कैरन - समाज अध्ययन १५

2021-09-27

ध्रुवसत्य परियार । २०७४ । कैरन । काठमाडौँ : सांग्रिला बुक्स ।

 

ध्रुवसत्य परियारले कैरन कथा संग्रहमा समाजमा व्याप्त जातीय विभेदको नालीबेली केलाएका छन् । मिथकलाई वर्तमान समाजका पात्र, बेथिति, कुसंस्कार र विभेदसँग जोडेर नेपाली राजनीति, धर्म र रीतिरिवाजलाई केलाउँदै पुनर्व्याख्या गर्ने प्रयास गरेका छन् उनले । यहाँ सोही कथा संग्रहलाई समाजशास्त्रीय दृष्टिकोणले लेखाजोखा गरिएको छ ।

कैरनमा नेपाली राजनीतिको इतिहास र वर्तमान सन्दर्भलाई व्यंग्यात्मक पाराले प्रस्तुत गरिएको छ । “रानीतरुल” कथामा समर नामक पात्रले तानाशाह विरुद्धको युद्धमा जनतालाई सामेल गराएको र सत्तामा पुगेपछि विवेक गुमाएको प्रसंग छ । कथाकार लेख्छन्, “समरमा सत्ता शक्तिको उन्माद यति चढ्यो, सत्ता प्राप्तिका लागि उनले हिजो जसलाई साथ लिएर युद्ध गरेको थिए, उनीहरूलाई नै भुल्न पुगे । फेरि पनि समृद्धिफलमा राज्यका ठुलाबडाकै रजाइँ चल्न थाल्यो” (पृ. ५७) । यी हरफले सत्ता र शक्ति प्राप्त गरेपछि जनता सँगका प्रतिबद्धता बिर्सेर आफ्ना स्वार्थमा रमाउने समकालीन राजनीतिक चरित्रलाई सम्झाइदिन्छन् । नेपाली नारीवादी आन्दोलनकी अग्रणी योगमायाको प्रसंग “स्वाहा” कथामा छ । कुरीति र विसंगतिका परम्परागत धारणा विरुद्धको उनको अभियान सत्ताको लागि चुनौती भएकोले उनी जलसमाधि लिन बाध्य हुन्छिन् । त्यस्तै, “शहीदकी छोरी” कथामा माओवादी विद्रोहकालमा शहीद बनेका एक व्यक्तिको परिवार दुःखको जालमा परेको प्रसंग छ । नेताले चुनाव जित्नका लागि उनै शहीदकी छोरीको हर्षाश्रु नभई नहुने सन्देश कथाकारले पितृ उत्रिएकी भनिएकी एक महिला पात्रमार्फत दिएका छन् । यसलाई द्वन्द्वपीडितले न्याय पाउनुपर्ने लेखकको अपेक्षाका रूपमा अर्थ्याउन सकिन्छ ।

दलित भएकै कारण हुने दुर्व्यवहार, मन्दिर प्रवेशमा रोक, गैर दलितसँग प्रेम वा विवाह गरेबापत यातना, सामाजिक बहिष्कार आदि नेपाली दलित समुदायले भोगेका समस्या हुन् । ध्रुवसत्य परियारले आफ्नै भोगाइ समेतको आधारमा धर्म, समाज, शासन र शक्तिको आडमा लिंग र जातको आधारमा भएका विभेदपूर्ण मूल्य-मान्यतालाई कलात्मक तरिकाले धज्जी उडाएका छन् । धर्मको नाममा विभेद, हिंसा र असमान व्यवहारलाई प्रश्रय दिने गरी कथ्यको निर्माण गरिएको लेखकको दाबी छ । धर्म र कानूनको अवलम्बन मुख्यतः यसका व्याख्याता र प्रयोगकर्तामा भर पर्दछ । व्याख्याता अभिजात वर्गका हुने भएकाले तिनकै स्वार्थ अनुरूप धर्म र कानूनको व्याख्या हुँदै आएको छ । मिथक निर्माण पनि त्यसै गरी हुँदै आएको छ । “मायाताल” कथामा श्रीमतीको वियोगमा आफ्नो पूरा उमेर बिताएको राघवले मूर्ति बनाएर उनलाई अमर राख्न प्रयास गर्दछ । आफ्नै अगाडि श्रीमती जल्दा सोही आगोमा जल्न चाहेको राघवलाई समाजले पत्नीको वियोगमा सती जाने अनुमति दिँदैन । आफैले कुँदेको मूर्ति पूज्न र मन्दिर प्रवेश गर्न निषेध भोगेका राघवहरू हाम्रो समाजमा प्रशस्तै छन् ।

