योगी नरहरिनाथका पाठशालाका सञ्चालकहरूले राणा शासन नढलोस् भनेर कोटीहोम लगाएका थिए

- गोविन्द न्यौपाने | 2026-04-03

योगी नरहरिनाथका पाठशालाका सञ्चालकहरूले राणा शासन नढलोस् भनेर कोटीहोम लगाएका थिए

— ज्ञानमणि नेपाल

ज्ञानमणि नेपाल (वि.सं. १९८९ वसन्त पञ्चमी -२०८१ जेठ १) नेपाली इतिहास लेखनलाई तथ्य-प्रमाणमा आधारित, आलोचनात्मक र प्रमाणिक बनाउने अग्रणी इतिहासकार हुन्। उनले जीवनको अधिकांश समय खोज-अन्वेषण, त्रुटि संशोधन र शुद्ध्याइँमा समर्पित गरे, जसले नेपाली इतिहास लेखनलाई नयाँ उचाइमा पुर्‍यायो।

भोजपुरमा जन्मिएका ज्ञानमणिले प्रारम्भिक संस्कृत शिक्षा हजुरबुबा वैयाकरण नेपाल (पण्डित) र बुबा भानुभक्त नेपालबाट घरमै प्राप्त गरे। गोगने पाठशालामा मध्यमासम्मको अध्ययन गरे। २००४ देखि २०१२ सालसम्म उनले काठमाडौँमा सञ्चालित गुरुकुलीय परम्परामा आधारित नयराज पन्तको पाठशालामा पढे। त्यहाँ उनले प्राचीन लिपि, इतिहास, गणित र ज्योतिषशास्त्रसमेत अध्ययन गर्दै इतिहास अनुसन्धानको गहिरो आधार तयार गरे। २०१९ सालमा जगदम्बा प्रकाशनद्वारा प्रकाशित इतिहास संशोधनको प्रमाण-प्रमेय (पृ. ६०,६१) अनुसार भोलानाथ पौडेल, धनबज्र बज्राचार्यसँग मिलेर उनले प्रारम्भिक चरणमै कौटिल्यको अर्थशास्त्र, रघुवंश, इतिहास संशोधनपत्रहरू (संस्कृत सन्देशमा प्रकाशित) लगायत पुस्तक प्रकाशन गरे, जसले तथ्यमा आधारित इतिहास लेखनको अभ्यासलाई संस्थागत रूप दिन सहयोग पुर्‍यायो। पाठशाला शिक्षा पूरा गरेपछि उनले भोजपुरमा गुरुकुलीय शैलीको पाठशाला आठ वर्षसम्म सञ्चालन गरी नयाँ पुस्तालाई इतिहास अध्ययनतर्फ उन्मुख गराए। पछि काठमाडौँमा रहेर पनि उनले निरन्तर अनुसन्धान, लेखन र ऐतिहासिक सामग्रीहरूको विश्लेषणमा सक्रियता देखाए।

ज्ञानमणि २०३५ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) मा आबद्ध भए। ज्ञानमणि नेपालको व्यक्तिगत तथा प्राज्ञिक जीवनमा विवाद र चुनौतीहरू भए पनि उनले आफ्नो बौद्धिक निष्ठा र अनुसन्धानप्रति प्रतिबद्धता कायम राखे। नेपाली इतिहास लेखनलाई वैज्ञानिक, प्रमाणमा आधारित र समालोचनात्मक दिशातर्फ अघि बढाउने एक महत्त्वपूर्ण व्यक्तित्वका रूपमा स्थापित उनीसँग मृत्युको केही महिनाअघि मात्र गरिएको लामो अन्तर्वार्ताको सम्पादित अंश।

*     *     *

तपाईंको पढाइ कसरी सुरु भएको थियो?

मैले पाँच वर्षको उमेरमा अक्षर चिन्न सुरु गरें। त्यस बेलामा घरगाउँमा वेद पढ्नुपर्थ्यो। पढ्दा कण्ठ पार्ने चलन थियो। कविता लेख्न पनि जोड दिइन्थ्यो। विवाह बटोलमा (कविता) श्लोक भन्न सक्ने मान्छेको बेग्लै इज्जत थियो। मेरो हजुरबा वैयाकरण नेपाल पनि कविता भन्न सिपालु हुनुहुन्थ्यो। पहिलो वर्ष मलाई अक्षर चिन्नमा लाग्यो । यसपछिको एक वर्षमा चण्डी (दुर्गासप्तशती) कण्ठस्थ पारें। त्यसपछिको दोस्रो वर्षमा दुर्गा कवच (मन्त्रस्तोत्र) पढें। सात वर्षको उमेरमा नेपाली भाषा साहित्य पनि पढ्न थालें। बिस्तारै भानुभक्तका कविताहरूमा रस बस्यो। विशेषतः संस्कृत र नेपाली दुवै भाषामा लेखिएका अध्यात्म रामायण पनि रुचि मानीमानी कन्ठस्थ गरें।

व्रतबन्ध नगरी वेद पढ्न हुँदैन भन्ने चलन थियो। आठ वर्षको उमेरमा मेरो व्रतबन्ध भयो। त्यसपछि बल्ल वेद र रुद्री पढ्न थालें। रुद्री चाहिँ अर्थ गरेर पढ्न हुँदैन भन्ने चलन थियो। तर मेरा हजुरबाले बनारसबाट रुद्रीको अर्थ र व्याख्यासहितको पुस्तक घरमा ल्याउनुभएको थियो। त्यसकारण मैले सानै उमेरमा रुद्रीको अर्थसहित पढ्न पाएँ। त्यसपछि मैले व्याकरण र लघुकौमुदी पढ्न थालें।

दैवसंयोग नै भनौँ, नजिकैको गोगने गाउँमा संस्कृत पाठशाला खुल्यो। त्यस गोगने पाठशालामा काशीबाट मध्यमासम्म पढेर आउनुभएका मेरो मामाले पढाउन थाल्नुभयो। मैले पनि सोही पाठशालामा मध्यकौमुदी तहसम्मको अध्ययन पूरा गरें। सो पाठशालामा मैले तर्कसंग्रह, छन्दमञ्जरी, धिग्दण्ड, चाणक्यनीति, हितोपदेश, पञ्चतन्त्र, अमरकोश जस्ता मध्यमा तहका पाठ्यक्रमहरू पढें। मेरा बाले काशी गएर शास्त्रीसम्म पढ्नुभएको थियो र मलाई पनि शास्त्रीसम्म पढाउँछु भन्नुहुन्थ्यो। बडाबाका छोरा दाजुले महामहोपाध्याय बन्नुपर्छ भन्नुहुन्थ्यो। थप अध्ययनका निम्ति काशी जाने कि  काठमाडौँ जाने भन्दा २००४ सालमा  काठमाडौँ आउने स्थिति बन्न पुग्यो।

उतिखेर  काठमाडौँ कसरी आइपुग्नुभयो?

त्यस बेला  काठमाडौँ आउन वीरगन्जमा राहदानी बनाउनुपर्थ्यो। वीरगन्जमा अंग्रेजले तराईका काठहरू ओसार्न बनाएका रेलमार्ग थियो, जुन वीरगन्जदेखि जनकपुरसम्म जान्थ्यो। रक्सौलदेखि वीरगन्जसम्म रेल चढेर पुगें, राहदानी बनाएँ। वीरगन्जबाट रेल चढी अमलेखगन्ज आएँ। अमलेखगन्जबाट फेरि सानो लहरी चढेर भीमफेदीसम्म पुगें। भीमफेदीदेखि हिंडेर  काठमाडौँ आइयो। भीमफेदीदेखि दुई दिन हिंडेर मार्खुमा बास बसियो। अर्को दिन मार्खुबाट चित्लाङ हुँदै चन्द्रागिरि आएर बास बसें। त्यसरी भीमफेदीबाट हिँडेर  काठमाडौँ आइपुगें।

काठमाडौँ आएपछि पढाइलाई कसरी अघि बढाउनुभयो?

