किन सिकिस्त पारिँदै छ बीपी स्वास्थ्य प्रतिष्ठान ?

- मधुसूदन सुवेदी | 2021-09-24

मधुसूदन सुवेदी

स्वास्थ्य क्षेत्रमा क्रमशः आत्मनिर्भर बनाउँदै लैजान, सर्वसाधारण जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्यसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानको प्रवर्द्धन गर्न र आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यसाथ २०४९ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएको थियो ।

पूर्वी नेपालको धरानमा अवस्थित प्रतिष्ठानले यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य सेवासहित चिकित्सा, नर्सिङ तथा जनस्वास्थ्य विषयहरूमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको प्रतिष्ठानमा हालैका दिनहरूमा आपसी झगडा, गुटबन्दी, कलह, अपारदर्शिता र वैमनस्यका कारण तालाबन्दी र विरोधका कार्यक्रमले आक्रान्त छ । बिरामीले स्वास्थ्य सेवा लिन पाएका छैनन्, विद्यार्थीहरूले ढुक्कसँग पढ्न पाएका छैनन्, कर्मचारी र प्राध्यापकहरू राजनीतिको थिचोमिचोमा परेका छन् । लोकतन्त्रवादी नेता बीपी कोइरालाका नाममा स्थापना भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैँ बिरामी पर्दै छ ।

सार्वजनिक संस्थामा प्रधानमन्त्री र मन्त्रीको हस्तक्षेप प्रतिष्ठानमा कार्यकारी निकायका रूपमा काम गर्न समिति रहने व्यवस्था छ । जसको अध्यक्षमा उपकुलपति र सदस्यमा शिक्षाध्यक्ष, अस्पताल निर्देशक, प्रतिष्ठानका विभागीय प्रमुखहरूमध्येबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले मनोनीत गरेका दुईजना सदस्य रहने व्यवस्था छ भने सदस्य-सचिव रजिस्ट्रार रहने व्यवस्था छ ।

प्रधानमन्त्री प्रतिष्ठानको कुलपति हुन्छ भने स्वास्थ्य मन्त्री सहकुलपति हुन्छ । प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिका लागि सिफारिस पेस गर्न सहकुलपतिको अध्यक्षतामा अन्य दुईजना सदस्य रहेको एक समिति गठन हुन्छ र सो समितिको सिफारिसमा कुलपतिबाट उपकुलपतिको नियुक्ति हुन्छ । उपकुलपति प्रतिष्ठानको पूरा समय काम गर्ने कार्यकारी प्रमुख हुन्छ । उपकुलपतिको सिफारिसमा सहकुलपतिले प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकको नियुक्ति गर्ने व्यवस्था छ । यस्तो व्यवस्थाले गर्दा राजनैतिक स्वार्थका लागि गलत मान्छेको छनोट हुन गयो भने संस्था धराशयी हुन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उदाहरण मात्र हो ।

प्रतिष्ठानको उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार पदमा नियुक्ति कसलाई गर्ने भन्‍नेमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको बढी चासो हुन्छ । राम्रो र सक्षमभन्दा आफ्नो पार्टी र गुटको मान्छेलाई नियुक्ति गर्दा अन्य पदमा समेत आफ्नो इच्छाअनुसारको व्यक्तिलाई नियुक्ति दिने वातावरण मिलाउन सजिलो हुन्छ । पार्टीका कार्यकर्तालाई जागिर खुवाउन सजिलो हुन्छ ।

संस्थाबारे बुझेका, अनुभव भएका र आर्थिक लोभ नगर्ने व्यक्तिहरू नेता र पार्टीको चाकरी गर्दैनन् । उनीहरूलाई आफू र आफ्नो कामप्रति विश्वास हुन्छ । स्वाभिमानी हुन्छन् । उनीहरूमा लोभ र डर दुवै हुँदैन । राजनैतिक पार्टीका कार्यालयमा र नेताका घर-घरमा पुग्दैनन् । त्यस्ता व्यक्तिहरूलाई जिम्मेवारी दिँदा संस्थाको विकास हुन्छ । संस्थाभन्दा पार्टी र गुटबन्दीलाई ध्यान दिनेहरूले संस्थाको दीर्घकालीन हितभन्दा अल्पकालीन र व्यक्तिगत फाइदाका लागि जस्तोसुकै व्यक्तिलाई पनि नियुक्ति गर्न तयार हुन्छन् । नेपालका धेरैजसो सार्वजनिक संस्थाहरू दिन प्रतिदिन खस्किँदै जानुमा राजनैतिक हस्तक्षेप र आर्थिक हिनामिना नै हो ।

असल र इमानदार व्यक्तिलाई टिकाइराख्न नेतृत्वको ठूलो भूमिका प्रतिष्ठानका पदाधिकारीहरूले संस्थाको हितका लागि दिन-रात खटेर काम गर्नुपर्छ र महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ । उच्च तलब र अधिक राम्रो फाइदाको आकर्षणले सार्वजनिक संस्थाबाट निजी क्षेत्रमा काम गर्न जानेहरूको संख्या ठूलो हुन्छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अझ बढी हुन्छ । डाक्टर, प्राध्यापक, नर्स तथा अन्य कर्मचारीहरूलाई टिकाइराख्न नेतृत्वको ठूलो भूमिका हुन्छ । नेतृत्व लोकतान्त्रिक, पारदर्शी र जिम्मेवार हुँदा डाक्टर, प्राध्यापक, नर्स, तथा अन्य कर्मचारीहरूले सहयोग गर्छन् र समस्यालाई सामूहिक रूपमा समाधान गर्न तत्पर हुन्छन् । अलोकतान्त्रिक, अपारदर्शी र गैरजिम्मेवार नेतृत्व हुँदा झैँझगडा मात्र हुन्छ । सामान्य कामसमेत गर्न सकिँदैन ।

पारदर्शिताका लागि सबै आर्थिक कारोबार बैंकमार्फत गर्नु अनिवार्य सर्त हो । संस्थाका सबै नियम, जिम्मेवारी र कर्तव्य सार्वजनिक गर्दा काम गर्ने र गराउने सबैलाई सजिलो हुन्छ । नेतृत्वले इमानदारीपूर्वक काम गर्दा ठग तथा कामचोरलाई नैतिक दबाब पर्छ । नेतृत्व प्रतिष्ठानप्रति जिम्मेवार हुने र कुशल, अनुभवी तथा इमानदार व्यक्तिलाई प्रतिष्ठानको पदाधिकारीमा नियुक्ति गर्दा सबैको सहयोग हुन्छ । सामूहिक निर्णय गर्दा कार्यान्वयन गर्न सजिलो हुन्छ ।

कुनै संस्थामा काम गर्ने व्यक्तिले आर्थिक पक्षमा ध्यान दिन्छ तर अन्य पक्ष राम्रो हुँदा कम सुविधामा पनि काम गर्न तयार हुन्छन् र तिनीहरूमा सेवाभावको विकास हुन्छ । त्यसका लागि नेतृत्वले आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्नुपर्छ । आफ्ना सहपाठी र कर्मचारीको सही मूल्यांकन गरी क्षमताअनुसारको जिम्मेवारी दिनुपर्छ ।

ढुक्कसँग काम गर्ने वातावरण सिर्जना गरौँ स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नु छ र कोरोनाको कहरले संसारका सबै देशहरूले यस क्षेत्रमा बृहत् रूपान्तरणको महसुस गरिसकेका छन् र सोहीबमोजिम नीति तथा योजना परिमार्जन गर्दै छन् । नेपालमा भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो स्थापित संस्थालाई व्यक्तिगत र राजनैतिक स्वार्थका लागि कमजोर बनाउने प्रयत्न हुँदै छ । त्यसबारे उचित निर्णय लिन ढिला भइसकेको छ । गलत नेतृत्वप्रति खबरदारी र सही नेतृत्वलाई निर्धक्कसँग काम गर्ने वातावरणका लागि प्रतिष्ठानको नेतृत्व चयन प्रक्रियामा समेत बहस गरौँ ।

अन्त्यमा, प्रतिष्ठानको नेतृत्व बाहिरबाट आउनुहुन्‍न भन्‍ने होइन । आउन सक्छ र सही नेतृत्व पाएर संस्थाले उन्‍नति तथा प्रगति पनि गर्न सक्छ । तर राजनैतिक पार्टी वा नेताहरूलाई उनीहरूको स्वार्थसिद्ध गर्न स्वास्थ्य ठेकेदारमार्फत थैली बुझाइ नेतृत्वमा आउनेले नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई रसातलमा पुर्याउने काम गर्छन् । एकपटक ओरालो लागेको सार्वजनिक संस्थाले सही गति लिन र जनविश्वास जित्न निकै दुःख र मेहनत गर्नुपर्छ । नेपालको स्वास्थ्य सेवा र स्वास्थ्य जनशक्तिका लागि स्थापना भएका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई गलत मनसायबाट निर्देशित व्यक्तिबाट बचाउन सकिन्छ र सक्नुपर्छ । अन्यथा, यी प्रतिष्ठानहरूको दुर्दशा नेपाल वायुसेवा निगम, नेपाल औषधि लिमिटेडभन्दा फरक हुनेछैन ।

सुवेदी चिकित्सा समाजशास्त्री तथा मानवशास्त्री हुन् ।

प्रकाशित मिति : असार २९, २०७८स्रोत : https://ekagaj.com/article/thought/19332/?fbclid=IwAR3A909BcHeLtlOQbetDjY7ABaeXjLXI_ny8bz-XjKfdRIHeFMumP9weHv8


About the Author

Madhusudan Subedi मधुसूदन सुवेदी

Central Dept. of Sociology/Anthropology, Kirtipur

More Blogs