“बिजुली” कथामा दलित विवाह गरेकै कारण बलरामलाई जात निकाला गरी चारपाटा मुडिन्छ, काँधमा सुँगुरको पाठो भिराइन्छ र गाउँ निकाला गरिन्छ । बाटोमा घिउ व्यापारीसँग उसको साक्षात्कार हुन्छ । श्रमशक्तिको पूर्तिका लागि उसको बाँकी कपाल खौरेर टुप्पी राख्दै उसलाई घिउ बोक्नयोग्य बनाइन्छ, तर भान्छा छुन दिइँदैन । धर्म र परम्पराको नाममा जात निकाला गरिनु र श्रमशक्ति आवश्यक पर्नासाथ घिउ बोक्नयोग्य करार गरिनुले जातीय विभेदको तहसमेत शक्ति सम्पन्न व्यक्तिले आफ्नो माग र आवश्यकता अनुसार निर्धारण गर्ने देखाउँछ । “गुराँस फुल्ने लेक” कथामा विवाहपछि दलितसरह व्यवहार गरिएका दलित पुरुष र ब्राह्मण महिलाको एक जोडीलाई मुखियाले पुनः “उपल्लो जात” कायम गरिदिन्छन् ।

कैरनले मिथकको विनिर्माणसँगै नयाँ मिथक निर्माणका केही प्रयास पनि गरेको छ । नारीवादी दृष्टिकोणको प्रचुर प्रयोग छ । पतिव्रता नारीको कथा धेरै आए पनि पत्नीव्रता पुरुषको बिम्ब बनेको थिएन । महिलालाई सम्मान गर्ने पुरुषहरू परापूर्वकालमा झन् दुर्लभ थिए । हिन्दू धर्म मात्र नभई, इस्लाम र इसाई धर्म पनि महिलाको शुद्धता एवं पतिव्रताका सन्दर्भमा कट्टर छन् । उदार भनिएका समाज समेत महिलाको लागि उदार छैनन् । त्यसैले पतिव्रता नारीको अविरल बखान हुने पुराणहरूमा पत्नीव्रता पुरुषको चर्चा पाइँदैन । यद्यपि, यस कथासंग्रहमा भने पत्नीव्रता पुरुषको प्रसंग छ । पुरुष र महिलाको विवाहमा पुरुषको उमेर महिलाको भन्दा बढी हुनु नेपाली समाजमा सामान्य मानिने हुँदा स्वस्थानी कथामा ७० वर्षीय शिव शर्मा ब्राह्मण र ७ वर्षीया गोमा ब्राह्मणीको विवाह प्रसंगलाई पचाइन्छ । तर “स्वाहा” कथामा ७ वर्षको बालक आदित्यहाङलाई ७० वर्षकी चन्द्रावतीले विवाह गरेको कथा भने अपत्यारिलो लाग्छ । कथाकारले मिथकको विनिर्माण गर्दै विभेदको जरा उखेल्न उल्लेखनीय प्रयास गरेका छन् आफ्ना कथाहरूमा ।

लेखकको कल्पनामा एक समतामूलक समाज छ जहाँ मान्छे-मान्छेबीच कुनै पनि प्रकारको विभेद हुँदैन । कैरनका पात्र साधारण मौलिक जीवन बाँचेका र व्यावहारिक रूपमा समतामूलक समाजको पक्षमा पैरवी गर्दछन् । “ब्राह्मी” कथामा कथाकारको नारीवादी चिन्तन पात्रमार्फत यसरी प्रस्तुत गरिएको छ, “जुनसुकै परिस्थितिमा पनि बालबालिका, वृद्धवृद्धा र जुनसुकै उमेरकी स्त्रीलाई शान्तिले बाँच्न दिइनुपर्दछ” (पृ. १२) । सभ्यताले बिटुल्याएको आफ्नो रगत यी कथाहरूमा मिसिएको छ भनेका कथाकारले सोही अनुरूप जातीय विभेदका केस्रा-केस्रा केलाएका छन् । लामो समयदेखि श्रम शोषण र उत्पीडनको जाँतोमा पिल्सिएका दलित समुदायलाई आर्थिक वृद्धिको अवसर दिई समतामूलक समाज निर्माण गर्न हामी चुकेकै हौँ भन्ने प्रस्ट पारिदिन्छन् लेखकले । कैरनका पात्रहरूले हाम्रो समाजमा व्याप्त विभेद, हिंसा र असमान व्यवहारबारे हामीलाई झकझक्याउँछन् । दलित युवकलाई “तिमी त दलित जस्तो देखिन्नौ” भन्ने आरतीको टिप्पणीले आधुनिक युवती पनि दलितप्रति पूर्वाग्रही रहेको देखाउँछ । अझै पनि दलितले भैँसी गोठ छोए देउता रिसाउँछन् भनी दलितलाई कुटपिट र जरिवाना गरेको दृष्टान्त कथामा आएका छन् । दलितसँग हुने अन्तरजातीय वैवाहिक सम्बन्धले जन्माएका कहरको शृंखला त यी कथाहरूमा अनेकौँ छन् ।

“बिजुली” कथामा घरले नस्वीकारेपछि असमञ्जसमा परेको ब्राह्मण ज्वाइँलाई दलित ससुराले आफ्नो घर जान आग्रह गर्दै भन्छन्, “हजुरलाई घराँ हुलेर हजुरहरूको झैँ हाम्रो जात जाँदैन केरे” (पृ. १७२) । यस संवादले हाम्रो समाजको विरोधाभाष स्पष्ट पार्दछ । ठुला कहलिएका जातको मान्छेलाई सानो भनेर हियाइएको जातको मान्छेले देखाएको उदारता आफैमा मिठो व्यंग्य देखिन्छ । “गुराँस फुल्ने लेक” कथामा बत्तीबज्यै जातीय विभेदको विरुद्धमा छन् र उनी राजाले घोषणा गरे जातको आधारमा हुने विभेदको अन्त्य सम्भव छ भन्ने ठान्छिन्, “सोच्थेँ, राजाले नै सबैलाई पानी चल्ने जात घोषणा किन नगरेका होलान् ? यसो गर्दा कति धेरै मान्छे ठुलो दुःखबाट सजिलै मुक्त हुन्थे“ (पृ. ९८) । “बिजुली” कथामा अन्तरजातीय विवाह गर्दछन् बलराम र बिजुली । राजाको अगाडि बलरामले तर्क र कानूनको आधारमा जिकिर गर्छन्, जबकि बिजुलीको पिताले भने अबोध पारामा गुह्य कुरा खोल्दछन् । सरकारले चाहेको खण्डमा त बाहुन र कमिनीको बिहे पनि हुने भएपछि, विष्ट बराजुले गर्ने हेलाहोचो पनि त बन्द गराउनुहोस् भन्छन् उनी राजालाई ।

“जो होचो, उसको मुखमा घोचो” कै हिसाबमा चल्ने सामाजिक विभेदको शृंखला देखाइएको छ कैरन कथा संग्रहमा । “ब्राह्मी” कथामा धनुसलाई सामाजिक रूपमा कमजोर भएकोले उसलाई औँठी चोरेको आरोप लगाई सजाय समेत तोकिन्छ । तर मुखियाको छोरोले चोरेको हो भन्ने खुलेपछि औँठी फिर्ता गराइन्छ मात्रै, सजाय भने केही हुँदैन ।

कतिपय प्रसंग र परिवेश कैरनका कथाहरूमा दोहोरिएका छन् । जस्तै : अन्तरजातीय बिहे हुनु, बसाइँ सर्नु, उतै बन्दोबस्त भएर बस्नु, नाती नातीनाका पालामा वास्तविक कथा थाहा हुनु “गुराँस फुल्ने लेक,” “बिजुली,” “ब्राह्मी” कथामा दोहोरिन्छ । “जालिनी” कथामा झैँ राजा र प्रधानमन्त्रीको तुलना र शक्ति सन्तुलनको सन्दर्भ “बिजुली” कथामा पनि छ । पानीमा अनुहार हेर्ने प्रसंग “मायाताल” र “गुराँस फुल्ने लेक” मा दोहोरिन्छ । सपनामा घटनाको पूर्वाभास भएका अथवा ज्योतिष मार्फत भविष्यवाणी गराइएका अनेकौँ उदाहरणले कथा संग्रहलाई एकोहोरो बनाएका छन् । झन् पितृ बोलाउने, ज्योतिषलाई भविष्यवाणी गराउने र सपना अनुसार विपनाका घटना निर्देशित हुनुले कथाकार रुढिवादलाई प्रवर्द्धन पो गर्दैछन् कि भन्ने भान हुन्छ ।

कैरनका अधिकांश कथामा पात्रको विश्लेषण भए पनि परिवेशको वर्णन नभएकाले पाठकलाई पात्रसँग जोडिन बाधा पुग्छ । विज्ञानले गरेका नवीनतम आविष्कारहरूको आधार कल्पना हो । कैरन कथामा गरिएको चरम कल्पना शैलीले भने आजको विज्ञानलाई समेत चुनौती दिन्छ । विज्ञान र कल्पना जोड्ने सन्दर्भमा कथाकार चुकेका छन् । “शाल्मली” कथामा मानिससँग ठोक्किएर अजिंगर मरेको वा “सुगा” कथामा हेलिकप्टर चढेर सुगाको निर्देशनको भरमा हराएको मान्छे खोज्न गएको घटना कथाकारका अस्वाभाविक परिकल्पना हुन् ।

कैरन मिथक र किंवदन्ती सहितको कथा संग्रह मात्र नभई नेपालको इतिहास र वर्तमानको कोलाज हो भन्न सकिन्छ । इतिहास र वर्तमान समयका पात्र तथा प्रसंगलाई आफुखुसी परिवर्तन गरिएकोले कतिपय कथाले पाठकलाई दिग्भ्रमित पार्न सक्छन् । यद्यपि, समतामूलक चिन्तनयुक्त कथ्यमार्फत विभेदको शृंखला चिरफार गर्न र समतामूलक समाज निर्माणको लागि पैरवी गर्नमा ध्रुवसत्य परियार सफल छन् ।

 

मीरा ढकाल

¥याण्डम रिडर्स सोसाइटी, पोखरा


About the Author

More Blogs