चौतारीका दुई पुस्तक

2021-10-11

– श्रीधर
मार्टिन चौतारीले आफ्नो पुस्तक प्रकाशनको पछिल्लो शृङ्खलामा मिडियामा अनुसन्धान र मिडिया संवाद नामका दुई कृति बजारमा ल्याएको छ ।

मिडिया अनुसन्धान प्राज्ञिक पूर्वाधार निमार्णका केही अभ्यासको सम्पादन देवराज हुमागाई, कोमल भट्ट र कृष्ण अधिकारीले गरेका छन् । मिडिया संवाद नेपाली पत्रकारिताबारे अन्तर्वार्ता भने शेखर पराजुलीले तयार पारेका हुन् ।

मिडिया अनुसन्धान प्राज्ञिक पूर्वाधार निर्माणका केही अभ्यास पाँच अध्यायमा विभाजित छ । यस पुस्तकमा विश्वविद्यालयमा हुने पत्रकारिताको अध्यापन र शोध, नेपाली मिडियाबारे हुने विभिन्न छलफल, कार्यपत्र तथा पत्रकारितासम्बन्धी पुस्तक प्रकाशनका विविध आयामलाई समेटिएको छ । यसभित्र पुस्तक र जर्नल प्रकाशनमा चौतारीको आफ्नै अनुभव र मिडिया अनुसन्धानका लागि स्रोतसामाग्री तथा त्यसमाथि अनुसन्धानकर्ताको पहुँचबारे चर्चा छ ।

मिडिया संवाद नेपाली पत्रकारिताबारे अन्तर्वार्तामा नेपाली मिडियामा सक्रिय १५ जना नाम कहलिएका सञ्चारकर्मीसँगको अन्तर्वार्ता छ । पत्रकारितामा देखिएका कमीकमजोरीलाई निराकण गर्ने हेतुले प्रकाशित यो पुस्तक छापा, प्रसारण र क्षेत्रीय मिडिया, पत्रकारिता शिक्षण/प्रशिक्षण र पत्रकारका संस्था गरी पाँच भागमा विभाजित छ । छापा माध्यमका बारेमा युवराज घिमिरे, नारायण वाग्ले, कनकमणि दीक्षित, बबिता वस्नेत, ओम शर्मा र विकास रौनियारका अन्तर्वार्ता छन् । त्यस्तै प्रसारण माध्यमका बारेमा रघु मैनाली, गोपाल गुरागाई र आरति चटौतसँगको कुराकानी छ । किशोरकुमार कार्की र चन्द्रकिशोरसँग क्षेत्रीय मिडियासम्बन्धी कुराकानी गरिएको छ भने पत्रकारिता शिक्षण÷प्रशिक्षणका विषयमा रामकृष्ण रेग्मी र पी खरेलसँग गहन अन्तर्वार्ता छ । अन्त्यमा पत्रकारका संस्थाका विषयमा पत्रकार महासंघका विष्णु निष्ठुरी र प्रेस काउन्सिलका राजेन्द्र दाहालसँगको अन्तर्वार्ता राखिएको छ ।

दुवै पुस्तक सञ्चारकर्मी, पत्रकारिताका विद्यार्थी, अनुसन्धानकर्तालगायत यस क्षेत्रसँग रुचि राख्ने सबैका लागि उपयोगी छन् ।

ससमाचारपत्र (सौगात), १८ फागुन २०६२, पृ. ख


About the Author

More Blogs