जुन १८, २०२२ बिहान उठ्नेबित्तिकै नयाँ इमेल आएको देखेँ । इमेल पठाउने व्यक्तिको नाम हेर्दाबित्तिकै अलि डर लाग्यो, कुनै अशुभ समाचार हो कि भन्ने लाग्यो । इमेल पढ्ने कोसिस गरेँ । इमेलमा (अंग्रेजीमा) लेखिएको थियो, ‘शुभ प्रभात, म तपाईंलाई थाहा दिन चाहन्छु कि ग्रेगोरी जुन १६ को मध्यरातको केही समयपछि बित्नुभयो । उहाँ गत २ महिनादेखि हिँडडुुल गर्न नसकी घरको ओछ्यानमा हुनुहुन्थ्यो । जीवनको अन्तिम घडीमा आफ्नै घरमा रहन र बगैंचा हेर्न सक्षम भएकामा उहाँ खुसी हुनुहुन्थ्यो । तर उहाँले धेरै पीडा भोग्नुभयो र पछिल्लो ५२ दिनमा केही खानु भएन । उहाँको स्वास्थ्यमा आएको समस्या देख्न हामीलाई धेरै गाह्रो थियो । अन्तिम श्वास रोकिएपछि उहाँ सुतेको जस्तो देखिनुहुन्थ्यो । म धेरै दुःखी छु तर यस घडीमा हाम्रा छोरी र नातिनातिनाहरूसँगै पाएकामा म खुसी छु । हामी ग्रेगोरीको राम्रो सम्झनाहरूसँग हाम्रो जीवन जिउने छौँ । मैले उहाँका सबै नेपाल–सम्बन्धित साथीहरूको इमेल ठेगानाहरू खोज्ने प्रयास गरें, तर यहाँ मैले समावेश गरेको भन्दा बढी हुनुपर्छ । त्यसैले कृपया यो सन्देश अरूलाई फर्वार्ड गर्नुहोला । धेरै धेरै धन्यवाद । गट्रार्ड ।’
यो इमेल लेख्ने व्यक्ति प्राध्यापक ग्रेगोरी जी. मास्करिनेकको श्रीमती हुनुहुन्थ्यो । मलाई निकै पिर लाग्यो । के गरौँ के गरौँ जस्तो भयो, अलमलमा परेँ । बिहान ७ बजेपछि साथी मनबहादुर खत्रीलाई फोन गरे । इमेल उहाँलाई पनि पठाइएको थियो । हामी दुवै दुःखित भयौं ।
ग्रेगोरी सन् २०१६ देखि धौलागिरी जनरल अफ सोसिओलोजी एन्ड अन्थ्रोपोलोजीको अन्तर्राष्ट्रिय सल्लाहकार सदस्य हुनुहुन्थ्यो । जर्नल गुणस्तरीय बनाउनका लागि उहाँले अन्य लेखकका लेखहरूलाई परिमार्जनका लागि मिहिन किसिमको सल्लाह तथा थप सामग्रीसहितको सुझाव र भाषाको परिमार्जनमा सहयोग गर्दै आउनुभएको थियो । जर्नलका लागि पटक पटक आर्थिक सहयोग गर्नुभएको थियो । पछिल्लोपटक आफू बिरामी हुँदा पनि जर्नलको गुणस्तर र निरन्तरताबारे चिन्तित हुनुहुन्थ्यो । हामी दुवैलाई उहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे थाहा थियो र चिन्तित थियौं ।
स्नातक तहमा गणित विषयलाई मुख्य र समाजशास्त्र–मानवशास्त्र सहायक विषयको रूपमा अध्ययन गर्नुभएका ग्रेगोरीले नेपालमा पिस्कोर स्वयं सेवक भएर जाजरकोट जस्तो दुर्गम पहाडी जिल्लाको माध्यमिक विद्यालयमा २ वर्ष (वि.