जगदीशचन्द्र रेग्मीको बडाबा शेषराज रेग्मीले रानीपोखरी संस्कृत पाठशालामा पढाउनुहुन्थ्यो। त्यहाँ सरकारी पाठ्यपुस्तकअनुसार नै मध्यमा तहसम्मको पढाइ हुन्थ्यो। त्यसपछि थप अध्ययन गर्न बनारस जाने चलन थियो। सरकारी पढाइ र परीक्षा त्रिखण्डी प्रणालीमा आधारित थियो। सय नम्बर अङ्कभारको पढाइमा ३३ नम्बर अङ्क प्राप्त भएपछि उतीर्ण हुन्थ्यो। त्यसमा उत्तरपुस्तिका जाँचकीले दुई नम्बर अङ्क थपेर विद्यार्थीलाई उत्तीर्ण गराउने चलन थियो। नयराज गुरु यस्तो त्रिखण्डी परीक्षा प्रणालीको घोर विरोधी हुनुहुन्थ्यो।

लक्ष्मीप्रसाद पोखरेल पण्डितसँग  काठमाडौँ आइसकेपछि सबैभन्दा पहिले नयराज गुरुकै सङ्गतमा जोडिएँ। लक्ष्मीप्रसाद पण्डितले मलाई “हे बाबु, बाले शास्त्री पढेर आउनु भन्नुभएको छ त्यस्तै दाजुले महामहोपाध्याय बनेर आउनु भन्नुभएको छ। चाँडै शास्त्री हुने भए, शेषराज रेग्मी (सरकारी संस्कृत पाठशाला) सँग पढ्ने कि नयराज गुरुको निजी पाठशालामा पढ्ने?” भनेर सोध्नुभयो। म चाहिँ त्रिखण्डी प्रणाली छोडेर कण्ठस्थ पार्ने पद्धति अर्थात् नयराज गुरुको पद्धतिसँग जोडिएँ। गुरुसँग व्याकरणको मूल जड अष्टाध्यायीसहित पाँचवटा मुख्य-मुख्य पुस्तकहरू कण्ठस्थ पार्नुपर्थ्यो। दयानन्द सरस्वतीले लेखेको पुस्तक मैले पढेको थिएँ जसमा उनले अष्टाध्यायीबाट नै लघुकौमुदी, मध्यकौमुदी र सिद्धान्त कौमुदी बनेको हो भनेका छन्। अर्को, मैले पहिले नै पञ्चतन्त्र पढिसकेको थिएँ। पञ्चतन्त्रको आमुखमा एउटा श्लोक छ,

अनन्तपारं किल शब्दशास्त्रं स्वल्पं तथायुर्बहवश्च विघ्नाः ।
सारं ततो ग्राह्यमपास्य फल्गु हंसैर्यथा क्षीरमिवाम्बुमध्यात् ।।

अर्थात् व्याकरण शास्त्र पढेर कहिल्यै पार पाइनसक्नु छ, आयु थोरै छ, विघ्न धेरै छन्, त्यसकारण हाँसले पानीबाट दूध छानेर खाए जस्तै नचाहिने लम्बेलष्ट कुरा छाडेर सार कुरा ग्रहण गर्नुपर्छ। अतः शास्त्र अनन्त छन् र १२ वर्षमा व्याकरण, १२ वर्षमा न्याय, १२ वर्षमा ज्योतिष आदि पढिन्छ भनेर लेखिएको पढेको थिएँ। यसरी त जीवनभर पढ्दा पनि नसकिने भयो। यसकारण सारं ततो ग्राह्य मपास्य फल्गु अर्थात् हाँसले दूध र पानी छुट्याएर दूध पिए जस्तै हामीले सारांशमा पढ्नुपर्छ भनेर लेखिएको पनि पढेको थिएँ। त्यसो हुनाले मैले नयराज गुरुसँग नै पढें।

नयराज पन्तले सञ्चालन गर्नुभएको गुरुकुलको पाठ्यक्रममा के कस्ता विषयहरू पढ्नुपर्दथ्यो?

