लिम्बुवानबाट मधेस बसाइँ सरे, माेतीराज अनि मदन भण्डारी भए

- रमेश रूछेन राई | 2021-09-24

रमेश रूछेन राई

ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि पश्चिम–उत्तरमा ढुङ्गेसाँघु भन्ने ठाउँ छ । ढुङ्गेसाँघुको उत्तरमा साँघु नामको अर्को गाउँ छ । साँघुसँगै जोडिएको छ ठोट्ने गाउँ । उत्तर–पूर्व फर्किएर भिरालो जमिनमा बसेको गाउँको पुछारमा मैवा खोला बग्छ । गाउँभन्दा माथि ठूलो जङ्गल छ । जुकाको जगजगी चल्छ वर्षामा । जङ्गलको सियाँलले पूरै गाउँ सधै ओसिलो भइरहन्छ । हिउँदमा चार बज्न नपाई घामले छाडिसक्छ तर बिहानको घाम भने पूरै गाउँलाई ब्युँझाउन आइपुग्छ ।

ताप्लेजुङको साँघु गाउँ पञ्चायत वडा नं. ९ मा पर्थ्यो ठोट्ने । २०१८ सालमा तेह्रथुम जिल्लामा गाभिएको यो ठाउँ २०३२ सालमा फेरि ताप्लेजुङ जिल्लाअन्तर्गत आयो । त्यति बेला आठराईतिरका हाङ्पाङ, फूलबारी, मैवाखोलालगायत आठ गाउँ पञ्चायत ताप्लेजुङमा गाभिए । ठोट्ने गाउँ ढुङ्गेसाँघु गाउँ विकास समिति वडा नं. ९ हुँदै हालको नयाँ संरचनापछि मैवाखोला गाउँपालिका वडा नं. २ मा पर्छ ।

देवीप्रसाद भण्डारीकी दिदी ठोट्नेका पौडेलले बिहे गरेका थिए । उनकी आमा लीला भण्डारी छोरीलाई असाध्यै माया गर्ने । छोरीको मायाले गर्दा लीलाले तेह्रथुमको पौंठाक (फाक्साखाम) छाड्ने निर्णय गरी छोराहरू बृहस्पति र देवीप्रसादलाई लिएर ठोट्नेमा बसाइँ नै सरिन् । देवीप्रसाद पौंठाकमा हुँदै गाउँका सबैको तिरो (मालपोत) उठाएर माल अड्डामा बुझाइदिन्थे । जग्गाको तिरोसम्बन्धी काम गर्न थालेदेखि गाउँलेले उनलाई ‘थरी’ भन्न थाले । उनी असली कामका लागि असली ‘थरी’ थिए । ठोट्ने आएपछि देवीप्रसादले आफ्नो घर बसाए । देवीप्रसाद र चन्द्रकलाको एउटा छुट्टै परिवार बन्यो । उनका दाजु बृहस्पतिको पनि आफ्नै ।

देवीप्रसाद र चन्द्रकलाका एक छोरा र एक छोरी भए । देवीप्रसादको घरभन्दा माथितिर शेर्पाहरू बस्थे- चार–पाँच घर । घरनजिक चाहिँ दाइ बृहस्पतिको घर थियो । घरदेखि पछाडिपट्टि सुनुवारहरू बस्थे । तामाङहरूको पातलो बस्ती पनि थियो नजिकै । घरभन्दा तल माङ्मय खोलाबाट आउने कुलो थियो । कुलोमुन्तिर देवीप्रसादकी दिदी अर्थात् पौडेलहरूको टोल थियो । ठोट्नेको पातलो बस्ती, कुलैकुलो बरडाँडा पुगेपछि लिम्बुहरूको बस्ती भेटिन्छ- चुम्लोक (लेगुवा) गाउँ । वनेम थरका लिम्बुहरूको गाउँ निकै पुरानो हो ।

भिरालो पाखोबारी, नजिकै जङ्गल । जङ्गल फाँडेर खेती गर्नुपर्ने ओसिलो ठाउँ । चाहिनेजति घाम पनि नआउने । मेहनतअनुसार अन्न पनि कम फल्ने । त्यसैले होला, मान्छेहरूले गच्छेभन्दा धेरै खेती गर्नुपरेको पहाडी खोचहरूमा । देवीप्रसादको परिवार पनि खेती गथ्र्यो । बारीमा मकैको खेती हुन्थ्यो, अलि पछि घरमुनिको बारीमा खेत बिराए । अब धान खेती थपियो । देवीप्रसादको घरसँगै रहेको मतान (खोल्मा) मा ढिकीसार पनि थियो । दाउरा र अरु सरसामान पनि राख्न हुने गरी बनाएका थिए मतान । घरसँगै जोडेर तल्लो पाटोमा बाख्राको खोर बनाइएको थियो । सम्भव भएसम्म खेती गरेका थिए देवीप्रसादले । घरछेउमा खानेपानीको जोहो गरेका थिए । समय मिलाएर घरको काम गर्थे । समाजसेवी सोच बोकेका देवीप्रसाद अलि बढीचाहिँ घरबाहिरै हुन्थे ।

देवीप्रसाद गाउँघरको झगडा मिलाउने, मुद्दामामिलामा सहयोग गर्ने, अड्डाअदालतको काममा सल्लाह दिने जस्ता काममा सिपालु थिए । गाउँघरमा आइपर्ने सबै खाले लेनदेन र मुद्दामामिलाका तमसुक र अन्य लिखत देवीप्रसाद नै लेख्थे । अक्षर त खासै राम्रा होइनन् तर उनी तमसुक लगायत सबै लिखतहरू बेहोरा पुर्‍याएर लेख्थे । वारिपारि गाउँमा समेत राम्ररी परिचित थिए देवीप्रसाद । यस्तै काममा कहिलेकाहीँ जिल्ला सदरमुकामसम्मै पुग्ने गर्थे । जिल्लाका हाकिम र न्यायाधीशहरूसँग पनि भाँती पुर्‍याएर बोल्ने भएकाले उनी एक पटक गाउँको ‘मेम्बर’ पनि भएका थिए ।

२००९ असार पहिलो सातातिरै एउटा खबरले देवीप्रसादको परिवारमा पिर थपियो । चन्द्रकलाको माइतीमा बर्माबाट चिठी आयो । चिठीको बेहोरामा चन्द्रकलाका बुबा वैशाखमै बितेको खुलाइएको थियो । जेठो भाइले बुबाको क्रियाकर्म गर्न दिदीलाई पनि लिएर जाने सोचेका थिए तर त्यति बेला चन्द्रकला दुई जिउकी थिइन् । शारीरिक अवस्थाका कारण त्यति टाढा जान सकिनन् र घरमै क्रियाकर्म गर्ने सोचिन् । बुबाको क्रियाकर्मको अवधिमै उनलाई व्यथा लाग्यो । प्रशव वेदनामा उनी शीतल खोज्दै घरनजिकैको ढिकीसारमा पुगिन् । त्यहीँ जन्माइन् उनले दोस्रो सन्तान छोरोको रुपमा २००९ असार १४ गते रातको १२ बज्न लागेको बेला ।

छोराको न्वारान गरियो । पण्डितले नाम जुराए- मोतीराज अर्थात् मोतीराज भण्डारी ।

वर्षदिन बित्यो । बुबाको वार्षिक कर्म गर्नुपर्ने भयो । चन्द्रकला पनि बुबाको वार्षिक कर्म गर्न माइती जाने भइन् । दिदी लिन माइतीबाट जेठी बुहारी (जानुका पोखरेल) ठोट्ने पुग्दा नयाँ भान्जालाई पहिलो पटक देखिन् । दश महिनाका बालक रहर लाग्दा भइसकेका थिए । हाँस्ता दुवै गाला पुक्क फुल्थे । उनलाई भान्जो खुब मज्जाको लाग्यो । दिदी र भान्जा लिएर उनी फुङ्लिङ फर्किइन् ।

देवीप्रसादको मतानपछाडिपट्टि सिमसार थियो बाह्रै महिना पानी हुने । सिमसारमा केही पनि उम्रन सक्तैनथ्यो मसिनो घाँसबाहेक । सिमसारभन्दा माथि बाँसघारी भएकाले ओस पनि उत्तिकै । गाउँभरि उत्तिसका ठुलठुला रुख थिए । २०२०–०२२ सालतिर एकखाले नयाँ झार पनि देखियो । मान्छेहरूले त्यसलाई कालीझार भनेर नाम दिए । पछि जनमत सङ्ग्रहताका वन मास्नेहरूले आफ्नो सबै दोष यही झारलाई थोपरेका थिए रे । अनि त त्यसको नामै बदलेर ‘वनमारा’ बनाइदिएछन् । अहिले पनि कालीझारलाई मान्छेहरू वनमारा भन्छन् ।

