मिडियामा प्राज्ञिक अभ्यास

2021-10-11

तिलक पाठक

नेपालमा मिडिया अनुसन्धानका पूर्वाधार निर्माणमा विभिन्न अभ्यास हुँदै आएका छन् । तर, पछिल्लो समय उदाउँदो मिडियाको प्राज्ञिक अनुसन्धानले भने आशातीत गति समातिसकेको छैन । यसै सेरोफेरोमा मार्टिन चौतारीले नयाँ किताब ल्याएको छ, मिडिया अनुसन्धान ः प्राज्ञिक पूर्वाधार निर्माणका केही अभ्यास । यसमा पत्रकारितासम्बन्धी अध्ययन, अध्यापन र शोधपत्र लेखन, बहस र अन्तरक्रियाको संस्कृति, पुस्तक लेखन, सम्पादन तथा प्रकाशन, स्रोत सामग्रीको अवस्थालगायत सम्बन्धित पक्षको पहुँचलाई समेटिएको छ ।

पुस्तकमा ‘पत्रकारिता शिक्षा र स्नाकोत्तर तहमा मिडिया शोधपत्र लेखन ः केही प्रारम्भिक टिप्पणी’ शीर्षकको लेख सामयिक छ । यसमा विश्वविद्यालयमा पत्रकारिता शिक्षाको अध्ययन÷अध्यापनको लहर, पाठ्यक्रम र स्नातकोत्तर तहमा गरिने शोधपत्रबारे टिप्पणी गरिएको छ । साथै, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयको पत्रकारिताको पाठ्यक्रम पुनःलेखन, संशोधन तथा अद्यावधिक गर्नुपर्नेमा जोड दिइएको छ । तर, पाठ्यक्रम संशोधनमा उठाइए पनि समग्र पक्षको चिरफारमा लेख अधुरै छ । लेखकले आफ्नो विचार र तर्क भन्दा पनि रिपोर्टिङ् शैलीमा अरुको भनाइलाई मात्रै उल्लेख गरेका छन् । यसबाट लेखक गहिराइमा पुग्न र आलोचनात्मक हुन नसकेको आभास मिल्दछ ।

त्यसो त परिचय खण्डमा अनावश्यक कुरा लेखिनाले शोधपत्र लेखन बोझिलो र मोटो हुने गरेको लेखकको तर्कमा असहमत हुने ठाउँ देखिँदैन । साहित्य समिक्षाका नाममा विगतमा गरिएका अनुसन्धानबाट जस्ताको तस्तै उतारिएकाले अध्ययनको औचित्य पनि खुल्न नसकिरहेको लेखकको भनाइ छ । अनुसन्धानका क्रममा त्यसका लागि अपनाइएको विधि महत्वपूर्ण हुन जान्छ । तर, पत्रकारिता विषयका अधिकांश शोधपत्रहरु सर्वेक्षण विधिमा आधारित छन् । किताबमा भनिएको छ, “त्यसमा पनि सय जनाको उत्तरदाताको छनोट एकखालको सर्वमान्य अवधारणाजस्तो देखिन्छ ।”

शोधले गुणात्मक पक्ष मागे पनि शोधकर्ताले त्यसलाई सङ्ख्यात्मक बनाइदिने प्रवृतिलाई लेखकले उठाएका छन् । उत्तरदाता किन र केका आधारमा छानिए र त्यही सङ्ख्या नै किन छान्नुप¥यो जस्ता प्रश्नको स्पष्टीकरण शोधपत्रहरुले दिन नसक्नुलाई मुख्य कमजोरीको रुपमा लिइएको छ । तथ्याङ्क विश्लेषणमा चाहिँ ‘यति प्रतिशतले यस्तो भने’ भन्नेजस्ता सङ्ख्यात्मक कुरा मात्रै समेटिने तर त्यस तथ्याङ्कको सहायताले त्यसमा गर्न सकिने थप विश्लेषण नपाइने समस्या छ । त्यस्तै सन्दर्भ सामग्री पनि कुनै निश्चित शैलीमा आधारित नभएको लेखकको धारणा छ । तर, शोधपत्रमा समस्याको उठान, त्यसका उद्देश्य र परिणामसँग तालमेल भए÷नभएको जस्तो शोध लेखनको महत्वपूर्ण पक्षबारे भने किताबमा चर्चा छैन ।

किताबमा शोधपत्र लेखनका प्रवृतिबारे पनि टिप्पणी गरिएको छ । छोटो समयमा नै अनुसन्धान सक्ने हतारोले शोधार्थी यसका विभिन्न चरण टापटिपे पाराले छल्दै र नाघ्दै अघि बढ्छ र आफ्नो शोध विषयको अवधारणा एवम् मर्मलाई आफैले राम्ररी पहिल्याउन सक्दैन । शोधपत्रलाई बाध्यता मात्र ठान्ने, मिडियालाई केन्द्रविन्दु बनाएर गरिने अनुसन्धान प्रारम्भिक चरणमा नै रहेको र आर्थिक कारण पनि राम्रा शोधपत्र नजन्मने समस्या पनि किताबमा औँल्याइएको छ । शोधपत्र लेखनमा गैरसरकारी क्षेत्रको आर्थिक सहयोगले गुणस्तर वृद्धिमा सहयोग पुगेको लेखकको धारणा छ । तर यस्तो सहयोग लिँदा संस्थाको प्रभाव पर्न सक्ने यसका सम्भावित नकारात्मक पाटोबारे भने लेखक मौन छन् ।

दोस्रो अध्यायमा मिडियासम्बन्धी छलफल र बहसको संस्कृतिबारे उल्लेख गरिएको छ । लेखिएको छ, “बहसको संस्कृतिबाट मिडिया अनुसन्धानको क्षेत्रमा जति लाभ प्राप्त गर्न सकिन्थ्यो, त्यो हुन सकेको देखिँदैन । मिडियासम्बन्धी गोष्ठी, कार्यशाला, सम्मेलनजस्ता कार्यक्रममा विज्ञहरुबीच बहस चलाउने भन्दा पनि औपचारिकता पूरा गर्न र आयोजक संस्थाले आफ्नो अस्तित्व देखाउन सञ्चालन गरिएको पाइन्छ । तिनमा प्रस्तुत गरिने कार्यपत्र, त्यसमाथि हुने टिप्पणी र छलफलको स्तर कमजोर छ र त्यसलाई उकास्न आवश्यक छ ।”

तेस्रो अध्यायमा नेपाली मिडियाका किताब प्रकाशनका विविध पाटाहरुबारे उल्लेख छ । पाँचौँ अध्यायचाहिँ मिडिया स्रोत सामग्रीको उपलब्धता र पहुँचको विषयमा छ । साथै, किताबमा समेटिएको मिडियासम्बद्ध शोधपत्रहरुको सूचीसमेत समाविष्ट छ । समग्रमा, मिडिया अनुसन्धानमा चाख राख्नेहरुका लागि पुस्तक उपयोगी छ ।

स्रोतः नेपाल,८ पुस २०६४, वर्ष ८ अङ्क १८


About the Author

More Blogs