अष्टाध्यायी (व्याकरणको मूलग्रन्थ) र अमरकोश जस्ता व्याकरण र कोशहरू कण्ठस्थ पारेर सुनाउनै पर्थ्यो। त्यस्तै, १९ सर्गको रघुवंश पनि कण्ठस्थ पार्नुपर्थ्यो। गणित र ज्योतिष पनि पढ्नुपर्थ्यो। ज्योतिष पनि फलित ज्योतिष, गणित ज्योतिष र वेदान्त ज्योतिष गरी तीन भाग हुन्छ। नयराज गुरु ज्योतिषाचार्य हुनुहुन्थ्यो। मैले चाहिँ काव्यमा रघुवंश र भट्टीकाव्य, कोशमा अमरकोश र व्याकरणमा अष्टाध्यायी पढें। अष्टाध्यायीको रूप जान्नका लागि भट्टीकाव्य पढ्नुपरेको हो। त्यस्तै गद्यलेखनका लागि वाणभट्टको हर्षचरित्र पढ्नुपर्थ्यो। मैले २००४ देखि २०१२ सालसम्ममा नयराज गुरुले तयार गर्नुभएका सबै पाठ्यक्रमहरू कण्ठ पारेर सुनाएको थिएँ। गुरु मसँग संस्कृतमा नै बोल्नुहुन्थ्यो। “सरकारी पाठशालामा मैले १६ जना विद्यार्थीलाई आचार्य बनाएँ तर तिनीहरूले मेरो अनुसरण र अनुसन्धान केही पनि गरेनन् भलै तिनीहरू ठूलाठूला पदमा पुगे। तर तिमीले मैले सोचे जसरी नै मेरो इच्छा पूरा गर्‍यौ” भनी गुरुले मलाई भन्नुहुन्थ्यो।

गुरु ठूलो विद्धान् हुनुहुन्थ्यो। तर आफूलाई मन नपरेको कुरा चाहिँ सुन्नै मन नपराउने स्वभावको हुनुहुन्थ्यो। उहाँको स्वभाव कडा नै थियो। एक दिन चाँडै गरेर म गुरुकै घरमा रघुवंशको पुस्तक लिएर गएँ। प्रथमसर्ग सरर्र गुरुले पढाइदिनु अनि म कण्ठ पार्छु भनेँ। मैले दोहोर्‍याएर के भन्नै के लागेको थिएँ झोक्किएर उहाँले पुस्तक हुर्‍याइदिनुभयो। अर्को घटना, मैले एउटा अनुसन्धानमूलक लेख लेखेको थेँ, सो लेख मैले उहाँलाई देखाएँ। एउटा शब्दमा विसर्ग थप्न छुटेको, एक ठाउँमा चाहिँ ह्रस्वदीर्घ बिग्रेको रहेछ, त्यो देखेपछि उहाँले पाण्डुलिपि नै च्यातेर फाल्नुभयो। सहपाठी धनबज्र बज्राचार्यसँग मैले छोडेरै जान्छु भनेको थिएँ। तर आठ वर्षसम्म अठोट नै गरेर नयराज पन्तसँगै बसेर पढेँ।

२००७ सालतिर नयराज पन्तको पाठशालामा पढ्दापढ्दै योगी नरहरिनाथले स्थापना गर्नुभएको पाठशालामा भोलानाथ पौडेल र तपाईं पढाउन जानुभएको थियो। त्यहाँ पढाउन किन छाड्नुभयो?

योगी नरहरिनाथले नयराज पन्त गुरुलाई आफ्नो पाठशालामा पढाउनका लागि शिक्षक पठाइदिनु भनी अनुरोध गरे। नरहरिनाथले खोलेको पाठशालामा संशोधन मण्डलकै पाठ्यक्रम पढाइन्थ्यो। त्यहाँ पाठशालामा पढाउनका लागि मैले परीक्षा दिनुपरेको थियो। २००७ सालपछि योगी नरहरिनाथले धर्मसभा नामक संस्था खोलेर राजनीतिमा लागे। म राजनीतिमा नलाग्ने भएपछि उनीसँग मेरो खटपट भयो। नरहरिनाथ राजनीतिमा लागेपछि उनको पाठशाला पनि गञ्जागोल भयो।

वास्तवमा योगी नरहरिनाथ मोहनशमशेरका निकटका नातेदार पनि थिए। यसैकारण उनी गोरखपीठको प्रमुख भएका थिए। एउटा रोचक कुरा त, योगी नरहरिनाथका पाठशालाका सञ्चालकहरूले मोहनशमशेर रहुन्, राणा शासन नढलोस् र प्रजातन्त्र नआवोस् भन्ने उद्देश्यले कोटीहोम लगाएका थिए। वास्तवमा योगी नरहरिनाथ प्रजातन्त्रप्रेमी थिएनन्,  प्रजातन्त्रको विरोधी थिए। राणा ढल्दा उनी त्यति खुसी थिएनन्। धर्म र राजनीतिबाट अलग हुने ध्येयले पनि हामीले २००८ सालको आसपासमा योगीजीको पाठशालामा पढाउन छोड्यौं।

त्यस बेला संशोधन मण्डलका लागि अभिलेखहरूको खोजी गर्न पनि जानुहुन्थ्यो हैन?

वास्तवमा नेपालको इतिहास लेखनमा संशोधन मण्डलले एक युग बिताएको छ। संशोधन मण्डल स्थापना हुँदा धनबज्र बज्राचार्य र म, भोलानाथ पौडेल, देवीप्रसाद भण्डारी, रामजी तिवारी आदि थियौँ। पछि बढेर २१ जनासम्म पुगे। हामीले त्यस बेला मै हुँ भन्ने इतिहासकारहरूका त्रुटि देखाउँदै संशोधन पत्रहरू छाप्थ्यौँ।

'बालचन्द्र शर्माजी स्वास्नीलाई पनि आमा भन्नुहुन्छ' भन्दै संशोधन मण्डलले संशोधन पत्रिकाहरू छाप्तै बेच्तै गर्न थालेको थियो। अभिलेख खोज्न हामी दक्षिणकाली र पलाञ्चोक भगवती पुग्न सकेनौं। बाँकी काठमाडौँ उपत्यकाका धेरै ठाउँहरूमा पुग्यौँ। मैले लिप्यन्तर गरेका पाँचवटा लेखहरू स्वतन्त्र प्रकाशन गरेको छु। कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या भन्ने सानो पुस्तिका चाहिँ भोलानाथ पौडेल, धनबज्र बज्राचार्यसहित भएर २००९ सालमा नै छापेका थियौँ।

नयराज पन्तबाट प्रमाणपत्र प्राप्त गरेपछि तपाईंको जीवनको गोरेटो कतातिर मोडियो?

एक जना विद्यार्थी वा सहयोगीको साथमा मैले गुरुलाई निर्धारित पाठ सुनाएपछि परीक्षा उत्तीर्ण भएको ठहरिन्थ्यो। २०१२ सालमा मैले संशोधन मण्डलबाट त्यहाँको पाठ्यक्रम अनुरूपको पढाइ पूरा गरेँ। त्यही बेला पुरातत्व विभागमा जागिरको लागि भर्ना खुलेको रहेछ। पुरातत्व विभागका निर्देशक सरदार रुद्रराज पाण्डे थिए। गुरु नयराज पन्तले रुद्रराज पाण्डेसँग मेरो जागिरको कुरा गर्नुभएको रहेछ। सरकारी मान्यता अनुरूपको मेरो प्रमाणपत्र नभएकाले त्यहाँ म गइनँ।

एकदिन म टुँडिखेल डुल्दै थिएँ। सिंहदरबार आउँदै गरेका रुद्रराज पाण्डेसँग भद्रकालीनेर भेट भयो। उनी मन्दिर दर्शन गरेर फर्कँदै रहेछन्। उनले “हैन बाबु, तिमीलाई मैले जागिर दिन्छु भनेको थिएँ, तिमी आएनौ त?” भने। मैले “के जागिर दिनुहुन्छ त बा?” भनेर सोधेँ। उनले, “पैसाको हिसाबले सिनियर क्लर्कको तलब (महिनावारी सय रुपियाँ) दिन्छु तर काम चाहिँ जुनियर क्लर्कको गर्नुपर्छ” भने। मैले “अंग्रेजी पदनाम होइन, नेपाली वा संस्कृत शब्दको पदनाम भएको पद दिनु” भनेँ। “त्यस्तो पदनाम नेपालमा छैन” भनेपछि “म जागिर खान्न” भनेँ।

त्यस बेला महिनाको चालीस रुपियाँको तलब खान्थे, रानीपोखरी संस्कृत भाषा पाठशालाका हाम्रा गुरुहरूले। त्रिचन्द्र कलेजका गुरुहरूले महिनाको सय रुपियाँ खान्थे।

त्यसपछि म २०१२ सालमा भोजपुर घर फर्केँ। घर गएर मैले पनि नयराज पन्तकै पाठ्यक्रम र शैलीमा आधारित रहेर गुरुकुली पाठशाला खोलेँ र पढाउन थालेँ। मैले खोलेको पाठशालामा विद्यार्थीहरू थुप्रै थिए, सम्हाल्नै नसक्ने जस्तो गरी। २०१७ सालसम्म मैले चार वर्ष पढाएँ। मेरो पाठशालाले सरकारी मान्यता पाएको थिएन। त्यति बेला, पाठशाला खोल्न पाउँ भनी निवेदन दिएमा पाठशाला खोल्न पाइन्थ्यो। मैले पढेको गोगने पाठशालाका पण्डितले आफ्नो पाठशालालाई सरकारी मान्यता प्राप्त होस् भनी निवेदन दिएछन्। मेरो बुबाले पनि मेरो पाठशालालाई सरकारी मान्यता प्राप्त होस् भनी निवेदन दिनुभएछ। दुवै पाठशालाले सरकारी मान्यता प्राप्त गर्‍यो।

पछि, गोगने पाठशालाका शिक्षक र प्रधानपञ्च मिलेर मलाई गाउँ भाँड्यो भन्ने आरोप लगाए। जिल्लामा उजुरी पनि दिए, मेरो विरुद्धमा। मेरो पाठशालालाई उजुरी परेपछि जिल्लाबाट जाँच गर्न आए। सबै विद्यार्थीबाट पैसा उठाएर शिक्षकको तलब दिन्थेँ। त्यस बेलाका सिडिओ, सुब्बा आदि मैले चिनेको हुनाले मलाई नराम्रो केही भएन। २०१७ सालमा मेरा पिताजीको स्वर्गवास भएपछि आफ्नै व्यावहारिक परिस्थितिका कारण पाठशाला चलाउन गाह्रो हुँदै गयो। पञ्चायती शासन सुरु भएपछि पाठशालाको गति मन्द हुँदै गयो र बन्द नै भयो। त्यति बेलाको सरकारी कुदृष्टिले पनि मेरो पाठशाला बन्द गराउन भूमिका खेल्यो।

तपाईं नियमित अनुसन्धानमै लागिरहनुभयो, तर संशोधन मण्डलसँग किन जोडिरहनु भएन?

