सिकाइमा सुधारका लागि उपचारात्मक कक्षा

- शक बहादुर बु्ढाथोकी | 2021-09-24

शकबहादुर बुढाथोकी

परिचयनेपाल सरकार लगायत शैक्षिक सरोकारवालाको मुख्य जोड विद्यार्थीको सिकाइमा सुधार गर्नु रहेको देखिन्छ । यस प्रयोजनको लागि उपचारात्मक कक्षा (Remedial Class) पनि एउटा उपाय हुन सक्छ । विशेष गरी, सामुदायिक विद्यालयका एउटै कक्षाका विद्यार्थी बिच पनि सिकाइको स्तरमा निकै असमानता रहेको र तल्ला कक्षामा सिक्नु पर्ने विषयवस्तु उपल्लो कक्षामा पुग्दासम्म पनि सिक्न नसकिरहेकोले एउटै सिकाइको स्तर भएका विद्यार्थीको समुह निर्माण गरी उपचारात्मक कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

मर्सिकोर र बेसले सञ्चालन गरेको स्टेम परियोजनाले उपचारात्मक कक्षाको माध्ययमबाट कैलालीका तीसवटा सामुदायिक विद्यालयमा अध्ययनरत बालिकाहरुको सिकाइमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको थियो । यसको लागि बालिका क्लब (Girls’ Club) को स्थापना एवं सञ्चालन गरी विद्यालय समय बाहेक अतिरिक्त समयमाविद्यार्थी केन्द्रित माध्ययमबाट उपचारात्मक कक्षा संचालन गरिएको थियो । यो लेख बालिका क्लब सञ्चालन प्रक्रिया, यसको प्रभावकारिता एवं केही सिकाइबारे केन्द्रित छ ।

बालिका क्लब सञ्चालन बिधिबालिका क्लबमा विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रयोग गरिएको थियो । अर्थात् प्रश्न उत्तर, समुह कार्य, छलफल, परियोजना कार्य एवं प्रस्तुतीकरण आदि क्रियाकलाप अबलम्बन गरिएको थियो । क्रियाकलापमुखी सहजीकरण विधिको प्रयोग गर्दा बालिकाले विषयवस्तुको ज्ञान हासिल गर्नुका साथै अन्य जीवनमुखी सीप पनि सँगसँगै सिक्ने अवसर पाए । यसले गर्दा उनीहरुमा आत्मविश्वास बृद्धि भयो र सिकाइमा पनि सकारात्मक सुधार सम्भव भयो ।

बालिका क्लब संचालन गर्ने क्रममा सबभन्दा पहिले शिक्षक वा सहजकर्ताले बालिकाको सिकाइको स्तर मूल्यांकन गर्दथे । जसले गर्दाबालिकाको सिकाइ सम्बन्धी आवश्यकता पहिचान गर्न सहज हुन्थ्यो र बालिका क्लब संचालन गर्दा कुन विषयमा केन्द्रित गर्ने भन्नेबारे पनि स्पष्ट हुन्थ्यो । सोही अनुसार बालिका क्लब सहजीकरण गर्दा सकारात्मक परिणाम हासिल गर्न सम्भव पनि भयो ।

सहजकर्ताले बालिका क्लबमा शिक्षण सामग्रीको पनि भरपुर प्रयोग गर्नुभयो । चार्ट पेपर, मास्किङ पेपर लगायत स्थानीय रुपमा उपलब्ध स्रोत सामग्रीको पनि उपयोग गर्नुभयो । जस्तैः विभिनन रंगका गुच्छाको प्रयोग गरेर गणितको सम्भाव्यता सम्बन्धी विषयवस्तु शिक्षण गर्नुभएको पाईयो । त्यस्तै, कुचोको सिन्का प्रयोग गरेर ज्यामिति सिकाउनु भएको पाइयो । उहाँहरुले अरु धेरै स्थानीय स्तरमै उपलब्ध शैक्षिक स्रोत सामग्रीको प्रयोग गर्नुभयो । साथै, सहजकर्ताले शैक्षिक स्रोत एवं सामग्रीको निर्माण तथा प्रयोग पनि गर्नुभयो । त्यसले गर्दा बालिका क्लब सहजीकरण प्रभावकारी एवं सान्दर्भिक पनि भयो किनभने नयाँ शिक्षण शैलीले बालिकालाई बिषयवस्तु बुझ्न सहज भयो ।