गाउँभन्दा तल झन्डै २० मिनटजति ओरालो झरेपछि टुनीबोटे पुगिन्छ । टुनीबोटेमा हिउँदमा मात्रै पढ्न–पढाउन मिल्ने एउटा विद्यालय थियो- ‘टुनीबोटे हिउँदे स्कुल’ । बाँसको टाटीले बारेर खरको छानो लगाइएको सो स्कुलको व्यवस्थापनका अगुवा थिए सिंहराज वनेम । गुरू नरेन्द्र पौडेल निःशुल्क पढाउँथे त्यहाँ । २०१४ सालको हिउँदमा मोतीले पनि विद्यार्थी भएर पढ्न सुरू गरे त्यही स्कुलमा । सामान्य चण्डीपाठबाट पढाइ सुरू गरेका मोती सुनेको कुरा बिर्संदैनथे । सुनेकै भरमा कण्ठस्थ सुनाउँथे पाठ तर अक्षर भने चिनेका थिएनन् ।

टुनीबोटे हिउँदे स्कुलमा कक्षा छुट्याउने चलन थिएन । पाठ्यक्रम र पाठ्पुस्तक पनि हुँदैनथे । गुरूसँग जुन पुस्तक छ, त्यही पढ्ने । चण्डी, रूद्री, कौमुदी, वेद पढाइ हुन्थ्यो । यो विद्यालयको स्थापना कपिलमणि पौडेलले गरेका हुन् । व्यवस्थापन समितिमा चाहिँ देवीप्रसाद पनि थिए ।

२०१५ सालतिर मोती बरडाँडाको स्कुलमा सरे । घरदेखि अलि तल झरेर माङ्मय खोलाबाट आउने कुलोको डिलैडिल १५ मिनट हिँडेपछि पुगिन्छ बरडाँडा । त्यही बरडाँडा स्कुल अहिलेको ठोट्ने आधारभूत विद्यालय भएको छ । मोतीले त्यहीँ पहिलोपल्ट अक्षर चिने । बरडाँडा स्कुलमा बृहस्पति भण्डारी, नारायण भट्टराई, लक्ष्मी पौडेलसँगै अर्का एक जना घिमिरे गुरू पनि थिए ।लक्ष्मी पौडेल देवीप्रसादका भान्जा हुन् । लक्ष्मी गुरू मामाघर जाँदा एक पटक मामाले सोधेछन्- भान्जा, यो मोतेलाई के पढाको ? यसले त अक्षरै चिन्दैन त ?

मामाका कुरा सुनेर छक्क परेका लक्ष्मी गुरूले मोतीको परीक्षा लिएछन् । त्यसपछि मात्र अक्षर नचिनेको प्रस्ट भयो । अनि त गुरू झन् तीनछक परे । जहाँबाट जे सोध्यो त्यही पाठ बुझाउन सक्ने मोतीले त्यति बेलासम्म सप्तशती (चण्डी) झन्डै-झन्डै सिद्ध्याइसकेका थिए ।

मोतीले अक्षर नचिनेको अर्को पनि घटना छ- मोती कहिलेकाहीँ गोठालो जान्थे । धेरैजसो उनी छिमेकी छत्रपति पौडेलसँग जङ्गल जान्थे । छत्रपति बाह्र वर्षैले जेठो थियो तैपनि खुब मिल्थे । गोठालो जाँदा चण्डीको किताब पढ्न लैजान्थे । मोती पढ्न साह्रै मन गर्थे ।

मोती ‘पाठ दिनुस् न बाहुन्दाजु’ भन्थे । छत्रपति पाठ दिन्थे । जति पाठ दियो त्यति कण्ठ गरिहाल्ने । दुई–चार मन्त्र पाठ त एकैछिनमा बिन्दु पनि नबिराई सुनाउन सक्थे । अनि फेरि अर्को पाठ चाहियो बाहुन्दाजु भनिहाल्थे । एक दिन छत्रपतिलाई झर्को लागेछ, उनले एकैचोटी चौधवटा मन्त्र दिएछन् । मनमनै सोचेछन्, यति भए एक हप्ता गनगन बन्द भो । एकैछिनमा आएर ‘लौ हेर्नू’ भने । छत्रपतिले चण्डीको किताब पल्टाए, मोतीले बिन्दुसमेत नछाडी सबै खरर सुनाए । छत्रपति बेहोस् !

भोलिपल्ट देवीप्रसादले गोठमा आएर छत्रपतिलाई भनेछन्- तँलाई हिजो मोतेले कति ढाँट्यो, थाहा पाइस् ? छत्रपतिलाई केही थाहा थिएन, उनले जबाफ दिए- केइ पनि ढाँटेनन् है । अनि देवीप्रसादले सुनाए- तेरो बाजे त अक्षरै चिन्दो रैनछ । खाली घोक्तो मात्रै रछ । त्यसपछि छत्रपतिले पनि थाहा पाए, मोतीले अक्षरै नचिनी चण्डी भ्याइसकेका रहेछन् ।खासमा मोती सावाँ अक्षरचाहिँ चिन्थे तर जोडिएका अक्षर चिन्दैनथे ।

बरडाँडा स्कुलमा २०–२२ जना विद्यार्थी थिए, कक्षा छुट्याउने चलन थिएन त्यहाँ पनि । अलि जान्नेलाई परतिर, नजान्नेलाई अर्कातिर राख्ने । नत्र सबै एकै ठाउँ । बरडाँडाबाट झन्डै ४० मिनटजति ओरालो मैवा खोलातिर जाँदा तेम्बे पुगिन्छ । तेम्बेमा चन्द्रजीत सुब्बाहरूले अर्को स्कुल सुरू गरेका थिए । तेम्बेमा नयाँ स्कुल सुरू भएपछि टुनीबोटे हिउँदे स्कुल पनि त्यहीँ गाभियो (तेम्बे स्कुलको इतिहास लेख्नेहरूले २०१३ सालमा स्थापना भएको भनी लेख्छन् । टुनीबोटे हिउँदे स्कुल स्थापना भएको समयसमेत गणना गरेर भनिएको २०१३ साल) ।

तेम्बेमा संस्कृत र सामान्य शिक्षा गरी दुई थरी पठनपाठन हुन्थ्यो । मोतीहरू संस्कृत पढेर आएकाले त्यहाँ पनि संस्कृत नै पढ्ने भए । दुई थरी पढाइ हुने र टाढा टाढाबाट पनि पढ्न आउने भएकाले विद्यार्थी सङ्ख्या निकै थियो । दुई तले विद्यालय भवनको तल्लो तलामा सामान्य शिक्षाको पढाइ हुन्थ्यो, माथिल्लो तलामा संस्कृत पढाइन्थ्यो । सामान्य शिक्षातर्फ कक्षा ३ सम्म हुन्थ्यो तर संस्कृततर्फ यहाँ पनि अनौपचारिक पढाइ मात्र हुन्थ्यो । कुनै कक्षा वा तह थिएन, लघु कौमुदी सिद्ध्याउने मात्रै हो । गुरू थिए- धरणीधर न्यौपाने ।

धरणी गुरूको घर पनि ठोट्ने हो । उनी दिउँसो मात्रै स्कुल जाने । बिहान, बेलुका घरमै पढाउँथे । मोती, शिव पौडेल र उनका केही साथीहरू धरणी गुरूको घरमा पढ्न जान्थे अर्थात् बिहान, बेलुका धरणी गुरूको घरमा र दिउँसो तेम्बे स्कुल । मोती आफ्नो समूहमा अब्बल विद्यार्थी थिए । पाठ कण्ठस्थ पारेर बुझाउन अरुलाई सधैं जित्ने । उनी पढाइबाहेक अरु विषयमा पनि आफ्ना दौंतरीमाझ अलि फरक थिए । मोती १०–११ वर्षका छँदा नै ‘भूत, प्रेत, देवता केही पनि हुँदैन’ भन्थे- कसैसँग नडराउने । ती बालकको कुरा अरुले पत्याउँदैनथे र उनी पनि अरुको कुरामा विश्वास गर्दैनथे ।

एक दिनको कुरा हो- जुनेली रात थियो । मोती बेलुकीको खाना खाएर गुरूको घरमा पढ्न पुग्दा कोही आएका थिएनन् । गुरूको घरसँगै मतान थियो । मतानको छेउमा केराको बोट थियो । केराको पात हावाले बिस्तारै हल्लाउँदो रहेछ । पातको छाया आँगनमा परेको देखे । मोतीले सबैलाई तर्साउनुपर्‍यो भनेर सोचे । उनले मतानको लिस्नोमा एउटा डोको अड्याएर राखे । केराको पात र डोको दुवैको छाया एकै ठाउँ पर्ने गरी ।

