रेडियो पत्रकारिता : एफएममा समाचार र संवाद

2021-10-18

- निर्मलमणि अधिकारी

टेलिभिजन र अन्य नवीन सञ्चार प्रविधि आएपछि रेडियो हराउने हो कि भन्ने आशंका गलत साबित भइसकेको छ । आफ्ना विश्लेषताका कारणले रेडियो नै गरिबहरूका लागि मुख्य इलेक्ट्रोनिक सञ्चारमाध्यम भएको छ । संसारमा २० हजार भन्दा धेरै रेडियो स्टेसन र २ अरब भन्दा धेरै रेडियो सेट भएको कुरा सन्‍ २००१ मै बताइएको थियो ।१ सन्‍ १९७४ मा गरिएको एक सर्वेक्षणमा नेपालमा १ लाख १५ हजार रेडियो सेट भएको तथ्यांक खुलाइएको थियो भने सन्‍ १९९७ मा भएको सर्वेक्षणअनुसार यो संख्या १७ लाख २२ हजार थियो ।२ त्यसयता नेपालमा भएको एफएम रेडियो प्रसारणको विस्तृतिले उक्त आँकडामा ठूलो अन्तर आइउकेको आँकलन सहजै गर्न सकिन्छ । नेपालमा रेडियो (एफएम) को तीव्र विकास देशको अर्थ-राजनितिक पृष्ठभूमिलाई ख्याल राख्दा स्वाभाविक परिघटना देखिन्छ ।

आधुनिक मिडियाको इतिहास छापा पुस्तक (प्रिन्टेड बुक) सँगै सुरू हुने मानिएको छ३ सन्‍ १९१५ मा विस्कोन्सिन विश्वविद्यालय र सन्‍ १९१६ मा पिटस्वर्ग विश्वश्रविद्यालयमा स्थापिन रेडियो स्टेसनहरू संसारका सबभन्दा पुराना रेडियो स्टेसन मानिएका छन्‍ । परन्तु रेडियोलाई जनसञ्चारका माध्यमको रुपमा स्वीकार गरिएकोचाहिँ सन्‍ १९२० पछिनै हो भने सन्‍ १९३० को दशकमा रेडियो लोकप्रिय आमसञ्चार माध्यम बन्यो ।४ नेपालमा पनि वि.स. २००७ साललाई औपचारिक प्रस्थान बिन्दु मात्रे हो भने, रेडियो प्रसारणले बितेका साढे पाँच दशकमा अनेक आरोह-अवरोह पार गरे पनि रेडियो पत्रकारिताले वास्तविक आकार लिएको चाहिँ प्रजातन्त्र पुनर्स्थापना पश्चातको उदार राजनीतिक व्यवस्थामा नै हो । एक दशकअघि एफएम प्रविधिलाई बाटो खुलाइएपछि देशमा रेडियो स्टेसनहरूको संख्यात्मक वृद्धि त भयो नै; त्यसको प्रभाव अन्य आयामहरूमा पनि पर्‍यो । स्वाभाविकै हो - रेडियोबारे अनुसन्धान गर्ने प्रवृक्ति पनि बढिरहेको छ ।

यसै क्रममा 'नेपाली समाजमा रेडियो' भन्ने बृहत्‍ शीर्षकअन्तर्गत मार्टिन चौतारीको अनुसन्धानको पछिल्लो कडीको रूपमा 'रेडियो पत्रकारिता : एफएममा समाचार र संवाद पुस्तक प्रकाशनमा आएको छ । पुस्तकमा 'रेडियो पत्रकारिता भनेर समाचार बुलेटिनका कार्यक्रम र सामयिक विषयमा सञ्चालन गरिँदै आएका अन्तक्रियात्मक कार्यक्रम अथवा 'टक सो' हरूलाई (पृ. ७५) जनाइएको छ ।
 
देशमा एफएम प्रसारणको प्रारम्भदेखि नै यसप्रति सर्वसाधारण र बौद्धिक सबैको ध्यान खिचिएको थियो । यसलाई सकारात्मक, नकारात्मक वा समीक्षात्मक विभित्र दृष्टिकोणबाट हेरेर लेखिएका थुप्रै फुट्‍कर लेख, पत्र तथा प्रतिक्रियाहरू प्रकाशनमा आएका छन्‍ । तथापि 'एफएम रेडियोबाट प्रसारित समाचार र अन्तर्सम्वाद कार्यक्रमबारे अनेकथरी टीकाटिप्पणी प्रकाशनमा आएको पाइन्छन्‍ । तर तिनको प्राज्ञिक विश्लेषण भएको पाइँदैन' (प्राक्कथन, पृ. ञ) भन्ने मूल्यांकन गर्दै यो पुस्तक प्रकाशनमा आएको छ । पाँच सय भन्दा बढी पृष्ठको यो पुस्तकमा 'एफएममा भइरहेको पत्रकारिता-अभ्यासको लेखाजोखा' गरिएको बताइएको छ ।

पुस्तक चार खण्ड र ११ अध्यायमा बाँडिएको छ । पहिलो 'परिचय' खण्डमा दुईवटा अध्यायहरू छन्‍- 'नेपालमा एफएम रेडियोको बिस्तार' र 'रेडियो अध्ययन: सैद्धान्तिक धरातल र हाम्रो प्रयास' दोस्रो 'कानून, नीति र सङ्‍घर्ष' खण्डमा पनि दुइवटै लेखहरू रहेका छन्‍- 'कानून, नीति तथा सरकारी रवैया' र 'माघ १९' पछि एफएम रेडियोको दशा' । तेस्रो 'समाचार' खण्डमा चारवटा अध्यायहरू छन्‍- 'काठमाडौँका एफएम रेडियोमा समाचारको अभ्यास; 'हालचालको हालचाल; कान्तिपुर एफएमको समाचारलाई फर्केर हेर्दा' र पोखरेली एफएम रेडियोमा समाचार' । चौथो 'अन्तर्सम्वाद कार्यक्रम' खण्डमा तीनवटा अध्यायहरू छन्‍- 'एफएप रेडियोमा हुर्कँदो अन्तर्क्रिया; 'पोखरेली एफएममा सार्वजनिक डबलीको खोजी' र 'तामाङ भाषाका रेडियो कार्यक्रममा बहसको स्वरूप' ।

पुस्तकले उठाएका कतिपय कुरा यति जल्दाबल्दा छन्‍ कि तिनीहरूलाई सम्बोधन नगरी नेपाली एफएम प्रसारणको स्वस्थ विकास हुनै सक्दैन । जस्तै- सरकारी सञ्चारमाध्यम रेडियो नेपालले 'एफएम काठमाडौँ सुरु गर्न कुनै निवेदन पनि दिएन र इजाजत पनि लिएन यसको परीक्षण प्रसारण २०५२ साल कात्तिक ३० गते बिहानदेखि भयो भने प्रसारणको स्वीकृतिका लागि सञ्चार मन्त्रालयमा २०५२ मंसिर १९ गते मात्र निवेदन दिइयो । मन्त्रालयले रेडियो नेपाललाई एफएम काठमाडौँ प्रसारण गर्न २०५२ माघ २८ मा इजाजत दिए पनि नियमित प्रसारण भने २०५२ पुस १५ गतेदेखि नै शुरु भएको थियो । यसरी नेपालको पहिलो एफएम प्रसारण गैरकानूनी थियो (पृ. १२) । अहिले पनि रेडियो नेपालले १०३ मेगाहर्जमा बिना इजाजत नै एफएम प्रसारण गरिरहेको (बीबीसीलाई भाडामा दिएको छ । (पृ. २६) । रेडियो नेपालले आफ्नो केन्द्रीय प्रसारणलाई जुम्ला क्षेत्रमा रिले गर्न उपयोग गरिरहेको एफएमको पनि सम्भवत: इजाजत लिएको छैन।
 
सरकारी सञ्चारमाध्यमले नै नियमलाई धोती लगाएपछि गैरसरकारी क्षेत्र मात्र के कम नेपाल वातावरण पत्रकार समूहले पनि रेडियो नेपालको देखासिकी गर्दै बिनाइजाजत नै २०५२ चैत १८ गतेदेखि २२ गतेसम्म परीक्षण प्रसारण गर्यो । पछि २०५४ जेठ ५ गते इजाजत प्राप्त गरी समूहले देशको पहिलो गैरसकारी स्वतन्त्र एफएम रेडियो सगरमाथाको प्रसारण २०५४ जेठ ९ गतेबाट गर्‍यो (पृ. १३-१४) ।५
प्रसारणका लागि इजाजत लिनु पर्ने कानूनी प्रावधानलाई लत्याएर रेडियो नेपालले जे गर्यो र गरिरहेछ, त्यो गलत हो भन्नेमा कुनै विवाद छैन । रेडियो सगरमाथाले सामुदायिक प्रसारणका रूपमा गरेका योगदान आफ्ना ठाउँमा प्रशंसनीय नै रहे पनि नेपाल वातावरण पत्रकार समूह (रेडियो सगरमाथा) ले कानूनी उपचारको लागि न्यायपालिकालाई गुहार्नुको साटो २०५२ चैतको परीक्षण प्रसारण (बिना इजाजत) पनि गैरकानूनी नै थियो भत्र हिच्किचाउनु कुनै अपराध हुने छैन । समीक्ष्य पुस्तकमा भने उक्त कदमलाई 'गैरकानूनी भए पनि बाध्यात्मक र दबाबमूलक' (पृ. १३-१४) भने मतलाई मात्र स्थान दिइएको छ ।

पोखरेली एफएमहरूबारे गरिएका अध्ययन (पोखरेल एफएम रेडियोमा समाचार, पृ. २९७-३२९ र पोखरेली एफएममा सार्वजनिक डबलीको खोजी, पृ. ३९८-४२३) साँच्चै नै गहकिला बनेका छन; जसमा अनुसन्धाताहरू भौगोलिक हिसाबले क्षेत्रीय वा स्थानीय भनिएका एफएमहरू सामग्री (कन्टेन्ट) का हिसाबले भने कथित राष्ट्रिय मुद्दाका पछाडि दौडेका अवस्थालाई खुट्‍टयाउन सकेका छन्‍ । सम्भव: यस्तो अवस्था देशका अन्य शहरका एफएमहरूमा पनि छन्‍ । यस्तो प्रवृत्तिले स्थानीय रेडियोको उद्देश्यमाथि नै कुठाराघात हुन सक्ने खतरा छ । यसरी पहिचान भएको मनोवृत्तिलाई नीति निर्माताहरू एवं स्थानीय रेडियोका पक्षपातीहरूका साथै विकासवादी तथा अधिकारवादीहरूले समेत गम्भीरतापूर्वक लिनु र निराकरणका उपाय खोज्नु जरुरी छ ।

'आफैले आफूलाई व्यापारिक र सामुदायिकमा विभाजित गर्नेबाहेक सरकारी तवरबाट व्यापारिक र सामुदायिकको भेदका लागि न कुनै मापदण्ड निर्धारण गरिएको छ । न त तिनको उद्देश्य हेरेर प्रसारण इजाजतपत्र तथा सहुलियत र सुविधा वितरणको प्रक्रिया निर्धारण गरिएको छ' (पृ. २८) । यस तथ्यले सरकार एफएमहरुलाई नियान्त्रण गर्ने दुराशयमा जति सक्रिय छ, सूचना-विपन्न जनताका साथी बन्न सक्ने सामुदायिक प्रसारणको हितका लागि (अन्ततोगत्वा जनताकै हितका लागि ) कत्ति पनि संवेदनशील छैन भन्ने देखाउँछ । अर्कोतिर, विभिन्न उदेश्यले रेडियो प्र्रसारणको सङ्घ-सङ्गठनहरुको स्थापना भए पनि एफएम रेडियो प्रसारणका क्षेत्रमा तिनले उल्लेख्य उपलब्धिहरू भने हासिल गरेको देख्दा पाईदैन (पृ. ३७) भन्ने तथ्यले जहाँ-जसरी पनि नेता चाहिँ बनै पर्ने प्रवृत्तिबाट प्रसारकहरू पनि मुक्त छैनन्‍ भन्ने खुलासा गरेको छ । यस तफ सम्बन्धित पक्षले ध्यान दिएमा ठूलै उपलब्धि हुने थियो ।
 
संवाद कार्यक्रमहरू जानेर वा नजानेर कसैको निहीत स्वार्थका लागि दुरुपयोग हुन सक्ने खतरातर्फ पनि पुस्तकमा सोदाहरण ध्यानाकर्षण गराइएको छ (पृ. ३५९) । त्यस्तै, एफएमका अन्तर्क्रियात्मक कार्यक्रममा राजनीतिले सर्वाधिक स्थान पाएको (पृ. ३५८) विषय पनि उठेको छ ; जनताले चाहेर भन्ने बहानामा होस्‍ वा राजनीति सबैले धेरथोर जानेको अथवा कुनै विशेष परिश्रम गर्नु नपर्ने भएर (पृ. ३६४-३६५) । कुनै 'वाद' वा 'सिद्धान्त' हरूको धङधङीबाट मुक्त गराएर नेपाली मिडिया प्रणालीलाई प्रजातान्त्रिक सहभगिता र विकासको प्रवर्द्धनमा उपयोगी औजार बनाउने हो भने अनुभवबाट सिकेर आफूलाई नसुधारी सुखै छैन ।

नेपाली एफएम प्रसारणबारे विगतमा भएका टीकाटिप्पणी (अधिकांशत: नकारात्मक) प्रति समीक्ष्य पुस्तकका लेखक-सम्पादकहरूको मूल्यांकन हल्का वा न्यूनांकन रहेको देखिन्छ । विगतमा प्रकाशित समाग्रीको कुनै गम्भीर 'कन्टेन्ट एनलाइसिस' बिना प्राकथनमा ती सबैलाई 'अप्राज्ञिक' ठहर्‍याइएकोछ । त्यस्तै 'पछिल्ला दिनमा एफएम रेडियोबारे हुने बहस सार्थक चरणमा प्रवेश गरेको आभाष हुन्छ' (पृ. ६१) भन्ने टिप्पणीमा पनि विगतका बहसलाई गरिएको न्यूनांकन झल्किएकै छ । तर विगतका बहस किन प्राज्ञिक र सार्थक ठहरिएनन्‍ भन्ने कुरालाई पुस्तकभरि स्पष्ट पारेको पाइँदैन । प्राज्ञिक भन्ठानिने जर्नलहरूमा नछापिएको र अखबारहरूमा छापिएको भएर त्यसो भनिएको हो वा प्राज्ञिक भन्ठानिएका व्यक्तिहरूको नाम नभएर हो प्रष्ट छैन । नत्र, विगतका बहसहरू हचुवाका भरमा वा तात्कालिक आक्रोशवश व्यक्त प्रतिक्रिया थिए भन्ने मानियो भने पनि सबै बहस हल्का र निरर्थक मात्र थिए भनी मान्ने आधारका बारेमा छलफल गरिएको छैन ।

पुस्तकलाई अनुसन्धानत्मक भनिए पनि अनुसन्धानका लागि अत्यावश्यक मानिने वस्तुनिष्ठता, निष्पक्षता भने कतिपय सन्दर्भमा निर्वाह नभएको देखिन्छ । अध्याय छ (हालचालको हालचाल), अध्याय सात (कान्तिपुर एफएमको समाचारलाई फर्केर हेर्दा) र अध्याय-११ (तामाङ भाषाका रेडियो कार्यक्रममा बहसको स्वरूप) को लेखनमा पनि अनुसन्धान-धर्म निर्वाह भएको छ भन्नु विषयनिष्ठा दाबी मात्र हुन्छ । ती अध्यायका लेखक (अनुसन्धाता) हरू त्यही विषयसँग प्रत्यक्षरूपमा सम्बद्ध वा संलग्न भएका कारण लेखकीय पृष्ठभूमिमा व्यक्तिगत आग्रहको प्रत्यक्ष परेको दखिन्छ । यिनलाई पनि आठौं, नवौं र दशौं अध्यायहरूलाई झैं असम्बद्ध व्यक्ति वा स्वतन्त्र अनुसन्धाताबाट अनुसन्धान लेखाइएको भए अनुसन्धान-धर्म बढी निर्वाह हुने थियो ।

गम्भीर तथ्यहरूको पुष्टिका लागि पर्याप्त प्रमाण पस्किनु पर्ने शोधशास्त्रको सर्वमान्य नियम भए पनि समीक्ष्य पुस्तकका कतिपय स्थानमा यो पालना गर्न नसकेको भाव हुन्छ । उदाहरणका लागि, 'तामाङहरूको आफैलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने काममा रेडियो कार्यक्रमको पनि भूमिका छ । रेडियो कार्यक्रमको यो सबैभन्दा महत्वपूर्ण योगदान हो' (पृ. ४३९) भनिए पनि त्यस्तो 'सबैभन्दा महत्वपूर्ण योगदान' कसरी पुग्यो वा त्यो भन्नुका वस्तुनिष्ठा र आनुभविक आधारहरू के हुन्‍ उल्लेख वा विश्लेषण गरेको देखिदैन । यस्तै गह्रुँगा दाबीहरू अरु पनि छन्‍, तर कुनै ठोस आधारबिना । 'तामाङहरू आफैलाई हेर्ने दृष्टिकोणमा परिवर्तन' आयो भन्ने कुराहरूलाई औँल्याइएको छ तर तिनको कारक तत्व प्रजातन्त्र पुनर्स्थापनापश्चात राजनीतिक, जातीय, सांस्कृतिक, भाषिक संस्थाहरूद्वारा चलाइएको सामाजिक-राजनीतिक, सांस्कृतिक-धार्मिक अभियान हुन्‍ र यसमा रेडियो कार्यक्रमको अत्यन्तै कम मात्र भूमिका छ भनेर तर्क गरियो भने त्यसलाई काट्‍ने आधार समीक्ष्य पुस्तकमा चाहिँ भेटिँदैन ।

त्यसैगरी वि.सं. २०६१ माघ १९ गतेको कदमपछि रेडियोमाथि राज्यले गरेको हस्तक्षेपका कारण रेडियोहरू आर्थिक रूपमा समेत धराशायी भएको (पृ. २७) तथा सरकारले समाचारमा प्रतिबन्ध लगाएपछि रेडियो स्तेसनहरूको व्यापार नराम्ररी प्रभावित भएको (पृ. १६०) कुरा पुस्तकमा प्रस्तकमा भएको पाइन्छ; जुन अविश्वसनीय लाग्दैन तैपनि विश्वसका लागि पर्याप्त र भरपर्दे प्रमाणहरू गरिएको भने छैन । माघ १९ को शाही कदमपछि सरकारले एफएम रेडियोमाथि गरेको शत्रुतापूर्ण व्यवहारको कारणमा राई प्राज्ञिक-सैद्धान्तिक विश्लेषण गर्न पुस्तक चुकेको देखिन्छ ।

रेडियो पत्रकारिताबारे, त्यसमा पनि एफएममा समाचार र अन्तर्सम्वाद कार्यक्रमबारे केन्द्रित यति ठूलो पुस्तकभित्र कतिपय सामग्री नभेट्‍दा पाठकहरूलाई दिक नलाग्ला भन सकिँदैन । एफएमहरूको भाषिक प्रस्तुतिकरणका बारेमा पुस्तकमा कुनै विशेष चर्चा भेटिँदैन, जबकि विगत र वर्तमानमा पनि एफएमहरूको आलोचना गर्द यो विषयलाई प्रमुखताका साथ उठाउने र आलोचना गर्ने गरिएको छ ।६ त्यस्ता आलोचनाको नीर-क्षीर विवेकका लागि यो पुस्तक उपयुक्त स्थल थियो । नेपालमा एफएम रेडियोको विकासक्रम तथा बितेको दशकको कानूनी तथा नीतिगत वातारणबारे चर्चा गर्न पुस्तकमा १ सय भन्दा बढी पृष्ठ दिइएको छ भने भाषासम्बन्धी चर्चालाई पूरै बेवास्ता गरिएको. छ । अध्याय पाँच (काठमाडौँका एफएम रेडियोमा समाचाको अभ्यास, पृ. १९१-२२३) मा रेडियो समाचारको इतिहास, समाचारको सुरुवात र बिस्तार, समाचारका विषयवस्तु समाचारका प्रकार, समाचार बने प्रक्रिया, समाचारका स्रोत, जनशक्ति, समाचारको आर्थिक पाटो र समाचारका स्रोता जस्ता विषय वस्तु र पक्षहरूलाई छोएर पनि समाचारमा प्रयुक्त भाषाबारे भने कलम नै चलाइएको छैन ।