बालिका क्लब सहजीकरणको क्रममा सिकाइ स्रोतको पनि प्रयोग गरियो । सिकाइका स्रोत अन्तर्गत पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला आदि पर्दछन् । यस्ता स्रोत सामग्री विद्यालयलाई उपलब्ध गराईएको थियो र त्यसको कसरी व्यवस्थापनएवं प्रयोग गर्ने भन्नेबारे पनि अभिमुखिकरण एवं तालिमप्रदान गरेको थियो । यसरी बालिकाको सिकाइ उपलब्धिमा सुधार होओस् भन्ने मुख्य उद्देश्य रहेको थियो ।

अनुगमन प्रकृयाउपचारात्मक कक्षाको गुणस्तर सुनिश्चित गर्न विभिन्न किसिमका औजारहरुको निर्माण गरी प्रयोगमा ल्याइएको थियो । उदाहरणका लागि छड्के जाँच, बालिका क्लब तथा कक्षाकोठा अनुगमन, शिक्षक स्वःमूल्यांकन फारम, आदिका लागि छुट्टाछुट्टै फारम प्रयोगमा ल्याईएको थियो । छड्के जाँच अन्तर्गत के कति बालिका उपस्थित छन् ?कति अनुपस्थित छन् ? भन्नेबारे जानकारी लिइन्थ्यो । अनुगमन पश्चात् अनुपस्थित हुने बालिका तथा उनको परिवारलाई भेट्ने र अनुपस्थित हुनुको कारण सोध्ने र कसरी उपस्थिति कायम गर्ने भन्नेबारे थप छलफल हुन्थ्यो । यसले बालिकाको उपस्थिति बढाउन थप सघाउ पुर्‍याउथ्यो ।

त्यस्तै, बालिका क्लब तथा कक्षाकोठाको अनुगमन फारम अर्को औजार थियो । यसले बालिका क्लबमा प्रयोग गरिने शिक्षण विधि नियमित कक्षामा के कति प्रयोग गरिएको छ वा छैन भन्नेबारे बुझ्न प्रयोग गरिन्थ्यो । एउटै सहजकर्ताले बालिका क्लबमा प्रयोग गर्ने सहजीकरण विधि र नियमित कक्षामा प्रयोग गर्ने विधिविच के कति समानता छन् वा छैनन ? बालिका क्लबको विधि नियमित कक्षामा प्रयोग गर्न के कस्ता चुनौती विद्यमान छन् भन्ने बुझ्न यो विधिको प्रयोग गरिएको थियो । यसको अनुगमनलगत्तै सम्बन्धित शिक्षकसँग बसेर कक्षाकोठामा अपनाइएका शिक्षणप्रकृयाबारे छलफल एवं पृष्ठपोषण पनि गरिन्थ्यो ।

शिक्षक स्वःप्रतिविम्बन फारम पनि अनुगमन औजारको रुपमा तयार गरी कार्यान्वयनमा ल्याईएको थियो । सो फारममा शिक्षकले कक्षाकोठामा कार्यान्वयन गर्नुपर्ने २५ वटा सूचक समावेश गरिईएका थिए । यो फारम शिक्षकले प्रत्येक महिना आफ्नो कामको प्रभावकारिता मापन गर्न वा प्रतिबिम्बन गर्न उपलब्ध गराईएको थियो । यसको माध्ययमबाट शिक्षकले सुधार गर्नुपर्ने पक्षबारे थाहा पाउनु र त्यस क्षेत्रमा आगामी महिनामा थप काम गर्नुपर्ने कुरा रहेको थियो । यसको माध्ययमबाट उनीहरुको पेशागत सीपको प्रवर्धन हुन्छ भन्ने सोचाई रहेको थियो ।

