हामी बुद्धु हौँ कि बनाइएका हौँ?

- लोकरञ्‍जन पराजुली | 2026-04-04

यहाँ ‘सन्धिकाल’ लाई मुलुक अँध्यारोबाट उज्यालो युगमा प्रवेश गर्न लाग्दाको समयको रूपमा लिइएको छ। 

प्रसंग १

२०५७ सालको असोज महिना। दसैँले काठमाडौँलाई छपक्कै छोप्न थालिसकेको थियो। अघिल्ला वर्षझैँ दसैँ मनाउन म आफू जन्मे-हुर्केको घर पोखरातर्फ हान्निएँ। काटमारमा रुचि नराख्ने, जाँड-जुवातासमा खासै नरम्ने पुरुष भएकाले छुट्टीका दिनमा गर्ने काम पनि खासै नहुँदा रहेछन्। महिला हुँदो हुँ त सायद चाडबाडमा कामको धपेडी थप बढ्ने थियो।

अल्छी मान्दै म पढ्ने कुरा खोज्दै थिएँ। केही रोचक पुस्तक पाइएला कि भनेर बाको संग्रह खोतल्न थालेँ। एउटा अलि मैलो, पुरानिएको किताब झिकेर पल्टाएँ। पोखराकै सामाजिक अभियन्ता तथा पहिलो जननिर्वाचित संसद्का महासभा सदस्य एवं को अछूत? का लेखक मुक्तिनाथ शर्माले अनुवाद गरेको किरातार्जुनीय रहेछ। आफूले पढ्न चाहेको पुस्तक थिएन त्यो। तर, पनि त्यसका पाना सरर पल्टाएँ। पल्टाउँदै जाँदा एउटा पानामा लागेको छापमा मेरा नजर टक्क अडिए। त्यो अन्डाकार छापमा लेखिएको थियो– आदर्श पुस्तकालय, स्था. २००७, पोखरा।

मैले आदर्श पुस्तकालयबारे पहिले कतै सुनिसकेको हुँदो हुँ। तर, त्यसअघि मैले सो पुस्तकालयबारे कहिल्यै ध्यान दिएर सोचेको थिइनँ। यसपालि भने त्यो छापले मेरो दिमाग रन्थनायो– २००७ सालमा पोखरामा पुस्तकालय?

पञ्चायतकालमा जन्मे-हुर्केको म। मैले मेरो स्कुले जीवनमा कहिल्यै सार्वजनिक पुस्तकालयको दर्शन पाइनँ। सूचना विभागको ‘वाचनालय’ चाहिँ तेर्सापट्टिमा देखेको र कहिलेकाहीँ छिरेको पनि हुँ। तर, पोखरामा एउटै सार्वजनिक पुस्तकालय थिएन, म स्कुल पढ्दै गर्दा। 

मैले बालाई त्यो छाप देखाउँदै आदर्श पुस्तकालयबारे सोधेँ। उहाँले सो पुस्तकालयबारे सामान्य बेलिविस्तार लगाउनुभयो। पोखराका चल्तापुर्जा युवाहरूले २००७ सालको वरिपरि यो पुस्तकालय खोलेका थिए। एक समय यो पोखराको गहना थियो। यही पुस्तकालयमा आएर ठूला नेता र मन्त्रीले भाषण दिएका थिए। खुलेको केही वर्षपछि अलि निष्क्रियजस्तो भएर रहेको यो पुस्तकालयको सञ्चालनको जिम्मा पछि मेरा बाले लिनुभएको रहेछ।

मैले पछि थाहा पाएँ, पोखरामा अरू पनि पुस्तकालय खुलेका रहेछन्। आदर्श पुस्तकालय स्थापना भएको केही समयपछि कुँडहरमा अरण्यज्योति पुस्तकालय खुलेको रहेछ। नारी विकास, ज्ञानज्योति र अरू स-साना पुस्तकालय पनि कुनै समय पोखरामा खुलेका, चलेका रहेछन्। त्यसबाहेक पोखरा बजारमा ब्रिटिस लाइब्रेरी र इन्डियन लाइब्रेरी पनि सञ्चालित थिए।

बालाई सोधेको थिएँ, ‘त्यो पुस्तकालय कहाँ गयो, के भयो ?’ २०१७ सालमा महेन्द्रले बहुदलीय प्रजातन्त्र मासेर आफ्नो एकछत्र राज सुरु गरे। जननिर्वाचित संसद् भंग गरे, राजनीतिक दलउपर प्रतिबन्ध लगाए, धरपकड गरे, अनि राजनीतिक नेता-कार्यकर्तालाई जेलमा कोचे। दल र तिनका भ्रातृ संगठन मात्रलाई गैरकानुनी भनेको भए तापनि तत्कालीन बडाहाकिम तेजबहादुर प्रसाईंले सो पुस्तकालयसमेत बन्द गर्ने आदेश दिएछन्। पुस्तकालय बन्द भयो। 

मेरो दिमाग झन् रन्थनियो– पुस्तकालय किन बन्द गर्नुपरेको होला? सोचेँ, यदि त्यो पुस्तकालय मैले, मेरो पुस्ताले पनि प्रयोग गर्न पाएको भए! मलाई कता कता के के नमिलेको जस्तो लागिरह्यो। मेरा बाहरूको पालामा पुस्तकालय हुने अनि हाम्रो पालामा नहुने। अचम्मैको कुरा थियो। यहाँ ‘विकास’ को गति उल्टो बहेको थियो। हुन त पोखरामा पहिले हवाई जहाज (२००८ सालको दसैँमा) पुगेको हो अनि पछि मात्र गाडी, साइकल, इत्यादि।

यो घटनापछि मेरो चासो शिक्षा र पुस्तकालयतर्फ अलि बढ्यो। पुस्तक, पत्रिका, स्मारिकामा छापिएका पुस्तकालयसम्बन्धी समाचार सामग्री ध्यान दिएर हेर्न, संकलन गर्न थालेँ। ती सामग्रीलाई एक ठाउँमा राखेर केलाउँदा एउटा निश्चित प्रवृत्ति मैले देखेँ त्यहाँ। त्यो के भने, पञ्चायती सत्ताले, त्यसका एजेन्ट वा संयन्त्रले प्रक्रियाबद्ध ढंगबाट सार्वजनिक पुस्तकालयलाई आक्रमण गरेका रहेछन्। बन्द गराएका रहेछन्। तर किन? मनमा कुतूहल झन् बढ्यो। भूपीले हामी बुद्धु छौँ र त वीर छौँ भनेका थिए; मैले आफूलाई सोधेँ– हामी बुद्धु हौँ कि बनाइएका हौँ?

प्रसंग २

२०४६ सालको पञ्चायत-व्यवस्था विरोधी आन्दोलन सुरु हुँदा म भर्खर आईएस्सी भर्ना भएको थिएँ। मेरा बा कास्की जिल्लाको संयुक्त जनआन्दोलन समितिको संयोजक भएकाले भूमिगत हुनुहुन्थ्यो। हाम्रो घरमा छापाखाना पनि थियो। पर्चा-पम्प्लेट धेरै हामीकहाँ नै छापिन्थ्यो। त्यसैले हाम्रो घरमा दुई दुई पटक पुलिसले छापा मारिसकेको थियो। वीरेन्द्रको मुकाम त्यतिखेर पोखरामै थियो, त्यसैले कडिकडाउ उत्तिकै थियो। हामी किशोरहरू नारा-जुलुस गर्ने, भित्ताहरू नाराले रङ्ग्याउने र ठाउँठाउँमा झडा गाड्ने काम गर्थ्यौं। अँधेरोमा नारा-जुलुस गर्ने र अबेरसम्म आन्दोलनको समाचार सुन्न बीबीसी हिन्दी, उर्दू, बाङ्ला, भीओएलगायत च्यानल चहार्दै बस्थ्यौँ। अन्ततः आन्दोलन सफल भयो। पञ्चायती व्यवस्था ढल्यो। खुसीको कहाँ सीमा थियो र?

बहुदलीय प्रजातन्त्र प्राप्त भएपछि ठूलो आशा थियो समाज रूपान्तरित हुन्छ भन्ने। राजनीतिले निश्चित बाटो समात्छ, गति लिन्छ, समाजमा उन्नति प्रगति हुन्छ भन्ने लागेको थियो। एक किसिमको अबोधपना थियो भनूँ न। तर, न समाज न राजनीति सोचेको दिशामा हिँड्यो। हिँड्दो रहेनछ। किन? प्रश्न मन आइरहन्थ्यो। मेरो मनमा उठेका प्रश्नका उत्तर खोज्नेक्रममा मैले अलि बढी नेपाली समाज-राजनीति-इतिहासबारेका पुस्तक पनि पढ्न थालेको थिएँ। नेपाली समाजलाई जान्ने-बुझ्ने प्रयत्न गर्दै थिएँ।

२०५२ सालमा म एमएस्सी (स्टाटिस्टिक्स) पढ्न काठमाडौँ आएँ। पढेँ पनि। मार्टिन चौतारीमा केही काम पनि गरेँ। तर, मनमा उठेका सामाजिक-राजनीतिक प्रश्न ज्युँका त्युँ थिए। चौतारीमा संगत पनि त्यस्तै पर्‍यो– म सामाजिक विज्ञानतिर अलि बढी ढल्किएँ; पुस्तकालय मारिएको घटनाले मलाई रन्थनाइराखेको नै थियो। म नेचुरल साइन्सबाट सोसल साइन्सतर्फ मोडिएँ। समाज-विज्ञानमा उच्चअध्ययन गर्ने सुर कसें, ‘डाड’ स्कलरसिप पनि पाएँ र जर्मनीतिर लागेँ। त्यस क्रममा आफूलाई चासोखाँचो लागेका प्रश्नको जवाफ खोतल्न थालेँ।

पुस्तकालय र त्यससँग गाँसिएको पञ्चायतकालीन शिक्षा-राजनीतिलाई अध्ययन गर्ने क्रममा त्यसबेलाका ‘एक्टर’ हरूको जीवनयात्रा (बायोग्राफी) पछ्याउँदै म २००७ साल र त्यस वरपरको परिवर्तनतिर पुगेँ। मेरो पीएचडीको औपचारिक कामकुरो २०६७ सालमा सक्कियो। नेपाल फर्केपछि म पुनः चौतारीमै जोडिएँ; अलिअलि आफूले सिकेको कुरा बाँडौँ भनेर आंशिक रूपमा त्रि.वि.को कीर्तिपुर क्याम्पसमा समाजशास्त्र पनि पढाएँ।

हातमुख जोर्ने धन्दाबाट आफ्नो बचेको समयलाई उर्बर ‘कन्सल्टेन्सी खेती’ मा लगाइनँ मैले। बरु, कम्तीमा वर्षको एउटा अनुसन्धानपत्र लेख्दै, र सभा-सम्मेलनमा प्रस्तुत गर्न थालेँ। मुख्यतः राणाकालको अन्तिम पाउ र २००७ सालको आन्दोलनको छेउछाउ भएका विभिन्न शैक्षिक प्रयास र अभ्यासहरू अध्ययन गर्ने/बुझ्ने प्रयत्नमा म स्टानफोर्ड र इलिनोय विश्वविद्यालय पनि पुगेँ। खास गरी सिकागोमा रहँदा मैले सातआठ महिना प्रत्येक दिनजसो गोरखापत्रका माइक्रोफिल्म केलाएँ। शिक्षासम्बन्धी गोरखापत्रमा जे-जस्ता सामग्री– समाचार, लेख, सम्पादकीय, सरकारी सूचनादेखि विज्ञापनसम्म– भेटे पनि म संग्रह गर्थें। त्यस्ता सामग्री खोज्न प्रत्येक अंकका प्रत्येक सामग्रीमा नजर लगाउनु नै पर्‍यो। माइक्रोफिल्म हेरेका जुसुकैलाई थाहा हुने कुरो हो– यो कुनै सजिलो काम होइन। आँखा र मुन्टो अनि ढाडको पीडा, माइक्रोफिल्म हेरेकालाई थाहा हुन्छ। 