सबै जना आँगनमा भेला भए । मोतीले सबैलाई भूत देखाउँछु भने । उनले सबैलाई एकातिर कुनामा लगेर आँगनतिर देखाए । जूनको ओझेलमा बसेर हेर्दा केराको पात हल्लिएको र डोकोको प्वाँलबाट छिरेको जूनको किरण केराको पातको छायामा पर्दा एकैचोटि ६–७ ओटा आँखा भएको कुनै भयानक आकृति बनेको रैछ । पात हल्लिँदा आँखा पनि सरे जस्तो देखिने । अद्भूत आकृति ।

मोतीले सबै साथीहरूलाई देखाउँदै सोधे । यो हल्लिएको चाहिँ खाऊँ खाऊँ भनेको हो ? सबै जना झन् डराए । हावाले हल्लाउँदा मुख बाए जस्तो, हात हल्लाए जस्तो, कपाल पनि जिङग्रिङ्ग देखिने, केके जस्तो देखिने, आकृति बदलिएको बदलिएकै हेर्ने जति सबै डराए । भयानक भयो । सबै डरले काम्न थाले । मोतीले सबैको छाती छाम्न थाले । सबै डराएको थाहा पाएपछि उनले रहस्य खोले । मैले भनेको कसैले पत्याएन । मैले भूत, प्रेत छैन भनेको थिएँ । अनि पर गएर डोकोलाई प्वाक्क लात्तले हानेर लडाइदिए । अघिका सबै आकृति हराए । स्थिति सामान्य बन्यो ।

दौंतरीहरू मोतीलाई ‘डर नभएको मान्छे’ भन्थे । भाइबहिनीहरू पनि मोतीलाई किन हो किन अलि ठूलै सम्झन्थे । २०२० सालतिर मोतीका ठूलो बुबा बित्नुभयो । भाइबहिनीलाई मान्छे मर्ने कुरा थाहा थिएन । मर्नु भनेको के हो ? उनीहरूलाई ज्ञान हुने कुरै भएन । कहिलेकाहीँ जाँदा ठूलो बुबा सुतिरहेको देख्थे । एक दिन बिहानै मोतीले भाइबहिनीलाई सुनाए- 'एइ, बडाबा त मर्नुभएछ ।'

भाइबहिनीले सोधे- 'मर्नु भनेको के हो ?'

उनले सहज जबाफ दिए- 'मर्नु भनेको मर्नु नि । अब म पनि मलामी जाने ।'

मोती पनि मैवा खोलाको किनार चैया दोभानमा रहेको घाटमा गए । मलामीहरूले कुरा गरे- माहिला (मोती) ले लास बोक्न पनि सघायो, दरिलो रैछ ।

केटाकेटीहरू हत्तपत्त मान्छे मरेको ठाउँमा पुग्दैनथे तर मोतीले लास बोके, मलामीको रुपमा घाटसम्मै पुगेर आए । यो घटनाले भाइबहिनीलाई अझ स्पष्ट भयो- मोती ठूलै हो ।

माया गरेर होस् वा अलि रिसाएको बेला, मोतीलाई ‘मोते’ भन्थे देवीप्रसाद । पहिले पाठ कण्ठस्थ गरे पनि मोतीले अक्षर चिनेको छैन भन्ने देवीप्रसादलाई थाहा थियो । तर, अब भने देवीप्रसादका मोतेले अक्षर चिनेर पढ्नुपर्छ भन्ने बुझे । उनका गुरूहरूले पनि थाहा पाइसकेका थिए- पहिले अक्षर नचिनी सुनेकै भरमा कण्ठ गरेर पाठ बुझाउने मोती दुई पटक पक्राउ परिसकेका थिए । उनलाई निकै नमज्जा लाग्यो अनि अक्षर चिनेर पढ्न थाले । त्यसरी पढ्न थालेपछि पनि उनी पहिले जस्तै सबैभन्दा चाँडो पाठ बुझाउँथे । उनको गति अरुले भेट्टाउन सकेनन् । साथीहरू उनीभन्दा धेरै पछि छोडिए । त्यसैले उनी थप पढ्न ताप्लेजुङको मेदिबुङतिर लागे दाजु टङ्कसित ।

घरदेखि पाँच घण्टा टाढा थियो मोती र टङ्क पढ्ने मेदिबुङ । अझ केटाकेटीलाई त दिनभरि लाग्थ्यो । मैवा र तमोर दुइटा खोला तरेर जानुपर्ने, तमोरको दोभानदेखि एक घण्टा ठाडो उकालो हिँडेर पुगिने ठाउँ । ताप्लेजुङको फुङलिङ बजार र दोभानबिच झन्डै झन्डै उस्तै दूरी पर्छ । मेदिबुङमा संस्कृत विद्यालय थियो- ‘बालसुबोधिनी संस्कृतप्रधान पाठशाला’ । २००८ मै स्थापना भएको यो विद्यालयको नाम सुदूर पूर्वी क्षेत्रमै फैलिएको थियो ।

२०२१ सालको कुरा हो । कक्षा ७ को ढोकाबाट कमिज, सुरूवाल लाउने नयाँ केटो भित्र छिर्‍यो- कडा स्वभाव, लेखपढ, खेलकुद सबैमा दौंतरीहरूलाई उछिन्ने गुण भएको । मोती थियो केटाको नाम । कक्षा कोठा छिर्नुपहिले गुरूहरूले मोतीको शैक्षिक स्तरको परीक्षा लिएका थिए, मोती सो परीक्षामा सहजै सफल भए । उनको कुशलताको मूल्याङ्कन गरिएको थियो सामूहिक रुपमा । र, गुरूहरूले उनलाई कक्षा ७ मा पढ्ने अनुमति दिए ।

मोतीले सबैलाई साथी बनाए । उनी धेरैजसो ठाडो धर्के कमिज र कालो टोपी लाउँथे, अहिलेको भादगाउँले टोपी जस्तै काँटछाँट मिलेको । कमिज, सुरूवाल उनको फेसनै थियो । कक्षामा पाठ बुझाउन अगाडि हुन्थे । पाठ बुझाउँदा गुरूले केही भनिहाले प्रतिवाद गर्ने, अलि कडा स्वभाव तर मुखमुखै गर्नेचाहिँ होइन । पाठ बुझाउँदा कहिलेकाहीँ आउँदैनथ्यो, गुरू प्याट्ट हिर्काउँथे । मोती ‘एकछिन नआउन सक्छ गुरूजी, सोच्न त दिनोस्’ भनी प्रतिवाद गर्थे ।

परीक्षामा पनि मोती पहिलो वा दोस्रो हुन्थे । उनी सबै विषयमा उत्तिकै दखल राख्थे ।

बालसुबोधिनीमा त्यति बेला धेरैतिरका विद्यार्थी पढ्न आउँथे । विद्यालयका तीनओटा भवन थिए । साना दुइटा भवनमा कक्षा कोठा र कार्यालय थियो । तीनमध्ये सबैभन्दा ठूलो भवन थियो ‘झिँगटी पाटी’ २००८–०९ सालतिरै बनेको । झिँगटी पाटीको माथिल्लो तलामा छात्रवास थियो, तल्लो तलामा कक्षा कोठा । झिँगटीको छानो, छानामुनि लहरै चुला थिए वारपारै । ५०–६० जनाभन्दा बढी नै बस्थे विद्यार्थी । ५–६ जनाको समूहमा एउटा भान्सा हुन्थ्यो । व्यवस्थापन निकै राम्रो थियो । आफूखुसी खाने, बस्ने गरेको देख्ता विद्यालयनजिक घर भएका विद्यार्थी भने आरिसले भित्रभित्रै जल्थे ।

झिँगटी पाटीको एक छेउको कोठामा बैजनाथ भट्टराई बस्थे । छात्रवासमा बस्ने विद्यार्थीको रेखदेख गर्ने जिम्मा बैजनाथ गुरूकै थियो । मोती भण्डारी, टङ्क भण्डारी र धनपति पराजुली एकै भान्सामा खान्थे । भान्सामा खाना पकाउँदा होस् या खाँदा, धोती लाउनुपर्ने नियम थियो । ती तीन जनाले भने लुगा लाएरै खाना पकाउने चलन बसाए । अरु विद्यार्थीले पनि बिस्तारै पछ्याउन थाले । एउटा परम्परा भत्कियो ।

