गाली-गलौज केन्द्रित पीत पत्रकारिता फैलन, रुपैयाँका आधारमा समाचार लेख्ने 'चेकबुक पत्रकारिता' स्थापित गर्न, रुपैयाँका आधारमा समाचार हत्या गर्ने प्रवृति बढ्न सघाइरहेको छ । विराटनगरलाई अझै पनि नेपालको औद्योगिक राजधानी भनिन्छ । त्यस्तै वीरगञ्जलाई वाणिज्यको ढोका । उद्योगपति र व्यापारीहरूले स्थानीय र राष्ट्रिय अखबारलाई विज्ञापन कै माध्यमबाट सहयोग गर्न हो भने न स्थानीय पत्रपत्रिकाको अकाल अवसान हुने गर्दथ्यो न राष्ट्रिय पत्रपत्रिकाले नै विज्ञापनको अभाव झेल्नुपर्दथ्यो । दुवैथरि दिगो रुपमा चल्न सक्दथे । तर अपत्रकारहरूले पत्रकारको बिल्ला भिरेकोले हो वा उद्यमी/व्यवसायीहरुमा नै निरन्तर संस्थागत सहयोग दिलाउन भन्दा अनुत्पादक कर्मचारीको रुपमा तलब दिन सजिलो मानेकोले हो उनीहरू पत्रिकालाई हैन, पत्रकारलाई सघाउन सजिलो माग्दा रहेछन् । पूर्वाञ्चलमा मिडिया शीर्षकमा लेखिएको छ 'पत्रकारहरूमा राजनीतिक पुर्वाग्रह र आर्थिक साँठगाँठका अभ्यासहरू व्याप्त छन् । अनि लगभग ५० वर्षको पत्रकारिताको इतिहासमा विराटनगरले विश्वसनीयता कमाएको भन्दा गुमाएको बढी छ । शायद यहीकारण नेपालको औद्योगिक सहर भएर पनि उद्योगपतिहरू पत्रकारितामा लगानी गर्न इच्छुक नभएका हुन सक्छन् ।' त्यस्तै रामरिझन यादवको यो अंशले पनि नेपाली पत्रकारिता क्षेत्रको विकृतिलाई उजागर गर्न धेरै सघाउँछ । केही पत्रकारहरूलाई तलब खुवाएर पाल्दैमा व्यापारीहरूले पत्रकारिता पेशाप्रति अपनाउनुपर्ने दायित्व निर्वाह गरेको सम्झन्छन् । यदाकदा कुनै पत्रकार विज्ञापन लिन पुगी हाल्यो भने विज्ञापन दिनुभन्दा केही रकम हातमा थमाइदिन्छन् । तर विज्ञापन छाप्न आदेश दिदैनन् । यो भन्दा दुर्भाग्य विराटनगरका लागि अर्को के हुनसक्छ ? विराटनगरमा यत्रो संख्यामा रहेको उद्योगपतिहरुले सरकारद्वारा निर्धारण गरिएका पत्रिकाहरुको श्रेणी अनुसार वर्षमा २० हजार रकमसम्मको विज्ञापन दिएको भए विराटनगरमा चिरफार साप्ताहिक जस्तै करिब १ दर्जन पत्रिका प्रकाशन हुन्थे तर अफशोच त आज त्यो रकमको दरुपयोंग भैरहेको छ ।'
स्थानीय पत्रिका हुन् वा राष्ट्रिय, तिनको समाचार उत्पादन गर्ने पत्रकारहरू नै हुन । तर, समाचारको उत्पादन गर्ने पत्रकारहरूबाटै समाचारको संस्थागत् हत्या हुँदो रहेछ । सुनसरी, मोरङ सिँचाई आयोजनामा दाताहरू स्वयंले भ्रष्टाचारको कुरा उठाउँदा पनि पूर्वाञ्चलका पत्रकारले कलम चलाएनन् । त्यसको रहस्य खोल्दै पुस्तक भन्छ,....... बुझ्दै जान्दा थाहा हुन्छ । विराटनगरका ३५ जना भन्दा बढी पत्रकारलाई उक्त आयोजनाले नियमित तलबमा राखेको छ ।' यो प्रवृति समग्र नेपालमा विद्यमान छ । आफ्नै परिवेशका बारेमा बोले पनि पत्रकार नकुलकाजीको 'पत्रकारितामा हावी भएको अनपढ र किर्ते अनुहारहरुले एकातर्फ असली पत्रकारिता गर्ने व्यक्तिहरुलाई मार पारिरहेको छ भने अर्कोतर्फ पत्रकारिता नभए पत्रकार (कलममा पत्रकारिताको जीवन भए पनि दलाली गर्ने अग्रसर व्यक्तिलाई संकेत गरिएको मात्र) गर्ने व्यक्तिको बोलवाला व्यस्त छ ।' भन्ने निष्कर्षले नेपालको पत्रकारिताको समग्र अवस्थालाई दर्शाउँछ । किनकि जो मान्छे पत्रकारिता गर्दछन्, तिनीहरुको अवस्थालाई नाजुक छ तर जो पत्रकारको परिचय बोकेर दलाली गर्नै हिंड्दछन्, तिनको जीवनशैली उच्च छ । सबै प्रकारका सुविधा उपयोग गरिरहेका छन्। अरु अचम्मको कुरा त राज्यले पनि खास पत्रकारलाई हैन, दलालहरुलाई नै प्रोत्साहित गरिरहेको छ ।
पाँचै विकास क्षेत्रको मुख्य सहरी क्षेत्र केन्द्रित गरी तयार पारिएको यो पुस्तकले इतिहासको सिलसिलेवर प्रस्तुति गरेको छ । मोहन काजी न्यौपानेले झापा, प्रमोद प्रधानले मोरङ्ग, चन्द्रमणि अधिकारीले धरान, चन्द्रकिशोरले वीरगञ्ज, देवराज हुमागाईंले मकवानपुर र चितवन, वसन्तध्वज जोशीले रुपन्देही, शेखर पराजुलीले रुपन्देही र पाल्पा, केशवराज पराजुलीले पोखरा, पूर्णलाल चुकेले बाँके, कृष्ण अधिकारीले धनगढी र महेन्द्रनगरको पत्रकारिताको इतिहासलाई समेटेका छन् । पूर्वाञ्चलको मिडियाको सम्भावना र चुनौतीका विषयमा भास्कर गौतम, पोखरेली मिडिया व्यवसायिकताको संघारका विषयमा शेखर पराजुलीले नेपालगञ्ज र दाङ्गको मिडिया केही आशा केही निराशाका बारेमा कृष्ण अधिकारीले र सुदूर पश्तिमाञ्चलमा पत्रकारिता विषयमा डा. देबीप्रसाद ओझाले पत्रकारिताको विकासक्रम र प्रवृत्ति र सम्भावनाहरुलाई औल्याउनुभएको छ ।
प्रजातन्त्रको स्थापनाको लगत्तै २००८ सालदेखि नै आरम्भ भएमो मोफसलको पत्रकारिताको इतिहासलाई पाठकहरु समक्ष पस्केर मार्टिन चौतारी, सामाजिक विकास तथा अनुसन्धान केन्द्रले पत्रकारिता क्षेत्रमा ठूलो गुन लगाएको छ । इतिहास र वर्तमान तुलना गर्दै पढ्न पाइने भएकोले पुस्तक पठनीय छ । पुस्तकले पत्रकारिता क्षेत्रका सकारात्मक र नकारात्मक दुवै प्रवृत्तिलाई सहज ढंगले उजागर गरेको छ । नेपालको पत्रकारिता क्षेत्रमा खट्केको ठूलो अभावलाई मार्टिन चौतारीका अनुसन्धानदाताहरुले पूरा गरेका छन् ।
स्रोतः देशान्तर साप्ताहिक ५ जेठ, २०५९