गुरुले तयार गर्नुभएको पाठ्यक्रम पूरा गरी हिंडेपछि त संशोधन मण्डलसँग सम्बन्ध टुटे जस्तै नै भयो। म पाठशालाका भाइसाथीहरूसँग मिलेर काम गर्न चाहन्थेँ। संशोधनपत्रहरू प्रकाशन कार्य गर्ने कुरा हुँदैथ्यो। पछि खै किन हो, मेरो विरोध भयो। म बनारस गएँ। त्यहाँ पुस्तकालयमा इतिहास, संस्कृति, अभिलेख, लिपि, साहित्य र दर्शनका पुस्तकहरू खोजीखोजी दिनभर पढ्न थालेँ, जुन  काठमाडौँ पढ्न पाइन्थेन। मेरो स्वतन्त्र अध्ययनमा बनारस बसाइ निकै फलदायी भयो।

२०३२ सालमा मेरो आठ वर्षको निकै तेजिलो दिमाग भएको छोरो खसेपछि घर व्यवहार केही हेर्दिनँ भनी विरक्तिएँ। छोरो बिमारी हुँदा म विराटनगरमा थिएँ। घरकाले धामीझाँक्री लगाएछन्। चाणक्य नीतिमा लेखेको छ, “विद्या नभएको र मूर्खहरूको देशमा नबस्नु”। धामी लगाएर कुन रोग पो निको हुन्थ्यो र? म मूर्खको देशमा जन्मिन पुगेछु। सामान्य ज्ञान पनि नभएको मान्छेसँग सङ्गत भएछ मेरो भन्ने लाग्यो। त्यसपछि परिवारसहित म गाउँ छोडेर  काठमाडौँ आएँ।

काठमाडौँ फर्केर आए पनि संशोधन मण्डलसँग जोडिएर काम गर्ने संयोग जुरेन। तर पनि गुरुसँगको सानिध्य कहिल्यै टुटेन। मैले अनुसन्धान गरेका र प्रकाशन गरेका लेख तथा पुस्तकहरू गुरुलाई देखाइरहन्थेँ। मल्लकरको परिभाषा र सम्राट गृहपति नामक दुइवटा आलेख गुरुसँगको सहकार्यमा लेख्ने अवसर पनि पाएँ। अनुसन्धानमा मेरो लगाव र प्रकाशित कृतिहरू देखेर गुरु मसँग खुसी नै हुनुभयो। मैले बनारसमा छापेका वैयाकरणका किताब पनि गुरुलाई दिएँ। यो पुस्तकलाई बाबुराम आचार्यले पुनः प्रकाशन गर्नुभएको थियो, तर सो किताब हरायो रे भन्ने सुनें। पछि साझा प्रकाशनबाट पुनःप्रकाशन गरेँ।

तपाईं काठमाडौँ फर्केर आउनुभएपछि त्रिभुवन विश्वविद्यालयमा जोडिनुभयो, होइन?

हो,  काठमाडौँ फर्किसकेपछि अभिलेखसम्बन्धी काम गर्ने एउटा जर्मनी संस्थाले राष्ट्रिय अभिलेखालयमा अभिलेखहरूको माइक्रो फिल्मिङ गर्ने परियोजना ल्याएको रहेछ। प्राचीन लिपि, संस्कृत र नेवार भाषा पनि जानेको मान्छे सो परियोजनामा चाहिएकोले मलाई त्यस काममा अनुरोध भइआयो। म सोही परियोजनामा (नेपाल रिसर्च सेन्टर) जोडिएँ। यो ३४ साल साउन महिनाको कुरा थियो। महेशराज पन्तको सहयोगमा उपप्राध्यापक सरहको तलब खाने गरी म यस संस्थामा जोडिएको थिएँ।

जर्मन परियोजना चाहिँ २०२७ सालदेखि सुरु भएको थियो। परियोजनामा एक जना मेनेजर थिए, उनलाई कालीकोटे पनि भन्थे, उनलाई कसैले बर्मेली पनि भन्थे बर्मातिरबाट आएको हुनाले। त्यहाँ चाहिँ हामीलाई तिनले “छिटो काम गर, छिटो काम गर” भनी अह्राइरहन्थे। एउटा मैथिली भाषामा पुस्तक आएपछि त्यो पढ्न मलाई दुई दिन लाग्यो। मलाई “हिजो पनि त्यही, आज पनि त्यही” भन्दै कराउन थाल्यो। दुई पल्टसम्म सहेँ, त्यसपछि सहन सकिनँ। जुरुक्कै उठेर “तेरिमा बुच्चे खत्री, तैँले अह्राउने मलाई ? तँ आइज लौ बस यहाँ। तेरो काम म गर्छु र तलब पनि म खान्छु, मैले गर्ने काम तँ गर्, तैँले १२ वर्षमा एउटा पुस्तकको काम सकिस् भने, म तँलाई धन्यवाद दिन्छु” भन्दिएँ। त्यसपछि म त्यहाँ जान छोडें।

