गरिबीको स्रोत सँगालो

2021-10-18

- पोख्रेल

देशको गरिबीप्रति नेपाली मिडिया कति संवेदनशील छ ? कति सार्थक भइरहेछ गरिबीमाथिको बहस ? विविध प्रकृतिका रिपोर्ट र विश्लेषणहरूको सङ्‍ग्रह नेपालमा गरिबीको बहस ले यस्ता प्रश्नहरूले यसलाई जवाफ खोज्ने जमर्को गरेको छ । सङ्कलक/सम्पादकहरूले यसलाई तथ्याङ्कको ओझेलमा परेको गरिबीका विभिन्न आयामलाई उत्खनन गर्ने प्रयास मानेका छन्‍ । नेपाली भाषामा गरिबीमाथि लेखिएका सन्दर्भग्रन्थहरूको अभाव भएको बेला संस्थागत रूपमा यत्तिको प्रयास हुनु पनि राम्रै कुरा हो । गरिबीको सैद्धान्तिक विश्लेषण, नेपाली समाजले जीवन-निर्वाहका निम्ति भोगिरहेको कठिनाई योजना र विकासका अलमल तथा केही आवश्यकता र संभावनाहरू औँल्याइएका ३९ वटा आलेखले नेपालमै बसेर नेपाल नचिन्नेहरूलाई समेत यसको वास्तविकता बुझ्न सघाउँछन्‍ । सँगालोमा पाठकलाई पर्याप्त खुराक दिने विचारोत्तेजक, खोजपूर्ण सबै खाले आलेखहरू छन्‍ ।

विभिन्न पत्रपत्रिकामा प्रकाशित समीक्षा र तिनले औँल्याएका प्रतिलिपि अधिकारसम्बन्धी प्रश्नहरूका कारण केही साता पहिले नै यो किताब चर्चामा आइसकेको हो । समीक्षकहरूले 'गरिबीमाथि बहस छेड्‍न खोज्ने अभियान्ताहरूले विभिन्न पत्रिकामा पूर्व प्रकाशित आलेखहरूलाई आफूखुसी उपयोग गरेर प्रकाशकीय र लेखकीय अधिकारको मानमर्दन गरेको' गुनासो गरेका थिए । हुन पनि सँगालोमा १४ वटा हिमाल पत्रिकाबाट लिइएको छ । यस्ता सामग्रीलाई पुन:मुद्रण वा सम्पादन गर्नका लागि पूरा गर्नुपर्ने औपचारिक प्रक्रियाको ख्याल नगरिएको प्रसङ्ग पुस्तकका सम्पादक/सङ्कलकहरूका निम्ति अनेपेक्षित झड्‍का बन्यो र त्यसका प्रतिवादहरूसमेत सार्वजनिक भए । यो अर्थमा किताब गरिबीसँगसँगै नेपालमा प्रतिलिपि अधिकारसम्बन्धी नयाँ बहस प्रारम्भ गर्ने माध्यमसमेत बन्न पुगेको छ ।

 

स्रोतः हिमालखबर पत्रिका १-१५ चैत्र २०६१


About the Author

More Blogs