सिकाइ उपलब्धिमा बृद्धिबाह्य मूल्यांकनकर्ताले सुरु र विचमा गरेको अध्ययन अनुसार विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेख्य सुधार आएको थियो । अन्तिम मूल्यांकनको समयसम्म प्राप्त गर्न तर्जुमा गरिएको लक्ष्य मध्यावधि मूल्यांकनको समयसम्म हासिल भइसकेको थियो । परियोजना सञ्चालन गरेका विद्यालयमा पठन सीप र गणितीय सीपमाक्रमश ८.१० प्रतिशत र २२.४२ प्रतिशत बढी सिकाइ उपलब्धि हासिल भएको थियो । यो उपलब्धि परियोजना सञ्चालननगरेका विद्यालयको तुलनामा पठन सीपमा ५ प्रतिशत र गणितीय सीपमा ११ प्रतिशत बढीे थियो ।

यसर्थ, बालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि बालिका क्लबको स्थापना तथा सञ्चालन गरिएको थियो । बालिका क्लबमा उनीहरुलाई छात्रामैत्री वातावरणमा सिक्ने अवसर प्रदान गरिएको थियो । अर्थात, बालिकाको सिकाइ सम्बन्धी आवश्यकतालाई सम्बोधन गरिएको थियो । यसले बालिकालाई विषयवस्तु बुझ्ने मात्र नभई संचार गर्ने सीप तथा आत्मविश्वासमा बृद्धि पनि भयो ।

निश्कर्षविद्यार्थीको सिकाइमा सुधार गर्न उपचारात्मक कक्षा कोसेढुङगा सावित हुन सक्छ । यसको लागि समान सिकाइ स्तर भएका विद्यार्थीको समुहनिर्माण गरी उनीहरुको सिकाइ आवश्यकता पहिचान गरेर शिक्षणप्रक्रिया तय गर्नुका साथै विद्यार्थी केन्द्रित शिक्षण विधि अवलम्बन गर्नुपर्दछ । सामुदायिक विद्यालयमा उपचारात्मक कक्षाको आवश्यकता झन् तड्कारो रुपमा देखिन्छ किनभने एउटै कक्षामा अध्ययन गर्ने विद्यार्थीको पनि सिकाइको स्तर असमान हुने गर्दछ । जसले गर्दा कक्षाकोठामा हुने शिक्षणप्रक्रिया चुनौतिपूण हुने गर्दछ ।

यसरी कुनै पनि रुपमा उपचारात्मक कक्षा संचालन गर्नका लागि आर्थिक पक्षको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यद्यपि, धेरै ठूलो खर्च भने गर्नुपर्दैन । यस्ता उपचारात्मक कक्षा संचालन बापत सिकाइ उपलब्धिमा हुने सुधारको तुलनामा यसको लागि गरिने लगानी नगन्य जस्तै देखिन्छ । विशेष गरी, यस्ता कक्षा सञ्चालन वा अध्यापन गर्ने शिक्षकका लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुपर्ने हुन्छ । जुन स्थानीय सरकारले गर्न सक्छन् किनभने अहिले उनीहरुलाई विद्यालय शिक्षा सम्बन्धी महत्वपूणर् जिम्मेबारी दिइएको छ । तसर्थ, उक्त काम त्यति कठिन छैन ।

(लेखक मर्सिकोर नेपालमा विशेष परियोजना संयोजकका रुपमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशन मिति : १५ जेष्ठ २०७८स्रोत : https://www.eprabhatnews.com/details/12102?fbclid=IwAR30VP_V-XYH0xffhJ25sSvmfpoN1X6ZJYCg8A0Om1ZxN0weyEisRW5r62Q


About the Author

More Blogs