कृति परिचय

2021-10-11

मोहन बास्तोला

स्वतन्त्र रेडियो दमन र प्रतिरोधको लिखित दस्तावेज

विद्युतीय र छापा संचार माध्यममा निरन्तर दुई दशकदेखि क्रियाशील वरिष्ठ पत्रकार विनोद ढुंगेलद्घारा लिखित शाही शासनमा स्वतन्त्र रेडियो, दमन र प्रतिरोधको कथा बजारमा आएको छ ।

२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सम्पूर्ण शासन अधिकार आफ्नो हातमा लिएपछि उनको शासन अधिकार रहुन्जेल नेपाली मिडियाले खानु परेको हन्डर र विपत्तीको सामना अनि उक्त शासनकालको प्रत्यक्ष तारो बन्नुपरेको स्वतन्त्र रेडियो माथिको दमनचक्र र त्यसको सामनाको क्रमबद्ध प्रस्तुति उक्त पुस्तकलाई मार्टिन चौतारीले बजारमा ल्याएको हो ।

प्रजातन्त्रको पुनःस्थापनापछि बल्लतल्ल बामे सर्न थालेको नेपालको स्वतन्त्र रेडियोले राजा ज्ञानेन्द्रको शाही ‘कू’ पछि फेरि शृंखलाबद्ध दमनको सामना गर्नुपरेको विडम्वनापूर्ण अवस्था र यसको प्रभाव प्रतिरोध र स्वतन्त्रताका पक्षकम समर्थन जस्ता विषयलाई सिलसिलेवार तरिकाबाट खण्ड चारसम्म त्यसैगरी शाहीसत्ताको दमनपछि स्वतन्त्र रेडियोले चुनौतीको सामना गर्दै एकपछि अर्को सफलता आत पारेको कथा अनि स्वतन्त्र रेडियो बचाऊ आन्दोलन, काठमाण्डौं घोषणापत्र, स्वतन्त्र रेडियोका तर्फबाट राजालाई चढाएको बिन्तिपत्र, स्वतन्त्र रेडियोको आत्मकथा, वार्ताका लागि स्वतन्त्र रेडियो बचाऊ आन्दोलन केन्द्रीय संघर्ष समितिको अवधारणा, २०६२ जस्ता अनसूचिलाई एउटै पुस्तकमा अटाएर प्रकाशन गरेको उक्त पुस्तक पत्रकारितामा पाठक, विद्यार्थी साथै पत्रकारिता चासो राख्ने र जान्न चाहने सबैका लागि उपयुक्त देखिन्छ ।

०५४ सालदेखि विभिन्न दैनिक, साप्ताहिक पाक्षिक, मासिक पत्रिका, रेडियो र टेलिभिजन पत्रकारितालगायत विभिन्न संस्थामा काम गरेर लामो अनुभव बटुलेका ढुंगेलको उक्त पुस्तक राजधानी मात्र होइन मोफसलमा समेत राजाको शासनमा स्वतन्त्र रेडियोमाथि भएको सैन्यराज, ज्यादती साथै कानुनलाई समेत नागेंझार बनाउँदै पदको दुरुपयोग गरेर शाही मन्त्रीहरुले निरन्तर निर्देशनमा गरेका बर्बर हमलाजस्ता विषयलाई दैनिकीजस्तो शृंखलाबद्ध प्रस्तुत गरेका छन् ।

शाही शासनले स्वतन्त्र रेडियोमाथि गरेको आततायी हमलाको प्रतिरोधका निम्ति गठन गरिएको स्वतन्त्र रेडियो बचाऊ आन्दोलन केन्द्रीय संघर्ष समितिका तत्कालीन सदस्य साथै स्वतन्त्र रेडियो पत्रकार संघर्ष समितिका तत्कालीन संयोजक समेत रहेका ढुंगेलले बीचबीचमा स्वतन्त्र रेडियोमाथि भएका आक्रमण त्यसबाट प्रभावित जनजीवनजस्ता घटनाको फोटोसमेत राखेर पुस्तकलाई अझ उपयोगी बनाउने जमर्को गरेका छन् । त्यससंगै मुलुकका विभिन्न रेडियो स्टेसनहरुको तत्कालीन अवस्था विवरणको साथै साना ठूला घटनासमेतलाई पुस्तकमा अटाएर तयार पारेको उक्त पुस्तक लगभग ३ सय ५० पेजको छ । मूल्य रु १ सय ५० रहेको उक्त पुस्तक शाही शासनमा स्वतन्त्र रेडियोमाथि भएको दमनको एउटा लिखित दस्तावेज बनेको छ ।
 
स्रोतः छलफल, वर्ष २६, अंक १, ६ माघ २०६४


About the Author

More Blogs