किन नियन्त्रित छ महिला हाँसो?

- कैलाश राई | 2021-09-24

कैलाश राई

'महिला हाँसो' अनुचित मानेर सार्वजनिक रूपमै निर्धक्क हाँस्ने-हँसाउने अधिकार पुरुषलाई मात्रै प्रदान गरिएको समाजमा महिला हाँसेको देख्नु दुर्लभ हुनसक्छ, अस्वाभाविक होइन।

हाँस्नु के हो ? सायद, जिउँदो-जाग्दो हुनुको एक सामान्य र प्राकृतिक लक्षण। मानसिक बोझ र बन्धनबाट मुक्त भई प्रस्फुटित हुने अवस्था। यस्तै-यस्तै परिभाषाको सूची लामो हुनसक्ला।

हाँसोसँग मानिसको नि:सन्देह अन्योन्याश्रित सम्बन्ध छ। हाम्रो समाजमा हाँसोलाई अर्थ्याउने र उपयोग गर्ने अनेक तौरतरिका र सोच छन्। तिनै छनोटका तरिका र मानसिकताले हाँसोसँग महिला र पुरुषको भिन्न सम्बन्ध स्थापित गरेका छन्। महिला र पुरुषका सामाजिक-लैंगिक हैसियत र सांस्कृतिक-सार्वजनिक स्वतन्त्रता उपयोगको अवस्थाले निर्धारण गर्ने भएकाले त्यो सम्बन्धमा भिन्नता आएको हो। 

महिला हाँसो, पुरुष हाँसोलैंगिक रूपमा हाँसोको कित्ताकाट गरिँदा 'हाँसो पनि भाले र पोथी भन्ने हुन्छ र' भन्ने गरिन्छ। तर, नेपाली समाजमा को हाँस्यो भन्ने कुराले हाँसोको परिभाषा र उपयोगितामा पक्कै फरक पार्छ। जैविक लिंग अनुसार निर्धारित सामाजिक-लैंगिकता बोकेको शरीरले अभिव्यक्त गरेपछि त्यो हाँसोलाई निश्चित लैंगिक सीमाभित्र कैद गरी त्यसको स्वरूप निर्धारण गरिन्छ।

सानो छउन्जेल केटा होस् वा केटी, उसको मुस्कान र हाँसो अरूका लागि सुख, आनन्द र ऊर्जाको स्रोत बन्छ। उनीहरूको हाँसो निश्छल, कञ्चन र सबैका लागि हितकारी मानिन्छ, कुनै मिसावट वा लेपन लगाएर बुझ्ने वा हेर्ने गरिँदैन।

जब कुनै बालिका हुर्कंदै किशोरीमा परिणत हुनथाल्छे, तब उसको निश्छल र कञ्चन हाँसोमा अंकुश लगाउने उपक्रम चल्छ। मुस्कानको सीमा तोकिन्छ र हाँसोको विशेषता स्वतः परिवर्तन हुन्छ। सकभर हाँसो निषेध गर्ने हेतुले भनिन्छ- 'केटीमान्छे भएर जहाँ पायो त्यहीँ नहाँस्नू। सार्वजनिक स्थलहरूमा त हाँस्दै नहाँस्नू। हाँसिहालेमा पनि ठूलो आवाजमा बिल्कुलै नहाँस्नू, संस्कारहीन कहलिन्छ। आफ्नै आत्मीयजन वा अभिभावक भए पनि पुरुषका अगाडि नहाँस्नू, उनीहरूको अनादर हुन्छ। केटा वा पुरुषहरूमाथि बिर्सेर पनि नहाँस्नू, उनीहरूको अहंलाई इख्याउनु र दण्डको माग गर्नुसरह हुन्छ।'

बच्चा बेलामा सुखानुभूति गराउने हाँसो बढ्दो उमेरसँगै कसरी चोट दिने (जुन अशोभनीय र संस्कारहीन भइदिन्छ) अस्त्रमा परिणत हुन्छ भनेर प्रत्यक्ष अभ्यास गरिन्छ। हाँसो आफैंमा त्यस्तो खतरनाक अस्त्र होइन, त्यसलाई पुरुष सत्ताको अनुकूलता अनुरूप खतरनाक अस्त्रका रूपमा परिभाषित गरिएको हो।

हाँसोमा बन्देज लाग्दै एउटा किशोरी युवतीदेखि महिलामा परिणत हुन्छिन्। पहिलेको निश्छल हाँसोमा स्त्रीलिंगी विशेषता जोडेर मानिसको हाेइन ‘महिला हाँसो’को संज्ञा दिइन्छ। त्यसलाई यौनिकतासँग जोडेर उसैको असुरक्षा र जोखिम बढाउने तत्त्वका रूपमा बुझाउने गरिन्छ। महिला अस्मिता र यौनिकता दाउमा लाग्ने मनोसामाजिक त्रास पैदा गरिन्छ। फलतः कथित स्व-नियन्त्रणको साँचोमा हाँसोलाई कैद पार्न लगाइन्छ। त्यो महिला स्वयंले आफ्नो हाँसोमा नियन्त्रण राखेको अवस्था होइन, बाध्यतालाई सामान्य वा सहज मान्न अभ्यस्त पारिएको हो।

त्यसैले हाँसो लैंगिकताको विषय हो। हाँसोमा शक्तिको असामान्य लैंगिक चलखेल हुन्छ। भालेको हाँसो सामान्य र स्वीकार्य हुन्छ। पोथीको हाँसो असामान्य र अनुकूलता अनुरूप नियन्त्रित/निषेधित र फुक्का हुने हुँदा हाँसोको लिंग हुन्छ। त्यो खासमा 'पुलिंगी' नै हो। 

समाजको परिभाषामा ‘पुरुष हाँसो’ शक्तिशाली हुनुको संकेत हो। पुरुषार्थको चिह्न हो। आनन्दित हुनुको सही तरिका हो। लजाउनु, मौन बस्नु, मायालु स्वभाव देखाउनु, सेवा–सुसार गर्नु, हँसिलो र रसिलो देखिनु जस्ता गुणहरू नारीत्वका भावनात्मक एवं संवेदनात्मक अभिव्यक्ति हुन्। तर, हाँसो चाहिँ नारीत्वको गुण होइन। महिला हाँस्नुमा ऊ आफू आनन्दित हुनु वा नहुनुले महत्त्व राख्दैन, नारीत्वको अमिल्दो र असुहाउँदो लक्षण हो भन्ने कुराले बढी महत्त्व राख्छ। त्यसैले त ‘महिला हाँसो’ मा सामाजिक नियन्त्रणका साथै स्व-नियन्त्रण लादिएको छ। 

हाँसोकै माध्यमबाट महिलालाई सामाजिक नियन्त्रणमा राख्ने गरिएको वास्तविकतालाई नदेखेझैं, नभोगेझैं, नबुझेझैं गरेर टार्नु महिलाका लागि संरचनागत समस्या हो भने पुरुषका लागि संरचनागत लाभ।

हाँसो कसका लागि ?पितृसत्तात्मक सामाजिक-सांस्कृतिक मनोवृत्ति हाबी भएको माहोलमा पुरुषको हाँसो स्व-सुखानुभूतिका लागि हुने गर्छ। जसलाई सहज र प्राकृतिक मानी स्विकारिन्छ। पुरुषहरूको त्यस्तो हाँसो एकबाट अर्कोमा सार्दै सामूहिक आनन्दको कुरा हुन्छ। पुरुष शरीरबाट उत्पन्न हुने हाँसो जस्तोसुकै र जुनसुकै आवाजमा होस् त्यसको न कुनै यौनिक चरित्र हुन्छ, न त विशेषता नै। त्यसलाई अयौनिक मानिन्छ। त्यसले कुनै हानि गर्दैन। बरू त्यसले शक्ति प्रदान गर्छ। उनीहरू बढी दिमागी र शारीरिक ऊर्जा खर्चिने प्रभावशाली कामकाज गर्छन्, सधैंजसो व्यस्त रहन्छन्। त्यसैले, त्यस्तो हाँसोले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्य सबल बनाउँछ र त्यो उनीहरूको आवश्यकता हो भन्ठानिन्छ। अनि, रमाउन वा खुशी प्रकट गर्न जन्मजात लिएर आएको पुरुषको स्वभाव र हकका रूपमा स्विकारिन्छ। 

