जीवाणु मिथ्या

- प्रणव खरेल, गौरव केसी | 2021-09-24

प्रणब खरेल, गौरब केसी

काठमाडौँ — महिलाको त्यो आवेग : सन् १९९७ मा पुलित्जर पुरस्कारबाट सम्मानित ज्यारेड डायमन्डको बहुचर्चित पुस्तक ‘गन्स, जर्म्स एन्ड इस्टिल : द फेट्स अफ ह्युमन सोसाइटिज’ भित्रको एउटा दृष्टान्तबाट प्रसंगको थालनी गरौँ ।

पपुवा न्युगेनियाको एक अस्पतालमा लामो समयदेखि अज्ञात जीवाणुबाट ग्रसित रुग्ण पुरुषको निमोनियाको कारक पहिल्याउन चिकित्सकलाई हम्मे–हम्मे परेको थियो । आफूबाट सम्भव नदेखेपछि चिकित्सकले बिरामी हुनुपूर्व ती पुरुषको अन्य व्यक्तिसँग भएको यौन संसर्गबारे कोट्याउन उनकी पत्नीलाई आग्रह गर्छन् । जब श्रीमतीले यसबारे बुझ्न खोज्छिन्, शय्याग्रस्त ती पुरुष लाजले भुतुक्कै हुन्छन् । आफूलाई तन्नाभित्र गुट्मुट्याउँदै झिनो आवाजमा स्थानीय भाषामा श्रीमतीलाई उनले केही कुरा सुनाउँछन् ।

श्रीमान्को स्वास्थ्यमा पूर्णतया चिन्तित महिला एकाएक आवेगमा चिच्याउन पुग्छिन् र क्रोधित मुद्रामा सुतिरहेका श्रीमान्माथि झम्टिन्छिन् । उपचारार्थ चिकित्सकले सम्हाल्नुअगावै महिला नजिकै रहेको बोतल उठाउन पुग्छिन् र श्रीमान्को टाउकोमा बेस्कन बजार्दै कक्षबाट बाहिरिन्छिन् । आश्चर्यचकित पार्ने यस घटनाका प्रत्यक्ष साक्षी चिकित्सकले पछि मात्रै थाहा पाउँछन्– आफूले पटकपटक भेडासँग करणी गरेको र त्यसैको परिणामस्वरूप बिरामी भएको हुन सक्ने भेद पुरुषले पत्नीसामु खोलेका रहेछन्, जसले ती महिलालाई यतिबिधि क्रोधित बनायो ।

जनावर र मानव‘लिथल गिफ्ट अफ लाइभस्टक’ अर्थात् ‘चौपायको घातक उपहार’ नामक शीर्षकमा रहेको यो माथिको दृष्टान्तलाई डायमन्डले अतिरञ्जित तवरमा आफ्नो पुस्तकमा प्रासंगिक बनाउन खोजेका छन्, जसलाई सविस्तारमा पछि पुस्टि गरिँदैन । लामो समयदेखि महामारीविद् वा विषाणुज्ञले स्थापित गरेको मान्यतालाई निरन्तरता दिँदै डायमन्डले पनि भयावह संक्रमित रोगको प्रमुख कारक जनावरलाई नै बनाएका छन् ।

यो परिकल्पना महामारी विज्ञान वा रोगविज्ञानको स्थापित मानक हो । मानव सभ्यताको इतिहासमा संक्रामक रोग फैलँदा जनावरलाई बलिको बोका वा प्रमुख अभियुक्त बनाइएको पाइन्छ । मानवले जंगलबाट बस्तीमा सरेदेखि प्राकृतिक रूपमा रमाइरहेका जनावरलाई आफ्नो अधीनमा ल्यायो । जनावरमाथि उपनिवेश कायम गर्दै कतिपय जनावरलाई घरपालुवा बनायो । मानिसको दिनानुदिनको क्रियाकलापमा जनावरले मानिसलाई सघाए । कतिपय समाजमा त जनावर धार्मिक रूपमा पनि पुजिए । कुनै बेला जनावर सम्पत्तिका प्रतीक पनि थिए । अत्यधिक परिमाणमा जनावरको स्वामित्व रहेको व्यक्तिको आर्थिक–सामाजिक पहिचान पनि उच्च हुन्थ्यो । तसर्थ, जनावरले नै समाजमा व्यक्तिको आर्थिक मनोबल र पहिचान उच्च बनाएको थियो । अहिले पनि नेपाल र हिमालयको यस भेगमा त्यस्ता पशुचरकहरू छन्, जसको आर्थिक उपार्जन पूर्णतया जनावरमै आश्रित छ ।

स्थापित अभियोगयति हुँदाहुँदै पनि सर्वत्र इतिहासमा असंख्य र अगणनीय संख्यामा मानव हातबाट पशुवध भए र कैयौँ पशुका प्रजाति पृथ्वीबाटै नष्ट पारिए । तर, पनि जबजब इतिहासमा मानवले महामारीको सामना गर्नुपर्छ, त्यसको दोष जनावरलाई लगाउने गरिएको छ । चाहे डायमन्ड हुन् वा अन्य विज्ञ, अधिकांशले प्रतिपादन गरेको ‘मानव संक्रमित रोग सिद्धान्त’ को प्रमुख कारक परापूर्वकालदेखि जनावर नै हो भन्न मान्यता स्थापित गरिँदै आएको छ । कालक्रममा घोडा, भेडा, गाई, सुंगुर, ऊँट, कुकुर, बिरालो, मुसा, खरायो, बाँदर, झिँगा, लामखुट्टे, उपियाँ, परेवा, कुखुरा आदिजस्ता जनावर, कीरा, फट्यांग्रा र पन्छीलाई रोग संक्रमणका प्रमुख अभियुक्त मानिए । हाल आएर हाम्रो छिमेकी चीनमा देखापरेको डरलाग्दो रोगाणुलाई चमेरोसँग जोडियो ।

संसारभरका हामी मनुवा, जो ओखतिमुलो र रोग विज्ञानमा अनभिज्ञ छौँ, यस शक्तिप्रमुख–अड्कल वा बौद्धिक अनुमान र विज्ञानकेन्द्रित एकांकीलाई शिरोपर गर्न बाध्य छौँ । हामीसँग अन्य विकल्प छैन । शीतलारोग, क्षयरोग, दादुरा, बिफर र संक्रामक ज्वरो गाई–बस्तुबाट फैलिन्छ भने डरलाग्दो रुघाखोकीजन्य रोग र अन्य वैज्ञानिक नामकरण गरिएका रोगहरू सुंगुरबाट सर्छन् भन्ने मान्यता स्थापित गरिएको छ ।

एउटा उदाहरण हेरौं । हिमालय भेगमा दूधको उपभोग अत्यधिक छ । बालबच्चादेखि वृद्धसम्म– हामी गाईको दूध खाएर हुर्किएका छौं । मानवीय आवश्यकता गाईसँग जोडिएर पनि होला हिन्दु समुदायकाले गाईप्रति मोह बढाउँदै पवित्र जनावर मानेका । त्यही गाईको दूधमा क्षयरोग जीवाणुको सम्भावना उच्च देखिएको मान्यतालाई कुनै समयमा स्थापित गरियो । तर, बजारमा प्यास्टराइज गरी प्याकेटमा बिक्री वितरण गरिने दूधमा भने यो मान्यता लागू हुँदैन । अर्थात्, यो दूध पिउन सुरक्षित मानिन्छ । त्यसोभए, दूधमा देखिने टीबीको जीवाणु स्थानीय पहाडी गाईमा देखापर्छ वा युरोपबाट आयातित जर्सी गाईमा ? वा दुवैमा ? तसर्थ, यस्तो माहोलमा बजार धेरै सक्रिय हुन्छ र सबै कुरा निर्धारण गर्छ ।

त्यस्तै कोरोना भाइरसका कारण मास्क र स्यानिटाइजरको अत्यधिक उत्पादन, विक्री–वितरण एवं भविष्यमा नाफामुखी औषधि कम्पनीहरूले उत्पादन गर्ने भ्याक्सिनको बजार पनि सहजै पूर्वानुमान गर्न सकिन्छ । इतिहासमा कुनै प्रजातिको बाँदर र मुसालाई जन्डिस रोगको कारक मानियो । युरोपमा धेरै मानिसको ज्यान लिएको महामारी प्लेगको प्रमुख कारक मुसा र घोडामा रहेको उपियाँ मानियो । यिनै कारण देखाउँदै इतिहासमा मानवले धेरै जनावरको वध गर्‍यो । सन् १९९० को मध्यमा ‘म्याड काउ डिजिज’ को नाममा चालीस लाखभन्दा बढी गाई युरोपमा मारिए । केही वर्षअघि ‘बर्डफ्लु’ को जिम्मेवार कुखुरा र परेवा हुन् भन्ने प्रचार गर्दै हजारौँ संख्यामा ती चरा नष्ट गरिए ।

रोगको इतिहास यसैगरी लेखिन्छ । हामीले यसलाई ऐतिहासिक तथ्य र सत्यका रूपमा स्विकार्नुपर्ने हुन्छ । एउटा बुझ्नुपर्ने तथ्य के छ भने अन्य कुरासरह रोग पनि उत्पादित हुन्छन् र शक्तिकेन्द्रले यसलाई नामकरण गर्दै विश्वव्यापी रूपमा प्रचार–प्रसार गर्छन् । संसारका अधिकांश रोग पाश्चात्य समाजद्वारा निर्मित छन् र समग्र रोगको अवधारणा पाश्चात्य बायोमेडिसिनमा आधारित छ भन्ने तर्क चिकित्सा इतिहासकार जेएन हेजले आफ्नो पुस्तक ‘द बर्डेन्स अफ डिजिज : एपिडेमिक्स एन्ड ह्युमन रेसपोन्स इन वेस्टर्न हिस्ट्री’ मा गरेका छन् । हेजका लागि मानव, रोगका सिकारी–सिकार दुवै हुन् र रोग विज्ञानसम्मत मात्र नभई सामाजनिर्मित पनि हो ।

अध्ययनहरूका अनुसार, जनावर र मानवमा लाग्ने धेरै रोग एकअर्कासँग मिल्दाजुल्दा हुन्छन् । इतिहासमा जब संक्रमित रोगको प्रकोप फैलिन्छ, त्यसले मानिसलाई मात्रै होइन जनावरलाई पनि सिध्याएको छ । डायमन्डका अनुसार, घना आवादी भएको बस्तीमा रोग संक्रमणको सम्भावना बढी देखिन्छ । हजारौं वर्षदेखि युरोपका बासिन्दा यिनै घना बस्तीमा बस्दै आइरहेका छन् । र, यी अनेक किसिमका रोगबाट ग्रसित थिए । अंग्रेजको भ्रमण सँगसँगै रोगले पनि संसार–यात्रा गरेको थियो ।

अर्थात्, जब युरोपियनहरू संसारका अन्य देशमा विभिन्न उद्देश्यले स्थानान्तरण भए, आफूसँगै तिनले रोगलाई पनि लिएर गए । तसर्थ, डायमन्डका भनाइमा घना आवादीमा बसोबास गर्ने युरोपियनबाटै शीतला, क्षयरोग, कडा प्रकृतिको रुघाखोकी, दादुरा, टाइफाइड, कुकुर खोकी, टाइफस, भिरिंगी, सिफिलिसलगायत अन्य संक्रामक रोगहरू स्थानीयमा फैलिए । प्रसंगमा अमेरिकी इन्डियनहरूमा फैलिएको दादुरालाई प्रकाश पार्नुपर्दा, १९ औं शताब्दीमा रैथाने आदिवासी अमेरिकीहरूलाई श्वेत युरोपियन र अमेरिकनहरूले उपहारस्वरूप कम्बल वितरण गरेका थिए । त्यो कम्बलको प्रयोगले ठूलो संख्यामा आदिवासी अमेरिकीहरूको ज्यान लियो । पछि थाहा भयो ती वितरित कम्बल दादुरा संक्रमित रहेछन् । यस घटनाले पछि विवादको उग्ररूप लियो । आदिवासीहरूको जनसंख्या सखाप पार्न श्वेत अमेरिकीहरूले उद्देश्यपूर्ण ढंगले कम्बल वितरण गरका थिए पनि भनियो ।

अन्त्यमायसप्रकारको भयानक रोग वा जीवाणुको विस्फोटको कारक कसलाई मान्ने ? प्राकृतिक विपत्तिसरह रोग पनि आउँछ र जान्छ । त्यसपछि बन्ने त इतिहास मात्र हो । दुवैमा अन्तर्निहित प्रलय–चरित्रको प्राकृतिक मात्राले जैविक क्षति ल्याउने हो । व्यावहारिक ज्ञानको बुझाइमा पनि रोग निम्ताउने जीवाणु पृथ्वीमा सर्वत्र पाइन्छन् । पानी, माटो, हावा, खाना, मानव र जनावरको दिसा–पिसाब, प्रयोगविहीन सडे–गलेका अनावश्यक सामग्री, कुइएका खाद्यान्न वा नगाडिएका शव वा सिनोमा यत्रतत्र जीवाणु पाइन्छ । केही परिकल्पनाबाहेक कसैलाई पनि यी रोगयुक्त जीवाणुहरू पृथ्वीमा कहिले र कसरी आए भन्ने थाहा छैन ।

तसर्थ, यी वर्तमानमा निर्मित प्रक्रियागत अवधारणाहरू हुन् । पृथ्वीमा देखापरेको अस्तव्यस्तता र विध्वंसको मूल्यांकन गर्दा यस भूमण्डलको पर्यावरणीय क्षति, रक्तपातपूर्ण युद्ध, ठूला नरसंहार र प्राकृतिक स्रोत–साधनहरूको प्रदूषणको प्रमुख जवाफदेही मानिस हो । त्यसैगरी नाफा र शक्तिका भोका मानव नै रोगाणुका प्रमुख कारक हुन्, जनावर कदापि हुन सक्दैनन् । रक्तपिपासु मानवले प्राकृतिक रूपमा आश्रित जनावरको बासस्थानलाई अतिक्रमण गर्दै उनीहरूको स्थानबाट तिनलाई अलग्याए । समग्र मानव इतिहासमा अनगिन्ती संख्यामा आफ्नो स्वाद र मनोरञ्जनका लागि जनावरको हत्या गरे ।

प्राकृतिक पर्यावरणमा असर पर्ने गरी हामीले अप्राकृतिक तवरबाट जैविक असन्तुलन ल्याउँदै आनुवंशिकीय रूपान्तरित जनावरहरू उत्पादन गर्‍यौँ । त्यसैगरी, अदृश्य जैविक हातहतियारका अविष्कारक पनि हामी नै हौँ । अपराधशास्त्रमा थपिएको नयाँ अपराधमा पर्छ ‘जीवाणु अपराध’, जुन मानवनिर्मित हुन्छ र मान्छेले यसलाई आफ्नो शत्रुमाथि गैरकानुनी रूपमा प्रयोग गर्छ । पृथ्वीको पर्यावरण ध्वस्त बनाउनेजस्ता मानवका घातक अनि विनाशकारी क्रियाको दोष हामी कसरी जनावरमाथि थोपर्न सक्छौँ ?प्रकाशित : फाल्गुन २४, २०७६ १३:१७

स्रोतः https://ekantipur.com/koseli/2020/03/07/158356632776654324.html?author=1


About the Author

प्रणव खरेल

समाजशास्त्री, काठमाडौँ स्कुल अफ ल