सशस्त्र विद्रोहबारे सार्थक स्रोत सँगालो

2021-10-11

विवेक विष्ट

मार्टिन चौतारीले हालै प्रकाशनमा ल्याएको पुस्तक ‘माओवादी विद्रोह ः सशस्त्र संघर्षको अवधि’ले माओवादी पार्टीले जनयुद्ध शुरु गर्दाको समय २०५२ फागुन १ देखि २०६२ मंसिर ७ गते सात दल र नेकपा माओवादी पार्टीबीच भएको चर्चित १२ बुँदे समझदारीसम्मका घटनाहरुलाई विविध कोणबाट विश्लेषण गरी प्रस्तुत गर्ने सार्थक कोशिस गरेको छ । झण्डै ६२० पेजको यो ग्रन्थ सम्पादनको जिम्मा बोकेका भाष्कर गौतम, पूर्ण बस्नेत र चिरन मानन्धरले यसमा ६ वटा खण्डमा गरी झण्डै साढे पाँच दर्जन लेख र रचनाहरु समावेश गरेका छन् ।
उपरोक्त अवधिबीच र त्यसपछि २०६२ फागुनको अन्तसम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित असंख्य सान्र्दभिक लेख–रचनाहरुबाट छनौट गरी क्रमवद्ध र समूहवद्ध रुपमा यी रचनाहरुलाई उनीहरुले प्रस्तुत गरेका छन् । संघर्षको विश्लेषण समूहमा गौरव, ऋषिकेश शाह, मोहनविक्रम सिहं, नरहरि आचार्य, दीपक ज्ञवाली, प्रदिप गिरी, रामचन्द्र पौडेल, हरि रोका, र हरि शर्माका विश्लेषणात्मक रचनाहरुमा नेकपा एमाले पार्टीको दृष्टिकोण पनि समावेश गरिएको छ । आर्थिक–सामाजिक न्याय, वैचारिक सागंठनिक रणनीति, फौजी संघर्ष र सुरक्षा क्षेत्र, नागरिक अधिकार, बदलिंदो राजनीतिक समिकरणलगायतका अन्य विषय समूहहरुमा डा.बाबुराम भट्टराई, उजिर मगर, डा.पिताम्बर शर्मा, देव गुरुङ्घ, हिसिला यमी, श्याम श्रेष्ठ, किशोर नेपाल, गोविन्द वर्तमान, कृष्ण ज्वाला देवकोटा, प्रचण्ड, माधवकुमार नेपाल, प्रकाश, पासाङ्ख, मनऋषि धिताल, झलनाथ खनाल, धुव्रकुमार, राजेन्द्र दाहाल, खगेन्द्र संग्रौला, कुन्दन अर्याल, मञ्जुश्री थापा, कनकमणि दिक्षित, सि.के लाल, गोविन्द न्यौपाने, प्रा। कृष्ण खनाल, देवेन्द्रराज पाण्डे र सुधीर शर्मा आदिका लेखहरु समाविष्ट छन् ।
यी लेखहरुको अध्ययनले समष्टिमा माओवादी जनयुद्दका सैद्धान्तिक प्रस्तापना र त्यसमाथिको विवाद अनि व्यवहारमा माओवादीहरुको प्रस्तुती, उनीहरुको व्यावहारिक कौशल र समस्याहरु, उनीहरुको प्रभावका सकारात्मक एवं नकारात्मक पाटाहरुलाई उजागर गरेका छन् । जनयुद्धको भावभूमि नेपाली समाजमा कसरी विद्यमान थियो र कसरी तात्कालीन राज्यसत्ताले यसमाथि आगोमा घिऊ थप्यो, कसरी सत्ता संकटमा फस्दै आयो र कसरी विभिन्न उतार–चढावबीच सात दल र नेकपा माओवादी १२ बुँदे समझदारीमा आए, यो समझदारीको प्रभाव नेपाली समाजमा कस्तो पर्यो र पर्नेवाला छ भन्ने विषयमा पुस्तकले धेरै कोणबाट प्रकाश पारेको छ । माओवादी पार्टीमा आएको सैद्धान्तिक र व्यवहारिक परिवर्तनको झाँकी पनि यसले प्रस्तुत गरेको छ ।

अनुसूचिमा तत्कालीन संयुक्त जनमोर्चाको ४० बुँदे मागहरु र सात दल माओवादीबीचको बाह्बुँदे समझदारी र जनयुद्धको अवधिमा मारिएकाहरुको संख्या समेत राखिएको यस ग्रन्थको मूल्य रु. ३००÷– सर्वसाधारणका लागि महंगो अनुभव भए पनि कागज र साजसज्जा, छपाइको आधारमा यो मूल्य महँगो ठहर्दैन ।

“यो पुस्तक केवल पहिलो अवधिसँग सम्बन्धित छ । यो समयावधि पछिको अवधिबारे अर्को स्रोत सँगालोको तयारीमा हामी छौं” भनी सम्पादकहरुमध्ये भाष्कर गौतम र चिरन मानन्धरले बताएका छन् । यो अर्को संगालोमा ‘सात दल’हरुमा आएको वैचारिक परिवर्तनको सन्दर्भले पनि यथेष्ठ ठाउँ पाउनु जरुरी देखिन्छ, जुन सन्दर्भ यो संगालोमा कम परेको छ । जनयुद्धमा संलग्न माओवादीसँगै युद्धमा असंलग्न दलहरु प्नि यो युद्धको दवाव र प्रभावले गर्दा उतार–चढावसहित बदलिएको सन्दर्भलाई नेपाली राजनीतिको इतिहासले भुल्न मिल्दैन ।

मुल्याङ्कन, चैत २०६४ पूर्णाङ्क–१६०, पृ. ३२


About the Author

More Blogs