कतिपय कुराहरू सम्पादनका क्रममा तारतम्य मिलाउन सकिनेमा त्यसै छाडिएके पनि देखिन्छ । उदाहरणका लागि, पहिलो अध्यायमा नेपालमा रेडियो प्रसारणबारे एतिहासिक तथ्य उल्लेख गर्ने क्रममा २००७ साल चैत २० गतेको औपाचारिक प्रसारण र यसको पृष्ठभूमिका रूपमा राणशासनविरुद्ध छेडिएको निर्णायक क्रान्तिको सिलसिलामा सुरु भएको 'प्रजातन्त्र नेपाल रेडियो' (विराटनगर) को उल्लेख (पृ. ३) भए पनि काठमाडौंमा २००३ सालमा र भोजपुरमा २००७ सालमा (विराटनगरमा भन्दा पहिले) भएको प्रसारणको उल्लेख गर्न छुटेको छ । यद्यपि पाँचौं अध्यायमा ती प्रसारणहरूको सामान्य चर्चा छ (पृ. १९३) । पहिलो अध्यायमात्र पढ्‍नेले पाँचौं अध्यायसम्म पुग्नेले भन्दा कम सूचना पाउनु त स्वाभाविकै हो; तर फरक अर्थ लाग्न सक्ने गरी सूचना पाउने अवस्था रहनु भने सम्पादन-कमजोरी हो ।

मूलपाठमा परेका कतिपय व्यक्तिका नाम अनुक्रमणिकामा सामेल गरिएका छन्‍ भने कतिपयका छैनन्‍ । सरसर्ती हेर्दा कुनै व्यक्तिविशेषको नाम अनुक्रमणिकामा किन राखिएको वा नराखिएको हो भने खुल्दुलीको स्पष्ट निराकरण हुन सक्दैन । गडेर हेर्दा कतिपय नाम आग्रह नै प्रमुख कारण रहेको हो कि भन्ने भान पर्न सक्छ ।

पुस्तक प्राक्कथनदेखि अनुक्रमणिकासम्म पढिसक्दा 'प्राज्ञिक विश्लेषण' को सवालले पुन: मलाई झक्झक्यायो । संस्मरणजस्ता लाग्ने सामग्रीको रचुरता र विश्लेषणमा भन्दा विवरणमा देखिने जोडले 'प्राज्ञिक विश्लेषण' गर्ने परोक्ष (?) उद्देश्यलाई परिपूर्ति गरेको निष्कर्ष निकाल्न त गाह्रो छ; तर प्राक्कथनमा प्रष्टै भनिएझै 'एफएममा भइरहेको पत्रकारिता-अभ्यासको लेखाजोखा' चाहिँ राम्ररी गर्न सकेको देखिन्छ । पुस्तकको यो सबै भन्दा पक्ष पनि हो । यही सबल पक्षले गर्दा नै यो पुस्तक प्रकाशकको अपेक्षाअनुरूप रेडियोकर्मी, मिडिया अध्येता र मिडियामा चासो राख्ने सबैका लागि उपयोगी बनेको छ । उनीहरूले आफ्नो सङग्रहमा यस पुस्तकलाई पनि थप्ने आशा गर्ने पर्याप्त आधार छ ।

१  कोलिन प्रेजर र सोनिया रेस्ट्रेपो एस्ट्राडा; सामुदायिक रेडियो हाते किताब; युनेस्को; सन्‍ २००१ ।
२ प्रत्यूष वन्त र अन्य (सम्पा); रेडियो नेपालको सामाजिक इतिहास; मार्टिन चौतारी, काठमाण्डौं सन्‍ २००४ ।
३ Denis Mc Quail; Mass Communication Theory; SAGE Publications, London; 4th ed, 2000; pp. 18.
४ R.D Wimmer, and J.R. Dominick; Mass Media Research An Introduction, Fifth edition; Wadsworth, Belmont; 1997.
५ रेडियो सगरमाथाद्वारा उपलब्ध गराइएको 'रेडियो सगरमाथा : एक झलक' शीर्षक सामग्रीमा भने इजाजत प्राप्त भएको मिति २०५४ जेठ ६ गते उल्लेख गरिएको थियो । हेर्नुहोस : निर्मलमणि अधिकारी; रेडियो सगरमाथा एफएम १०२.४ : एक अध्ययन; अप्रकाशित परियोजना कार्य; कान्तिपुर सिटी कलेज, पूर्वाअञ्चल विश्वविद्यालय; वि.सं. २०५९; पृ. ४ ।
६ निर्मलमणि अधिकारी; उद्‍घोषणकला; प्रशान्ति पुस्तक भण्डार, काठमाण्डौ; वि. सं. २०६१; पृ. ४२ ।

 

स्रोतः बहा: जर्नल २०६३ जेठ, वर्ष ३ अङ्क ३, पेज ९९-१०४


About the Author

More Blogs