तर, यही मामिलामा ‘महिला हाँसो’लाई भने भिन्न तरिकाले बुझ्ने गरिन्छ। महिलाको हाँसो मूल्यवान् पनि मानिन्छ। तर, त्यसको मूल्य स्वयं महिलालाई चुकाउन लगाइन्छ। उनीहरू हाँस्नुको कारण, अवस्था र प्रयोजन महिलाहरू आफैंले तय गर्ने हैसियत राख्दैनन्। आफ्नै हाँसोलाई निर्बाध रूपमा प्रकट गर्ने र त्यो क्षणलाई स्वतन्त्र ढंगले उपभोग गर्दै बाँच्ने अनुकूलता उनीहरूलाई उपलब्ध छैन। महिलाको इच्छा, सोच र दृष्टिकोणहरूमा पुरुष इच्छा, सोच र दृष्टिकोण हाबी भएझैं महिला र हाँसोबीचको आपसी सम्बन्धमा पनि पुरुष सत्ता हाबी भइदिन्छ। हाँसो महिलाको हुन्छ, त्यसलाई पुरुषले आफ्नै अनुकूलतामा पारेर उपभोग गर्ने र अर्थ्याउने गर्छन्। हाँसो महिला स्वयंका लागि भन्दा पनि उनीहरूका आत्मीयजन वा निकटतम व्यक्ति- खासगरी प्रणय सम्बन्ध स्थापित भएको वा स्थापित गर्न चाहेको विशेष पुरुषका लागि हो।

विशेष पुरुषबाहेकका सामु महिलाको हाँसो छुट्यो भने त्यसलाई पितृसत्तात्मक कोणबाट जोखिमको जड मान्दै दोषयुक्त कामका रूपमा चित्रण गरिन्छ। उत्ताउलो र छाडापनको प्रदर्शन मानिन्छ। मर्यादा खस्किनु र अरूको दृष्टिमा खुलेआम आफूलाई मनोरञ्जनको वस्तुमा परिणत गरेको ठानिन्छ। विपरीत लिंगी आकर्षणको पुरातन सोच अनुसार, महिला हाँस्नु भनेको पुरुषहरूलाई आफूतर्फ आकर्षित गर्नु हो। गलत नियत राखी उनीहरूलाई यौनिक रूपमा हिंस्रक तरिकाले प्रकट हुन उक्साउनु हो।

अझ, पुरुषलक्षित हाँसो हाँस्नुले ठूलै विपत्ति निम्त्याउने दृष्टान्त पनि हाम्रो आसपास स्थापित गरिएका छन्। जस्तैः मिथक महिला पात्र द्रौपदीको हाँसोलाई दुर्योधनप्रतिको उपहास भनी व्याख्या गर्दै त्यही हाँसोलाई महाभारत युद्धको कारण भन्ने गरेको पनि पढ्न पाइन्छ। यो कुरा विवादास्पद भए पनि हाँसो, महिला र पुरुषबीचको त्रिकोणात्मक सम्बन्धलाई पुरुष सत्ताको कोणबाट कसरी बुझ्ने र बुझाउने गरिन्छ भन्ने एउटा प्रतिनिधि उदाहरणका रूपमा लिन सकिन्छ।

हाँसेर 'उत्ताउलोपन' प्रदर्शन गरेबापत वा हाँसेर पुरुषको चित्तमा ठेस पुर्‍याएबापत महिलाले कुनै न कुनै हिसाबले क्षतिपूर्ति गर्नैपर्छ। निजी तथा सार्वजनिक वृत्तमा गाली बेइज्जती होस् वा दुर्व्यवहार, हिंसा वा यौन शोषणकै शिकार किन हुनु नपरोस्, त्यो उसले व्यहोर्ने क्षतिपूर्ति हो भन्ने मानसिकताले धेरै हदसम्म काम गर्छ। जब कि महिलाहरू ठट्टा-उपहासका पात्र बनाइनुलाई ‘उनीहरू त्यसकै लायक हुन्’ भनेर स्वीकार्य बनाइएको छ।

न हाँस्दा जस, न त नहाँस्दा हाँसो निजी भावना र संवेदना प्रकट गर्ने माध्यम त हो नै, यो एक सामाजिक घटना पनि हो। सार्वजनिक पद सम्हालेका महिलाहरू सार्वजनिक तवरमा सधैं हँसिलो मुद्रामा देखिऊन्, देख्नेहरूका लागि प्रसन्नताको कारक बनून्, अप्रसन्न मुद्रामा भए पनि संयमित व्यवहार गरून् वा सक्दो मुस्कुराइरहून् भन्ने एक खालको आमअपेक्षा पनि हुने गर्छ। जहाँ हँसिलो मुद्रा उन्मुक्त हाँसोमा वा अप्रसन्न मुद्रा क्रोधमा परिणत होस् भन्ने अपेक्षा भने सायदै गरिन्छ। त्यस्तो अपेक्षा पितृसत्तात्मक संरचना र सोचमा धक्का नपुर्‍याउने खालको महिलाको ‘अनुकूलित’ र ‘उपयुक्त’ नारीत्व भूमिकाको खोजीबाट जन्मिएको हो।

महिलाको हाँसो मात्रै नभएर क्रोधलाई समेत सामाजिक घटनाकै रूपमा लिई महिलामाथि व्यक्तिगत एवं सामाजिक तवरमा प्रभुत्व जमाउने अस्त्र बनाइएको छ। ‘महिलाको रिस र हाँसो आफ्नै गलपासो’ भन्ने प्रचलित भनाइ यस्तै बुझाइ र अभ्यासको उपज हो। महिलाको हाँसो मानवीय भावनाकै स्वाभाविक प्रस्फुटन हो, जुन मूलतः ऊ स्वयंद्वारा स्वयंकै लागि हो र हुनुपर्छ भन्ने सोच नपलाएसम्म यस्तो प्रवृत्ति कायमै रहनेछ।

कुनै व्यङ्ग्य वा खुशीको उत्कर्ष प्रकट हुँदा हाँस्नु, रमाउनु प्राकृतिक घटना हो। को बढी हाँस्छ- महिला या पुरुष ? यसको उत्तर यसै भन्न कठिन छ। कुनै आधार र अध्ययनबिना महिला हाँसोमा नियन्त्रण लगाइएकै आधारमा उनीहरू कम हाँस्छन् भन्नु उनीहरूको प्राकृतिक र वास्तविक स्वभावलाई बुझ्न नखोज्नु पनि हो। पुरुषहरू निर्बाध रूपमा जहाँ पनि जहिले पनि हाँस्न सक्छन् भन्दैमा उनीहरू धेरै हाँस्छन् र रमाउँछन् भन्नु पनि आधारहीन दाबी हो। यद्यपि महिलाहरू हाँस्न र रमाउन जान्दैनन् र सक्दैनन् भन्ने विचार नभएको होइन। त्यसले महिलाहरू हास्यचेतविहीन, व्यङ्ग्य बुझ्ने खुबी नभएका र परिस्थिति अनुकूलित भएर रमाउन नजान्ने हुन्छन् भन्नेतर्फ इंगित गर्छ। ‘महिला हाँसो’ अनुचित मानेर सार्वजनिक रूपमै निर्धक्क हाँस्ने-हँसाउने अधिकार निश्चित एक लिंग- पुरुषलाई मात्रै प्रदान गरिएको समाजमा महिला हाँसेको देख्नु दुर्लभ हुनसक्छ, अस्वाभाविक होइन। तैपनि त्यसको कारण बुझ्नेतर्फ भने ध्यान दिइँदैन।

महिला हाँसो गुन्जिने वा पुरुष-महिला हाँसो सरोबरी सुनिने समाज र समुदाय पनि नभएका होइनन्। त्यस्ता महिला हाँसोलाई पनि निजी तथा सार्वजनिक वृत्तमा सम्मानित नजरले हेर्ने प्रचलन उतिसारो छैन। सापेक्षित रूपमा खुला समाज मानिने आदिवासी-जनजाति समुदायका महिलाका हाँसो र रमाउन सक्ने अवस्था र अभ्यासलाई इज्जत गर्नेभन्दा पनि हियाउने र गलत रूपमा अर्थ्याउने प्रवृत्ति बलियो छ।

त्यस्तै, अनौपचारिक क्षेत्रका श्रमिक महिलाहरूका आधारभूत आवश्यकता महिलाप्रति समाजको अपेक्षा र निषेधप्रति ध्यान दिनु होइन, आफ्नो जीवनचर्या धान्नु हो। उनीहरूका लागि सार्वजनिक र निजी वृत्तको सीमारेखा एकदमै झिनो र मधुरो हुन्छ। त्यसले उनीहरूलाई आफ्नो वास्तविक स्वभाव र भावना अनुरूप बाँच्न सक्ने अवस्था पनि सिर्जना गरिदिन्छ। र, उनीहरूका लागि हाँस्नु, हँसाउनु, रमाउनु, रिसाउनु भन्ने विषय निजी वा सार्वजनिक विषयका रूपमा स्पष्टसँग वर्गीकृत हुन सक्दैन। उनीहरूको भावना, आवेग सहज रूपमा प्रकट हुनुलाई असभ्यपन, अशिक्षित र कमसलपन भनेर अर्थ्याउने गरिन्छ। वर्ग र जाति अनुरूप पनि हाँसोको अपव्याख्या र गलत बुझाइ राख्नसक्ने र त्यसको (दुर्)उपयोग गर्ने ठाउँ हाम्रो सामाजिक संरचना र सोचभित्रै पर्याप्त छ। परिणाम, उनीहरूको यौनिकतामाथिको जोखिम र असुरक्षा उच्च रहिरहन्छ। महिलाहरूले न हाँस्दा सुख पाउँछन्, न त नहाँस्दा नै।

हाँसोको विषयसामान्य अवस्था र सरल ढंगमा हुन नसक्ने संवाद वा सम्प्रेषणको परिपूर्तिका रूपमा पनि हाँसोको प्रयोग गरिन्छ। हाँसो र हास्यव्यङ्ग्य मार्फत केही असाधारण कुरा प्रस्तुत गरेर आपसमा अन्तरक्रिया गर्ने गरिन्छ। त्यसैले हाँसोको लिंग, वर्ग र जात मात्रै होइन, राजनीति पनि हुन्छ। हास्यव्यङ्ग्य विधा मनोरञ्जनका लागि भनिए पनि यसले एक राजनीतिक अस्त्रको काम पनि गर्छ।

हाँसोका कारक तत्त्व र विषयवस्तु कस्ता हुने गरेका छन्, कस्ता विषय वा व्यङ्ग्यमा मानिसहरू मन खोलेर हाँस्छन्, कुन कुरा दोहोर्‍याइरहँदा पनि हाँस्ने जमात प्रायः भइरहन्छन् भन्ने प्रश्नबारे घोत्लेर हेर्दा त्यसैभित्र उक्त समाजको सामाजिक-सांस्कृतिक-लैंगिक चेतना र प्रतिरोधको अवस्था भेटिन्छ। जहाँ धक फुकाएर निश्चित कुरामा लक्षित गरेर प्रहार गरिन्छ र त्यसैलाई लक्षित समूह, जमात वा व्यक्तिले समेत पचाउनुपर्ने सामान्य नियम हुन्छ।

पछिल्लो समय हास्यव्यङ्ग्यका अनेक स्वरूप, माध्यम र थलोको विकास भइरहेका छन्। व्यङ्ग्यात्मक कथावस्तु सिर्जना गर्ने, हँसाउने काममा बढीजसो पुरुष नै संलग्न छन्। जहाँ सामाजिक-सांस्कृतिक कुरीति, राजनीतिक बेथितिमाथिको व्यङ्ग्यात्मक प्रहारलाई हाँसोको विषयवस्तुका रूपमा प्रस्तुत गर्ने गरिन्छ। हाँसोकाे पात्रका रूपमा बढीजसो विविध विधागत एवं क्षेत्रगत प्रख्यात व्यक्ति तथा सार्वजनिक सेवा प्रदायकको दायित्व लिएकाहरू हुने गर्छन्। यी दुवै कुरामा लैंगिकताको पक्ष केलाउँदा महिलाद्वेषी र महिलाको यौनिकता केन्द्रित पूर्वाग्रही र पुरातन समस्यायुक्त कुराकै पुनरुत्पादन र विस्तार गर्ने खालका पनि हुन्छन्। त्यस्ता खुराकमा दर्शक-श्रोता पनि कहिले कुतकुतिँदै त कहिले गडगडाएरै हाँसिरहेका हुन्छन्।

त्यस्तो अवस्थामा हाँसो उत्पादनकर्ता र सक्रिय उपभोक्ता पुरुष नै हुने गर्छन्। महिला भने हाँसोको निष्क्रिय उपभोक्तामा सीमित पारिन्छन्। हँसाउने भूमिकामा उभिएको खण्डमा पनि उनीहरूले महिलाद्वेषी सामग्री पेश गर्दै हँसाउन खोज्दा महिला भएर महिलाकै उछित्तो काढ्ने अबुझ कहलाइन्छन्। महिलावादी प्रहार गर्दा त्यसले हाँसो उत्पन्न गराउनेभन्दा बढी शक्तिशाली र संरचनात्मक लाभ पाइरहेकाहरूलाई जिस्काएझैं बोध गराउँछ। त्यसलाई हास्य सामग्रीमा समस्या छ भनेर पन्छाउने सम्भावना बढी हुन्छ। वास्तवमा हाँसो र हास्यव्यङ्ग्यमा महिलाको सक्रिय र स्वस्फूर्त भूमिका आमरूपमा मान्य हुन र बनाइन बाँकी छ।

महिलाद्वेषी सामग्रीहरूमा महिला आफैं पनि हाँसिरहेका वा हाँसोको विषयवस्तुलाई बेवास्ता गर्दै हँसाउने व्यक्तिको हाउभाउमा केन्द्रित रही हाँसेको दृश्य पनि देख्न सकिन्छ। त्यसलाई के भन्ने? त्यसरी हाँस्ने कति महिलाहरूको हाँसो साँच्चै स्वस्फूर्त उत्पन्न भएको हुन्छ? कति चाहिँ पुरुषहरूबाट प्रभावित हाँसो हुन्छ? कति चाहिँ घत लागेर हाँसेका हुन् वा घोचपेचको चोट पचाउने प्रतिक्रिया स्वरूप हाँसेका हुन् ? नबुझीकन त्यसको लेखाजोखा गर्न सकिन्न।

हास्यव्यङ्ग्यको आडमा सामाजिक-राजनीतिक कुरीति र निर्लज्जपनप्रति सांकेतिक वा खुलस्तै प्रहार गर्न सक्नु समयसापेक्ष शक्तिशाली आलोचक चेत राख्नु हो। त्यहीँनेर, हास्यव्यङ्ग्यकै माध्यमबाट महिलाको यौनिकता र चरित्रलाई उपहासपूर्ण तरिकाले मनोरञ्जनको विषय बनाइनु आफैंमा समस्या हो। हाँस्ने-हँसाउने सामग्रीमा रचनात्मकता र व्यङ्ग्यचेतभन्दा बढी लैंगिक समस्या छ। जसलाई समस्याका रूपमा लिनेभन्दा त्यसमै हाँस्नु-रमाउनुमा संरचनागत लाभ बढी छ। त्यसले पुरुषको एकाधिकार र प्रभुत्वमै रमाउने वातावरण धानिराख्न सघाउँछ भने औपचारिक हाँसो नभई वास्तविक हाँसो हाँस्ने परिवर्तनको बाटो अवरुद्ध पार्छ। हास्यव्यङ्ग्यको माध्यमबाट समस्या औंल्याइरहँदा त्यसले त्यो समस्या समाधान गर्न सहयोग पुर्‍याउँछ कि त्यसैलाई बल थप्छ भन्ने खुट्याउन जरुरी छ।

प्रकाशित मिति : १ वैशाख, २०७८

स्रोत : https://www.himalkhabar.com/news/122854?fbclid=IwAR2MfhybQhkd4x4NEJECazeb6k1CCt-4pKux0QycR6FgLAQiABZkTH-RpLI


About the Author