अझै संकुचनमा पत्रलेखन–परिधि

- अर्जुन पन्थी | 2021-09-24

२०४६ सालको परिवर्तनपछि पनि लोकप्रिय दैनिक पत्रिकाको पत्र स्तम्भमा महिलाको उपस्थिति अझै शून्यप्राय: छ । अझै पनि नियमित पत्र लेख्ने ‘जंकी लेखक’ वरिपरि घुमिरहेको छ । यस्ता लेखक एकबाट दुई वा त्यो भन्दा बढी संख्यामा भए पनि पत्रिकामा उनीहरूकै नियमितता देखिन्छ ।

अर्कोतिर नाम मुनिको ठेगाना हेर्दा काठमाडौ सेरोफेरोबाट पत्र लेखन मूलत: बाहिर जान सकिरहेको छैन । गए पनि काठमाडौं बसेरै गाउँको ठेगानामा लेखिएको अनुमान गर्न सकिन्छ । प्रारम्भिक अध्ययनका आधारमा पत्रलेखन–परिधि अझै संकुचनमा रहेको तर्क गर्न सकिन्छ । समाज नै समावेशितामा संघर्षरत रहेको अवस्थामा ‘उत्कृष्ट प्रकारको’ समावेशी पत्र स्तम्भको अपेक्षा गर्नु सान्दर्भिक नहोला । तर यसतर्फ सकेसम्म काम गर्न सकिन्छ । पञ्चायतको आखिरी समयमा गोरखापत्रमा २ सय ४२ दिन पत्र स्तम्भ संयोजन गरेका सौरभले पत्रिकामा पत्र छाप्न केही योजना बनाएको मार्टिन चौतारीबाट प्रकाशित मिडिया अध्ययन २ जर्नलमा लेखेका छन् । जस्तो १. महिलाका पत्र आए आँखै चिम्लिएर छापिहाल्ने जस्तोसुकै होस् । २. गोरखापत्रका आलोचना आए छाप्ने, प्रशंसा छाप्दै नछाप्ने । ३. विषय परिवर्तन गर्दै छाप्ने, त्यसो भए पाठकलाई पुरै चिठी स्तम्भ पढ्न झर्को लाग्दैन । ४. एउटै विषयमा धेरै भए संस्थानकै कर्मचारीलाई भए पनि विविध विषयमा लेख्न लगाउने तर त्यसो गर्नुपरेन । ५. शीर्षक तेजिलो राख्ने । ६. सम्भव भएसम्म खाँदेर आँखै तिर्मिराउनेगरी छाप्ने, ताकि बढी पत्रले ठाउँ पाउन् । छिट्टै छापेमा लेख्नेले पनि जाँगर गर्छन् । उनको दाबीअनुसार यस्तो योजनाले २०४४ भदौमा २८ वटा पत्र आएकामा २०४५ जेठमा झन्डै १० गुना बढी पत्र आएका थिए ।

अहिले नेपाली अनलाइन मिडियामा पाठकले आफ्ना विचार प्रेषित गर्न पाउने भएकाले पत्रलेखन–परिधि खुम्चिएको हो भन्ने पक्ष त्यति बलियो छैन । किनभने नेपाली अनलाइन पोर्टलको अहिलेको संरचनामा पत्रिकामा जस्तै लेख्ने ठाउँ नै छैन । ‘वानेश्वरमा पानी आएन ।’ ‘मेरो दुवै मृगौलाले काम गर्दैन, सहयोग गर्नुस्’ भनेर कहाँ लेख्ने ? यद्यपि सामाजिक मिडिया (फेसबुक, ट्विटर) मा मानिसहरूले मनमा लागेको कुरा लेख्छन् । त्यो अर्कै हो । त्यसले पनि पत्र लेखनको तृष्णा मेट्दैन ।

समावेशीपन कसरी कायम गर्न सकिन्छ भन्ने प्रश्नमा फर्कने हो भने पत्र स्तम्भ संयोजनको पद र भूमिकालाई स्वतन्त्र राख्नुपर्छ । पत्र लेखकलाई ‘जोस्याउने’ आँट गर्नुपर्छ । त्यो भनेको नयाँ लेखकलाई स्थान दिनु पनि हुनसक्छ । उनीहरूको लेखनलाई प्रकाशक र सम्पादकको दबाबलाई झेल्दै वा सम्झाउँदै छाप्ने आँट गर्नुपर्छ । २०६२ सालतिर मार्टिन चौतारीको छलफलमा एक पत्रिकाका पत्र स्तम्भ संयोजकले पाठकलाई सोलोडोलोमा ‘लेख्न नजान्नेहरू’ भनेका थिए । उनको तर्क थियो, ‘लेख्न जानेका भए उनीहरूले पाठकपत्र किन लेख्थे ? लेख नै लेख्थे नि ।’ उनको दुखेसो के थियो भने पाठक स्तम्भमा आउने पत्रहरू ज्यादै मनोगत, लामा, धेरै सम्पादन गर्नुपर्ने र धेरै संख्यामा हुन्छन् । यस आधारमा उनले सबै पत्र लेखकलाई एउटै दृष्टिकोणबाट हेरेका थिए ।

पत्र लेखक अरू लेखकजस्तै ‘आँटी’ र ‘लेख्न दुस्साहस’ गर्ने मानिस हुन् । उनीहरू विभिन्न पृष्ठभूमिका हुनसक्छन् । सर्वसाधारण नहुन सक्छन् । जुनसुकै विषयमा विचार बनाउने ‘चिठ्ठी जंकी’ पनि हुन सक्छन् । स्वार्थवश पत्र लेख्ने, छद्म नामधारी लेखक पनि हुनसक्छन् । सम्पादकीय विचारसँग स्वतन्त्र रूपले वा बाध्यतावश मतो मिलाएका पत्र लेखक नहुन पनि सक्छन् । यस्तो अवस्थामा उठाएको मुद्दा छनोटमात्र होइन, मुद्दा उठाउन प्रेरित गर्ने र छाप्ने सम्पादक बन्नुपर्छ । समाजको जराजराबाट विविधता ल्याउन त नसकिएला, तर प्रयास त्यसतर्फ हुनुपर्छ । पत्रिकाको सम्पादकीय पक्षलाई लिएर धेरै मानिसले यो स्तम्भमा टिप्पणी गरेको पाइँदैन । विविधता जनाउने अर्थमा अरू पक्षलाई स्थान दिए पनि आफ्नो सम्पादकीय पक्षमाथि टिप्पणी गर्न पाठकलाई प्रोत्साहन दिएको देखिँदैन । यसले पनि पत्रलेखन–परिधिलाई संकुचनमा पार्न सक्छ ।

स्रोत : https://www.kantipurdaily.com/printedition/2016/01/07/20160107084837.html


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai