मिडिया अध्ययनको अर्को पाइलो

2021-10-07

नरेश अपाङ्गीमगर

नेपाली मिडियाका विभिन्न आयामहरुमाथि वर्षेनी अनुसन्धानात्मक जर्नल प्रकाशन गर्दै आएको मार्टिन चौतारीले यस पटक पनि मिडिया अध्ययन ६ बजारमा ल्याएको छ । विगतका पाँच ओटा जर्नलझैँ यस जर्नलमा पनि अनुसन्धानात्मक लेख, संस्मरण, टिप्पणी र पुस्तक समीक्षा र विशेष सन्दर्भ भन्दै संविधान सभाबारे दुई वटा विषयका छापा कभरेज समेटिएका छन् ।

मिडिया अध्ययनको पाँच वर्ष शीर्षकको सम्पादकीयमा नेपाल मिडिया जर्नलको प्रयास, मिडिया अध्ययन सुरुआत र त्यस यताको अनुभव समेटिएको छ । लेखमा प्रस्तुत अवस्थाले मिडिया अध्ययनकव मात्र नभएर समग्र नेपाली मिडियाकै अनुसन्धानको प्रतिविम्व उतार्छ । बहुदलीय व्यवस्थापछि सबैभन्दा बढी फस्टाएको क्षेत्र भनिए पनि मिडियाको अध्ययन अनुसन्धानमा भने सोचेभन्दा धेरै कम विकास हुन सकेको छ । नेपालकव मिडिया अध्ययनको अवस्थालाई यही एउटा वाक्यले बुझ्न काफी मद्दत गर्छ । "..अर्थात् सम्पादकहरुको अनुरोधबिना नै प्राप्त सामग्रीमा भर पर्ने हो भने जर्नलको १० प्रतिशत स्थान पनि त्यसले भरिँदैन" (पृष्ठः ३) । लेखमा विभिन्न सन्दर्भ कोट्याइए पनि मिडिया अध्ययनमा किन कम रुचि र पहलकदमी छ भन्ने पाटोमा भने मौन छ ।

अनुसन्धानात्मक लेखहरुतर्फ सफल घिमिरेको ग्रामीण जीविकामा सूचना-प्रविधिको प्रभावः नांगी गाउँको अध्ययन, विनोद ढुंगेलको विद्युतीय सञ्चारमाध्यममा श्रमजीवी पत्रकार कानुन कार्यान्वयनको अवस्था, टंक उप्रेतीको नेपाली वृत्तचित्रमा महिलाको सवाल, चित्रण र सहभागिता, निर्मलमणि अधिकारी लिखित दैनिक पत्रिकाका सम्पादकीयको पठनीयता, दीपक अर्यालको नेपाली भाषामा प्रकाशित पत्रपत्रिका (२००८-२०१३) र बन्दना ढकालको साहित्यिक पत्रिकाबारे नेपाली विषयका शोधपत्र छापिएका छन् ।

घिमिरेको लेखमा नांगी गाउँलाई सूचनाप्रविधिसित जोड्ने महावीर पुनको कार्यको समीक्षा गरिएको छ र महावीरपछि वा दाताले हात झिकेपछि सो परियोजनाको भविष्य के हुने भन्ने गम्भीर प्रश्न उठाइएको छ । त्यस्ती ढुंगेलको लेखमा विद्युतीय सञ्चारमाध्यममा श्रमजीवी पत्रकार कानुन कार्यान्वयन नभएको निष्कर्ष निकालिएको छ भन् उप्रेतीले आफ्नो लेखमा नेपाली वृत्तचित्रमा महिलाको उपस्थिति अत्यन्त न्यून (१४ प्रतिशत) रहेको उल्लेख गरेका छन् । अधिकारीले आफ्नो लेखको निष्कर्षमा नेपाली अखबारको सम्पादकीयको पठनीयता कम रहेको स्पष्ट गरेका छन् भने अर्यालले २००८ देखि २०१३ को अवधिमा प्रकाशित पत्रिका प्रवृत्ति केलाएका छन् । ढकालले आफ्नो लेखमा नेपाली साहित्यिक पत्रिका बारेका शोध अपूर्ण रहेको निचोड निकालेकी छिन् । लेखको राम्रो पाटो उनले स्तरीयता किन आउन सकेन भन्ने जिज्ञासाको उत्तर खोजेकी छिन् ।

लेखका लागि उल्लिखित विषयवस्तु लेखक स्वयंको रुचि हो वा जर्नल सम्पादन समूहबाट दिइएको कार्यभार ? भन्नुको मतलब कतिपय लेखका विषयले आमचासोलाई छुँदैनन् । यदि अध्ययन गरिने विषयवस्तु आम सरोकारको पनि भइदिएको भए त्यसले वर्तमान गर्जो पनि टार्ने थियो ।

