बालवाङ्मयको सेरोफेरो

2021-10-10

राजकुमार बानियाँ

नेपालमा बालवाङ्मयको त्यति लामो इतिहास छैन । १९४९ सालमा गङ्गाधर शास्त्री द्रविडले गोर्खा पैह्ला किताबमार्फत यसको शुभारम्भ गरेका हुन् । साँच्चै त्यो बालसाहित्य थिएन, बरु थियो नेपाली भाषाको पहिलो वर्णमाला । स्वर वर्ण, व्यञ्जन वर्ण, महिना, बार, तिथि, ऋतु, राशि, चिट्ठी लेख्ने तरिका, हिन्दूस्तानी सिक्काको विनिमय दर, जमिन र कपडा मापन, तौल, एकाइ, दहाइ, गिन्ती, पहाडा अनि नेपाली अक्षर, उर्दू र रोमन अङ्ग्रेजीमा दिन र महिनाका नामको जानकारी दिने उद्देश्य थियो त्यसको ।

मदन पुरस्कार पुस्तकालयको दराजमा सुरक्षित गङ्गाधर शास्त्रीको वर्णमालातिर कसैको ध्यान गएन । हतारिँदै कतिपय अनुसन्धाताले अक्षराङ्क शिक्षा र बालबोध नम्बर १ का जयपृथ्वीबहादुर सिंहलाई पहिलो लेखकमा दर्ता गरे । तर, दोस्रो हुँदैमा जयपृथ्वीको महत्त्व घटेन । नेपाली भाषामा सरल बाल पाठ्यसामग्री तयार गरिदिनु उनको सुकर्म हो ।

पुरानो पुस्ताका गङ्गाधर शास्त्री, जयपृथ्वीबहादुर सिंह, लक्ष्मीप्रसाद देवकोटा हुँदै नयाँ छिमलका शाश्वत पराजुली, शिल्पी प्रधानसम्मका १ हजार २ सय ८० किताबको नालीबेली दिने कोसिस गरेका छन्, प्रमोद प्रधानले । बाल पाठ्यसामग्रीबारे यति गहिरो र स्वतन्त्र खोजीनीति अहिलेसम्म हुनसकेको थिएन । एक हिसाबले नेपाली बालवाङ्मय परिचयकोशमार्फत स्वतन्त्र साहित्य या अनौपचारकि वाङ्मयको साङ्गोपाङ्गो अध्ययन गरेका छन् उनले । काम पट्यारलाग्दै होस्, उनले सबै वाङ्मयप्रेमीको धाप अवश्य पाउनेछन् ।

बालवाङ्मयको वैज्ञानिक र र्सवमान्य कालक्रमिक विभाजन गरेका छन् लेखकले । बालकविता, बालगीत, बाल खण्डकाव्य, बाल गजल, बाल हाइकु, बालकथा, बाल उपन्यास, बाल एकाङ्की, बाल नाटक, बालोपयोगी जीवनी, बाल निबन्ध, चित्रकथा/चित्रपुस्तक, बाल अन्तर्वार्ता मात्र होइन, अनूदित बालपुस्तक, बालशब्दकोश, बाल विश्वकोशका बारेमा पनि उनले अध्ययन गरेका छन् ।किताबहरूको नाम, प्रकाशक, मुद्रक, संस्करण, पृष्ठ, मूल्य, चित्रको सङ्क्षिप्त परचिय मात्र समेटिएको छ । यति गर्दागर्दै पनि किताब भीमकाय बन्न पुगेको छ । प्रधानको परश्रिमले यसमा समेटिन नसकेका अन्य श्रव्यदृश्य सामग्रीको पनि कोश बनाउन सकिने रहेछ भन्ने बोध गराउन सक्छ ।

पेसाले पत्रकार तर रुचिले साहित्यकार प्रधान यस किताबसँगै बालवाङ्मयका आधिकारकि शिल्पीमा दरिएका छन् । यसअघि उनले नेपाली बालसाहित्यको इतिहास लेखिसकेका छन् । बालवाङ्मयका सामग्रीको खोजी गरेर उनी सबैलाई यसबारे जिज्ञासु बनाउन सफल भएका छन् । सत्य के हो भने, बालबालिकाका हातगोडाभन्दा पहिले दिमाग सुसज्जित गरििदन सक्ने लेखकहरू नेपालमा निकै कम छन् । तिनीहरू या त नीतिकथाकै संसारमा छन् त आदर्श र भाषण छाँट्छन् । यस्तो लाग्छ, तिनीहरू बालबालिकालाई बौद्धिक खजाना होइन, विष नै पस्किरहेका छन् ।

यति धेरै किताबको थाकमा अद्योपान्त पठनीय सामग्रीको सूची बनाउन स्वयम् प्रधानलाई नै हम्मेहम्मे परेको हुनसक्छ । यी किताबहरूले सङ्ख्या त बढाएका छन् तर स्तर बढाउन सकेका छैनन् । मुख्य समस्या त विषय, भाषा र शैली नै हुन् । कहिलेकाहीँ त बाल मनोभावकै हुर्मत लिएजस्तै लाग्ने किताबहरू नै पुरस्कृत भएको तीतो अनुभव छ । तर, अनूदित बालवाङ्मयले पठनीय सामग्रीको खडेरीको अनुभव गराएको छैन । नेपाली बालवाङ्मयलाई रहर गर्ने लेखकभन्दा लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, कृष्णप्रसाद पराजुली, भवानी भिक्षु, शान्तदासजस्ता मर्मज्ञको खाँचो टड्कारो छ ।

नेपाल, ५ असोज २०६५, वर्ष ९, अङ्क ७, पृष्ठ ५४


About the Author

More Blogs