सुस्वास्थ्यपूर्ण मृत्यु

- मधुसूदन सुवेदी | 2025-07-19

विचार/विश्लेषण

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ले चिकित्सा शिक्षा कार्यक्रमलाई केवल विज्ञानको सीमा भित्रै सीमित नराखी मानवीय संवेदनशीलताको दायरा पनि समेट्ने उद्देश्य राखेको छ। यही  उद्देश्य  हासिलगर्न सन् २०१८ देखि वास्तविक घटना, जीवनी, कविता, फिल्म तथा अपाङ्गता भएका  ब्यक्तिहरुको जीवन्त अनुभवको बारेमा बिधार्थीहरु संग छलफल तथा बहस गरिन्छ।  गरिवी, असमानता, सामाजिक न्याय, समानुभूति सहितको चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी तथा निस्वार्थ सेवाको बारेमा गम्भीर छलफल, बहस र सामाजिक उत्तरदायी भावनाको विकास गर्न कोशिस गर्छ।

यी उल्लेखित बिषयसंग जोडेर जीवन र मृत्युको गहिरो अर्थबारे पनि विद्यार्थीहरूलाई सोच्न सिकाउँछ। यो कोर्सले उनीहरूलाई एकपटक आफैंसँग प्रश्न गर्न बाध्य पार्छ,  'तपाईं आफ्नो मृत्यु कस्तो होस् भन्ने चाहनुहुन्छ?' यस्तो प्रश्नको उत्तर सजिलो छैन। धेरैको लागि यो अप्रत्यासित प्रश्न हुन्छ । हाम्रो संस्कृतिमा मृत्युलाई सामान्य छलफलको विषय मानिँदैन। तर स्वास्थ्यकर्मीको भूमिकामा यो बुझ्नु अत्यावश्यक छ किनभने स्वास्थ्यकर्मीहरु अरूका जीवनका अन्तिम क्षणहरूमा उपस्थित हुनु पर्छ।

हिन्दू र बौद्ध परम्परामा मृत्यु केवल जीवनको अन्त्य होइन। यो जीवनको एक पवित्र चरण हो, जसले आत्मालाई नयाँ यात्राको ढोका खोलिदिन्छ। हिन्दू दर्शनमा भनिन्छ– जसरी शरीर पुरानो भइ सकेपछि कपडा बदलिन्छ, आत्माले पनि नयाँ शरीर ग्रहण गर्छ”। यस अर्थमा मृत्युलाई डरको विषय होइन, तर आत्मिक मुक्तिको अवसरका रूपमा लिइन्छ। बौद्ध परम्परामा पनि मरणस्मृति (मृत्यु स्मरण) अभ्यासले जीवनका क्षणहरूको महत्व झल्काउँछ। सबै चीजहरू नाशवान छन् भन्ने बोधले जीवन र मृत्युका बीचको सन्तुलन सिकाउँछ

नेपालमा धेरैजसो व्यक्तिहरु अन्तिम सास घरमै लिन पाउनु ठूलो कुरा मान्छौँ। पूर्खाहरूले अन्तिम क्षणमा तुलसीको पात वा गङ्गाजल मुखमा राखिदिने, गीता वा रामायणको पाठ गर्ने चलन राखेका थिए। यो केवल धार्मिक आस्था होइन, बरु मृत्युलाई शान्तिपूर्ण र सम्मानजनक बनाउनको प्रयास थियो। तर आजको स्वास्थ्य प्रणालीमा बिरामीहरू अस्पतालको आइसीयुमा र मेशिनहरूले घेरेको अवस्थामा, प्रियजनहरूको साथबिना अन्तिम सास लिइरहेका छन्। के यस्तो मृत्यु उनीहरूले चाहेका थिए वा चाहन्छन्?

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कक्षामा विद्यार्थीहरूले यस्तै गहिरा प्रश्नहरूसँग जुध्न सिक्छन्। कसैले भन्छन्, 'म चाहन्छु कि मेरो अन्तिम दिनहरू परिवारसँग बितून्, बच्चाहरूले मेरो हात समातून्, र मैले आफ्नै घरको आँगनमा मर्न पाउँ।' कसैले भन्छन्, 'म आफ्नै परम्परामा सफल जिन्दगीको अनुभव गर्दै छोरा-छोरीको अगाडि मर्न पाउँ।' धेरैले  सम्झनायोग्य कामलाई प्राथमिकता दिदै, सफल जिन्दगि पछिमात्र मृत्युको कल्पना गर्छन ।  यी उत्तरहरूले देखाउँछन् कि मृत्युका बारेमा सोच्नु भनेको जीवनका प्राथमिकताहरूबारे सोच्नु हो र सोहीअनुसार कर्म गर्नु हो।

बौद्ध दर्शन अनुसार अन्तिम क्षणको मानसिक अवस्था पुनर्जन्मको गुणस्तरमा प्रभाव पार्छ। यसैले ध्यान, प्रार्थना र शान्त वातावरणलाई महत्वपूर्ण मानिन्छ। स्वास्थ्यकर्मीहरूले बिरामीका यी आध्यात्मिक आवश्यकताहरू बुझेर सहयोग गर्न सके, उनीहरूलाई “सुस्वास्थ्यपूर्ण मृत्यु” दिन सकिन्छ।
यसको व्यावहारिक पक्षमा पेलियेटिभ केयर आउँछ। पेलियेटिभ केयरको उद्देश्य जीवन लम्ब्याउनु मात्र होइन, पीडा कम गर्नु, बिरामीका चाहनाहरूको सम्मान गर्नु र परिवारलाई भावनात्मक रूपमा सघाउनु हो। बिश्व स्वास्थ्य संगठनले पनि जीवनको अन्तिम दिनहरूमा बिरामीका सामाजिक, मानसिक र आध्यात्मिक पक्षलाई उत्तिकै महत्व दिनुपर्ने बताउँछ।

साँच्चै भन्ने हो भने, सुस्वास्थ्यपूर्ण मृत्युमा चार मुख्य तत्व हुन्छन्– पीडामुक्ति, गरिमा, आत्मिक शान्ति र प्रियजनको साथ। पाटन स्वास्थ्य विज्ञानका विद्यार्थीहरूले यस्तो ज्ञान 'मानवीय चिकित्सा' बिषय पढ्दै गर्दा सिक्छन् जसले परिवार, समाज र स्वास्थ्यकर्मी सबैलाई स्पर्श गर्छ।

अन्ततः हामी सबैका लागि प्रश्न उस्तै गहिरो छ– 'के म जीवनको अन्तिम दिनहरूमा आफैंले चाहेको वातावरणमा, आफैंले चाहेको सम्मान र शान्तिसँग मृत्यु अँगाल्न पाउँछु?' यो प्रश्न केवल व्यक्तिगत होइन। सबै स्वास्थ्यकर्मीका लागि यो नैतिक जिम्मेवारी पनि हो र उनीहरु आफ्ना बिरामीलाई यस्तो मृत्यु दिलाउन प्रयास गरुन्।

हिन्दू दर्शनले जीवन र मृत्यु दुवैलाई कर्मसँग जोड्छ। 'जस्तो कर्म, उस्तै फल' भन्ने बुझाइ अनुसार अन्तिम क्षणमा पनि आफू र अरूका लागि सकारात्मक कर्म गर्न सकिन्छ। अंगदान गर्नु, अरूका लागि जीवनको आशा बन्नु, यो पनि एउटा उच्चतम कर्म हुन सक्छ। त्यसैगरी बौद्ध धर्ममा निर्वाण प्राप्तिको बाटो अन्तिम क्षणसम्म पनि खुला रहन्छ। स्वास्थ्यकर्मीहरूले यस्तो आध्यात्मिक चाहनालाई सम्मान गर्ने संस्कार राखे भने बिरामीको मृत्युपनि असल बन्न सक्छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको “मानबिय चिकित्सा” को महत्व यहीँ प्रकट हुन्छ। यसले विद्यार्थीहरूलाई विज्ञान र संवेदनशीलताबीचको पुल बनाउँछ। जब विद्यार्थीहरू जीवन र मृत्युको गहिरो अर्थ बुझ्छन्, उनीहरू केवल कुशल चिकित्सक मात्र होइन, समानुभूतिपूर्ण मानव पनि बन्छन्।

(सुवेदी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक हुन् ।  “मानबिय चिकित्सा” बिषय  समेत अध्यापन गर्छन् ।)

प्रकाशित मिति : साउन ३, २०८२
स्रोत : https://swasthyakhabar.com/story/60423


About the Author

Madhusudan Subedi मधुसूदन सुवेदी

Central Dept. of Sociology/Anthropology, Kirtipur

More Blogs