विशेष सन्दर्भ शीर्षकमा तीर्थ विष्टको संविधानसभाको सन्दर्भः मधेसका सवालबारे छापामा बहस र वसन्त महर्जनको नेवार समुदायमा संविधान निर्माणसम्बन्धी बहसः सन्ध्या टाइम्सको कभरेज छापिएका छन् । विष्टले लेखमा एक मधेस एक प्रदेश र हिन्दी भाषालाई नेपाली भाषासरह मान्यता दिनुपर्छ भन्ने विपक्षमा नेपालका अखबारहरुका पक्षधरता रहेको निष्कर्ष निकालेका छन् । त्यस्तै, महर्जनको लेखमा पनि सन्ध्या टाइम्स पत्रिकामा संघीयता, नेपा स्वायत्त राज्य तथा बहुभाषा नीतिका विरोधीहरुलाई स्थान नदिइएको र उल्लिखित विषयमा पत्रिकाको प्रष्ट पक्षधरता देखिएको निष्कर्ष निकालिएको छ ।

सीके लालको सत्तावृत्त र मिडियाको अर्थ-राजनीति तथा राजेन्द्र महर्जनको मिडियाको वर्ग चरित्र र वर्चस्व गहन छन् । जनताका लागि, लोकतन्त्रका लागि भनेर जतिसुकै दुहाइ दिए पनि 'नेपाली मिडिया सत्तावृत्त छोडेर जनवृत्तमा आउने सम्भावना नदेखिएको' (पृष्ठः २३१) कटुसत्य लालले लेखमा प्रस्तुत गरेका छन् । विकाशोन्मुख देशमा सामाजिक उत्तरदायित्वकव सिद्धान्तमा आधारित प्रेस उपर्युक्त हुने विद्वानहरुको प्रेसक्रिप्सन भए पनि नेपाली प्रेसमा सम्भ्रान्त वर्गकै हालीमुहाली रहेको महर्जनको लेखमा उल्लेख छ ।

बबिता बस्नेतको साप्ताहिक पत्रिकाको राजनीतिक, आर्थिक र व्यावसायिक पक्ष लेखमा धेरै विषय छुने कोसिस गरिए पनि लेख अपूरो लाग्छ । साप्ताहिक नै किन भन्ने प्रश्नको जवाफ लेखकले 'साप्ताहिकको आयु हप्ताभरिको हुने र साताभरिको महत्त्व र सान्दर्भिकता हुने' (पृष्ठः २५५) दिए पनि नेपालको सन्दर्भमा साप्ताहिकको औचित्य त्यसले चित्तबुझ्दो दिन सकेकी छैनन् । दैनिक पत्रिकाले विश्लेषणात्मक सामग्री पस्केर साप्ताहिकको सामग्री ओगटिदिए भने पनि साप्ताहिकले आफूलाई समयसापेक्ष कसरी परिमार्जन गर्ने खुलाइएको छैन । साप्ताहिकको आर्थिक पक्ष कमजोर रहेको बताइएको छ तर अरु व्यवसाय नगर्ने धेरै साप्ताहिकहरुको काठमाडौँमा आफ्नै घर कसरी ठडियो विरोधाभाषपूर्ण छ ।

जर्नलमा खगेन्द्र संग्रौलाको वाम प्रकाशनसँगको अनुभव, केदार शर्माको रेडियो नाटकबारे सम्झना र अनुभव समेटिएका छन् । त्यस्तै लालदेउसा राई,  विमल आरोहि, कैलाश राई र सीता भट्टराई र प्रभाकर गौतमले विभिन्न पुस्तकको समीक्षा गरेका छन् । जर्नलमा समेटिएका लेखकहरुमा महिला, मधेसी र जनजातिको प्रतिनिधित्व भए पनि दलितको उपस्थिति देखिँदैन ।

जर्नलमा समेटिएका प्रायः विषयहरु नकारात्मक प्रवृत्ति वा परिणाम निस्केकाहरु छन् । सम्पादकीयमा …मिडिया सकारात्मक वा नकारात्मक अभ्यास र प्रवत्तिलाई प्राज्ञिक ढंगले केलाउने र नेपाली मिडियाको गुणस्तर उकास्न सघाउने कार्यका लागि नियमित रुपमा निस्कने जर्नलले महत्त्व राख्छ (पृष्ठः १३) भनिए पनि यस अंकमा सकारात्मक प्रवृत्ति वा अभ्यास समेटिएको सामग्री भने कम (करिब एउटा) मात्र छ ।

नेपालीपत्र, ८-१० कात्तिक २०६८, पृ. १८


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai