तीन चुल्हामा नुमाको दाबी

- कैलाश राई | 2023-05-27

किरातीहरूको मान्यता छ– महिला शक्तिशाली हुन्छन् । लैंगिकता र लैंगिक समानताको समसामयिक वस्तुस्थितिमाथि भने ती चासै राख्दैनन् । ‘थाङ्ग्रा’ ले मुन्धुमी पुरुष–सत्ताको मर्ममै प्रहार गरेको छ । अब नुमाहरूले तीन चुल्हा दाबी गरे के होला ?

किराती र दलितबीचको अन्तरजातीय विवाह, जातीय समानता र वंश–विस्तार अधिकारको सम्मिश्रण हो, प्रगति राईको उपन्यास– ‘थाङ्ग्र्रा’ । यो उपन्यासमा लेखकले अघिल्लो उपन्यास ‘लेखककी स्वास्नी’ कै पात्रहरू– सुशान्त, नुमा, साया र सोमालाई सशक्त रूपमा उभ्याएकी छन् ।

सुशान्त दलित हकअधिकारका लागि समर्पित पितृसत्तात्मक मानसिकताले भरिपूर्ण सुदूरपश्चिमका लेखक तथा अभियन्ता हुन् । नुमा परिवारको मञ्जुरीबेगर आफूखसी सुशान्तसँग बिहे गरेकी पूर्वी नेपालको किराती समुदायकी स्वावलम्बी र मापाकी महिला हुन् । सुशान्त र नुमाको पहिलो सन्तान साया नारीत्वको गुणले भरिभराउ, तुलनात्मक रूपमा परम्परागत सुन्दरताको खाकाभित्र उभ्याइएकी निश्छल र कोमल हृदययुक्त अति संवेदनशील कलाकार हुन् । दोस्रो सन्तान सोमा पितृसत्तात्मक समाजमा आफूलाई योग्य ठहर्‍याउँदै ‘छोरीले गर्न सक्छे’ भन्ने प्रमाणित गरिछाड्ने अठोट बोकेर लडिरहने स्पातजस्ती योद्धा हुन् । अन्ततः वंश विस्तारको हकदार ठहरिएरै छाड्छिन् ।

‘थाङ्ग्रा’ भिन्न सामाजिक, सांस्कृतिक, भाषिक प्रस्तुति, लैंगिक मूल्यमान्यताहरूको पोयो बाटिएको र भौगोलिक परिदृश्यहरूको सुन्दर प्रस्तुतियुक्त उपन्यास हो । पाठकलाई स्वादिष्ट क्वाँटीको परिकार पस्केसरह पस्किएको यो उपन्यासका कुनै एक पात्रलाई मात्रै पनि पढ्न सकिन्छ । पात्रहरूको भिन्न–भिन्न कार्यदक्षता, जीवनदृष्टि, बाँच्ने कला, गुण–दोष र भाषा–शैलीको प्रस्ट चित्रणले कुनै एक पात्र पछ्याएपछि बाँकी पात्रहरू नपढी पाठकको धीत मर्दैन ।

सुशान्त पढ्दा जातीय व्यवस्थाले निर्देशित नेपाली समाजमा दलित समुदायको सम्मानजनक अस्तित्व प्राप्तिका लागि जातीय समानताको संघर्षको चित्रण भेटिन्छ । सामाजिक न्यायका निमित्त जातीय विभेदविरुद्ध लडिरहने वैचारिक लडाकु पनि पितृसत्ता र पुरुषत्वको पुलिंगी संरचनाले दिएको लाभ उठाइरहँदा त्यत्ति घोत्लिने गर्दैनन्, बरु त्यसलाई टिकाउन जोडबल लगाउँछन् भन्ने थाहा पाउन पनि सुशान्तलाई पढ्नैपर्छ ।