तर, कहिलेकाहीँ यस्ता सामग्री सेरेन्डिपिटस्ली (संयोगवश) भेट्टिन्छन् कि तिनले अनयास मुहारमा मुस्कान ल्याउँछन्। पीडा बिर्साउँछन्। अनि मनमा थप कुतूहल सिर्जना गर्छन्। यस्तो आफू हिँडिरहेको गोरेटो अर्कैतिर मोडिन पनि सक्छ। अभिलेखहरू केलाउँदै गर्दा अनायास भेटिएका कतिपय सामग्रीले पनि मेरा मनमा केही प्रश्न सिर्जना गरे, र म ती सामग्री उपर घोत्लन थालेँ। सिनेमा, रेडियो र साहित्यसम्बन्धी परिच्छेद त्यस्तै घोत्ल्याइँका, बाटो-भड्काइका उपज हुन् भन्न सकिन्छ।

पछिल्लो १२-१५ वर्षदेखि नेपालको सामाजिक/राजनीतिक/शैक्षिक परिवर्तनका विभिन्न पहलुउपर घोत्लँदै, खोजीनिती गर्दै गरी केही न केही लेखिरहेको छु– कहिले अखबारमा, कहिले प्राज्ञिक सभा-सम्मेलनका लागि, कहिले जर्नलका लागि, कहिले पुस्तकका लागि। तिनै लेखहरूमध्येबाट सिर्जित हो आज तपाईंहरूमाझ पुग्न लागेको यो पुस्तक– सन्धिकाल

पुस्तकबारे

यो पुस्तक २००७ सालको परिवर्तनवरपर केन्द्रित छ। झट्ट र राजनीतिक रूपमा हेर्दा २००७ सालको परिवर्तन खासै ठूलो देखिन्न। अझ राणाका ठाउँमा शाहको शासन र रजगजलाई ध्यानमा राख्ने हो भने यो परिवर्तनलाई इतिहासको पादटिप्पणीमा सीमित गरिदिए पनि हुन्छ भन्न सकिएला। तर, २००७ सालको परिवर्तन आधुनिक नेपालको निर्माणपछिको सबैभन्दा ठूलो टर्निङ पोइन्ट हो। २००७ सालको परिवर्तनलाई २०४६ साल वा २०६३ सालको परिवर्तनसँग तुलना गरेर हेर्न सकिन्छ। सैद्धान्तिक रूपमा २०६३ सालको परिवर्तन २००७ सालको वा २०४६ सालको भन्दा पनि निश्चय नै ठूलो हो। नेपालीपन वा नेपालीयताका चार मुख्य अवयव मानिँदै आएका हिन्दु राष्ट्र, राजतन्त्र र केन्द्रीकृत शासन व्यवस्था र नेपाली भाषाको वर्चस्वलाई २०६३ सालको आन्दोलनले तोडेको हो। तर, व्यावहारिक रूपमा केलाउँदा २००७ सालको परिवर्तनको जति गुरुत्व अरू आन्दोलनको देखिँदैन।

यसअघि रैती मानिँदै आएका जनलाई २००७ सालको परिवर्तनपछि नागरिकका रूपमा ग्रहण गरियो। जनता सार्वभौम हुन्, अधिकारसम्पन्न हुन् भन्ने स्विकारियो। यसबाहेक जीविकाको प्रमुख स्रोत रहेको जमिनउपर नागरिकको हक स्थापित भयो। बोल्न-पढ्न-लेख्न-छाप्न पाउने, संघटित हुन पाउने र आफूलाई उपयुक्त लागेका परियोजना-व्यवसाय सञ्चालन गर्न पाउने अधिकार जब संविधानले नागरिकलाई प्रत्याभूत गर्‍यो, त्यसले जमिनी तहमा परिवर्तन ल्याइदियो। सामाजिक संघ-संगठन, मिडिया, स्कुल-कलेज-पुस्तकालय (अर्थात् शिक्षा) आदि क्षेत्रमा त उथलपुथल नै भयो। 

उदाहरणका लागि २००७ फागुन ७ को ऐतिहासिक घोषणा हुँदा-नहुँदा नेपालमा पहिलो गैरसरकारी दैनिक पत्रिका (आवाज) र अर्को साप्ताहिक पत्रिका (जागरण) प्रकाशन सुरु भइसकेको थियो। केही महिनाभित्रै टोल रक्षा/सुधार समूहदेखि विभिन्न क्लब, वादविवाद समूहदेखि नेपाल सांस्कृतिक परिषद्, नेपाल सांस्कृतिक संघ, नेपाली शिक्षा परिषद्, नेपाल नाटक संघ जस्ता बौद्धिक अध्ययन-अनुसन्धान गर्ने संस्थासमेत स्थापना भई सञ्चालनमा आइसकेका थिए– राजनीतिक दलहरूको त झन् कुरै भएन। पुस्तकालय र अझ शिक्षालयहरू त स्थानीयहरूको सक्रियतामा मुलुकैभरि स्थापना गरिँदै थिए। नेपालको पहिलो महिला कलेज २००८ सालमा स्थापना भइसकेको थियो, जबकि महिलाले पनि शिक्षा-दीक्षा पाउन हुन्छ भनेर औपचारिक रूपमा स्विकारिएको २००३ सालमा मात्रै हो। सामाजिक र राजनीतिक क्षेत्रमा अभूतपूर्व सक्रियता देखियो; अत्यन्तै गतिशील र जीवन्त समय थियो त्यो। त्यसैले प्राध्यापक कमलप्रकाश मल्लले विसं. २००७-२०१७ को दशकलाई ‘डिकेड अफ एक्स्ट्रोभर्सन’ को संज्ञा दिएका हुन्।

यहीँनेर एउटा प्रश्न उब्जन्छ– २००७ सालको परिवर्तनलगत्तै यस्ता अनेकानेक परियोजना ह्वारह्वार्ती सुरु हुन कसरी सम्भव भयो? के कुनै वैचारिक, मूर्त आधारभूमि विना यी परियोजना सञ्चालनमा आउन सक्थे? २००७ सालपछि जुन जुन क्षेत्रमा जे-जस्ता परिवर्तन देखिए ती केही महिनाको हतियारबन्द संघर्षका परिणाम मात्र होइनन्। न, त्यसअघि भएका रक्तपात काण्ड वा प्रजापरिषद् काण्डकै सिलसिला मात्रै हुन्। राजनीतिक परिवर्तन हुनेबित्तिकै अन्य सामाजिक परिवर्तन आफसेआफ हुँदैनन्। सतहमा ती परिवर्तन प्रस्ट देखिन वा नदेखिन सक्छन्, तर तिनको आधारभूमि पहिले नै तयार भएको वा क्रमिक रूपमा तयार हुँदै गरेको हुन्छ।