बिदाको दिन विद्यार्थीहरू लुगा धुन्थे । दाउरा र तरकारीको बन्दोबस्त गर्न गाउँतिर जान्थे । समूह समूहमा गाउँतिर पसेका विद्यार्थीलाई गाउँलेहरू पनि दाल, तरकारी र अत्यावश्यक सामान दिन्थे । विद्यालयको पश्चिमपट्टि पाखाभरि तितेपाती घारी थियो । दाउरा नहुँदा त्यहीँबाट तितेपातीका झिक्रा लिएर काम चलाउँथे । मोती पनि थुप्रै पटक यो पाखामा झिक्रा लिन पुगेका थिए । एक दिन मोती र एकराज भट्टराई (बैजनाथ गुरूका छोरा) दाउरा लिन गएछन्- छुट्टीको दिन थियो । मोती र एकराज मिलेर गेहनाथ बरालको घरमा गएर दाउरा मागे । गेहनाथकी श्रीमतीले धारामाथिको झ्याङबाट सुकेको बाँस काटेर लाने अनुमति दिइन् । सन्न्यासी डाँडाको पूर्वपट्टि एउटा धारो थियो । त्यही धारामाथि बाँसको झ्याङ थियो ।

दुवैले कुनै हतियार लगेका थिएनन् । धारानजिकैको घरमा एउटा खुकुरी मागे अनि बाँस काट्न कस्सिए । बाँसघारी भिरालो ठाउँमा थियो । बाक्लै बाँस थिए । सुकेका बाँस झ्याङका बिचमा थिए । झ्याङभित्र पस्यो खुकुरी चलाउने ठाउँ नहुने । बाहिरबाटै काटौं नभेटिने । दुवैले यताबाट काट्न खोजे, उताबाट कोसिस गरे । तलबाट आँट गरे, माथितिर पनि चढे । वरिपरि घुमिरहे । त्यही धाराको पानी खाए । दिनभरि प्रयास गरे पनि सकेनन् । बाँस पाउँदा खुसी मानेका थिए तर काटेर लिन नपाउँदा खुसी हरायो । साँझसम्ममा दुवै थाके । खुकुरी जिम्मा दिए । अनि विद्यालय फर्किए ।

सन्न्यासी डाँडाको कोप्चीमा आएपछि मोतीले भने- आज पनि दाइहरूले गोद्ने भए । पढाइ नभएको समयमा मोती साथीहरूसँग चट्टी र गुर्गुटु खेल्थे । चट्टी खेल्दा पनि अगुवा नै हुने मोती । फुर्तिलो ज्यान, भँगेरा जस्तै उफ्रिन सक्ने । गुर्गुटु कबड्डी जस्तै खेल हो, छोएर भाग्ने । उनलाई प्रायः कसैले हराउन सक्तैनथे ।

मोती दाइहरूकै अनुकरण गर्थे, वार्षिक कार्यक्रममा सानो कक्षाको भएर पनि भाग लिइहाल्ने । भलिबल उनको मन पर्ने खेल थियो । भलिबल खेल्दा आफूसँग तीन जना मात्रै राख्थे, दुस्साहसी पनि थिए निकै । ठुला विद्यार्थीहरू भलिबल खेल्थे । साना विद्यार्थीलाई मैदानमा पस्नै नदिने उनीहरू । टङ्क भण्डारी र धनपति पराजुली ती सबैका नेता जस्ता थिए । मैदानमा आएर उनीहरू नै खेलाडी छनोट गर्थे । उनीहरू आएपछि सबै जना कोको छानिए भनेर निर्णय सुन्न उत्सुक हुन्थे । टङ्क र धनपतिले छानेका विद्यार्थीले मात्रै खेल्न पाउने । उनीहरूलाई चित्त बुझेन भने खेल्दाखेल्दै पनि निकाल्न सक्थे । उनीहरूको एकछत्र राज थियो । दाइहरूको राज तोड्न मोतीले एउटा योजना बनाए-मोतीले ५–६ जना साथी जम्मा गरेर भने- आज टिफिन छुट्टी हुनुभन्दा पाँच मिनटअगाडि गएर भलिबल मैदानमा बस्ने, दाइहरू आए पनि नछाड्ने ।

मोतीको प्रस्ताव सबैले स्वीकार गरे ।

योजनाअनुसार सबै जना भलिबल मैदानको एकापट्टि ढाकेर बसे । घण्टी बजेपछि सधैंझैँ टङ्क र धनपतिको समूह ढलकढकल गर्दै मैदानमा आयो । एकराजले भलिबल ल्याए । टङ्क र धनपति धमाधम विद्यार्थी छान्ने र निकाल्ने गर्न थाले । उनीहरू उमेर र उचाइले मोतीहरूभन्दा ठुला थिए । उनीहरू खेलमा प्रतिस्पर्धा चाहन्थे तर मोतीहरू खेल्न पाउने आफ्नो अधिकार भएको कुरा गर्थे । अधिकारका लागि विरोध गरेका थिए उनीहरूले ।

धनपतिले एकराजबाट बल लिए । मोतीले नदिनु भने पनि डरले गर्दा बल दिए एकराजले । दाइहरूले छानेका खेलाडी मैदानका दुवैतिर बसेका थिए । मैदानको बिचमा मोती पनि थिए । टङ्कले मोतीलाई मैदान छाड्न भने तर उनी मानेन् । टङ्कले घचेट्तै निकाल्न खोजे ।

'हामी किन खेल्न नपाउने ? तपाईंहरू मात्र सधैं खेल्ने ?' भनेर मोतीले प्रतिवाद गरे । निकै घचेटाघचेटी पर्‍यो । सबै विद्यार्थी रमिता हेरिरहेका थिए । मोतीलाई असह्य भयो । उनले एउटा ढुङ्गो टिपेर टङ्कलाई ताकेर हाने तर लागेन । टङ्क अझ रिसाए । दाइको रिस देखेर मोती छात्रवासतिर लागे । त्यस घटनापछि भलिबल खेल्न मोती मैदानमा कहिल्यै गएनन् ।

बालसुबोधिनी पाठशालाबाट करिब एक घण्टाको दूरीमा थियो भानु माध्यमिक विद्यालय । गैरसंस्कृत विद्यालय भए पनि भानु र बालसुबोधिनीबिच टक्कर चलिरहन्थ्यो । बालसुबोधिनीका विद्यार्थीलाई भानुका विद्यार्थी ‘मेदिबुङे अपुङे’ भनेर जिस्क्याउँथे- संस्कृत पाठशाला भएकाले होला । यो त विद्यार्थीबिच हुने सामान्य टक्कर मात्रै हो । यसले विद्यालय र समुदायबिच भने कुनै नराम्रो थिएन ।

बालसुबोधिनी पाठशालामा जेठ महिनामा अर्ध–वार्षिक परीक्षा हुन्थ्यो । मोतीले कक्षा ९ को अर्ध–वार्षिक परीक्षा दिए । र, विद्यालय छाडेर उच्च शिक्षाका लागि भारततिर हिँडे दाजु टङ्कको साथ लागेर- २०२३ जेठपछि ।देवीप्रसादको ‘मोते’ मेदिबुङ छाडेर हिँडेपछि एकैचोटि ‘मदन’ भएर फर्किए ।... ... ... ... ... ...

मधेसतिर

देवीप्रसादको परिवार सम्पन्न होइन । मेहनतले खानसम्म पुर्‍याउँथे । अर्थात् उनको परिवार हुनेखाने होइन र हुँदाखाने मात्रै पनि होइन । देवीप्रसादले कसो कसो पैसाको जोहो गरी नयाँ घर बनाए पुरानो घरभन्दा मास्तिर । अर्थात् देवीप्रसादले जीवनमा दोस्रो घर बनाए- पहिलेभन्दा ठूलो र निकै व्यवस्थित खालको । ।

ढुङ्गेसाँघु लिम्बु जाति बहुल क्षेत्र हो । पछिल्लो समय त ‘लिम्बुवान’ भनेरै चिनियो । ‘लिम्बुवान’ शब्दलाई कसैले आफ्नो ठाने, कसैलाई आतङ्क भयो । तालमेल मिलाएर बुझिएन । त्यसैले समस्याग्रस्त भयो यो शब्द । त्यति बेलै देवीप्रसादलाई पनि थाहा थियो ‘लिम्बुवान’ क्षेत्र भन्ने । तैपनि सबै लिम्बुसँग उनको राम्रो सम्बन्ध थियो । सामाजिक र सांस्कृतिक सम्बन्धमा कुनै अप्ठ्यारो थिएन । उनको इज्जत उस्तै थियो । कसैले औंलो ठड्याएका थिएनन् । गरीखान पाएकै थिए । कसैलाई ‘गरीखान देउ’ भन्नुपरेको थिएन । तैपनि देवीप्रसादको मन स्थिर थिएन, अन्तै बसाइँ सर्न चाहन्थे ।

मनको यसै तुलबुलमा एकपल्ट हुर्रिएर मधेसतिर झरे देवीप्रसाद । यो २०१८–१९ सालतिरको कुरा थियो । त्यही बेला उनी कोसी नदीनजिकैको प्रकाशपुरमा अलिकति जमिन जोडेर फर्किए । घरमा सबैलाई थाहा पनि दिएनन् ।हुर्कंदै गरेका छोराहरू सानैदेखि घरबाहिरै बसेर पढिरहेका थिए । हेर्दाहेर्दै जेठो र माहिलो छोरा भारत (वृन्दावन) तिर लागे । दुवै जना पढ्नै गएका हुन् ।