माया–प्रेममा जातभात, धर्म, पारिवारिक, सामुदायिक तथा सामाजिक प्रतिष्ठा गौण हुन्छ, तर विशुद्ध प्रेमसम्बन्धले निर्मित घरपरिवारभित्र ती पक्षको नियन्त्रण र प्रभाव पन्छाउनु असम्भवप्रायः भएको नुमालाई पढ्दा थाहा हुन्छ । नुमाको चरित्र पढ्दा दुई कुरा प्रस्ट बुझिन्छ– पहिलो, आत्मनिर्भर तथा आर्थिक सवलताले जस्तोसुकै कठिनाइमा पनि स्वतन्त्र उभिएर बाँच्न र निर्धक्कसँग निर्णय लिन सहज बनाउँछ । दोस्रो, जतिसुकै सवल र निर्धक्क भए पनि पुरुष–अनुकूलित सम्बन्ध, परिवार, समाज र राज्यमा महिलाले वंश धान्ने नाममा, वैवाहिक सम्बन्धका नाममा आफूले आफैंलाई थम्थम्याउँदै बारम्बार सम्झौता गर्नुपर्छ ।

पितृसत्ताका शासक पात्र ससुरा, शासनलाई पुरानै ढर्रामा निरन्तरता दिन नचाहे पनि वंश उत्पादन गर्ने वीर्यधारी मालिक पात्र सुशान्त आफैं त्यही शासनको मारमा छन् । तर, उनीहरूले आ–आफ्नो मारको सम्पूर्ण भार नुमातर्फ खन्याउन जोड लगाएका छन् । सुशान्त नुमामाथि वंश धान्ने छोरा जन्माउन ‘खेताला’ लगाउँछन् । त्यो नुमालाई अस्वीकार्य हुन्छ । बरु उनले सुशान्तलाई दोस्रो बिहे गर्ने स्वतन्त्रता दिएर वंश धान्ने छोरा जन्माउन नसक्नुको मूल्य चुकाउने निर्णय लिन्छिन् । पिता र प्रेमी/श्रीमान्को मायाको शासनलाई सर्वस्व ठान्ने साया पितृसत्तात्मक अतिवादी मायाको शासनको आहुति चढाइएकी पात्र हुन् । सरसर्ती पढ्दा उनलाई संघर्षसँग डराउने एकांगी स्वभावको कलाकार र पराजित पात्र ठान्न सकिन्छ ।

पढिसकेपछि, पिता–प्रेमी/पतिको शासन व्यवस्थामा न पिताले चाहेअनुरूप मायालु, गुणी, सीपवान् छोरी मात्रै भइरहन सम्भव छ न प्रेमी/पतिले चाहेअनुकूल सधैं आफ्नो तन–मन–विवेक सबै उसैलाई सुम्पिएर सुन्दर–आकर्षक मानवरूपी यान्त्रिक प्रेमिका मात्रै भएर बाँच्न सम्भव छ भन्ने सवाल मानसपटलमा नाचिरहन्छ । सायालाई सायाकै रूपमा पूर्णतः अपनाउन नसक्ने रमेशले ऊबिना एकपल पनि बिताउनै नचाहनु मायापिरतीको नौलो कथा होइन । यहाँ, मायाकै नाममा प्राणै खोसिइँदा पनि उसैलाई खोज्ने र भोग्ने अतृप्तपनमै बाँच्ने रमेशको मनोविज्ञानलाई पितृसत्तात्मक सोचअन्तर्गत कसरी ‘उत्पातै/उधुमै माया गर्ने’ भनी अर्थ्याइन्छ र आफ्नै प्यासभित्र कैदी भएर त्यसैको प्रभुत्व स्थापित गर्न खोजिन्छ भन्ने विषय महत्त्वपूर्ण छ । पितृसत्तात्मक सोचको प्रभुत्वमा, मानवीय स्वभावका आधारमा गुण–दोषयुक्त एक स्वतन्त्र व्यक्तिको नजरले छोरी/महिलालाई कहिल्यै नहेरिनुको दुष्परिणाम लेखकले सायामार्फत् प्रस्फुटित गरेकी छन् ।

सोमालाई महिलाको वंश अधिकार प्राप्तिको संघर्षको समकालीन पुस्ताको अभ्यासकर्ता एवं आशाको पुञ्जका रूपमा सुरुदेखि पाठकले स्वाद लिएर पढ्न पाउनेछन् । अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेकी क्रिकेट खेलाडी सोमाको जीवनशैली, सोच र व्यवहार पितृसत्ताको जालो र विषाक्तपनलाई धक्का दिने खालको छ । आफ्नो रुचि, सामाजिक तथा लैंगिक पहिचान एवं अवस्थिति र विवाह संस्थामा रहेको वंश परम्पराको एकलिंगीय प्रभुत्वको समस्याप्रति सुरुदेखि नै चनाखो उनी तुलनात्मक रूपमा यो उपन्यासको एक सशक्त पात्र हुन् । आफ्नो खेलजीवनको आहुति दिएर, पिता र पतिको वंश धान्ने त्यो भार बोक्ने वंश–विस्तारको हकदार ठहरिएर उनले त्यो विजय कमाएकी छन् ।
जरा गाडिएर यत्रतत्र फैलिएको पितृसत्ता र पुरुषत्वको प्रभुत्वमा ठोस परिवर्तन ल्याउने हो भने नारीत्वका निमित्त सृजित गुण अपर्याप्त छ, किनकि त्यस्ता गुणहरू पितृसत्ताकै एक दह्रो खम्बाका रूपमा खडा गरिएका हुन् । लैंगिक, असन्तुलित शक्तिसम्बन्ध र पिता/पतिको शासनको सन्दर्भमा एउटा शक्तिशाली रसायनलाई काट्न अर्को उत्तिकै शक्तिशाली रसायन नै आवश्यक पर्छ भन्ने मान्यतामा उपन्यास उभिएको छ । यद्यपि चौतर्फी परिवर्तनबिना एउटा परिवर्तनले मात्रै काम गर्न सक्ने सामाजिक संरचना छैन । तसर्थ सोमाहरूलाई यो सामाजिक व्यवस्थाले एक उदाहरणीय व्यक्तिका रूपमा खडा गर्ने र सम्मानित गरेझैं गर्छ ।

तर, उनीहरूको प्रतिरोधी शक्तिमार्फत थालिएको अभ्यास संस्थागत गर्न उत्तिकै अर्को शक्तिशाली प्रतिरोधको सधैं खाँचो पर्छ । जस्तै : सोमाले छोरीको वंश विस्तारको अधिकार लिएरै छाडे पनि वंशाधिकारमा पिता र पतिकै एकलौटीपन छ । पुस्तागत समझदारिता, त्याग र संघर्षबिना न वंश विस्तारको अधिकार सहजै व्यवहारमा रूपान्तरण हुन्छ, न अर्को पुस्तामा सर्छ । नुमामा थोपरिएको वंश धान्ने छोरा दिने परम्पराको बोझ र छोरीलाई वंश धान्ने लायक नमान्ने मान्यतालाई सोमाले थाप्लोमा खेपिन, निकास दिइन् ।

नुमा र सुशान्तको अन्तरजातीय सम्बन्ध, आपसी समझदारिता, एकअर्काको रुचि र कामप्रति अहस्तक्षेप र एकअर्काको ‘स्पेस’ प्रतिको सम्मानित सोच, व्यवहार यो उपन्यासको फराकिलो पृष्ठभूमि हो । त्यसले अघिल्ला पिँढीमा अभ्यासमा रहेका रुढी, विभेदहरूलाई निस्तेज पार्ने र आउँदो पुस्तालाई परिवर्तनको पाइला चाल्ने एक खालको धरातल बनाइदियो । सांस्कृतिक अन्तरघुलनको यो फराकिलो पृष्ठभूमि सुन्दर र शक्तिशाली छ । स्वजातीय वंश–सम्बन्धको कठोर मान्यतालाई चुनौती दिएकोले उत्तिकै जटिल पनि छ ।

किराती समुदायको एउटा सांस्कृतिक विशेषता स्वजातीय वैवाहिक सम्बन्ध पनि हो । अन्तरजातीय वैवाहिक सम्बन्धहरूमा गाँसिनै परे पनि पानी ‘चल्ने’ सम्मको होस् भन्ने मान्यता बलियै छ । त्यस्तो अवस्थामा पनि समुदायका छोरी–चेलीले केही न केही त्याग्नैपर्छ । उनीहरूलाई माङ (कुलदेउता) बाट निष्कासित गरिन्छ । माङसम्बन्धी सेवा (पूजा) हरूमा संलग्न हुन निषेध गरिन्छ । यद्यपि त्यस्तो सम्बन्धबाट मुक्त हुन र स्वजातीय हैसियतमै रहन चाहनेका लागि पनि आफ्नै खालका सांस्कृतिक संहिता छन् । यद्यपि पानी नचल्ने जातमा बिहे गरेर गए कुलकी चेलीको हातको पानी पनि नचल्ने हुन्छ ।

डेढ दशकअघिको भोजपुरको एउटा घटना हो यो– एक जना राई महिलाले स्वेच्छाले दलितसँग विवाह गरिन् । स्वेच्छाले सम्बन्ध तोडिन् । उनी माइतीघर फर्किन् । उनको प्रवेशपछि त्यो घर बिटुलो भएको मानियो । त्यसलाई चोख्याउने विधिविधान गरियो । घरको छानो उधारियो । नयाँ छानो लगाइयो । चुल्हा चोख्याइयो । ‘बाटो बिराएकी’ चेलीको भूलमा माङसँग क्षमा माग्ने, दोष पन्छाउने, चेलीलाई पनि चोख्याउने सेवा लगाइयो ।

किरात–राईहरूको तीनचुल्हाको आ–आफ्नै शक्ति र मुन्धुम छ । सभ्यता, आध्यात्म, दर्शन, प्रकृति, परम्परा, ज्ञान र भाषाजस्ता महत्त्वपूर्ण पक्षको प्रतिक तीनचुल्हा आपसी परिपूरक शक्ति हुन्, जसमध्ये एउटा चुल्हा महिला शक्तिको प्रतीक हो ।

उपन्यासमा नुमाले माइतीमा रहेको माङमा आफ्नो स्थानको अपेक्षा गरेकी छैनन् । उनले ठाडै माङ अर्थात् तीनचुल्हामा अंशियारी दाबी गरेकी छन् । मुन्धुमअनुरूप तीनचुल्हा माग्ने र लैजाने परम्परा केवल छोराहरूमा मात्रै लागू हुनेगर्छ ।

किरातीहरू महिला र पुरुष समान मात्रै होइनन्, कतिपय विषयमा महिला शक्तिशाली हुन्छन् भन्ने मान्यता राख्छन् । लैंगिकता र लैंगिक समानताको समसामयिक वस्तुस्थितिप्रति भने चासै राख्दैनन् । मातृसत्तात्मक अवशेष भएको मानिए पनि पुरुषले महिलालाई बिहे गरेर भित्र्याउने प्रचलनमै परिवार सञ्चालित हुँदै आएको छ ।

यस्तो अवस्थामा ‘थाङ्ग्रा’ ले मुन्धुमी दर्शनको पुरुष–सत्ताको मर्ममै प्रहार गरेको छ । वास्तविकतामा नुमाहरूले तीनचुल्हा दाबी गरेमा के होला ? सोमाहरूले दीपकहरूलाई क्रमसँग वंश विस्तारदेखि वंशाधिकारका लागि बिहे गरेर घर भित्र्याउने हो भने के मात्रै नहोला ? लेखकले चिन्तनमनन र छलफलका लागि रोचक ढंगले सरल भाषामा असाध्यै गह्रुंगो विषय पस्केकी छन् ।

प्रेम, यौन, विवाह र मातृत्वको मामिलामा उपन्यासमा पितृसत्तात्मक धारणा हावी छ । उपन्यासले उठाउन खोजेको चुरो कुरो महिलालाई वंशाधिकार भए पनि सोमा आफूले जन्माउनुअघि सन्तानहरूलाई बाबु र श्रीमान्को भाग लगाइदिएर वंशाधिकारको मुद्दा क्रमिक रूपमा प्राप्त गर्ने घुमाउरो बाटोतिर मोडिएको छ ।

लेखकको जातीय–सांस्कृतिक–लैंगिक चेतको सम्मिश्रणबाट सिर्जित उपन्यास यी तीनै पक्षका हिसाबले पठनीय छ ।

प्रकाशित : जेष्ठ १३, २०८०
स्रोत : https://ekantipur.com/koseli/2023/05/27/168515382455419735.html


About the Author