समावेशी विद्यालय वातावरण निर्माण

- शक बहादुर बु्ढाथोकी | 2021-09-24

शकबहादुर बुढाथोकी

नेपालको संविधान २०७२ ले शिक्षालाई नागरिकको मौलिक अधिकारको रुपमा आत्मसात गरेको छ । साथै संविधानले कक्षा १२ सम्मको शिक्षा निः शुल्क र कक्षा १० सम्मको शिक्षा निः शुल्क तथा अनिवार्य गर्ने प्रावधान पनि राखेको छ । अपाङ्गगताभएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ ले अपाङ्गगता भएका व्यक्तिका लागि उच्च तहसम्म निः शुल्क शिक्षाको व्यवस्था गरेको छ । साथै, सरकारद्वारा सञ्चालित शैक्षिक संस्थामा व्यवसायिक तथा प्राविधिक शिक्षा पनि निः शुल्क हुने कुरा सुनिश्चित गरेको छ । राष्ट्रिय शिक्षा नीति २०७६ ले सबै किसिमका अपाङ्गता भएका विद्यार्थीका लागि अपाङ्गता मैत्री भौतिक पूर्वाधार एवं सिकाईको वातावरण सुनिश्चित गर्ने, अपाङ्गताको प्रकृति अनुसार विशेष वा उपचारात्मक कक्षा सञ्चालन गर्ने, पाठ्यक्रम, पाठ्यपुस्तक एवं सिकाइका सामग्री विविधीकरण गर्ने रअपाङ्गताको प्रकृति अनुसार सिकाइका सामग्री एवं मूल्यांकन विधि एवं प्रकृया पनि फरक गर्ने व्यवस्था रहेको छ ।

तर यी कानुनी प्रावधान पूर्ण रुपमा व्यवहारमा कार्यान्वयन भने हुन सकेका छैनन । यसर्थ, अझै पनि शिक्षा पाउने मौलिक अधिकारबाट कतिपय बालबालिका ( विशेष गरी अपाङ्गता भएका बालबालिका, छात्रा,गरिब,दलित, भाषिक अल्पसंख्यक एवं सीमान्तकृत बालबालिका) वञ्चित छन् । यसका विभिन्न कारण अन्तर्गत आवश्यक स्रोत, साधन एवं सुविधाको अभाव, समावेशी शिक्षाबारे तालिम प्राप्त शिक्षक एवं कर्मचारीको अभाव, अव्यवहारिक पाठ्यक्रम, स्थानीय, प्रदेश र संघीय सरकारबाट पाउनुपर्ने सहयोगको अभाव आदि हुन । सीमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग परियोजना (STEM II)परियोजना अन्तर्गत गरिएको एउटा अध्ययनले पनि यसतथ्यलाई पुष्टि गरेको थियो ।

यस सन्दर्भमा, विद्यमान शिक्षा नीति तथा कार्यक्रम र यसको अभ्यासबिच रहेको असमान्जस्यतालाई कसरी सामाधान गर्न सकिन्छ ? वा के कस्ता प्रकृया अपनाएको खण्डमा विद्यालयतहमा समावेशी वातावरण सृजना गर्न सकिन्छ ? वा समाबेशी विद्यालय वातावरण निर्माण गर्न कुन कुन पक्षमा ध्यान दिनुपर्दछ ? यस लेखमा यिनै विषयलाई समेट्ने प्रयास गरिएको छ । साथै यो लेख मर्सिकोर नेपालले हालसालै प्रकाशन गरेको समावेशी विद्यालय वातावरणका लागि स्रोत पुस्तिका मा आधारित छ । उक्त पुस्तिकामा समाबेशी विद्यालय वातावरण निर्माण गर्न सामान्तः के कस्ता विषयमा ध्यान दिईनु पर्दछ भन्नेबारे केन्द्रित छ जुन विद्यालय तहका सरोकारवालाले अबलम्बन गर्न सकेको खण्डमा उपयोगी सावित हुन सक्छ ।

सामान्यतः विद्यालयमा समावेशी वातावरण कायम गर्नका लागि अपाङ्गगता भएका बालबालिका, छात्रा, गरिब, दलित, भाषिक अल्पसंख्यक, सीमान्तकृत एवं आदिवासी विद्यार्थीलाई विद्यालयको हरेक कृयाकलापमा समान रुपमा सहभागी गराई समान अवसर प्रदान गर्नुपर्दछ ।विद्यालय तहमा समावेशी वातावरण कायम गर्न ध्यान दिनुपर्ने विभिन्न पक्ष मध्ये भौतिक पूर्वाधार पनि एक हो । विद्यालय भवनमा र्याम्प (ramp) र ह्यान्ड रेलिंग (hand railing)को व्यवस्था हुनुपर्दछ। यसका साथै विभिन्न स्थानलाई संकेत गरी विभिन्न चिन्ह राखिनु पर्दछ र ति चिन्हलाई सांकेतिक भाषाका साथै दृष्टि विहिनका लागि स्पर्शबाट पनि थाहा पाउन सक्ने गरी राखिएको हुनुपर्दछ। कक्षाकोठा र शौचालयका ढोका ह्वील चेअर एवं बैसाखी प्रयोगकर्ताका लागि सहज हुनुपर्दछ । विद्यालय हातामा पस्ने प्रवेशद्वार विद्यालयको कार्यालय एवं कक्षाकोठा पहुँच योग्य र अपाङ्गता मैत्री हुनुपर्दछ ।तसर्थ विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता विषयलाई पनि ध्यान दिन सकेमा केही हदसम्म भए पनि समावेशी वातावरणका लागि सकारात्मक कदम सावित हुन सक्छ ।

साथै, समावेशी विद्यालय वातावरणका लागि कक्षाकोठामा सिकाइको वातावरण पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विद्यालयले कक्षाकोठाभित्र र बाहिरका गतिविधिमा सबै विद्यार्थीलाई समान रुपमा सिक्ने अवसर प्रदान गर्नुपर्छ ।यस सन्दर्भमा शिक्षक विद्यार्थीका सिकाइसँग सम्बन्धित विशिष्ट आवश्यकताबारे तालिम प्राप्त एवं सचेत हुनुपर्दछ । विद्यालयले कुनै पनि विद्यार्थीलाई उनीहरुको पृष्ठभूमि र सिकाइ क्षमताको आधारमा भेदभाव गर्नुहुन्नर भय मुक्त वातावरणमा सबैलाई पढ्न, सिक्न, सहभागी हुन र आफ्नो विचार/जिज्ञासा राख्नसमान अवसर दिनुपर्दछ । शिक्षण प्रकृयामा अपाङ्गता भएका बालबालिका, छात्रा, गरिव, दलित, भाषिक अल्पसंख्यक एवं अन्य सीमान्तकृत समुदायको आवश्यकता एवं चासोलाई प्राथमिकतामा राखिनु पर्दछ र सम्बोधन पनि गर्नुपर्दछ । यसो गर्न सकेमा कक्षाकोठामा विद्यार्थीको अवस्थामा थप सुधार गर्न सकारात्मक वावतावरण कायम गर्न सघाउन पुर्याउछ ।

यस क्रममा शिक्षकले कक्षाकोठामा कस्तो शिक्षण विधि अवलम्बन गर्दछ भन्ने कुराले पनि विद्यालयमा समावेशी वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । शिक्षकले सकेसम्म धेरै विद्यार्थीलाई समावेश गर्ने शिक्षण विधि अवलम्बन गर्नुपर्दछ । जस्तैः परियोजना कार्य, समुह कार्य आदि । विद्यार्थीको अपाङ्गताको प्रकृति अनुसार शिक्षण विधि पनि फरक हुनुपर्दछ । जस्तैः विद्यार्थीलाई बोलेर सञ्चार गर्न कठिनाई भएमा लेखेर सञ्चार गर्ने अवसर दिनु पर्दछ भने सुस्त श्रवण विद्यार्थीलाई प्रयोग पक्षमा बढी जोड गर्नुपर्दछ र उनीहरुलाई खेलेर सिक्ने, हेरेर सिक्ने गरेर सिक्ने अवसर दिनु पर्दछ । यसको लागि शिक्षकले विद्यार्थीलाई सहभागी गराउन सृजनात्मक उपाया प्रयोग गर्नुपर्दछ र उनीहरुसँग पर्याप्त संवाद गर्नुपर्दछ ।

विद्यालय सुशासन पनि का लागि महत्वपूर्ण पक्ष हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ एवं अन्य संरचनाको गठन गर्दा अपाङ्गता भएका व्यक्ति, छात्रा, गरिब,दलित, भाषिक अल्पसंख्यक आदिलाई समावेश गर्नुपर्दछ । बाल क्लबका क्रियाकलापमा अपाङ्गता भएका बालबालिकालाई पनि समावेश गर्नुका साथै उनीहरुको विचारलाई पनि समान महत्व दिईनु पर्दछ । विद्यालयले सरोकारवालाको सहभागितामा वर्षको एक पटक आफ्नो सामाजिक लेखा तथा लैङ्गिक परीक्षण (विद्यालयका गतिविधि, सुविधा, बजेट आदिको लैङ्गिक दृष्टिकोणबाट मूल्यांकन) गर्न सकिन्छ । सरोकारवालाको बैठकमा अपाङ्गता भएका बालबालिका, छात्रा, भाषिक अल्पसंख्यक आदि सम्बन्धी सवाल प्रखर रुपमा उठाउनुका साथै तिनको समाधान गर्न पहल पनि गर्नुपर्ने हुन्छ ।

समावेशी विद्यालय वातावरणका लागि अभिभावकको पनि महत्वपूर्ण भूमिका हुन्छ । अभिभावकले अपाङ्गता भएका बालबालिकाको लागि व्यक्तिगत शैक्षिक योजना (Individualized Education Plan) बनाउन शिक्षक एवं विद्यालयसँग सहकार्य वा समन्वय गर्नु पर्दछ । साथै अभिभावकले आफ्ना बालबालिकाको विशेष आवश्यकता (जस्तैः भाषिक, अपाङ्गता, आदि)बारे विद्यालयसँग परामर्श एवं समन्वय गर्नुपर्दछ । अर्थात, अभिभावकले विद्यालयसँग आफ्ना वच्चाको अपाङ्गताको अवस्था र उनीहरुलाई विद्यालयमा आवश्यक पर्ने सहयोगको बारेमा सु-सुचित गर्नुपर्दछ । अभिभावकले अपाङ्गता भएका बालबालिकाको अपाङ्गताको प्रकार पहिचान गर्न आवश्यक सहयोग गर्नुपर्दछ ।

विद्यालयमा समावेशी वातावरण निर्माण गर्ने काम निकै जटिल विषय हो । यसका लागि धेरै पक्षमा ध्यन दिनुपर्ने हुन्छ र सरोकारवालाले बहुपक्षीय पहल गर्नुपर्ने हुन्छ । माथि उल्लेखित का लागि केही उपाया मात्र हुन जसलाई विद्यालय तहमा सरोकारवालाको समन्वयमा एवं सहकार्यमा अबलम्बन गर्न सकिन्छ । यसको लागि विशेष गरी विद्यालयको प्रधानाध्यापकको प्रमूख भूमिका रहन्छ । त्यसपछि शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत अन्य सरोकारवालाको पनि महत्वपूर्ण भूमिका रहन्छ । यसर्थ, सामुहिक प्रयासबाट मात्रै समावेशी वातावरण कायम गर्न सार्थक पहल सम्भव हुन्छ । यसको लागि स्थानीय प्रदेश एवं संघीय सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउनु पर्दछ ।

STEM II परियोजनाले सुरुआतदेखि नै विद्यालयाई कसरी समावेशी बनाउने जस्तैः छात्रामैत्री अपाङ्गता मैत्री एवं बालमैत्री बनाउने भन्नेबारे केन्द्रित रहेर विभिन्न किसिमका कृयाकलाप सञ्चालन गर्दै आएको छ । यस क्रममा परियोजनाले विभिन्न किसिमका सिकाइ एवं अनुभव हासिल गरेको छ । विद्यालयका विभिन्न पक्षलाई ध्यान दिन सकेको खण्डमा समवेशी वातावरण बनाउन सम्भव हुन सक्छ । परियोजनाको सिकाइ, असल अभ्यास एवं अनुभवको आधारमा विद्यालय वातावरण सबैका लागि सहज एवं पहुँच योग्य बनाउन ध्यान दिनुपर्ने विभिन्न पक्षलाई समेतेर समावेशी विद्यालयका वातावरणका लागि स्रोत पुस्तिका प्रकाशन गरिएको छ । यसले सरोकारवालालाई समावेशी विद्यालय वातावरण तयार गर्न व्यवहारिक रुपमा सघाउनेछ ।

लेखक मर्सिकोर नेपालका शिक्षा संयोजक हुन् ।

प्रकाशन : ६ पुष २०७७स्रोत : https://www.eprabhatnews.com/details/9414


About the Author

More Blogs