इन्साइक्लोपेडिया रेडियो नेपालको

2021-10-18

मुलुकको प्रमुख सञ्चार संस्था रेडियो नेपालमाथि लेखिएका अनुसन्धानमूलक आलेखको सँगाले 'रेडियो नेपालको सामाजिक इतिहास' प्रकाशित भएको छ । मिडिया अनुसन्धान गरिरहेका र यसैलाई कर्मथलो बनाएका/बनाइसकेका स्वनामधन्य २० जना लेखकको अनुसन्धानात्मक लेख परेको प्रस्तुत पुस्तक मार्टिन चौतारीले निकालेको हो । पुस्तक रेडियो नेपालको संस्थागत, कार्यक्रम र उत्पादन पक्ष र रेडियो समाज गरी तीन खण्डमा र तेईस अध्यायमा विभक्त गरी प्रकाशित गरिएको छ । केही लेखहरू समसामयिक विषयसँग सम्बन्धित छन्‍ भने केही लेखहरू रेडियो नेपालको इतिहासलाई प्रकट गर्न यसअघि छापिसकिएका लेखलाई त्यहाँ पुन: मुद्रण गरिएको छ । रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाका दुर्लभ मानिएको रेडियोसम्बन्धी स्मरणात्मक लेखदेखि रेडियो समाचारकर्मी ध्रुव थापाको पुस्तासम्म पुस्तकले समेटेको छ ।

पुस्तक प्रत्यूष वन्तको 'रेडियो नेपालभन्दा पहिलेको युगमा नेपालीको रेडियो अनुभव' शीर्षकको गम्भीर प्राज्ञिक अनुसन्धानको अध्यायबाट सुरु हुन्छ । वन्तले नेपालीहरुले कहिलेदेखि रेडियो सुन्न थाले, रेडियो यन्त्रहरु नेपालमा कसरी भित्रन्थे खोतलेर सार्वजनिक गर्नुभएको छ । यसवाहेक तारिणीप्रसाद कोइरालाको स्मरणात्मक लेख, कृष्ण अधिकारीको स्थापनाका पृष्ठभूमि, देवराज हुमागाईंको रेडियोसम्बन्धी सरकारी नीति, कोमल भट्टको आर्थिक विकासक्रम संस्थागत पक्षमा समेटिएका छन्‍ भने दोस्रो खण्डमा देवराज हुमागाईं, प्रत्यूष वन्त, ध्रुव थापा, प्रज्वलराज चापागाईं, गोपाल गुरागाईं, संकेत कोइराला, वुलु मुकारुङ, बासुदेव मुनाल, पुरुषोत्तम सापकोटा, गोपालप्रसाद खतिवडा, मोहन थापा, विष्णुप्रसाद नेपाल र नृपराज जोशीसमेतले रेडियोबाट उत्पादित कार्यक्रम र सामग्रीबारे विभिन्न क्षेत्रको विश्लेषण गर्ने प्रयत्न गर्नुभएको छ ।    पुस्तकको तेस्रो खण्ड पुस्तको वास्तविक अंश हो । यस खण्डमा विना शर्माले महिला कार्यक्रमबारे कुमार यात्रुले जनजाति विषय, धीरेन्द्र प्रेमषिले मधेश र मधेशी, शेखर पराजुलीले श्रोता सर्वेक्षण एवं रेडियोको प्रकाहनसम्बन्धी कृष्ण अधिकारीका आलेख छन्‍ ।

रेडियो नेपालको सामाजिक इतिहाससँग सम्बन्धित भएर होला पुस्तकको धेरै अंश विगततिर फकेको छ । इतिहारलाई  विश्लेषण नगरी भविष्यको गन्तव्य थाहा हुन नसक्ने भनाइप्रति पुस्तकका पाँच सम्पादकहरु निकै सचेत भएको प्रतीत हुन्छ । तथापि, प्रायजसो लेखकले रेडियो नेपालको सामाजिक योगदान सकारात्मक भएको कमै चर्चा गरेका छन्‍ । विशेष गरेर सूचना र मनोरञ्जन दिन तत्कालीन परिवेशमा पुर्‍याएको योगदानको एउटा पाटो नै सम्पादकहरुले बिर्सेको जस्तो देखिन्छ । पुस्तकमा प्रत्यूष वन्तले पञ्चायतको प्रचारमा रेडियोको प्रयोगसम्बन्धी गहन विश्लेषण गर्नुभएको छ । तर, उहाँले पञ्चायतसँगै देशमा सुरु भएको आर्थिक जागरण र सांस्कृतिक मूल्यको पहिचानसम्बन्धी एउटा सग्लै इतिहासलाई ओझेलमा पार्नुभएको छ । वुलु मुकारुङले बरु गीत संगीतको क्षेत्रमा रेडियोले हुर्काएका कलाकारको इतिवृत्तान्त लेखेर केही हदसम्म रेडियो नेपालको सकारात्मक इतिहास कोट्‍याउनु भएको छ ।

प्रत्यूष वन्त, शेखर पराजुली, देवराज हुमागाई‌‌, कृष्ण अधिकारी र कोमल भट्टजस्ता मिडिया विश्लेषकहरुको जमघटबाट आएको यो पुस्तक ऐतिहासिक ग्रन्थ हो । रेडियो सम्बन्धी प्राज्ञिक कोणले लेखिएको यो सम्भव: पहिलो पुस्तक पनि हो यसले रेडियोनेपाल सम्बन्धी अनुसन्धान गर्ने बाटो अन्य अनुसन्धानकर्तालाई देखाएको छ । यो नै पुस्तको सकारात्मक पक्ष हो ।

 

स्रोतः राजधानी १५ फागुन, २०६१


About the Author

More Blogs