सं. २०३६–२०३८) गणित शिक्षक भएर काम गर्दा त्यहाँको रीतिरिवाज, खानपान तथा औषधि उपचारको चलनले उहाँको नेपालप्रति आकर्षण बढ्यो । पश्चिमी समाज र संस्कृतिको कम प्रभाव परेको त्यसबेलाको नेपाली समाजभित्र उहाँको रुचि धामीझाँक्री, बोक्सी, भूत, प्रेत, मसान, मष्ट र समाजसँग सम्बन्धित जीवन–जगत्तिर गयो । अमेरिका फर्केपछि मानवशास्त्र विषयलाई विद्यावारिधि (पिएचडी) का रूपमा छान्नुभयो र फेरि जाजरकोटलाई मुख्य अध्ययन क्षेत्र बनाउँदै रुकुम, रोल्पा, डोल्पा, जुम्ला र बाग्लुङ जिल्लाको पैदल यात्रा गर्दै तथ्यांक संकलन गर्नुभयो र पिएचडी गर्नुभयो । पिएचडीबाहेक धामीझाँक्री, बोक्सी, भूत, प्रेत, मसान, मष्टसँग सम्बन्धित थुप्रै लेख, रचना र किताब प्रकाशन गर्नुभयो । यसको अतिरिक्त नेपाली भाषा, साहित्य र कलामा उहाँको गहिरो रुचि थियो ।
नेपालका ७० जिल्ला घुमेका, नेपाली भाषा बोल्न सक्ने, सरल, मृदुभाषी प्राध्यापक ग्रेगोरी जी. मास्करिनेकलाई मैले सन् २००० मा नर्वेको बर्गेन सहरमा पहिलो पटक भेट्ने अवसर पाएको थिएँ । हवाई विश्वविद्यालयमा पिएडी गर्ने क्रममा चिनजान भएका हाल विश्वविद्यालय अनुदान आयोगमा अध्यक्ष प्राध्यापक भीम सुवेदीले मसँग चिनजान गराउनु भएको थियो । मेरो रुचि पनि चिकित्सा मानवशास्त्र÷समाजशास्त्र भएको हुँदा सन् २००० पश्चात् हाम्रो ज्ञानको आदानप्रदान इमेलमार्फत र प्रत्यक्ष भेटघाटको बेलामा बाक्लै भयो । उहाँको सरल जीवनशैलीबाट म प्रभावित थिएँ ।
सन् २००९–२०१० मा पहिलो पटक फुलब्राइटको स्कलरका रूपमा नेपाल आउँदा एमए समाजशास्त्र÷मानवशास्त्र विषयको नयाँ कोर्स बनाउने र पुरानो परिमार्जन गर्ने समय थियो । तत्कालीन विभागीय प्रमुख प्राध्यापक ओम गुरुङले मलाई ‘कल्चर, सोसाइटी एन्ड हेल्थ’को कोर्स बनाउने जिम्मा दिनुभएको थियो । प्राध्यापक ग्रेगोरी जी. मास्करिनेकले यो कोर्स बनाउनमा मलाई निकै सहयोग गर्नुभएको थियो । उहाँले केही कक्षासमेत लिनुभएको थियो । नेपाली भाषा बुझ्ने र बोल्ने विदेशी प्राध्यापकसँग नेपाली विद्यार्थीलाई छलफल गर्न सजिलो भएको महसुस गर्न सकिन्थ्यो ।
पछिल्लो समयमा समाजशास्त्र र मानवशास्त्र छुट्टाछुट्टै रूपमा हुँदा के कस्ता सकारात्मक र नकारात्मक प्रभाव परे भन्नेबारे उहाँले चासो राख्नुहुन्थ्यो । र, कहिलेकाहीँ मसँग भन्ने गर्नुहुन्थ्यो, ‘यो झगडा विषयको उन्नयनको हो कि साधन, स्रोत पहुँच र पदको हो ?’ मैले उहाँलाई भन्ने गर्थे, ‘यो महत्वपूर्ण प्रश्नको बारेमा अध्ययन गर्नका लागि तपाईं उपयुक्त व्यक्ति हो ।’