मधेसमा देवीप्रसादका सालाहरूको घर थियो । मनोज र मदन भारतबाट कहिलेकाहीँ छुट्टीमा घर आउँदा पनि मामाघरसम्म मात्रै आउने, पहाड उक्लनै छाडे । छोराहरू पहाड आउन छाडेपछि देवीप्रसाद र चन्द्रकलालाई चिन्ता पर्न थाल्यो । उनीहरूले सल्लाह गरे- अब छोराहरूकै लागि पनि मधेस झर्नुपर्ने भयो । तर, कारण यति मात्रै थिएन । समाजको मधेससँग जोडिएको मनोविज्ञान पनि विचित्रको थियो ।

मधेस भनेको ‘सम्म परेको सजिलो ठाउँ, उकालोओरालो गर्नु नपर्ने, भारी बोक्नु नपर्ने, धानको भात खान पाइने, कमै दुख गरे पनि पुग्ने ।’ पहाडी समाजको कल्पना छुट्टै थियो मधेसबारे । मान्छेहरू सुख खोज्न झर्थे, मधेस । देवीप्रसाद र चन्द्रकलाले पनि यस्तै सोचे सायद ! मदनका मामाहरू भीमचौरीमा बस्थे । देवीप्रसादले भीमचौरीभन्दा दक्षिणपट्टि लोचनी भन्ने गाउँमा जमिन किने । ससुरालीसँग नजिक नजिक भएर बस्ने निश्चित भयो । भीमचौरी झोडा थियो, लोचनीचाहिँ पुरानो आबादी । तराईवासी समुदायको बस्ती । पहाडेहरू एकदमै कम थिए । यस्तैमा देवीप्रसादको परिवार पनि थपियो ।

देवीप्रसादले चन्द्रकलालाई पनि मधेस बोलाए । उनी आएपछि बसोबासको धेरै व्यवस्था मिल्दै गयो । चन्द्रकलाले पहाड छाडेको करिब ६ महिनापछि बाँकी परिवार पनि ताप्लेजुङबाट झर्‍यो मधेसतिर । अर्थात् देवीप्रसादको सिङ्गो परिवारले पहाड छाड्ने भयो ।

२०२५ सालमा ताप्लेजुङका धेरै ठाउँमा पहिरो गयो । ठोट्नेभन्दा तल सत्तलेमा पनि ठूलै पहिरो गयो । माङ्मय खोलामा ठूलो बाढी आएपछि गाउँको पुछाररितको जमिन साँघुतिर धस्सिएको थियो । ठोट्नेका मान्छेलाई ‘पहिरोले माथिसम्मै तान्छ कि’ भन्ने डर भयो । ‘माथिबाट पनि झर्छ कि ?’ शङ्का लागिरह्यो । मोहन, प्रेम र बहिनीहरू ठूलोबुबाको परिवारसँग घरदेखि माथिको चौतारीमा दिनभरि बसे- लगे सबैलाई लैजाओस् भन्ने ठाने उनीहरूले तर पहिरोले ठोट्नेमा कुनै बिगार गरेन ।

पहाडमा जेठी बुहारी, काहिँलो छोरो मोहन, अन्तरे प्रेम, माहिली छोरी इन्दु र साहिँली शान्ता बसिरहेका थिए । त्यतिकैमा श्रीमती र भाइबहिनीलाई लिन मनोज पहाड पुगे । २०२५ सालको हिउँदमा बाँकी परिवार पनि ढुङ्गेसाँघुबाट मधेसतिर झर्ने भयो । मनोज र उनकी श्रीमती मात्रै ठुला थिए, बाँकी सबै १३ वर्षभन्दा कम उमेरका । त्यसैले २–३ जना सहयोगी पनि खोजे मनोजले । साथमा एउटा गाई पनि लिएर बाटो लागे । सानी शान्ताले एउटा कुम्लो बोकेकी थिइन् । बाँकीले आआफ्नो उमेरअनुसार पोकापोकी बोके । ८–९ जना मान्छेको ताँती, घरी अगि, घरी पछि गाई पनि त्यही ताँतीमा थियो । मान्छे र गाई सँगसँगै मधेस हिँडेका । उस बेला मधेस झर्ने धेरैजसोले गाई लिएरै हिँड्ने चलन थियो ।

घरबाट निस्किएर पश्चिम–उत्तरतिर माङ्मय खोला तरेको मनोजको टोली साँघुपाटी हुँदै उकालै उकालो मिल्के निस्कियो । आठराई क्षेत्रबाट मधेस झर्ने र बसाइँ सर्नेहरू यही बाटो हिँड्थे । पहिले देवीप्रसाद र चन्द्रकला, त्यसपछि उनका छोराहरू, छोरी र बुहारी पनि यही बाटो हिँडे । नजाने, कतिले यही बाटो पहाड छाडे होलान्- ठोट्ने हुँदै बुङ्धाप, साँघु, फलाँटे–जोरपोखरी, मेन्चिमधाप, मिल्के, लामपोखरी, चौकी, तीनजुरे, टुटे देउराली, वसन्तपुर, हिले, धनकुटा, मूलघाट । मूलघाटबाट धरानदेखि पूर्व पानबारी हुँदै केराबारी आएर उँधो झर्दा दुलारी पुगिने बाटो थियो- त्यो बेलाको मूल बाटो ।

हुन त मूलघाटबाट सिधै बराह क्षेत्र निस्कने र चतरा हुँदै धरान आउने चलन पनि थियो । तर, त्यो बाटो अलि घुमाउरो र अप्ठ्यारो पनि । भेडेटारबाट धरानतिर ओरालो लागेपछि अलि तल साँगुरीगढी आउँछ । साँगुरीबाट पनि बराह क्षेत्र जाने गरिन्थ्यो । तर, देवीप्रसादको परिवार यी दुवै बाटा हिँडेनन् । मूलघाट भएर लेउती खोला तरे । धारापानीको उकालो हुँदै साँघुरी भन्ज्याङ निस्किएर च्युरीवासको बाटो निसाने खोला तरेर फुस्रे आए । फुस्रे धरानको शीर भएकाले धरान आए उनीहरू ।

फुस्रेमा देवीप्रसादको चिनजानका मारवाडी थिए । उनी चाडबाडमा तिनै मारवाडीको पसलबाट लत्ताकपडा लैजान्थे । तिनैकहाँ बसे मनोजहरू वास । भोलिपल्ट फुस्रे हुँदै लोचनी जानु थियो । धरान–विराटनगर आराथुन नामको बस चल्थ्यो । त्यही बस चढेर खनारमा ओर्लिए । अनि नहरै नहरको बाटो दुलारी पुगे । केटाकेटीले पहिलोपल्ट आराथुन चढे ।

२०२५ सालको हिउँदे छुट्टीमा घर आएका मदन माहिला मामा गुरू पोखरेललाई भेट्न गए । आपसमा मिल्ने मामाभन्जा, मामासँग मदन खुलेर कुरा गर्न सक्थे । उनले मामालाई साहित्यतिर चाख बढेको सुनाए । ‘खै के ?’ शीर्षकमा कविता छपाएको पनि देखाए । उनले भारतमै छँदा लेखेको हस्तलिखित कविता पनि थियो रातो मसीले केरमेट गरिएको । ‘मोदनाथ प्रश्रित भन्ने कविले सँच्याइदिएको’ भनेर देखाए मामालाई ।

सुन्दरपुरको तीनपैनीमा ‘भानु साझा पुस्तकालय’ थियो । वामपन्थी युवाहरूले २०२७ सालमा स्थापना गरेको पुस्तकालयमा प्रायः प्रगतिशील साहित्यमा रूचि भएका मानिसहरू भेला हुन्थे । पुस्तक पनि टन्नै थिए- माक्र्स, एङ्गेल्स, लेनिन, माओहरूका । समय समयमा साहित्यिक कार्यक्रमहरू भइरहन्थे । मदन घुमीफिरी कता कताबाट आइपुग्थे । लय हालेर कविता पनि सुनाउँथे । लयमा बाँधिएका क्रान्तिकारी कविताले सुन्नेहरूलाई जुरूक्जुरूक् उचाल्थे ।

कविता लेख्ने र सुनाउने मदन साहित्य सिर्जनामा अरुलाई पनि प्रेरित गर्थे । उनको सङ्गतमा भएकाले मामा लीला, भाइ खेम पोखरेल र अझ साना अरु भाइहरूलाई एक प्रकारले कविता लेख्ने, सुनाउने र लेखहरू लेख्ने बानी नै परेको थियो । मदनले त्यो समूहमा विशेष प्रकारको प्रभाव नै पारेका थिए ।

मदन माओ त्से तुङका पुस्तक खुब पढ्थे । उनी विद्यार्थीहरूको समूहलाई चीनको इतिहास, माओको जीवनी, देशको अवस्थाबारे सुनाउँथे । गाउँघरका समस्या, गरिब र गरिबी, समाजमा भूमाफिया र सामन्तको रजाइँ आदिबारे व्याख्या गर्थे । र, अधिकारको विषयमा जानकारी दिन्थे अरुलाई ।

मदनले कुनै राजनीतिक सङ्गठन वा दलमा सङ्गठित गर्न गरेका थिएनन् ती काम । विद्यार्थीलाई जानकारी मात्रै दिएका थिए । उनी धेरै भन्थे, सुन्नेले कति बुझ्थे ? तर, साना विद्यार्थीमा यसको गज्जब प्रभाव परेको रहेछ । बिस्तारै ती सबै वामपन्थी कार्यकर्ता बने । मदनले त्यही बेला राजनीतिको स्वाद आफैँले चाखे र अरुलाई पनि चखाए ।... ... ... ... ... ...