राणाकालको अन्तिम पाउतिर, जसलाई मैले ‘सन्धिकाल’ भनेको छु, निरंकुश शासनका थामहरू मक्किन थालिसकेका थिए; विभिन्न क्षेत्रमा नयाँ नयाँ संगठित कर्म हुँदै थिए, विभिन्न संस्था-संरचनाका जग बस्दै थिए। सन्धिको साधारण अर्थ दुई चीज वा वस्तुको मिलन हुन्छ। रातको निष्पट्ट अँध्यारोबाट सूर्योदयपछिको झलमल्ल उज्यालोमा पुग्ने जुन मिर्मिरेको समय हुन्छ वा दिन ढलेर रात पर्दै गर्दाको लालिमायुक्त साँझ हुन्छ त्यसलाई पनि सन्धि भनिन्छ। प्रज्ञा प्रतिष्ठानले निकालेको शब्दकोशमा सन्धिको पहिलो अर्थ ‘कुनै अवस्था वा युगको समाप्ति भई अर्को अवस्था वा युगको प्रारम्भ हुने समय’ छ। त्यसैले, यहाँ ‘सन्धिकाल’ लाई मुलुक अँध्यारोबाट उज्यालो युगमा प्रवेश गर्न लाग्दाको समयको रूपमा लिइएको छ। प्रस्तुत पुस्तकमा संगृहीत पाँच परिच्छेदले सोही सन्धिकालमा नेपाली समाजका विभिन्न क्षेत्रमा जग हालिएका त्यस्ता केही परिवर्तनलाई उदाहरणसहित व्याख्या-विश्लेषण गर्छन्, प्रस्ट्याउँछन्, जसले २००७ सालपछि हुने/भएका परिवर्तनका लागि आधारभूमि तयार गरिदिएका थिए। यी पाँच परिच्छेद फगत उदाहरणका लागि मात्रै लिइएका हुन्। अन्य विभिन्न क्षेत्रमा पनि सन्धिवयमा यस्तै परिवर्तनहरू भइरहेकै थिए। 

सन्धिकालमा औपचारिक जग हालिएका विभिन्न संस्था-संरचनाका यावत् पहलु जान्न-बुझ्न अथवा सामाजिक परिवर्तन अध्ययन गर्न तीन पक्षमा ध्यान दिनु जरुरी छ भन्ने म ठान्छु। पहिलो, समय अर्थात् टेम्पोरल डाइमेन्सन, दोस्रो, स्थानीय अभियन्ताहरू (एक्टर्स)को भूमिका, र तेस्रो, तात्कालिक आन्तरिक र बाह्य राजनीतिक-सामाजिक-प्राविधिक परिवेश (स्पासियल डाइमेन्सन)। अर्थात् नेपालमा हुने-भएका सबै खाले परिवर्तन (सामाजिक वा राजनीतिक वा अन्य) मा समयको गहिराइ (वा इतिहास), व्यक्तिहरूको एकल वा सामूहिक कर्म (कलेक्टिभ एक्सन) तथा छिमेक र बाहिरी विश्वमा भए-घटेका घटनाहरू (वैश्विक परिवेश)को प्रतिच्छायाँ देखिन्छ। यद्यपि, यस्तो प्रभाव सबै क्षेत्रमा उत्तिकै र उस्तै तवरले पर्छ भन्नु मूर्खता हुनेछ। त्यसैले, कुनै घटना/विषय अध्ययन गर्दा यो वा ऊ गहिराइसम्म पुग्ने अथवा यो दूरीसम्म पुग्नुपर्छ भनेर पहिल्यै ठोकुवा गर्नुभन्दा पनि सो घटना/विषयलाई खोतल्दै जाँदा कहाँसम्म पुगिन्छ, त्यहाँसम्म पुग्न जरुरी हुन्छ। सोही कारण, पुस्तकका विभिन्न परिच्छेदले समातेका समय र स्थान-परिधि भिन्न छन्; कुनै अलि गहिरा र फराकिला छन् भने कुनै अलि कम गहिरा र साँघुरा। कुनैले अलि दूरको भूगोलमा भइरहेको परिवर्तनसँग यहाँका घटनावलीलाई जोड्छन् भने कुनै छिमेकसम्म मात्र पुग्छन्। यो समय-सीमासम्म पुग्ने वा यो भूगोललाई छुने भनेर निर्णय गर्ने एउटै मात्र मापक स्वयं घटनाको/परिवर्तनको/संरचनाको जड हो।

२००७ साल असोजको गोरखापत्रमा छापिएको एक समाचारको शीर्षक यस्तो थियो– ‘श्री ३ महाराजबाट नेपालको संसद्को उद्घाटन, सिंहदरबार ग्यालरी बैठकमा।’

यी सामग्रीले हामीलाई बताउँछन्– वैश्विक परिस्थितिमा आइरहेको परिवर्तन र नेपालीहरूले गरिरहेका अपोजिसनल पोलिटिक्सको रापतापका कारण नराम्रो नतिजा आउनुअघि नै सुधार गर्नुपर्छ भन्नेमा राणाशासक पद्मशमशेर सचेत थिए। त्यसैले नेपालको संविधान बन्यो २००४ सालमा। तर, पद्म आफू नै पदमा टिक्न सकेनन् र संसद्को कुरा थाँती रह्यो। पछि राजनीतिक घटनाक्रम बदलिएपछि २००७ सालमा हतार-हतार संसद् गठन भयो। संविधानबारे त धेरैले सुने-पढेकै छन्, तर २००७ सालको संसद्‌बारे त थोरैलाई मात्र थाहा छ। किनकि, २००७ फागुनदेखि त राणाशासन नै मरिगयो। वैश्विक राजनीतिक परिवेश र नेपालीहरूको राजनीतिक आन्दोलनको आलोकमा इतिहासको पादटिप्पणीमा सीमित भइसकेको एउटा क्षण-भंगुर राजनीतिक संस्था-संरचनाको अभ्युदय र अवसान यो पुस्तकमा मैले केलाएको छु। योबाहेक अन्य विलुप्तप्रायः भएका संस्था-संरचनाबारे पनि म घोत्लिएको छु, खोजिपसेको छु।

नेपालको राजनीतिक विकासक्रमको इतिहासमा यी ‘दुई-दिने’ वा ‘क्षणभंगुर-संस्था’ को इतिहासको के महत्ता भनेर प्रश्न गर्न सकिएला। तर, यही इतिहासलाई, यिनै परिवर्तनलाई पनि बृहत्तर परिवेशमा हेर्दा के देखिन्छ भने नेपालले आफूलाई जतिसुकै छुट्टै राख्न खोजे पनि या छौँ भने पनि हाम्रो मुलुकमा भएका राजनीतिक विकासहरू हाम्रो छिमेक र समग्र विश्वमा भइरहेको परिवर्तनको एक हिस्सा थियो, र छ। यस बाहेक, हामीले, हाम्रा इतिहासकारले ठूला घटना, क्रमभंग गर्ने घटना, परिवर्तन वा तिनको नेतृत्व गर्नेहरूमा ध्यान केन्द्रित गर्छौं। तर, यी स-साना, क्षण-भंगुर घटना/गतिविधिहरू/संस्था-संरचनाको इतिहासले के बताउँछ भने ठूला/भयानक भनेका घटना अकस्मात् वा आफैँ हुने होइनन्; स-साना घटनाहरूको समग्रले मात्र ठूला घटना सम्भव तुल्याउँछन्। जसरी रूख ढल्नुमा बन्चरोको अन्तिम प्रहारको मात्र होइन, पहिले पहिलेका चोट पनि उत्तिकै महत्त्वका हुन्छन्, त्यसरी नै झिना-मसिना ठानिएका संस्था-संरचना वा गतिविधिले पनि समग्र परिवर्तनका आधारभूमि तयार गरिदिन्छन्। यी मसिना-इतिहास, यी क्षण-भंगुर संरचनाले हामीलाई परिवर्तनको बृहत् प्रक्रियालाई बुझ्न सघाउँछन् भन्ने म ठान्छु– चाहे त्यो राजनीतिक, सामाजिक होस् या अन्य कुनै खाले परिवर्तन नै होस्। सन्धिकालले पनि तपाईंलाई नेपालको एक महत्त्वपूर्ण कालावधिको सामाजिक परिवर्तनबारे बुझ्न, घोत्लन केही सघायो भने म कृतकृत्य हुन्छु।

(सन्धिकालः सामाजिक परिवर्तनका आधारभूमि पुस्तक लोकार्पण समारोहमा लेखक लोकरञ्जन पराजुलीले दिएको मन्तव्य। आज (२१ चैत) शनिबार सार्वजनिक भएको पुस्तक नेपालयले प्रकाशन  गरेको हो।) 

नेपाल न्यूज, ०४ अप्रिल २०२६
स्रोत : https://nepalnews.com/2026/04/04/हामी-बुद्धु-हौँ-कि-बनाइएक/


About the Author

More Blogs