त्यसैताका त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)मा डोरबहादुर विष्ट कार्यकारी निर्देशक भएर आए। उनीसँग मेरो चिनजान थिएन। उनले मलाई पुस्तकमार्फत चिनेका रहेछन्। आउने बित्तिकै उनले मलाई बोलाए। विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र मसँग नभएको, गुरुकुलको प्रमाणपत्रलाई उनीहरूले मान्यता नदिने र अभिलेखालयमा झैँ कारिन्दाको व्यवहार गर्ने त होला भनेर म गइनँ। उनले चार पटकसम्म बोलाइरहे, म जाँदै गइनँ। डोरबहादुर विष्टले पूर्णप्रकाश नेपाल यात्रीलाई भनेछन् “तिमीले त ज्ञानमणिलाई दाजु भन्छौ, मैले ज्ञानमणिलाई चार पटकसम्म बोलाएँ, उनी आएनन् तिमीले लिएर आउन एक पटक।”

पूर्णप्रकाश एक दिन बिहानै मकहाँ आए र चिया खायौँ। त्यसपछि हामी विष्टकोमा गयौँ। विष्ट बैठक कोठामा बसिरहेका रहेछन्। अनि उनले हाँस्दै “ज्ञानमणिजी मैले तपाईंलाई बोलाएको अहिले समेत पाँच पटक भो। यो विष्टले असिस्टेन्टमा राख्छ भनेर तपाईं नआउनु भएको हो” भने। “मैले कसैलाई भनेको छैन यो कुरा, तपाईंले कसरी मेरो मनको कुरा जान्नुभो?” मैले भनेँ। “मैले त्यति पनि बुझ्न नसके राजाले मलाई नियुक्ति दिन्थ्यो त त्यहाँ ?” उनले भने। त्यसपछि पाँच ग्रेड थपेर उनले मलाई सिनासमा उपप्राध्यापक पदमा नियुक्ति दिए।

सिनासमा रहँदा मैले धेरै काम गरेँ। अप्रकाशित दस्तावेजहरूको खोजी, प्राप्ति गरी अनुन्धान गरी प्रकाशन गर्ने जिम्मा मेरो थियो। सिनासमा मैले १३ वटा अनुसन्धान प्रतिवेदन बुझाएको थिएँ। तर दुर्भाग्य भनौँ, ती प्रतिवेदन पछि अर्कैको नाममा प्रकाशित भयो, अर्थात् मेरो कृति चोरी भयो। मेरो प्रतिवेदन हेर्न आउने गर्दागर्दै मेरै दराजबाट चोरी भयो।

सिनासमा १७ वर्ष काम गरेँ, २०३५ देखि २०५२ सालसम्म। आखिर हामी संशोधन मण्डलका सबै सदस्यहरूले सरकारी जागिर खायौँ। २०५२ देखि २०५७ सालसम्म म नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ भएँ। त्यसपछि आजीवन सदस्य रहेँ।

(ज्ञानमणि नेपालसँग २०८० सालमा गरिएको यस अन्तर्वार्तालाई ज्ञानमणि नेपाल, नयराज पन्त, महेशराज पन्त, धनबज्र बज्रचार्य, नयनाथ पौडेल र सुरेन्द्र केसीको पुस्तकलगायतलाई समेत स्रोत मानी तयार पारिएको हो।)

The commons, ०३ अप्रिल २०२६
स्रोत : https://commons-nepal.com/a-journey-of-revision-and-research-in-historical-writing/


About the Author

गोविन्द न्यौपाने

अनुसन्धाता

More Blogs