रेडियोमाथि दमनको कथा

2021-10-11

मार्टिन चौतारीको आफ्नो पुस्तक श्रृंखलाको ३४ औँ प्रकाशन पत्रकार विनोद ढुङ्गेलको शाही शासनमा स्वतन्त्र रेडियोः दमन र प्रतिरोधको कथा हालै बजारमा ल्याएको छ ।

नेपाल प्रजातन्त्रप्राप्तिपछि एफएम रेडियो खुल्ने र समाचार प्रसार गर्ने क्रम तीव्र भइरहँदा वि.सं. २०६१ माघ १९ गतेको शाही घोषणापछि संकटकाल लागू भएलगत्तै सम्पूर्ण एफएम रेडियोमा समाचारमूलक कार्यक्रम बन्द भयो । सञ्चारसंस्थामा सम्पादकको कुर्सीमा बस्न राज्यले सेना खटायो ताकि आफ्नो हितानुकूल मात्र समाचार बाहिर जाओस् । यस्तो जटिल अवस्थामा पनि एफएम रेडियोमा समाचार बजाउनु पाउनुपर्ने माग गर्दै सञ्चारकर्मी सडकमा ओर्लिए । तिनै सडकमा ओर्लिएर संघर्षको मैदानमा उत्रिनेमध्येका एक रेडियोकर्मी विनोद ढुङ्गेलले सँगालेका अनुभव र अन्य सहकर्मीसँगै मिलेर गरेको संघर्षलाई पुस्तककार रुपमा चौतारीले पाठकसामु ल्याएको हो ।

पुस्तकमा ढुङ्गेलले अहिलेको अहिल्यै समाचार प्रसारण गरेर जनतालाई सुसूचित गर्ने रेडियामा समाचार र समाचारमूलक कार्यक्रममा प्रतिबन्ध लगाइएपछि भएको सत्ताको दुरुपयोगलाई सिलसिलेवार ढंगले प्रस्तुत गरेका छन् । यसभित्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरिएका विभिन्न आन्दोलन, विरोधस्वरुप सडकबाट गरिएको समाचारवाचनसम्मका कथा छन् ।

लेखकले नेपालमा एफएम रेडियोले ल्याएको चेतनाको लहर र त्यसबाट अत्ताल्लिएको शासकले गरेको दमनका कथा जस्ताको तस्तै उतारेका छन् । सूचना रोकेर शासन चलाउने घृष्टताविरुद्ध स्वतन्त्रताका पक्षमा लडिएको लडाइँ र त्यसले प्राप्त गरेको सफलता पुस्तकका मूल विषय हुन् । पुस्तकमा समाचार लेख्न र पढ्न नपाउँदाका आक्रोश र पीडा पोखिएका छन् । यो पुस्तक स्वतन्त्र रेडियोमाथि शाही सरकारले गरेको दमन र त्यसका विरुद्ध गरिएको संघर्षको दस्तावेज बनेको छ ।

स्रोतः नेपाल समाचारपत्र 'सौगात', ८ मंसिर २०६४, पृ. ख


About the Author

More Blogs