समाज, राजनीति र लोकतान्त्रिक अभ्यास बहस– २

बहुदलीय प्रणाली लोकतान्त्रिक शासनको आधारशिला हो। यस प्रणालीमा विभिन्न राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र विचारधारा अनुसार प्रतिस्पर्धा गरी जनताको विश्वास जित्ने प्रयास गर्छन्। तर, केवल बहुदलीय व्यवस्था मात्र लोकतन्त्रको सफलताको पर्याप्त संकेतक भने होइन। यसको सार्थकता आन्तरिक पार्टी लोकतन्त्रमा निर्भर गर्छ।
आन्तरिक पार्टी लोकतन्त्र भनेको कुनै पनि राजनीतिक दलभित्र त्यसका सदस्यहरूको सक्रिय सहभागिता, पारदर्शिता, जवाफदेहिता र निर्णयप्रक्रियामा समावेशीताको अभ्यास हो। यस लेखमा बहुदलीय प्रणालीमा आन्तरिक पार्टी लोकतन्त्र सुशासनको बलियो जग हो भन्ने विषयमा विश्लेषण गरिएको छ।
आन्तरिक पार्टी लोकतन्त्रको अवधारणा
आन्तरिक पार्टी लोकतन्त्र भनेको राजनीतिक दलहरूभित्र लोकतान्त्रिक मूल्य तथा मान्यताहरूको अभ्यास हो, जसले दलको गठन, संरचना, संचालन र निर्णय प्रक्रियालाई पारदर्शी, सहभागीतामूलक, समावेशी र उत्तरदायी बनाउँछ। एउटा लोकतान्त्रिक पार्टीका लागि त्यसका सदस्यहरूको सक्रिय सहभागिता निकै महत्वपूर्ण हुन्छ, जहाँ दलका साधारण कार्यकर्ताहरू देखि पदाधिकारीले नीति निर्माण, नेतृत्व चयन र कार्यक्रम निर्धारणमा प्रत्यक्ष भूमिका खेल्छन्। छलफल गर्छन्, चर्को बहस गर्छन र अन्त्यमा सामुहिक हितलाई केन्द्रमा राखेर पारदर्शी निर्णय गर्छन् ।
यस किसिमको निर्णय प्रक्रियाले नेतृत्व चयन, नीति निर्धारण र संगठनात्मक फैसलाहरूमा खुलापन सुनिश्चित गर्छ, जसले गर्दा दलभित्र विश्वासको वातावरण कायम हुन्छ। साथै, जवाफदेहिताको सिद्धान्तअनुसार जिम्मेवार नेतृत्व आफ्ना कार्यक्रम हरूको लागि सदस्यहरूप्रति उत्तरदायी हुनुपर्छ, जसले गर्दा लोकतान्त्रिक मूल्य तथा मान्यता को जग बलियो हुन्छ र स्वेच्छाचारिता घट्छ।
विचार विविधताको सम्मानले दलभित्र विभिन्न मतहरूलाई स्थान दिने संस्कृति विकसित गर्छ, जसले गर्दा दल अधिक सृजनशील र गतिशील बन्छ, कार्यकर्तामा जोश, जागर र उत्साह थपिन्छ। यी सबै तत्वहरू मिलेर आन्तरिक पार्टी लोकतन्त्रले दललाई आफ्नै सिद्धान्तहरूप्रति प्रतिबद्ध राख्दै जनताप्रति पनि जवाफदेहि बनाउँछ र राम्रा शासन व्यबस्थाको आधार खडा गर्छ।
आन्तरिक पार्टी लोकतन्त्र र सुशासनको सम्बन्ध
आन्तरिक पार्टी लोकतन्त्र र सुशासनबीच घनिष्ठ सम्बन्ध रहेको छ। जब राजनीतिक दलहरूले आफ्नो संगठनभित्र लोकतान्त्रिक प्रक्रियाहरू, जस्तै नियमित निर्वाचन, सहभागी निर्णय प्रणाली र पारदर्शिता अपनाउँछन्, तब तिनीहरू सरकार चलाउँदा पनि जवाफदेहि र उत्तरदायी हुन्छन्। दलहरूमा आन्तरिक निर्वाचन भएको अवस्थामा नेतृत्व जनताप्रति बढी जिम्मेवार हुन्छ। समालोचना लाई गम्भीरतापूर्वक लिन्छन, बिमर्श गर्छन् । आफुलाई सुधार्ने काम गर्छन।
यसले गर्दा नीति निर्माण प्रक्रिया समावेशी बन्छ र सरकारी योजनाहरू जनआकांक्षासँग मेल खान्छ। निजीक्षेत्र समेत जिम्मेवार बन्छ । यस्तो नेतृत्वले नागरिकहरूलाई नीति निर्माणमा सहभागी बनाउँछ। साथै, आन्तरिक लोकतन्त्रले दलभित्र एकताको सुदृढीकरण गरी संगठनात्मक स्थिरता ल्याउँछ। जनसहभागी निर्णय प्रक्रियाले भ्रष्टाचार नियन्त्रणमा मद्दत गर्छ ।
केन्द्रीकृत, अलोकतान्त्रिक नेतृत्व भएका दलहरूमा अनियमितता बढ्ने, आफ्नोमान्छे तथा नातावाद तथा कृपावादको विकास हुन्छ। कार्यकर्ताबीच चाकरी तथा चाप्लुसीको विकास हुन्छ। असल, इमान्दार र आलोचनात्मक चेतभएको कार्यकर्ताले कुनै जिम्मेवारी पाउदैन तर आर्थिक चलखेल र चुक्लिवाजले पार्टीसत्ता कब्ज्जा गर्छन्।
धन दौलत, सुख सुबिधा पाउदा सबै ठिक र थोरै समय पनि यी सुविधाबाट बिमुख हुनुपर्दा नेतृत्व बिरुद्ध तल्लोस्तरको गालीगलौजमा प्रवृतिको बिकास हुन्छ। लोकतन्त्रको लागि यस्तो प्रवृति निकै हानिकारक हुन्छ। आन्तरिक पार्टी लोकतन्त्र नै सुशासनको आधारशिला हो भन्ने स्पष्ट छ।
नेपाली राजनीतिमा आन्तरिक पार्टी लोकतन्त्रको अवस्था
नेपालमा संविधानद्वारा बहुदलीय प्रजातन्त्रात्मक प्रणाली अपनाइएको भएता पनि अधिकांश राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्रको अभाव रहेको छ। यसको प्रमुख कारण दलहरूमा पाइने नेतृत्वको केन्द्रीकृत स्वरूप हो, जहाँ नेतृत्व सीमित व्यक्ति, समूह वा परिवारहरूको हातमा केन्द्रित छ। दलको निर्णय प्रक्रियामा साधारण कार्यकर्ताहरूको सहभागिता न्यून छ भने महत्वपूर्ण फैसलाहरू औपचारिक संस्थाहरूभन्दा अनौपचारिक समूहहरू तथा मुट्ठीभर व्यक्तिहरु द्वारा लिइने गरिन्छ।
यसले दलहरूभित्र पारदर्शिता र जवाफदेहिताको अभाव सिर्जना गरेको छ। यसको नकारात्मक प्रभाव समग्र शासन प्रणालीमा परेको देखिन्छ, जसको परिणामस्वरूप सरकारको स्थिरतामा कमी, नीतिगत असंगति र जनताको राजनीतिक प्रतिष्ठाप्रति घट्दो विश्वास जस्ता समस्याहरू उत्पन्न भएका छन्। यस्तो अवस्थामा कर्मचारीतन्त्र हावी हुन्छ, राजनैतिक नेतृत्वलाई भ्रष्ट बनाउछ।
दलहरूभित्र यस्तो अलोकतान्त्रिक संस्कृतिले नेपालको लोकतान्त्रिक विकासमा गम्भीर चुनौती उत्पन्न गरेको छ। यसलाई समाधान गर्न सबै राजनैतिक पार्टीहरुमा आन्तरिक पार्टी लोकतन्त्रलाई बढावा दिने नीति नियम बनाउनुपर्ने र कार्यान्वयन गर्न जरुरी छ।
आन्तरिक पार्टी लोकतन्त्र बढाउने उपायहरू
आन्तरिक पार्टी लोकतन्त्र बढाउन विभिन्न उपायहरू अवलम्बन गर्न आवश्यक छ। सर्वप्रथम, दलहरूले नेतृत्व चयन प्रक्रियालाई नियमित, पारदर्शी र लोकतान्त्रिक बनाउनुपर्छ। यसका लागि समयसमयमा आन्तरिक निर्वाचन गरी सहभागीपूर्ण निर्णय प्रक्रिया अपनाउनुपर्छ।