इटहरामा जीवन शर्मा

बनारसमा उच्च अध्ययन चल्दै थियो । कम्युनिस्ट पार्टीको सदस्यता पाएका मदन पुष्पलालको सांस्कृतिक मोर्चामा सङ्गठित भए । तैपनि उनलाई पूर्णकालीन राजनीतिको भूत सवार भइसकेको थिएन । ‘दाइ गृहस्थ जीवन त्यागेर हिँडेको छ, म सांस्कृतिक मोर्चामा बसेर काम गर्न सक्तिनँ’ भन्थे । उता सांस्कृतिक मोर्चाका अगुवाहरूको भित्री उद्देश्य फरक थियो । राजनीतिक गतिविधिलाई सघाउन बनाइएको थियो मोर्चा । उनीहरू मदनसँग सांस्कृतिक र राजनीतिक दुवै काम गर्न सक्ने खुबी देख्थे । मदनले ‘सक्रिय हुन सक्तिनँ’ भने पनि मोर्चावालाहरूले छोड्दै छोडेनन् ।

मदनलाई गाउँ फर्किएर भाइबहिनीको अध्ययनमा सहयोग गर्न मन थियो । पाका बुबाआमासँगै बसेर मद्दत गर्ने चाहना तीव्र थियो । त्यसैले उनी गाउँ फर्किए- नयाँ गाउँ, इटहरा । मदन गाउँमा बसेर सामाजिक काम गरिरहेका थिए । त्यतिखेर उनी उपन्यास लेखिरहेका थिए । उपन्यासका टुक्राटुक्री साथीभाइलाई सुनाउँथे । त्यसरी सुन्नेमा उही पुरानै लोचनीका श्रोता खेम पोखरेलहरू थिए । गाउँमा सङ्घर्ष भएको, किसानले आन्दोलन गरेको, सामन्तहरू भागेर ओढारमा लुकेको जस्ता कथा थिए त्यहाँ ।

लेखिसकेको सिर्जना प्रकाशन गर्ने रहर हुन्छ सबैलाई । मदन पनि उपन्यास प्रकाशन गर्ने ध्याउन्नमा लागेछन् । ‘उपन्यासमा निकै काँटछाँट गर्नुपर्छ, अलि कडा छ, सम्पादन गर्नुपर्छ’ भनेछन् प्रकाशकले । ‘भित्री मर्म फ्याँकेर उपन्यास नछाप्ने’ भए मदन । त्यो त्यतिकै रह्यो । गीत र कविताको सङ्कलन पनि थियो । बेला बेला डायरीबाट सुनाउँथे ती पनि-

‘सामन्तीलाई नगिँडे, सैनिकसँग नभिडेआउँदैन जनवाद छमछम नाचेर....’

मदनले धेरैजसो गुनगुनाइरहने गीत हो यो ।

त्यति बेलासम्म देवीप्रसादको परिवार उनैले बनाएको झोडे घरमा बसेको थियो । घरको कथा आफ्नै ठाउँमा छ । मदन भने सामाजिक क्षेत्रमा सक्रिय थिए । इटहराभन्दा उत्तरतिरको राजघाटमा बस्थे वल्लभमणि भट्टराई । वन कर्मचारी र प्रहरीसँग खुब राम्रो दोस्ती बनाएका भट्टराईले तिनैको सहयोगमा एकछत्र शासन चलाएका थिए । कसैले छुन सक्तैनथ्यो । कम्युनिस्ट भाषाका साँच्चिकै ‘सामन्त’ देखिन्थे । सबैलाई वल्लभमणि सामन्ती संस्कार भएका पञ्चायतका लठैत हुन् भन्ने लागेको थियो ।

एकपल्ट वल्लभमणि स्कुल बनाउने योजना लिएर गाउँमा छिरे । ‘स्कुल बनाउन बाह्र बिघा जमिन चाहिन्छ । त्यो जुटाउन प्रत्येक सिट (कित्ता) बाट तीन सय रूपैयाँ उठाउने’ भने । गाउँका सबैलाई जुटाएर उनले एउटा धुले स्कुल पनि बनाए तर स्कुलको हरहिसाब के भयो ? कति रकम जम्मा भयो ? कति जमिन जोड्न सकियो ? स्कुल कसरी सञ्चालन भइरहेछ ? थप के गर्नुपर्छ ? यस्ता विषयमा गाउँलेलाई केही जानकारी थिएन । ‘त्यो विषयमा सोधखोज गर्नुपर्छ’ भन्दै मदनहरू वल्लभमणिसँग हरहिसाब खोज्न गए ।

मदन नेतृत्वको टोलीमा लीलावल्लभ पौडेल, शिव पौडेल, नरवीर लिम्बु, पाण्डव लिम्बु, भक्तबहादुर तामाङ आदि थिए । वल्लभमणिलाई भेटेर हिसाबको कुरा गर्नेबित्तिकै उनी झम्टिन आए- ‘सामाजिक काममा भाँजो हाल्ने तिमीहरू को हौ ? तिमीहरूलाई हिसाब देखाउनुपर्छ भन्ने के छ ?’ वल्लभमणिले उल्टै थर्काउन थालेपछि चर्काचर्की मात्र भएन, हात हालाहाल नै भयो । कडा स्वभावका मान्छे मदन । उनको टोलीले विभिन्न तर्क गरेपछि हारेका वल्लभमणि जमिनको हिसाब देखाउन बाध्य भए तर जम्मा १० कट्ठा जमिनको मात्रै हिसाब देखियो, त्यो पनि अर्कै व्यक्तिको नाममा ।

भोलिपल्टै वल्लभमणिले केही मान्छे बटुले । प्रहरी पनि ल्याए । घटनाको विरोध गर्दै ‘हिसाब खोज्नेलाई ठिक पार्छौं’ भनेर नारा लगाए । पञ्चायतको मनपरी थियो । डर, त्रास र आस देखाएर मान्छे उचालेका थिए । त्यसपछि बिन्तीपत्र हाल्न अगिसरेका पण्डित (जेठा पौडेल) ले दमक गएर दरबारमा रजिस्ट्री गरी चिठी पठाए । तर, चिठी कहाँ पुग्यो ? अहिलेसम्म आएको छैन जबाफ ।

त्यो घटनापछि अर्कै ठाउँमा स्कुल खोल्न सबैसँग सल्लाह गरे मदनले । उनैको अगुवाइमा स्कुलका लागि जग्गा खोजियो । इटहराकै पल्लापट्टि न्यौपाने थरका एक व्यक्ति रुखले किचेर भर्खरै मरेका थिए । उनको छोरो पनि बितेको थियो, श्रीमती कमला शोकमा थिइन् । उनको नाममा साढे तीन बिघा जमिन दर्ता थियो । ‘स्कुलका लागि कमलासँग जग्गाको कुरा गरौं’ भनेर सल्लाह गरे । कमलासँग स्कुल बनाउन जग्गा मागियो । उनले पनि छोराको नाममा स्कुल बनाउन पाँच कट्ठा जग्गा दिने बचन दिइन् । ‘हिमालय’ रहेछ उनका छोराको नाम ।

जग्गाको जोहो भएपछि स्कुलका लागि संरचना बनाउनुपर्ने भयो । तिहारमा सात दिन सात रात देउसी खेले । धान, चामल र नगद जम्मा भयो । नयाँ झोडा भएकाले खाँबा, खुट्टी काट्न टाढा जानु परेन । समितिका सदस्यहरूले एकएकओटा खाँबा काट्ने निधो भयो । मदनले दुइटा खाँबा काटे । उनको काम गर्ने बानी नै बेग्लै । बिस्तारै वा पछि गरौं नभन्ने, गरिहाल्ने । सामाजिक काममा छिट्टै तात्ने । अरुलाई पनि तताइरहने ।

खाँबा, खुट्टी गाडे । पहिलो वर्ष सामान्य घेराबार थियो सन्ठीको । छानो परालको लगाइयो । अर्को साल त्यति बेलाको चलनअनुसार लामा खाँबा गाडेर टाँडे भवन बनाइएको थियो । एकैचोटि पूरा हुन सकेन, त्यसैले एक तला तयार गरियो । अर्को साल दोस्रो तला पनि छापियो तर पूरा हुन सकेन । हावा, हुरीले दुख दिइरहने । तेस्रो वर्ष खाँबा काटेर होचो पारियो । २०३२ सालमा विद्यालय स्थापनाको औपचारिकता सकियो । विद्यालयको नाम राखे- श्री हिमालय प्राथमिक विद्यालय ।

विद्यालय बनाउन देउसी खेल्ने क्रममा उठेको एउटा प्रसङ्ग यस्तो थियो-मदन कुनै कारणले पहिलो दिनको देउसीमा उपस्थित हुन सकेनन् । दोस्रो दिन मात्र आएका मदनले देउसीमा प्रयोग गरिएका गीतप्रति आपत्ति जनाए । पहिलो दिन देउसीमा यस्तो गीत गाइएको थियो-

एउटा त मुखले स्वास्नी रिझाउने अर्को मुखले तरूनी फकाउने ए आमा, सानीमा...