उहाँ हाँसेर भन्नुहुन्थ्यो, ‘विभाग छुट्टै भयो, ठिकै भयो होला तर फेरि मन मिलेन भने एउटा विभागभित्र तीन–चारवटा विभाग हुन्छन् । किनभने नेपालमा विभागीय प्रमुखको हातमा शक्ति र आर्थिक अधिकार बढी हुन्छ । अमेरिकामा विभागीय प्रमुखको हातमा आर्थिक अधिकार निकै कम हुन्छ । नेपालमा प्राध्यापक राजनैतिक पार्टीका नेताहरूको घर–घरमा जान्छन्, अमेरिकामा अलि फरक छ ।’ आजको दिनमा समाजशास्त्र र मानवशास्त्र विभागको स्थिति हेर्दा उहाँले भने जस्तै अवस्था छ ।
दोस्रो पटक फुलब्राइटको स्कलरका रूपमा सन् २०१५ मा नेपाल आउँदा मैले अलि भिन्न तर महत्वपूर्ण विषयमा अध्ययन गर्न सुझाव दिएँ । डा. गोविन्द केसीले नेपालको चिकित्सा सेवा र शिक्षा सुधार गर्न उल्लेखनीय अहिंसात्मक प्रयासहरू र उहाँको अनशनको शृंखलालाई बुझ्ने प्रयास गर्न अनुरोध गरेँ । मेरो अनुरोधलाई उहाँले तत्कालै स्वीकार गर्नुभयो र थप जानकारीका लागि सहयोगको अपेक्षा गर्नुभयो ।
दुवै जनाको सल्लाह मिल्यो र यो अनुसन्धान दुवै जना मिलेर गर्ने निर्णय भयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमतिपत्र लिएर हाम्रो गहन अनुसन्धान सुरु भयो । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा तथा हिराबहादुर महर्जन, डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. सरोज धिताल, डा. शंकर राई, डा. गोविन्द केसी तथा चिकित्साशिक्षा पढ्दै गरेका विद्यार्थीहरू लगायत अन्य व्यक्तिहरूसँग अन्तर्वार्ता तथा छलफल गर्दै हाम्रो आफ्नो अध्ययन अगाडि बढाउने काम भयो । यस अनुसन्धानबाट प्राप्त नतिजाहरूलाई मार्टिन चौतारी र समाजशास्त्र केन्द्रीय विभागले आयोजना गरेका कार्यक्रमहरूमा प्रस्तुत गरियो र एक अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशन गर्ने काम भयो ।
डा. गोविन्द केसीको पटकपटकको आमरण अनशन आन्दोलनलाई नजिकबाट पछ्याउनु भएका ग्रेगोरीलाई मैले एक दिन सोधेँ, ‘तपाईं यो प्राज्ञिक अनुसन्धानबाट के निष्कर्षमा पुग्नु भयो ?’ उहाँले हाँस्दै भन्नुभयो, ‘मधुजी, यो विषयमा म भन्दा तपाईं नै बढी जानकार हुनुहुन्छ, विषयको ज्ञानको हिसाबले र नेपाली भएकोले ।’
उहाँले भन्नुभयो, ‘मेरो विचारमा डा. केसीको आन्दोलनलाई नेपालका पार्टी, नेता तथा कार्यकर्ताले बुझ्न सकेनन् । उनीहरूले आफ्नो, सरकार, पार्टी वा कार्यकर्ताको हितको बारेमा ध्यान दिए तर सिंगो देशको हितको बारेमा सोच्ने र बुझ्ने प्रयत्न गरेनन् । आफ्नो ज्यानको खतरालाई पर्वाह नगरी स्वास्थ्य क्षेत्रको सुधारमा अनवरत लागेका गोविन्द केसीको जस्तो अहिंसात्मक सत्याग्रह आन्दोलन संसारमा विरलै देख्न/सुन्न पाइन्छ ।
नेपालमा चिकित्सा शिक्षा र सेवा सुधारको आन्दोलन असफल भएमा नेपाललाई एक असफल राज्य मान्नुपर्छ जसमा स्वास्थ्य र स्वास्थ्य सेवा तीव्र रूपमा र अपूरणीय रूपमा खस्किनेछ भन्ने मेरो दृढ विश्वास छ ।’ उहाँले थप्नुभयो, ‘एकपछि अर्को गर्दै आएका कतिपय सरकारले डाक्टर गोविन्द केसीको अनशन तोड्न सुधारको वाचा त गरे तर त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न बेवास्ता गरे । नाफाका लागि अनियन्त्रित चिकित्सा शिक्षा र व्यापारिक अस्पतालको धन्दा आपराधिक गतिविधि जस्तै हो । शिक्षा र स्वास्थ्यमा लगानी गर्ने व्यापारी नै नीति तथा नियम बनाउने र लागू गर्ने ठाउँमा पुग्न राजनैतिक पदलाई किनमेलको वस्तु बनाउनु नेपाल जस्तो सानो तर सुन्दर मुलुकका लागि निकै दुखद् विषय हो ।’ उहाँले चिकित्सा शिक्षा ऐनमा उल्लेख भएको महत्वपूर्ण बुँदा ‘दश वर्षभित्र नाफामूलक शिक्षालाई सेवामूलक बनाइने’ भन्नेमा राजनैतिक चलखेल हुन सक्ने र कार्यान्वयनमा शंका व्यक्त गर्नु भएको थियो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी नेपाली विद्यार्थीलाई अमेरिका जाने र अमेरिकी विद्यार्थीलाई नेपालमा आउने र केही समय अध्ययन तथा अनुसन्धान गर्ने गरी हामीले सहकार्यको खाका कोर्दै गर्दा कोरोनाले संसारका सबै मुलुकहरूलाई आक्रान्त बनायो र ग्रेगोरी पनि यसबाट पीडित हुनुभयो । त्यसको केही समयपछि उहाँ फेरि बिरामी पर्नुभयो र यो पटक उहाँलाई क्यान्सरले सतायो र ७१ वर्षको उमेरमा हामीबाट बिदा हुनुभयो ।
उहाँको मेरी श्रीमती हवाई विश्वविद्यालय क्यान्सर केन्द्रमा पूर्णकालीन प्राध्यापक हुनुहुन्छ । आफूले श्रीमतीलाई पहिलो पटक सन् १९८३ मा नेपालमा भेटेको भन्नुहुन्थ्यो । उहाँले आफ्ना दुई छोरीहरूको नाम मलिका र माया राख्नुले पनि नेपालसँगको गाढा सम्बन्ध रहेको प्रस्ट हुन्छ ।
सांस्कृतिक मानवशास्त्री जोन ए. बर्न्स स्कुल अफ मेडिसिन, हवाई विश्वविद्यालयमा पारिवारिक चिकित्सा र सामुदायिक स्वास्थ्य र जनस्वास्थ्य विभागको प्राध्यापक ग्रेगोरी जी. मास्करिनेकले नेपालको चिकित्सा मानवशास्त्रको क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएको छ । सादा जीवन, गहन अध्ययन, नेपालप्रति अगाध माया गर्ने प्रिय प्राध्यापक ग्रेगोरी हामी तपाईंलाई सम्झिरहनेछौं ।
(पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य विभागका प्रमुख प्राध्यापक सुवेदी चिकित्सा समाजशास्त्री तथा मानवशास्त्री हुन् । उनको लेखन–सहलेखनमा ‘स्टेट, सोसाइटी एन्ड हेल्थ इन नेपाल’, ‘द स्टेट अफ सोसियोलोजी एन्ड एन्थ्रोपोलोजी स् टिचिङ एन्ड रिसर्च इन नेपाल’ जस्ता पुस्तक प्रकाशित छन् ।)
प्रकाशन मिति : असार २३, २०७९
स्रोत : https://ekagaj.com/article/thought/106428/