दोस्रो, नीति निर्माणमा सामान्य कार्यकर्ताहरूको सहभागिता बढाउन परामर्श र सुझाव प्रणाली विकसित गर्नुपर्छ, जसले गर्दा दलको निर्णय जनआकांक्षासँग मेल खानेछ। तेस्रो, धेरै राजनीतिक दलहरूमा पार्टी विधान त छ तर यसको कार्यान्वयन अत्यन्त न्यून छ र आफ्नो अनुकूल व्याख्यागर्ने गलत प्रवृति छ। यसमा ब्यापक सुधार आवश्यक छ।
चौथो, युवा, महिलाहरू, आर्थिक तथा सामाजिकरुपले सीमान्तकृत समूहलाई नेतृत्वको मौका दिने संस्कृति विकास गर्नुपर्छ किनभने समावेशी सहभागिताले नै दललाई गतिशील र प्रगतिशील बनाउँछ। यी उपायहरू कार्यान्वयन गर्दा मात्र नेपाली राजनीतिक दलहरू भित्र वास्तविक लोकतन्त्र र सुशासनको आधार बन्न सक्छ।
निष्कर्ष
बहुदलीय प्रणालीमा आन्तरिक पार्टी लोकतन्त्र नै सुशासनको आधार हो। यसले पारदर्शिता, जवाफदेहिता, समावेशिता र नीति तथा कार्यक्रको कार्यान्वयनमा बढावा दिन्छ। यदि स्थिर र प्रभावकारी शासन चाहने हो भने राजनीतिक दलहरूले आफ्ना आन्तरिक प्रक्रियाहरू लोकतान्त्रिक बनाउनुपर्छ। केवल देखावटी रूपमा लोकतान्त्रिक भएर हुँदैन, दलहरूभित्र पनि सच्चा लोकतन्त्को अभ्यास हुनुपर्छ।
यसैले आन्तरिक पार्टी लोकतन्त्र नै बहुदलीय प्रणालीमा सुशासनको मुख्य संकेत हो। आन्तरिक पार्टी लोकतन्त्रलाई मजबुत, टिकाउपूर्ण साथै व्यक्तिगत हक, मानव अधिकारको रक्षा, समानता र सामाजिक न्याय प्राप्त गर्न शैक्षिक संस्था, नागरिक समाज, पेशागत संगठनहरू र मिडियाकर्मीहरूको आलोचनात्मक मूल्यांकन अपरिहार्य छ।
पार्टीका नीति तथा निर्णय व्यक्तिगत रुपमा नभई सामुहिकरुपमा के कति जिम्मेवारीबोध गरेका छन् ? उनीहरुले समाजमा जवाफदेहिता, पारदर्शिता र लोकतान्त्रिक मूल्यहरू प्रवर्धन गर्ने महत्वपूर्ण भूमिका खेलेका छन् कि छैनन् ? पार्टीहरु, पारदर्शी, समावेशी र उत्तरदायी हुन सकेनन् भने मुलुकमा लोकतान्त्रिक सुधार र आर्थिक विकास हुने सम्भावना कमजोर हुन्छ।
युवाहरु आफ्नो भविष्यको खोजीमा देशबाहिर जान्छन। बिधालय तथा बिश्वबिधालय हरूले युवाहरूलाई आलोचनात्मक चिन्तन र लोकतान्त्रिक मूल्य सिकाउनुपर्छ, नागरिक समाजले दलहरूलाई जवाफदेहि बनाउन निगरानी गर्नुपर्छ, र मिडियाले पारदर्शिता कायम गर्न सच्चा र निष्पक्ष समाचार प्रस्तुत गर्नुपर्छ। यी सबै संस्थाहरूको सक्रिय भूमिका नभएसम्म आन्तरिक पार्टी लोकतन्त्र कमजोर हुन्छ, जसले गर्दा समानतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न गाह्रो हुन्छ।
प्रकाशित मिति : १४ साउन २०८२
स्रोत : https://www.ajakoartha.com/story/130995
मधुसूदन सुवेदी