तर, बालबालिका चुहिने झुपडीमुनि बसेका छन्, शिक्षकको अभाव छ । चक–डस्टरको अभाव छ । डेस्क, बेन्च छैनन् । हामीले यी कुराहरू पो गाउँलेसम्म पुर्‍याउनुपर्छ । यस्तो गीत गाएर हुन्छ ? सबैले मदनको कुरा समर्थन गरे ।

उनले तत्काल गीत रचे-

बत्तिस साल भदौ मैना एक गते हुँदामा स्कुल राख्यौं सातमेडीको अध्याँरो कुनामा पहिलो महिना हुँदाखेरि छात्र सङ्ख्या पनि डेढ सय नाघिसके दिन गनीगनी.....

विद्यालय व्यवस्थापन समितिमा मदन, शिव पौडेल र दुर्गा सर थिए । मदन र दुर्गा सरले सामान्य परीक्षाको औपचारिकता पूरा गरेर खेम पोखरेल, रूद्र भण्डारी र छत्रबहादुर कार्कीलाई विद्यालयको जिम्मा दिए । वरिपरि नजिकमा विद्यालय नभएर होला, पहिलो सालै ६०–६५ विद्यार्थी आए । वल्लभमणिको स्कुलबाट पनि विद्यार्थी यतै आए । तिनलाई कक्षा तीनसम्म बाँडेर पढाए ।हिमालय आधारभूत विद्यालयको कार्यालयमा झुन्डिएको एउटा बोर्डमा स्थापनाकालको सञ्चालक समितिको नामावली देख्न सकिन्छ-

अध्यक्ष- स्व. श्री मदनकुमार भण्डारीसदस्य- रामप्रसाद भट्टराईसदस्य- डिल्लीराम अधिकारीसदस्य- तारा सिग्देलसदस्य- दुर्गाप्रसाद गौतमशिक्षक- रूद्र भण्डारी

तर, केही मानिसहरूले ‘डिल्लीराम र तारा नभई उनीहरूको सट्टा शिव अधिकारी, शिवराज पौडेल र वसन्त भण्डारी सदस्य थिए’ भनी दाबी गरेका छन् । पछि बाटोको विवादका कारण हिमालय प्राथमिक विद्यालयले मदनलाई फेरि वल्लभमणिसँग जोड्यो ।

विद्यालय त बन्यो तर त्यहाँ जाने बाटो थिएन । खेतका आली आली हिँड्नुपर्ने । मदनले तेर्छो बाटोको अवधारणा ल्याए- इटहरा–भौडाहा–मङ्गलबारे–हिमालय प्रा.वि. हुँदै ठाडो बाटो जोड्ने । ठाडो बाटोचाहिँ उर्लाबारी–बरडङ्गा (झुर्किया) सडक हो । नयाँ बाटो बनाउने नेतृत्व मदनले गरे, ठाडो बाटोको नेतृत्व वल्लभमणिले । ठाडो बाटो पुरानो नक्साअनुसार बन्दै थियो । तेर्छो बाटोको कुनै नापनक्सा थिएन । बाटोको नामनिसान नभएको ठाउँमा निकाल्नुपर्ने थियो नयाँ बाटो ।

वल्लभमणि ठाडो बाटोका लागि ‘यताका मान्छेले पनि पैसा दिनुपर्छ’ भन्थे । मदन ‘यता गाउँलाई पनि निकास चाहियो’ भन्थे- पहिले निकास निकाल्न सहयोग गर, निकासैबिना यहाँका मान्छेले कसरी पैसा तिर्ने ? निकास देउ, पैसा दिउँला ।’ यता तेर्छो बाटोका जग्गाधनीहरूमा पनि बाटोभन्दा जग्गामोह बढी थियो । जग्गाको मूल्य थियो, बाटोको कुनै सरोकारै थिएन त्यतिखेर । कसैको जग्गामा बाटो पर्‍यो भने जग्गा नाश भएको ठान्थे । यस्तो समाजमा विकासे काम गर्नु सहज थिएन । विवाद हुँदाहुँदै पैसा नतिर्नेहरूको नाम सार्वजनिक गरियो । र, प्रहरी गाउँ पस्यो ।

राजघाटदेखि दक्षिणको बस्तीमा कुनै गोप्य सङ्गठन भएको अनुमान थियो प्रहरीलाई । प्रहरी प्रशासन र पञ्चायत पक्षीय मान्छेहरूले यो क्षेत्रमा अत (अराष्ट्रिय तत्त्व) रहेको ठानेका थिए । तर, तिनको सङ्गठन, सङ्ख्या र क्षेत्र कति हो ? कसरी परिचालन हुन्छन् ? भन्ने जानकारी पाएका थिएनन् कसैले । गाउँ पस्न प्रहरी पनि अनकनाउँथे । त्यस पटक भने मदनसँग टक्कर परे पनि प्रहरी नरवीर लिम्बुलाई समाउने गरी आए ।

नरवीरलाई समाएर लगे । गाउँमा ठूलै हल्लीखल्ली भयो । ५–६ जनाको नाममा पक्राउ पुर्जी भएको हल्ला चल्यो । तैपनि एक जनालाई मात्र समातेको थियो । ‘एउटालाई समाएपछि अरु पनि थानामा आउँछन्, त्यहीँ समाउन सजिलो हुन्छ’ भन्ने योजना रहेछ प्रहरी प्रशासनको । त्यो कुरा बाटैमा खुल्यो । प्रहरीले फकाएर ‘मदन कहाँ छ ? हामी उनलाई लिन आएको, मदनको सुराकी दिए छाड्ने’ प्रस्ताव राखेछ नरवीरलाई- मदन कम्युनिस्ट हो, अराष्ट्रिय तत्त्व । उसलाई मात्र समाउँछौं हामी । तिमीहरूलाई होइन ।

अराष्ट्रिय तत्त्व भनेर चिनिइसकेका मदनकै सल्लाह र नेतृत्वमा एउटा अनौपचारिक समूह थियो झोडाको त्यो नयाँ बस्तीमा । कसैलाई प्रहरी प्रशासनले केही गरे सबै जाने, कोही पनि नछुट्ने । नरवीरलाई छुटाउन एउटा समूह उर्लाबारीतिर हिँड्यो । उर्लाबारी जाँदै गरेको प्रहरीको टोलीलाई मदन नेतृत्वको समूहले बाटैमा भेटेपछि त्यहाँ भनाभन भयो । नरवीरलाई खोसेर छुटाउनेसम्मका कुरा भए । त्यस्तैमा नरवीरले मदनलाई त्यहाँबाट भगाउन सङ्केत गरे । प्रहरी मदनलाई समाउन आएको योजना पनि बताउन भ्याए ।

साँच्चै नरवीरलाई माध्यम मात्रै बनाएको रहेछ प्रहरी प्रशासनले । ‘उर्लाबारी पुगेपछि तपाईंलाई समाएर राख्ने रैछ प्रहरीले । तपाईं नजानोस्’ भनेर साथीहरूले कुरा राखे तर मदन मानेनन्- ‘अनाहकमा नडराऔं साथीहरू ! अहिल्यै आकाश खस्छ भने जस्तो कुरा नगरौं । पक्रन त्यति सजिलो छ र ? पक्राउ पुर्जी चाहिएन ? त्यतिकै हुन्छ ? जे पायो त्यही गर्न पाइन्छ ?’ भनेर साथीहरूका कुरा पन्छाए ।

तर, ‘हामीलाई समाते एक दिन राख्ला तर तपाईंलाई समाते सबै सक्किगो नि’ भनेर साथीहरूले सम्झाएपछि भने अलि सतर्क भए मदन । त्यसैले उर्लाबारी पुग्ने बेलामा ‘यिनीहरू साह्रै कराए’ भनेर अलि तर्किए । पश्चिमतिर छड्किए । मदन हराएको प्रहरीले थाहा पाइहाले । मदन छलिएपछि प्रहरीहरू खोज्न थाले । दौडादौडी सुरू भयो- कहाँ लुक्यो ? कता भाग्यो ? प्रहरीले त व्यापक तलासी सुरू गर्‍यो । छापछाप्ती खोज्दा पनि नभेटेपछि ‘मदन भगाएको’ आरोपमा शिव पौडेललाई थानामै राख्ने भयो तर पछि के भयो कुन्नि, नरवीरलाई राखेर ‘बिहान हाजिर हुने’ सर्तमा शिवलाई छाडिदियो । प्रहरीले रातभरि मदनलाई खोजी गर्‍यो तर समाउन सकेन ।

बिहान मदन र शिवको भेट उर्लाबारीमा रहेको शिवको मूल घरमा भयो । राजघाट गाउँ पञ्चायत वडा नं. ८ मा ‘बाटो खोली पाउँ’ भनी मदनले निवेदन दिएका थिए । त्यो सिफारिस ल्याउन शिवलाई अराएर मदन भने मोरङको सुन्दरपुर तीनपैनीस्थित मामाघरतिर लागे । त्यहीँ शिवलाई पर्खने र भेट भएपछि विराटनर जाने सल्लाह गरेर छुट्टिए । गाउँ पञ्चायतको सिफारिस लिएर साँझसम्म शिव तीनपैनी पुगे । मदन र शिव कान्छा मामाको घरबाट भोलिपल्ट विराटनगर हिँडे ।

मोरङ जिल्ला प्रशासन कार्यालयमा पत्र बुझाउँदै मदनले आफ्ना कुरा राखे- 'हामी विकास निर्माणको कुरा गरिरहेका छौं । बाटो बनाउने भनेर योजना बनाएका छौं । इटहरामा ‘अराष्ट्रिय तत्त्व’ छन् भनेर उर्लाबारी थानामा ककसको नाम छ ? हामीलाई ‘अराष्ट्रिय तत्त्व’ भन्दै पुलिसले धरपकड गर्दै छ, के हो ? अराष्ट्रिय तत्त्व भनेको के हो ? के आधार छ ? जनतालाई किन यसरी दु:ख दिइँदै छ ?'

'हामीले कसैलाई अराष्ट्रिय तत्त्व भनेका छैनौं । कसैलाई पक्रन पनि लाएका छैनौं' भनेर जबाफ दियो जिल्ला प्रशासनले । 'अनि त्यहाँ किन यस्तो अन्याय भैरहेछ ?' तुरून्त पत्र पठाएर वा कुनै माध्यमबाट त्यसबारे बुझ्न अनुरोध गरे मदनले । जिल्ला प्रशासनका अधिकारीले ‘तोक लगाएको पत्र लिएर जान’ भने । 'हामी किन पत्र लिएर जाने ? हामीलाई पक्रेर राख्छ ।' त्यसैले प्रशासनले आफ्नै माध्यम प्रयोग गर्नुपर्ने अनुरोध भयो । तर, प्रशासनले ‘भोलिपल्ट मात्रै पत्र पुर्‍याउन सक्ने’ बतायो । ‘हवस्, भोलि नै पुर्‍याउनुहोला’ भनेर मदन र शिव पनि फर्किए ।

बाटो विवाद किनारा लाग्दै थियो । मदन राजनीतिमा सक्रिय हुन थाले- जीवन शर्मा भएर ।

हुन त मदन सक्रिय राजनीति नगर्ने भनेर घर फर्किएका थिए । दाइ गृहस्थी त्यागेका, घरमा साना भाइबहिनी, उमेर ढल्किसकेका बुबाआमा । घरव्यवहार धान्न गाउँ फर्किएको मान्छे । उनी गाउँमै घरव्यवहारसँगै विकास निर्माण र शैक्षिक चेतना विस्तामा सक्रिय थिए । तर, एक दिन मोदनाथ प्रश्रित इटहरामै आइपुगे अचानक । प्रश्रितलाई मदनले ‘बनारसका मेरा गुरू’ भनेर चिनाए परिवारमा- हाम्रो गाउँघर हेर्न आएका मेरा गुरू ।

प्रश्रितले घरव्यवहार हेरेपछि मदनलाई आग्रह गरे- 'चार–पाँच बिघा जमिन रैछ, त्यो पनि आबादी । घरमा परिवार पनि ठूलै रैछ । मदनजी, तपाईं सक्रिय राजनीतिमा आउनुपर्‍यो !' मदनले फेरि पनि पारिवारिक समस्या अगिसारे । प्रश्रितले अलि जबरजस्ती पारामा ‘बुबाआमालाई भन्नुपर्छ कि ? आफैले वा स्थानीय पार्टीका साथीहरू सबैले छलफल गरेर निर्णय गर्ने’ भनेर च्यापे । बल्ल मदनले मुख खोले- 'सांस्कृतिक फाँटमा काम गर्छु । पार्टीको अरु काम अहिल्यै गर्न सक्तिनँ ।'

त्यसताका केही व्यक्तिगत, केही पारिवारिक–राजनीतिक कुरा गरेर फर्किए प्रश्रित । मदन आफ्नै लहनतहनमा लागिरहे ।प्रश्रित फेरि इटहरा पुगे दोस्रो पटक । त्यस पटक भने एउटा सांस्कृतिक भेला गरियो इटहरामा । मदनले फेरि पारिवारिक समस्या देखाए तर घरपरिवार हेर्दै मोरङको पूर्वी इलाकामा गतिविधि गर्न राजी भए ।

मदनले सैद्धान्तिक अध्ययन गरेकै थिए । अब उनको व्यावहारिक गतिविधिको पहिलो काम राजनीतिक प्रशिक्षण र सांस्कृतिक क्रियाकलाप हुने भयो । त्यसपछि सांस्कृतिक गतिविधि अलि बढेको थियो । राजनीतिक क्रियाकलाप हुन थालेको थियो । प्रश्रितहरू (जीवराज आश्रितसहित) तेस्रोपल्ट इटहरा जाँदा पार्टीको आन्तरिक जीवन त्यति सहज थिएन । पुष्पलाल बनारसमै बस्ने, पार्टीका युवाहरू ‘देशभित्रै सङ्गठन गरौं’ भन्ने । पार्टीभित्र मत विभाजित भएकाले सङ्गठनका गतिविधिमा पनि विभाजन हुने स्थिति बन्दै थियो । जीवराज आश्रितका कारण लुम्बिनीका सबै पार्टी सङ्गठनले युवाहरूलाई साथ दिने अवस्था आयो । पूर्वमा सङ्गठन हाँक्न सक्ने पात्र देखेका प्रश्रित र आश्रितहरूले मदनलाई पूर्णकालीन भई पार्टीमा काम गर्न आग्रह गरे । २०३२ सालसम्म पनि मदन पूर्णकालीन हुने वा नहुने दुविधामै थिए ।

पार्टीभित्रको फरक वैचारिक चिन्तन र मत विभाजनले प्रश्रित र आश्रितलाई भरपर्दो मित्र चाहिएको थियो । पुष्पलालले लत्तो छाडेको, लुम्बिनी, राप्ती र गण्डकीको सङ्गठनले साथ दिएको कुरा विस्तारमा मदनलाई सुनाए । मदन सधैं बुबाआमा र घरपरिवारको कुरा गर्ने । प्रश्रित र आश्रित एक रात बुबासँगै कुरा गर्न बसे । देशको अवस्था, पार्टीको स्थितिबारे निकै लामो कुराकानी भयो । लामो छलफल र कुराकानीपछि बुबाले मदनका लागि बाटो खोलिदिए । मदन राजनीतिमा सक्रिय हुने निश्चित भयो । पहिले उनी पार्टी सदस्य थिए, अब पूर्णकालीन राजनीतिमा सक्रिय भए ।

पार्टीको भूमिगत क्रियाकलाप सुचारू भयो । मदन सक्रिय बने । अब आफ्नो परिचय दिँदा भन्न थालेका थिए- जीवन शर्मा ।

सांग्रिला बुक्सले सार्वजनिक गर्न लागेको पुस्तक 'श्वेतशार्दूलः मदन भण्डारीको जीवन' को अंश

प्रकाशित मिति : जेठ ३, २०७८स्रोत : https://shilapatra.com/detail/58062?fbclid=IwAR1JZBY_QYSJb2QEs3yWZ2U02DugfWctO1vZM5I27Rduw9s9H5JBhGB-AZ8


About the Author

More Blogs